एक वर्षमा एघार हजार पर्यटकद्धारा कोशी टप्पुको अवलोकन, सबैभन्दा बढी वैशाखमा
इनरुवा । पूर्वाञ्चलको प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा ११ हजार २५० जना पर्यटकले अवलोकन गरेका छन् । सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आर्थिक वर्ष २०७३/०७४ मा सो संख्यामा पर्यटकले अवलोकन गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए । आरक्षमा एक वर्षको अवधिमा नेपाली पर्यटक ११ हजार दुई जना, सार्क मुल्कका ५४ र विदेशी मुलुकका १९६ गरी जम्ममा ११ हजार २५० जना पर्यटकले अवलोकन गरेको संरक्षण अधिकृत साहले बताए । आरक्षमा सबैभन्दा बढी वैशाख महिनामा पर्यटकले अवलोकन गरेका छन् भने सबैभन्दा कम पुस महिनामा पर्यटक आएको तथ्यांकले देखाएको छ । आरक्षमा वैशाखमा एक हजार ८७४ जना पर्यटक आएको छ भने पुस महिनामा १२३ जना पर्यटक आएका थिए । आरक्षमा आवलोकन गरेको पर्यटकबाट सोही आर्थिक वर्षमा रु सात लाख ८५ हजार १०० राजस्व संकलन भएको आरक्षले जनाएको छ । आरक्षमा रहेको विभिन्न किसिमका चराचुरुङ्गी, अर्ना, हात्तीलगायतका जंगली जनावरको अवलोकन गर्नका लागि पर्यटक आउने गरेका छन् । रासस
यती एअरलाइन्स भित्र्यायो दोश्रो एटीआर विमान, भैरहवा र भद्रपुरमा सेवा विस्तार
काठमाडौं । यती एअरलाइन्सले ट्विन ईञ्जिन सहितको आधुनिक प्रविधियुक्त एटीआर७२-५०० विमानको सेवा थप विस्तारित गर्ने क्रममा दोश्रो एटीआर विमान नेपालमा भित्र्याएको छ । एअरलाइन्सद्धारा उक्त विमान सोमबार त्रिभुवन अन्तरास्ट्रिय विमान स्थलमा अवतरण गरिएको हो । एटीआर ७२-५०० फ्रेञ्च-ईटालियन कंसोर्टियम एटीआरद्वारा निर्मित टर्बोप्रप एयरक्राफ्ट हो । उत्कृष्ट निर्माण र कार्यक्षमता प्रदर्शनीका कारण एटीआर ७२–५०० विश्व बजारमै सर्वाधिक सफल क्षेत्रीय विमानका रुपमा स्थापित हुँदै गइरहेको छ । त्यसैगरी, वैदेशिक बजारमा निरन्तर विस्तारित हुँदै विश्वका नयाँ बजारमा समेत प्रवेश पाइरहेको छ । एटीआर ७२–५०० लाई ह्यामिल्टन सन्डस्ट्रान्ड कम्पोजिट ब्लेड प्रोपेलर सुसज्जित दूई ओटा प्राट एण्ड ह्विट्ने पीडब्ल्यू १२७ ईञ्जिनले शक्ति प्रदान गर्दछ । यी अत्याधुनिक प्रविधि सुसज्जित ईञ्जिन र प्रोपेलरले अद्वितिय कार्यक्षमता प्रदर्शन गर्नुका साथै, ईन्धन मितब्ययी, न्यून ध्वनी र न्यून ग्रिनहाउस ग्यास उत्सर्जन गर्दछ । एयर न्यूजिल्याण्ड, एयर लिंगस, एसएएस, एचओपी, फ्लाइबी, अजुल, बैंकक् एयरवेज, जेट एयरवेज, मालिन्डो लगायत एटीआर ७२–५०० विमानका वैश्विक रुपमा परिचित हवाई सेवा प्रदायकहरु हुन् । यस एटीआर ७२–५०० विमान नोर्डिक एभिएसन क्यापिटलबाट वित्तिय पट्टा अन्तर्गते खरिद गरिएको हो। ४७ देशका ७० एयरलाइन्सले उपभोक्तालाई सेवा प्रदान गरिरहेको एनएसी उद्योगकै अग्रणी क्षेत्रिय पट्टादाता हो । एयरोमेक्सिको, एयर क्यानाडा, ब्रिटिस एयरवेज, एलवोटी, एयर बर्लिन, आजुल, गरुडा, फ्लाइबी, एचओपी लगायत अग्रणी एयरलाइन्स तथा प्रमुख क्षेत्रीय वाहक एयर नोस्ट्रम, जेट टाइम, ईटिहाद रिजनल, बिन्टर, एयर केबीजी लगायत यसका सेवा ग्राहीका रुपमा रहेको छन् । एनएसीको हालका ३ सय ५० भन्दा बढी ओटा स्वामित्व प्राप्त र ३९ ब्यवस्थापन सम्हालिएका विमानमा एटीआर ४२, एटीआर ७२, बम्बारडियर ड्याश ८, सीआरजे९००, सीआरजे१०००, सीएस३००, ई१७०, ई१७५, ई१९० र ई१९५ पर्छन् । एटीआर र बमर्बािर्डयर विमानका लागि एनएसी विश्वकै अधिक स्वामित्व प्राप्त तथा पट्टादाताका रुपमा परिचित छ । यती एयरलाइन्सले आफ्नो यो दोश्रो विमान थप भएपश्चात भैरहवा र भद्रपुर स्टेशनमा समेत आफ्नो सेवा विस्तार गर्ने छ ।
अन्तरदेशीय पर्यटन प्रवद्र्धनका लागि त्रिदेशीय सम्झौता
काठमाडौं । अन्तरदेशीय पर्यटन प्रवद्र्धन सहकार्यको दायरालाई फराकिलो बनाउँदै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रीयस्तरमा पुर्याई पर्यटन प्रवद्र्धन गर्न त्रिदेशीय सम्झौता भएको छ । होटल एशोसिएशन नेपाल (हान), फेडरेशन अफ होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ इन्डिया र होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ भुटानकाबीच हालै बैंगलोरमा समझदारी भएको हानले एक विज्ञप्ति मार्फत जनाएको छ । उक्त समझदारीपत्रमा हानका अध्यक्ष अमरमान शाक्य, फेडरेशन अफ होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ इन्डियाका अध्यक्ष के श्यामा राजु र होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ भुटानका अध्यक्ष थिन्ले पाल्देन दोर्जीले हस्ताक्षर गरेका थिए । सो समझदारीपत्रमा तीनै देशका होटल एशोसिएशनमार्फत नेपाल, भारत र भुटानबीच अन्तरदेशीय पर्यटन प्रवद्र्धनलगायत होटल उद्योगमा बढ्दै गइरहेको आतिथ्यतासम्बन्धी तालिम तथा प्रशिक्षण कार्यक्रम आदान प्रदान गर्ने कुरा उल्लेख छ । पर्यटन विकासका लागि दक्ष जनशक्ति नै मुख्य आधार रहेकाले तीनवटै मुलुकका होटल एशोसिएशनको समन्वयमा अन्तरदेशीय तालिम, गोष्ठी, प्रवद्र्धनात्मक कार्यक्रम, वार्षिक बैठक पालैपालो आयोजना गरिने समझदारी भएको छ । यस्तै, अन्तर्राष्ट्रियस्तरको आतिथ्यता प्रदान गर्नका लागि आवश्यक पर्ने तालिम, पुस्तिकालगायत यस उद्योगमा संलग्न जनशक्तिबीच तीनै देशमा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिनेछ । तीनवटै मुलुकका पर्यटन योजना तर्जुमाका लागि आवश्यक तथ्यांक संकलन तथा व्यवस्थापन गर्न आपसी सहकार्य गरिने उल्लेख छ । रासस