नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइयोः मन्त्री अधिकारी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उडान सम्बन्धी समसामयिक विषयमा उठेका जिज्ञासाका सम्बन्धमा उनले नेपालको वायु सेवालाई सन् २०१३ मा गम्भीर सुरक्षा खतराको सूचीमा राखेकोमा हाल त्यसलाई हटाइएको जानकारी सदनलाई दिएका छन् । मन्त्री अधिकारीले सरकारको प्रयासबाट नेपाललाई हवाई सुरक्षा खतरा सूचीबाट हटाउन सफल भएको र युरोपियन युनियनबाट भने खतरा सूची नहटेको हुँदा त्यसलाई पनि छिटै हटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल–जापान हवाई सम्झौता सन् १९९३ मा भएको र अहिले हप्तामा १४ उडानको व्यवस्था भएको उल्लेख गर्दै उनले संसारका जुनसुकै देशमा पुग्ने गरी आउने र जानसक्ने व्यवस्था हुनु महत्वपूर्ण उपलब्धि भएको र त्यसले गर्दा जापानी पर्यटक नेपाल भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । मन्त्री अधिकारीले नेपालगञ्ज– दिल्ली उडानका लागि शुक्रबार मात्र स्वीकृति दिएको र तीन/चार महिनाका बीचमा त्यहाँबाट हवाई सेवा शुरु हुने बताउँदै बुद्ध एयरको विमानले छिटै नै काठमाडौं- दिल्ली परीक्षण उडान गर्ने तयारी रहेको जानकारी दिए । दुर्गममा हवाई भाडाको पुनरावलोकन हुन नसकेको उल्लेख गर्दै उनले २०७३ सालको प्रस्तावित भाडादरलाई समसामयिक बनाउनुपर्ने बताएका छन् । मन्त्री अधिकारीले चार्टर एयरको हवाई सिण्डिकेट अन्त्य गरी यात्रुलाई सहज रुपमा आवतजात गर्ने व्यवस्था मिलाइएको बताउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थको काम तीव्र रुपमा अगाडि बढिरहेको र सो विमानस्थलमा १८० सिटसम्मका जहाज चलाउन सकिने जानकारी दिए । विसं २०२१ सम्म निर्माण कार्य पूरा गरेर सो विमानस्थल सञ्चालन ल्याउन सकिने बताउँदै उनले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई एक वर्षभित्र सञ्चलानमा ल्याउने तयारीका साथ काम भइरहेको धारणा व्यक्त गरेका छन् । मन्त्री अधिकारीले हालसम्म ४७ प्रतिशत काम पूरा भएको सो अन्तराष्ट्रिय विमानस्थलको असार मसान्तसम्ममा ५० प्रतिशत काम सकिने उल्लेख गर्दै निजगढ विमानस्थलको काम पनि द्रुतरुपमा अगाडि बढेको बताए । हवाई सेवालाई आवश्यकताअनुसार कति विमानस्थल चाहिन्छ, भन्ने बारेमा अध्ययन गरेर काम गर्न जरुरी भएको र अबको छ महिनापछि करीब सबै ठाउँमा क्षेत्रीयस्तरबाट हवाई सेवा सञ्चालन हुने बताउँदै उनले प्रादेशिक हवाई सेवा निर्माणमा पनि सफलता प्राप्त गरेको जानकारी दिएका छन् । रासस
कतार एयरवेजले सिड्नी-क्यानबेरा उडानमा क्यूसुइट सुरुवात गर्ने, साउन १६ गतेदेखि दैनिक सेवा
कतार । कतार एयरवेजले कम्पनीको नयाँ अष्ट्रेलियन गन्तव्य सिड्नी-क्यानबेराको उडानमा बिजनेस क्लास सेवा क्यूसुइट सुरुवात गर्ने भएको छ । कम्पनीले आगामी जुलाई १(असार १८ गते)देखि उक्त क्लास सेवा शुरु गर्ने घोषणा गरेको छ । गत फेब्रुअरीबाट सञ्चालनमा आएको क्यान्बेरा मार्गको सुरुवातको छ महिना नबित्दै एयरलाइन्सले यो घोषणा गरेको हो । दोहादेखि क्यानबेराको उडानले सिड्नीमार्फत दैनिक दुईवटा उडानले त्यहाँका बासिन्दाहरुलाई कतारी क्षेत्रसँग जोड्दछ । सुरुवातमा यस उडान मार्गमा क्यूसुइटको सेवा साप्ताहिक चार पटक प्रदान गरिने छ भने दैनिक सेवा आगामी १ अगस्ट(साउन १६ गते) बाट प्रारम्भ हुनेछ । कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भने “यसको सुरुवातदेखि नै क्यूसुइट विश्वव्यापी रुपमा आकर्षणको मुख्य केन्द्र बनेको हो । हामी यस उत्कृष्ट सेवा हाम्रो क्यानबेरा तथा सिड्नी उडान मार्गमा प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छौँ । क्यूसुइटसँगै हामीले बिजनेस एवं लक्जरी यात्रालाई एक नयाँ पहिचान दिलाएका छौँ, र हामी विश्वस्त छौँ यस शानदार सेवा अष्टे«लियन यात्रुहरुका लागि एक थप आकर्षण हुनेछ । ” साथै, यस विमान सेवाले गत वर्षको समारोहमा ‘सर्वश्रेष्ठ एयरलाइनः मध्य पूर्वी एसिया’, ‘विश्वको सर्वश्रेष्ठ बिजनेस क्लास’ तथा ‘विश्वको सर्वश्रेष्ठ फस्र्ट क्लास एयरलाइन लाउन्ज’ सहित विभिन्न महत्वपूर्ण पुरस्कारहरु हात पारेको थियो ।
२६ देश सहभागी हिमालयन ट्राभल मार्ट सकियो, दक्षिण एसियालाई टुरिज्मको मुख्य गन्तब्य बनाइने
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको नेतृत्व, नेपाल पर्यटन बोर्डको र पाटा नेपाल च्याप्टरको संयुक्त आयोजकमा सञ्चलित हिमलयन ट्राभल मार्ट सकिएको छ । मार्टको दोस्रो संस्करण पर्यटन क्षेत्रका बिभिन्न संघ संस्थाहरुको सहयोगमा राजधानीमा सम्पन्न भएको हो । कार्यक्रममा २६ वटा देशहरुबाट ५९ बायर्स सहभागी थिए । नेपाल, भारत, भुटान, दक्षिण कोरिया, इन्डोनेशिया, टर्की र युएइ लगायत सातवटा देशहरुबाट ५२ वटा बिक्रेताहरुको सहभागिता थियो । कार्यक्रममा नेपालल गायत दक्षिण एशियाका सवै पर्यटन ब्यवसायीहरुलाई समाबेश गरिएको बताइएको छ । जेठ १८ देअि २० सम्म चलेको सो कार्यक्रमको मुख्य विषय ‘सस्टेनेबल रोड टु फाइभ मिलियन भिजिटर्स वाई २०३०’ थियो । त्यस विषयमा कार्यक्रममा विभिन्न देशहरुबाट आएका पर्यटन विज्ञहरुले आफ्ना धारणा राखेका थिए । कार्यक्रमको अवसरमा पराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सामाजिक सञ्जाल र नयाँ मिडियाको महत्वको उजागर गर्दै पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने बताए । त्यस्तै संस्कृतिक पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले नेपालमा पर्यटन विकास र विस्तारको प्रचुर सम्भावना भएको चर्चा गरे । हिमालयन ट्राभल मार्ट २०१८ को सफलताले नेपाललाई दक्षिण एसियालाई टुरिज्मको मुख्य गन्तब्यको रुपमा स्थापित गरेको बताइएको छ ।