नेपाल वायुसेवाले ताप्लेजुङ–काठमाडौं उडान शुरु गर्ने, भाडा ६४००

ताप्लेजुङ । लामो समयदेखि उडान गर्न नसकेको नेपाल बायु सेवा निगमले काठमाडौँदेखि ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ । असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले भाडादर घटाएर आगामी बुधबारदेखि उडान गर्ने तयारी गरेको हो । यसअघि ७ हजार ४६० मा टिकट बिक्री गरेको निगमले अहिले १ हजार ६० छुटसहित टिकट बिक्री गरिरहेको र यही असोज २४ देखि सातामा दुई दिन बुधबार र शुक्रबार उडान गर्ने तालिका सार्वजानिक गरेको छ । यता समिट एयरले समेत सातामा एउटा उडान गर्ने तालिका सार्वजानिक गरिसकेको छ । गत सोमबारदेखि उडान गर्ने बताएको समिटले उक्त दिन मौसम खराबीका कारण उडान गर्न नसके पनि आगामी साताका लागि भने टिकट बिक्री गरिरहेको छ । मौसम खराबीलगायतका कारण उडान नियमित नहुँदा जिल्लावासीलाई समस्या हुँदै आएको छ । रासस

देशभर ६ वटा चार तारे होटल

काठमाडौं । चार तारे होटलको संख्या ६ वटा पुगेको छ । काठमाडौंदेखि नेपालगञ्ज, पोखरा, सिमरामा खुलेका चार तारे होटलहरुको संख्या ६ वटा पुगेको हो । काठमाडौंमा होटल शंकर, ललितपुरमा होटल हिमालय, महेन्द्रनगरमा होटल ओपेरा, नेपालगञ्जमा होटल कृष्णा, सिमरामा होटल इच्छा र नगरकोटमा होटल मिस्टकले चार तारे होटलको सेवा दिईरहेका छन् । यी होटलहरुको कुल कोठा संख्या ४५१ रहेको छ । यी होटलहरुको निर्माण लागत ९९ लाखदेखि ५५ करोेड रुपैंयाँसम्म रहेको छ । सरकारले सन २०२० लाई नेपाल भ्रमण बर्ष घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । नेपालमा पाँच तारे होटलहरुको संख्या धमाधम वृद्धि भैइरहे पनि चार तारे होटल भने पछिल्लो समय थपिएका थिएनन् । होटल हिमालयले २०६६ असार १५ गते चार तारे मान्यता पाएको थियो भने होटल शंकरले २०६९ साउन १२ गते चार तारे होटलको मान्यता पाएको हो । ओपेराले २०७३ चैत २८ गते स्तरोन्नति भएर चार तारे बनेको थियो । त्यस्तै, कृष्णाले २०७४ भदौ २९ गते चार तारे मान्यता लिएको हो । त्यस्तै, इच्छा कामनाले २०७४ मंसिर १९ गते र मिस्टक माउण्टेनले २०७४ साल चैत ५ गते तार तारेको मान्यता पाएको हो ।

शाश्वतधामलाई बेस्ट टुरिस्ट डेस्टिनेसन अवार्ड, दर्शनको लागि मासिक ढेड लाख पर्यटक पुग्ने

काठमाडौं । शाश्वतधामले ‘बेस्ट टुरिस्ट डेस्टिनेसन अफ नेपाल’ अवार्ड प्राप्त गरेको छ । विश्वपर्यटन दिवस २०७५ को अवसरमा सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयद्वारा आयोजित समारोहमा सोही मन्त्रालयका मन्त्री रविन्द्र अधिकारीले शाश्वतधामलाई अवार्ड प्रदान गरेका छन् । समारोहमा पर्यटन राज्यमन्त्री धनबहादूर बुढा, पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपक जोशी लगायतपर्यटन क्षेत्रका अधिकारीहरुको उपस्थिति थियो । नेपालको पर्यटन प्रवर्धनमा उत्कृष्ट योगदान पु¥याए वापत शाश्वतधामले उक्त अवार्ड प्राप्त गरेको हो । शाश्वतधाममा नेपालका अतिरिक्त भारतीय पर्यटकहरूको समेत घुईचो लाग्ने गरेको छ । नेपाल भ्रमणमा आउने विश्वका पर्यटकहरूले समेत पछिल्लो समय शाश्वतधामलाई आफ्नो गन्तब्य बनाउदै आएका छन् । ‘शाश्वतधाम स्थापनाको छोटो समयमै नेपालको पर्यटन उद्योगमा उच्च योगदान पु¥याउन सकेकोमा हामीलाई खुसी लागेको छ । सम्मानका लागि सँस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई हार्दिक धन्यवाद दिन्छु’ शाश्वतधामका फाउण्डिङ ट्रष्टी एवं चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको भनाई उल्लेख गर्दै चौधरी ग्रुपका महाप्रबन्धक मधुसुधन पौडेलद्धारा जारी गरेको विज्ञप्ती उल्लेख गरिएको छ । चौधरीले भनेका छन्–‘शाश्वतधाममा सम्पदाहरू थपिने क्रम जारी रहेको र भविष्यमा नेपालको प्रमुख पर्यटकीय गन्तव्यमा सूचिकृत हुनेछ भन्ने हाम्रो विश्वास छ ।’ शाश्वतधाम धार्मिक पर्यटकीय केन्द्रका रूपमा स्थापित हुदै गएको छ । हाल यहाँप्रतिमहिना डेढ लाखसम्म पर्यटकहरू आउने गरेको बताइएको छ ।