क्षेत्रीय अन्तर्राष्ट्रिय केन्द्र बन्दै नेपालगञ्ज विमानस्थल, छिट्टै नेपालगञ्ज–दिल्ली उडान

काठमाडौं। सरकारले नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय उडानको केन्द्र बनाउने लक्ष्यसहित पूर्वाधार विकासलाई तीव्रता दिइएको छ । अन्तर्राष्ट्रिय उडानलाई मध्यनजर गर्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थलको स्तरोन्नतिसँगै पूर्वाधार र प्रविधियुक्त बनाइन लागेको हो । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय, विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो हवाई चाप न्यूनीकरण तथा क्षेत्रीय अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन विमानस्थलाई अन्तर्राष्ट्रिय उडान योग्य बनाउन लागिएको छ । नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय उडानयोग्य बनाउन आवश्यक पूर्वाधार बनाउन शुरु गरिएको विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । यो विमानस्थलबाट एटीआर–७२ बाटै भारतलगायत विभिन्न मुलुकका नजिकका गन्तब्यमा अन्तर्राष्ट्रिय उडान गर्ने योजना छ । पूर्वाधार निर्माणसँगै उपकरण थप्न लागिएको विमानस्थल प्रमुख ठाकुरले बताए। हाल रात्रिकालीन उडानसमेत भइरहेको यो विमानस्थलमा पार्किङ–बे विस्तारको काम शुरु गरिएको छ भने छिट्टै अन्तर्राष्ट्रियस्तरको टर्मिनल भवन बनाइनेछ । यो विमानस्थलबाट भारतको नयाँदिल्ली उडान भर्नका लागि बुद्ध एयरले अनुमति पाइसकेको छ । दिल्लीका लागि उठान अनुमति पाए पनि भारतीय पक्षबाट ‘स्लट’ व्यवस्थापनमा समस्या आएको छ । छ वटा पार्किङ–बे थपिँदै अन्तर्राष्ट्रिय उडान भर्ने उद्देश्यका साथ नेपालगञ्ज विमानस्थलमा छ वटा पार्किङ–बे थपिने भएको छ । आगामी १८ महीनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ उक्त पार्किङ–बेको बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्दै नेपालगञ्जलाई क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न स्तरोन्नतिको काम शुरु गरिएको उल्लेख गरे। क्षेत्रीय केन्द्रका रुपमा रहेको विमानस्थलमा पार्किङ नहुँदा धेरै समस्या आएको भन्दै सरकारको नीतिअनुरुप अब सबै एयरलाइन्सका विमान काठमाडौँ बाहेक नेपालगञ्ज, पोखरा र विराटनगर रहने वातावरण सिर्जना हुने उनको भनाइ थियो । छिट्टै नेपालगञ्ज–दिल्ली उडान पर्यटनमन्त्री अधिकारीले नेपालगञ्ज–नयाँदिल्ली उडान छिट्टै सञ्चालनका लागि आवश्यक पहल भइरहेको जानकारी दिनुभयो । उनले विमानस्थलाई अन्तर्राष्ट्रियरुपमा छिमेकी देशका नजिकका गन्तब्यमा उडान गर्ने विमानस्थलका रुपमा विकास गर्ने आफूको प्रतिबद्धता रहेको स्पष्ट परेका छन्। उनले भने, “अहिले अन्तर्राष्ट्रिय उडान नेपालगञ्जबाट गर्नका लागि बुद्ध एयरलाई अनुमति दिएका छौँ, अरु एयरलाइन्सले पनि त्यो अनुमति प्राप्त गर्न सक्छन् तर, नयाँदिल्लीमा ‘स्लट’ प्राप्न गर्न नसक्दा सञ्चालन हुन सकेको छैन । दुईपक्षीय सरकारी अधिकारीबीच कुरा भइरहेकाले छिट्टै नै सबै अवरोध छिचोलेर हामी सञ्चालनको अवस्थामा पु¥याउछौँ सोही विश्वासका साथ हामीले यहाँ निर्माणको काम अघि बढाएका हौँ ।” मन्त्री अधिकारीका अनुसार अबको तीन महीनाभित्र हालको टर्मिनल भवनको अगाडितर्फ नयाँ टर्मिनल भवनको डिजाइन भइसकेको छ । जहाँ अध्यागमनदेखि अन्तर्राष्ट्रिय विमान सञ्चालनका लागि आवश्यक सबै पूर्वाधार निर्माण सम्पन्न भइसक्नेछ । नेपालगञ्जलाई क्षेत्रीय अन्तर्राष्ट्रिय उडानको ठूलो केन्द्रका रुपमा विकास गर्ने गरी सरकारले पूर्वाधार विस्तारलाई तीव्रता दिएको उनले उल्लेख गरे। क्यानका अनुसार रु २८ करोड ५३ लाख ४० हजारको लागतमा कान्छाराम कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ । विमानस्थलमा हाल दुईवटा मात्र पार्किङ–मार्ग छन् । विस्तार गर्न लागिएको पार्किङ मार्ग ३१५ मिटर लम्बाइ र ६४ मिटर चौडाइको हो । यो निर्माण भएपछि थप छ वटा एटिआर–७२ विमान राख्न सकिन्छ । यो बनिसकेपछि आठ वटा ठूला र चार वटा साना गरी १२ वटा विमान पार्किङ गर्न सकिने क्यानले जनाएको छ । विमानस्थलमा क्यानेडियन सरकारको सहयोगमा सुविधा सम्पन्न ह्याङ्गर यसअघि नै निर्माण भइसकेको छ । हाल सीता एयरले यो ह्याङ्गर भाडामा प्रयोग गरिरहेको छ । नेपालगञ्जमा काठमाडौँबाट नेपाल एयरलाइन्स, बुद्ध एयर, यति एयरलाइन्स, श्रीएयरलाइन्स, सौर्य एयरलाइन्स, सीता एयरलाइन्स, तारा र गोमा एयरलाइन्सले उडान भर्दै आएका छन् । क्षेत्रीय उडानका रुपमा नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा, रारा, बाजुरा, सिमिकोट र भर्खरै सञ्चालनमा आएको अछामको साँफेबगरमा उडान हुँदै आएको छ । एक सय ६५ बिगाहा जग्गामा रहेको यो विमानस्थलको एक हजार ५०५ मिटर लामो धावनमार्ग (रनवे) छ । नेपालगञ्ज विमानस्थललाई विस्तारै अन्तर्राष्ट्रिय उडानयोग्य बनाउन लागिएको क्यानको एरोड्रोम इञ्जिनीयरिङ विभागका प्रमुख ध्रुवदास भोछीभोयाले बताउनुभयो । उनले यस्तै प्रकृतिका परियोजना (विमानस्थल स्तरोन्नति) जनकपुरमा चालू अवस्थामा छ भने झापाको चन्द्रगढी र धनगढीमा चाँडै शुरु हुने जानकारी दिए। क्यानका अनुसार मुलुकभर हाल छ वटा निर्माणाधीनसहित ५० वटा विमानस्थल छन् यीमध्ये ३२ वटा विमानस्थल कालोपत्र भइसकेका छन् । निर्माणाधीन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल अबको छ महीनामा सञ्चालनयोग्य हुने गरी यही कात्तिक १२ गतेबाट कालोपत्र गर्ने काम शुरु गरिएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि अघि बढेको छ भने बारामा दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई साकार तुल्याउन निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल चाँडो बन्नुपर्ने आवश्यकता छ । क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न लागिएका भद्रपुर, विराटनगर, जनकपुर, पोखरा, नेपालगञ्ज र धनगढीको स्तरोन्नतिको काम पनि उत्तिकै छिटो गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ । रासस

मकालु एडभेन्चरको ‘बाघ संरक्षणसँगै पर्यटन प्रवद्र्धन’ गर्ने अभियान

काठमाडौं । मकालु एडभेन्चर प्रालिले बाँघ संरक्षणसँगै पर्यटन प्रवद्र्धन अभियान सुरुवात गरेको छ । कम्पनीले ‘ट्रेक फर बिग क्याट्स’ नाराका साथ सांकेतिक रुपमा एउटा सिंह र दुईवटा बाघमार्फत सो अभियान अघि बढाएको हो । अभियानका अभियन्ताहरु दक्षिण अफ्रिकन नागरिक गार्थ जेन्स लेग र टे«सी ब्रटन तथा चेक रिपब्लिकन नागरिक लुकास सोभडा बुधबार ठमेल इको रिसोर्टमा आयोजित पत्रकार सम्मेलनबीच सिंह र बाँघको भेषमा सार्वजनिक भएका थिए । गार्थ र टे«सी सफारी गाइड हुन् भने लुकास फोटोग्राफर हुन् । उनीहरु नेपालको पर्यटन प्रवद्र्धनका लागि सोही सिंह र बाँघको भेषमा लुक्दादेखि विश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविरसम्म पुग्ने जानकारी दिए । युकेबाट खास मगाएको सो भेष हातले आफैं बुनेर बनाएको उनीहरुले बताए । उनीहरुले लोपोन्मुख जनावरहरुको संरक्षण तथा वातावरणीय अवस्थाबारे विभिन्न विद्यालयका विद्यार्थीहरु माझ प्रत्यक्ष जनचेतना मूलक कार्यक्रम गर्नेछन् । बासबाट निर्मित टुटब्रस पनि विद्यार्थीहरुलाई वितरण गर्ने योजना उनीहरुको छ । यस्तो खालको कार्यक्रम नेपालमा पहिलो पटक गर्न लागिएको हो । अभियन्ता गार्थले भने “नेपालजस्तो विभिन्न जातका जनावरहरु पाइने ठाउँमा पछिल्लो समय लोप हुँदै जानु एकदमै दुःखद भएको भन्दै त्यहि कुरालाई उजागर गर्नका लागि आफुहरुले अभियान सञ्चालन गरेको बताए ।” उनले नेपालमा मात्रै नभएर अन्य मुलुकमा समेत यो अभियान सञ्चालन गर्ने योजना रहेको सुनाए । यस अभियानको व्यवस्थापन गर्ने कम्पनी मकालु एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले नेपालमा बाँघ जन्य जनावरहरुको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्दै समग्र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनका लागि यो अभियान कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले यस अभियानले आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा नयाँ आयम थप्ने दाबीसमेत गरे ।

रारामा पर्यटकलाई पूर्वाधारको अभाव

तस्विर- डोमी शेर्पा काठमाडौं। कर्णाली प्रदेश मुगुको छाँयानाथ रारा नगरपालिकामा अवस्थित छ रारा ताल । रारा तालको सौन्दर्य बेहिसाबको छ । ताल वरपर चारैतिर हरियाली छ । रारा राष्ट्रिय निकुञ्जबीचको घना जङ्गलको काखमा बसेको रारा ताल नेपालको मुख्य पर्यटकीय क्षेत्रको रुपमा परिचित छ। समुद्री सतहबाट दुई हजार ९९० मिटरको उचाइमा रहेको रारा तालको लम्बाइ करीब पाँच दशमलव १ किमी तथा चौडाइ करीब २ दशमलव ७ किमी रहेको छ । रारा क्षेत्र प्राकृतिक रुपमा आफैँमा सौन्दर्यको खानी भए पनि यहाँ पूर्वाधारको निकै कमी रहेको छ । रारा पुग्ने आन्तिरक तथा बाह्य पर्यटकले पूर्वाधारको कमी रहेको गुनासो गर्ने गरेका छन् । ताल घुम्न आउने पर्यटकलाई खान, बस्न, विद्युत्, टेलिफोन, इन्टरनेटलगायतको समस्या छ । घुम्न आउने याममा पर्यटकले बास बस्नसमेत नपाउँदा रातभर खुला आकाशमुनि आगो तापेर बस्नुपरेको बुटवलबाट रारा घुम्न आएका दीपेश श्रेष्ठ बताउँछन्। कर्णाली प्रदेश सरकारले २०७५ साललाई ‘कर्णाली–रारा पर्यटन वर्ष’ घोषणा गरेको छ । यहाँ त्यस अनुसारको पूर्वाधार निर्माण भने गर्न सकिएको छैन । कर्णाली प्रदेश सरकारले एक वर्षभित्र रारा र आसपासको क्षेत्रमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पर्याप्त पूर्वाधार तयार नगरी कर्णाली रारा पर्यटन वर्ष घोषणा गरिएको यहाँ पनि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले गुनासो गरेका छन् । रारा तालको परिधिभित्र डाँफे र भिलेज गरी दुई होटल सञ्चालनमा छन् । दुई होटलमा जम्मा २८ कोठा रहेको छ । दिनहुँ आउने हजाराँै पर्यटकलाई भने बस्न असहज हुने गरेको छ । सिन्धुपाल्चोकबाट रारा घुम्न आउनुभएका पर्यटक राजु बुढामगर राराको वर्णन गरी साध्य छैन भन्छन् । “पूर्वाधार अभावले राराको सौन्दर्य ओझेलमा परेको छ,” उनले भने। रारा राष्ट्रिय निकुञ्जभित्र तथा तालको वरपर होटल सञ्चालन गर्न नपाउनुपर्ने भए पनि राष्ट्रिय निकुञ्जको क्यान्टिनको रूपमा रहेको डाँफे र भिलेज होटल एकलौटी रूपमा सञ्चालनमा छ । उद्योग वाणिज्य सङ्घ मुगुका सदस्य गङ्गाबहादुर शाही भन्छन्, “पर्यटकलाई मध्यनजगर राख्दै खान बस्नको सुविधाको लागि होटल सञ्चालनको पहल गर्दा सञ्चालन गर्न दिँदैनन् ।” केहीले एकलौटी रुपमा व्यवसाय गर्ने गरे पनि अन्यलाई होटल व्यवसाय गर्न नदिएको उनको आरोप छ । रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले अन्य होटल सञ्चालनका लागि स्वीकृति दिइएको छैन । यहाँ दुई होटल निर्वाध रूपमा सञ्चालन भइरहेको शाही बताउनुहुन्छ । यस विषयमा रारा राष्ट्रिय निकुञ्ज मौन रहँदै आएको छ । राराताल घुम्न आउने पर्यटकलाई टेलिफोन र इन्टरनेटको असुविधा छ । नेपाल टेलिकम र एनसेलले काम नगर्ने झापाबाट आएका पर्यटक प्रवीण काफ्ले बताउँछन्। काफ्ले यहाँको पर्यटनलाई व्यवस्थित बनाउन पहिला खाने, बस्ने, नेटवर्क तथा इन्टरनेटजस्ता अतिआवश्यक कुराको सुविधा दिनुपर्ने बताउँछन्। कठिन अनि लामो बाटोको प्रवाह नगरी सडक मार्ग भएर रारा घुम्न निस्कने पर्यटकले रारालाई पूर्ण बनाउन यहाँको पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । रारालाई नेपालको स्वर्ग मानिए पनि कठिन यात्राबाट पुग्ने पर्यटक यहाँ पूर्वाधारको कमीले यात्रा खल्लो हुने गरेको गुनासो गर्दै आएका छन् । वैशाखमा ‘कर्णाली रारा पर्यटन वर्ष’ घोषणा कार्यक्रममा पुग्नुभएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले २०७५ भित्रै कर्णालीमा आवश्यक पूर्वाधार बनिसक्ने बताएका थिए। सात महीना बित्नैलाग्दा समेत पर्यटकले अतिआवश्यक सुविधा पाउन सकेका छैनन् । रारा घुम्न आउने पर्यटक कोही टेन्टमा त कोही नजिकका गाउँमा बास माग्न बाध्य छन्  । टेन्टमा बस्ने पर्यटक चिसोले रातभर कठ्याङ्ग्रीन बाध्य छन् । कतिपयले त बस्नको लागि टेन्ट पनि पाउँदैनन् । रारामा बास नपाउने तथा भोकभोकै बस्नु पर्ने बाध्यता छ । नेपाल पत्रकार महासङ्घ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्ल पर्यटन विकास, पर्यटनसँगै भित्रिने प्रदूषण, व्यापारीकरण रोक्नुपर्ने बताउनुहुन्छ । यसका साथसाथै निकुञ्जभित्र पहिलेको तुलनामा वन्यजन्तु लोप हुँदै गएको, तालमा माछाको सङ्ख्या घट्टै भएको र वन्यजन्तुको चरनक्षेत्र मासिदै गएकाले निकुञ्जको अस्तित्व मेटिन सक्ने मल्ल बताउँछन्। यसतर्फ निकुञ्ज र सरकारले ध्यान जानुपर्ने उनको भनाइ छ । छायाँनाथ रारा नगरपालिकाले गत वर्षको नगरसभाबाट ताल क्षेत्रभित्र सञ्चालित होटल बाहिर ल्याउने निर्णय गरेको भएता पनि अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन । ताल क्षेत्रभित्रको होटलले राराको सफा तथा कञ्चन सुन्दरतामा ह्रास पुग्ने भएकाले तालभन्दा बाहिर होटल बनाउनुपर्ने तथा ताल क्षेत्रभित्र रहेको सेनाको गुल्मलाई बाहिर सारेर राराको सौन्दर्य जोगाइराख्नुपर्ने नगरवासीको माग छ । अहिलेको बदलिँदो समयसँगै पर्यटकको रूचिलाई ध्यानमा राखी परम्परागत सुविधा, वन्यजन्तु शिकार तथा प्राकृतिक स्थानमा बसेर इन्टरनेटमार्फत स्वतन्त्र रूपमा सेवा दिन सके राराको सौन्दर्यमा सुनमा सुगन्ध पुग्ने देखिन्छ । कालीकोट, जुम्ला, मुगु हुँदै रारासम्म जाने पर्यटकलाई सुविधाको हिसाबमा होमस्टे सञ्चालन गर्ने हो भने यहाँको व्यवसाय फस्टाउने तथा पर्यटकलाई समेत सुविधा पुग्नेछ । विसं २०६९ पुसमा नाग्मा (कालीकोट र जुम्लाको सिमाना)हुँदै मुगु सदरमुकाम गमगढीसम्मको बाटो सञ्चालन भएसँगै रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । काठमाडौँ, बुटवल, नेपालगञ्ज तथा देशका विभिन्न स्थानबाट रारा घुम्न जिप, बस तथा मोटरसाइकल लिएर आउने प्रशस्त छन् । यस क्षेत्रको पहिलो पर्यटकीय गन्तव्य रहेको रारा पुग्न काठमाडौँबाट जिप, बस तथा मोटरसाइकलमा तीन दिन लाग्छ । रारा पुग्न हवाईमार्गको पनि सुविधा छ । नेपालगञ्जबाट जहाजमा मुगुको ताल्चा विमानस्थल झरेपछि करीब दुई घण्टा हिँडेर रारा पुग्न सकिन्छ । रासस