२३ दिनसम्म कर्णालीको एक्लो यात्रा गरेकी चेलीको कथा : भेँडाकाे बथान देख्दा बाँच्ने अाशा पलायाे
काठमाडौं । सडकले छुन नसकेको सुदूर कर्णालीको सबैभन्दा ठूलो जिल्ला डोल्पा । एउटै गल्तीले जीवन समाप्त हुनसक्ने पहाडी गोरेटोहरु र छ महिना लेक बस्नुपर्ने अनि अर्को छ महिना बेँसी झर्नुपर्ने विषम हावापानी । त्यही दुर्गमता र विषमताबीचको एक्लो यात्रा । यो कल्पनाले मात्रै पनि जोकोहीको आङ सिरिङ्ग हुन्छ । त्यसमाथि त्यस्तो एक्लो यात्रामा एउटी महिला । मानव श्रृष्टिमै सुकोमल देह र हृदय भएका महिलाका लागि यस्तो यात्रा झन् भयावह विषय हुनसक्छ । तर संसारमा यस्ता अभियानहरु छन्, जसले यस्तै कहालीलाग्दा कल्पनाहरुलाई साकार बनाइरहेका छन् । त्यस्तै मिसनकी एउटी सफल अनि सहासिक पात्र हुन् प्रास्ना डंगोल, जसलाई मैले करिब १ वर्षअघि एउटा भिडियोमार्फत् चिन्ने मौका पाएँ । मैले त्यसबेला उनलाई मात्र चिनिँन, उनीसँगै उनको अभियानलाई चिन्ने मौका पाएँ । उनीसँगकाे भेटले मलार्इ महिलाकाे शक्ति चिन्ने माैका मिल्याे । सोलो वुमन ट्राभलिङ च्यालेन्ज अभियान । जहाँ ‘सोलो’ शब्दले ‘एक्लै गरिने यात्रा’लाई जनाउँछ । अर्थात् त्यस्तो अभियान जहाँ एउटी नारी एक्लै एउटा साहसिक यात्रामा निस्कन्छिन् । यो यस्तो कार्यक्रम हो जसले फेसबुक भोटिङमार्फत् छानिएका १० महिलाहरुलाई एक्लो लामो यात्रामा पठाउँछ र त्यसमा लाग्ने सम्पूर्ण खर्च व्यहोरिदिन्छ । यो अभियानमा बाली, फिजी, नेपाल, श्रीलंका, थाइल्याण्ड, घाना, जाम्बिया, कोलम्बिया, अर्जेन्टिना, पेरु लगायतका देशहरुमा यो अभियान सञ्चालित छ । २००७ देखि यता यो अभियानमा ८० हजार भन्दा बढी स्वयम्सेवकहरु छन् । सो अभियानले प्रत्येक वर्ष १० जना महिलालाई एक्लो भ्रमणमा पठाउँछ । त्यहीे अभियानकी एउटी नेपाली चेली जसले त्यस्तै साहसिक यात्राको सफल प्रयोग गरिन् उनले । प्रास्नाले २३ दिनसम्म डोल्पा जिल्लाको त्यस्तै विषम एक्लो यात्रा गरेकी थिइन् । नेपाली ट्राभलर्स नामको फेसबुक पेजमा राखिएको उनको साहसिक यात्राको उक्त भिडियो हेरेसँगै भेट्ने तीव्र इच्छा भए पनि ८ महिनापछि मात्र उनीसँग प्रत्यक्ष संवादको मौका मिल्यो । काठमाडौंको नेवार परिवारमा जन्मिएकी उनी ‘फिल्म मेकिङ’को विद्यार्थी रहिछन् । ‘फिल्म मेकिङ’ विषयमै बेलायतमा ४ वर्ष लामो अध्ययन गरी स्नातक तह उर्तीण गरेपछि ४ महिनाको लागि नेपाल फकिएकी उनलाई फेरि बेलायत फर्कन मन नै लागेन । चलचित्र निर्माणसम्बन्धी अध्ययनमा स्नातकोत्तर गर्न फेरि बेलायत फर्किने सोचलाई त्यागेर उनी नेपालमै बस्ने निधो लिइन् । उनी भन्छिन्– ‘डिग्रीमात्र सबै कुरा होइन, सीप र अनुभव आवश्यक छ भन्ने लाग्यो, त्यसैले म नेपालमै बसेँ ।’ काठमाडौंको सीमितताबाट माथि उठेर सूदूरकर्णालीको यात्रा गर्ने आँट गर्नुको पछाडी ग्रामीण नेपाली परिवेशलाई चिन्ने तीव्र इच्छा रहेको उनले सुनाइन् । त्यतिमात्र होइन तिब्बती संस्कृतिबाट प्रभावित उनी नेपाल चीन सीमा नजिक प्रचलनमा रहेको तिब्बती परिवेशलाई राम्रोसँग नियाल्न चाहन्थिन् । यसले उनको अध्ययनको क्षेत्रमा समेत सहयोग पुग्ने विश्वास थियो । यात्राका लागि सुरुमा बुवाआमाले सहमति नजनाए पनि भोटिङमा भाग लिएर अन्तिम १० मा पर्दै गर्दासम्म उनका बुबाआमा उनको यात्राप्रति उत्साहित भइसकेका थिए । यात्राका सुरुका दिनहरुमा उनलाई निकै कठिन भयो । यस्तो यात्रामा निस्कनुनै दुर्भाग्य रहेछ भन्ने उनको सोचहरु यात्राका उत्तरार्द्धमा भने साहस र शक्तिमा रुपान्तरित भए । उनी भन्छिन् डोल्पा त्यस्तो ठाउँ हो जहाँ आफ्नो बाटो आफैें खोज्नुपर्छ । यात्राका क्रममा आफू हराएको अनुभव गर्दै कतिपटक उनी आफैंसँग रोइन्, बिलौना गरिन् । क्षितिजको डाँडामा देखिएका भेडाका बथानहरुले त्यतिबेला उनमा साहस भरिदियो । डोल्पाको डाँडामा भेडा गोठाल्नी ‘बजु’सँग अँगालो हालेर रुँदा आफूमा सञ्चा नेपालीपन भटेकी थिइन् उनले, साहसिक नारीभित्र लुकेको शलील हृदय सायद त्यही थियो । धेरै दिनअघि पकाएर झोलामा राखेका चिसा रोटी र पाउरोटीहरुमा जीवनका स्वादहरु भेटिएको थियो त्योबेला । मोत्से गुम्बामा मेला भर्न आएकाहरुसँग रोटी र अचारहरु बाँडेर खाएको र गुम्बामा ध्वजा बाँधेर फकिएको सम्झना उनको मस्तिष्कमा अझै ताजै छ । त्यही गुम्बाले दिएको उनमा आफैंमाथि विश्वास गर्ने आत्मबल थियो । हिमालका खोँचहरुमा मुस्काइरहेका बालसुलभ हाँसोहरुले उनलाई पाइला पाइलामा जीवनको परिभाषा दिइरहेको थियो । डोल्पाका स्थानीयहरुले पिएको जाँडका बटुकाहरुमा उनले जीवनको रस भेटेकी थिइन् । यात्राको अन्तिम समय जब तीन हप्तापछि आकाशतिर फर्किन्, रातमा आकाशका ताराहरुले उनलाई सफल यात्राको सफलताको बधाई दिइरहेजस्तो लाग्यो । जोकोहीसँग सजिलै नखुल्ने स्वभावको उनले यात्राको क्रममा भुगोल, प्रकृति, समाज र मानव समाज जुन साक्षात्कार गर्ने मौका पाइन्, त्यो नै थियो जीवनको प्रतिबिम्ब । सोलो ट्राभलिङको त्यही यात्राबाट अनुभव सँगालेकी उनले भनिन्,- ‘जो कोहीले जीवनमा घुम्नुपर्छ, पटक पटक घुम्नुपर्छ, अझ सम्भव छ भने एक्लै घुम्नुपर्छ, प्रकृति, संस्कृति र जनजीवनको गहिराईमा पुग्नको लागि ।’
नेपालमा पहिलो पटक एयर बस ए२२० अनावरण, अन्य विमानभन्दा २० प्रतिशत इन्धन बचत गर्ने
काठमाडौं । एयर बस फेमलीको नयाँ अतिरिक्त व्यवसायिक एयरक्राफ्ट, द ए२२०-ले विश्व भ्रमणको दौरान नेपालमा पहिलो पटक भ्रमण गरेको छ । सानो एकल-आएल मार्केटमा उत्कृष्ट प्रदर्शन र सुविधा प्रदान गर्दै आएको ए२२०-३०० एयरबाल्टिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा २५ र २६ कार्तिक प्रदर्शित गरिएको हो । १४५ जना यात्रुहरुलाई बोक्ने क्षमता राख्ने यो एयरक्राफ्ट चीन, नेपाल, टर्की अनि थाइल्यान्ड गरि ४ वटा देशको डेमो भ्रमणमा रहेको छ । यो एयरक्राफ्टले असाधारण प्रदर्शन गर्नुका साथै आराम अनि लाभदायक पनि छ । यस बाहेक उचाईमा रहेका काठमाडौं जस्ता हवाई अड्डा आदिका लागि पनि यो उपयुक्त छ । १००-१५० सिट क्षमताको बजारका लागि निर्मित एक मात्र विमान ए२२० ले अजय इन्धन क्षमता अनि राम्रो आराम प्रदान गर्दछ । यो विमानले स्टेट अफ द आर्ट एरोडायनामिक, एड्भान्स्ड मटेरियल्स अनि प्राट एण्ड वाइट्नीको नयाँ जेनेरेशनको पीडब्लु१५००जी भएको इन्जिनका साथ यो विमानले साधारण विमान भन्दा २० प्रतिशत इन्धनको बचत गराउने छ । यो विमानको अहिलेबाटै ४०० भन्दा धेरै अर्डर भईसकेको छ । ए२२० विमानले बजारमा १००-१५० सिट क्षमताका अन्य एयरक्राफ्टको तुलनामा चाँडै राम्रो बजार गर्ने छ ।
सौराहालाई केन्द्रविन्दु बनाउने पर्यटकीय गुरुयोजना अन्तिम चरणमा
काठमाडौं। पर्यटकीय नगरी सौराहालाई केन्द्रविन्दु मानेर जिल्लाको समग्र पर्यटकीय क्षेत्र जोड्ने गरी थालिएको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी २० वर्षमा सौराहासहित जिल्लाका पर्यटकीय गन्तव्यस्थलहरूको विकास कार्यलाई गुरुयोजनामा समावेश गरिएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले दुई वर्षअघि थालिएको गुरुयोजना निर्माणको काम फागुन ७ गते सार्वजनिक गर्ने तयारी गरिएको बताए। उनका अनुसार सौराहा आउने पर्यटकको बसाई लम्ब्याउने गरी पर्यटकीय पूर्वाधारको विकास गर्ने विषयमा गुरुयोजना केन्द्रित भएको छ । आउँदो ५, १०, १५ र २० वर्षमा के–कस्ता काम गर्ने भन्ने विषय गुरुयोजनामा समावेश गरिएको छ । क्षेत्रीय होटल सङ्घका महासचिव राममणि खनालका अनुसार पर्यटन बोर्ड र क्षेत्रीय होटल सङ्घको संयुक्त लगानीमा करीब रु २० लाख खर्च गरेर गुरुयोजना निर्माण गरिएको हो । सो क्रममा विभिन्न सरोकारवाला निकायसँग विस्तृत छलफल गरिएको छ । गुरुयोजनामा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरिने पर्यटकीय गतिविधिको विस्तार, पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास, पानीसँग सम्बन्धित क्रियाकलापको विकास, स्वदेशी र विदेशी क्षेत्रमा यहाँको पर्यटकीय महत्वको प्रचारप्रसारलगायतका विषय समावेश गरिएका छन् । माउण्टेन हेरिटेज प्रालिले गुरुयोजना निर्माणको काम गरिरहेको छ । प्रालिका विज्ञ विश्व सुवेदीका अनुसार सौराहा क्षेत्र शहरीकरण हुँदै गएकाले पर्यापर्यटनतर्फ लैजानुपर्ने गुरुयोजनामा उल्लेख छ । सौराहाका होटलमा प्रकृतिसँग मिल्दाजुल्दा एकै खालका रङ्ग प्रयोग गर्ने, हरियाली बढाउने जस्ता विषय गुरुयोजनामा उल्लेख छ । गुरुयोजनामा चितवनको प्रवेशद्वार सौराहालाई मानेर उकालो पदयात्राका लागि उपरदाङगढी, सिराइचुलीजस्ता पहाडी क्षेत्र, धार्मिक पर्यटनका लागि देवघाट, मौलाकालिका, कृषि र पर्यापर्यटनका लागि माडी क्षेत्र, सूर्याेदय र दुर्लभ वन्यजन्तु अवलोकनका लागि सौराहासँगै पटिहानी, जगतपुर र मेघौली क्षेत्रको विकास गर्नुपर्ने उल्लेख छ । सुवेदीले गुरुयोजनाअनुसार काम गर्न सकेमा चितवनमा पर्यटकको बसाई लम्बिने र यहाँको पर्यटकीय क्षेत्रको विकास हुने बताउनुभयो । हाल वार्षिक दुई लाख हाराहारी पर्यटक चितवन आउने गर्दछन् । यो सङ्ख्यालाई पाँच लाख पु¥याउने गरी गुरुयोजना निर्माण गरिएको छ । जिल्लामा १५० भन्दा बढी पर्यटकीय होटल रहेका छन् । तीमध्ये सौराहामा ११० रहेका छन् । पछिल्लो समय जिल्लामा होटल थप्ने क्रम बढ्दै गएको छ। रासस