अङ्ग्रेजी नयाँ वर्षको रमझममा पोखरा, ३० प्रतिशत होटल बुकिङ
पोखरा । नजिकिँदै गरेको अङ्ग्रेजी नयाँ वर्षका अवसरमा पर्यटकीय नगरी पोखराका होटलहरू बुकिङ हुन थालेको छ ।विगत केही वर्षयता पोखरा आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएका कारण अङ्ग्रेजी नयाँ वर्षले त झन पोखराले पर्यटकीय पहिचान नै बनाइसकेको छ । यसबेला आउने विदेशी पर्यटकका साथै नेपालस्थित विभिन्न कुटनीतिक नियोगमा काम गरिहेका विदेशी कर्मचारी समेतको रोजाइ पोखरा नै पर्ने भएका कारण यो याममा विदेशी पर्यटक पनि उल्लेख्य सङ्ख्यामा पोखरा आउने गरेको पश्चिमाञ्चल होटेल सङ्घका पूर्वअध्यक्ष भरतराज पराजुलीले बताए । “अङ्ग्रेजी नयाँ वर्षमा पोखरा जानुपर्छ भन्ने सोचका साथ देशका विभिन्न स्थानबाट आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्,” उनले भने, “पछिल्ला केही वर्षयता अङ्ग्रेजी नयाँ वर्षका लागि पोखरा नै सबैको रोजाइ बनिसकेको छ ।” अध्यक्ष पराजुलीका अनुसार पर्यटकलाई लक्षित गरी यहाँ होटेलको सङ्ख्या वृद्धिका साथै अन्य पूर्वाधार निर्माणले गति लिइरहेको छ । हालसम्म यहाँका होटल व्यवसायमा रू एक खर्ब भन्दा बढी लगानी भइसकेको छ । पोखरा उपत्यकामा मात्र प्रतिदिन २५ हजार पर्यटक बस्नसक्ने बताउँदै उनले आसपासका सराङकोट, बेगनास, पुम्दी, धम्पुसलगायत स्थानसमेत गरी दैनिक ४० हजार पर्यटक बस्नसक्ने क्षमता रहेको जानकारी दिए । अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी अग्रिम बुकिङ शुरु भइसकेको र साना तथा मझौला होटेलमा करिव ३० प्रतिशत बुकिङ भइसकेको छ । पर्यटन व्यवसायीहरूका अनुसार अङ्ग्रेजी नयाँ वर्षमा यहाँका झण्डै ९० प्रतिशत भन्दा बढी होटेलका कोठा बुकिङ हुनेगरेको छ । होटलमा बुकिङको क्रम शुरु भइसकेको बताउँने नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष एवं होटल पोखरा बाटिकाका सञ्चालक सन्तोष पोखरेलले यस अवसरमा सम्पर्कमा आएका पर्यटकले साविककै दरमा होटेलका कोठा बुकिङ गरिरहेको बताए । “अङ्ग्रेजी नयाँ वर्षमा आउने पर्यटकले सामान्यतः तीन दिनका लागि कोठा बुकिङ गर्ने गरेका छन्,” उनले भने, “पोखरामा होटल थप हुनाका साथै पूर्वाधारसमेत विस्तार भएका कारण कोठाको अभाव हुने अवस्था भने छैन ।” त्यसअवसरमा हुने सडक महोत्सवका साथै आयोजना गरिने अन्य पर्यटकीय गतिविधि, साहसिक पर्यटन, दृश्यावलोकनजस्ता कार्यक्रमले पोखरा स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । यस समयमा आउने पर्यटक पोखराको सडक महोत्सवमा रमाउँछन् भने फेवातालमा डुङ्गा खियाउने, सराङकोटबाट प्याराग्लाइडिङका साथै जिप फ्लाइमा पनि मनोरञ्जन लिन्छन् । पर्यटकल पोखरा आसपासका विन्ध्यवासिनी, गुप्तेश्वर महादेव मन्दिर, र विश्व शान्ति स्तुप दर्शन गर्नाका साथै पुम्दीकोट, सारङ्कोटलगायत स्थानबाट पोखरासहित हिमाली शृङ्खला अवलोकन गर्न रुचाउँछन् । त्यस्तै महेन्द्र गुफा, चमेरे गुफा आदिको अवलोकन, फेवा, बेगनास, रुपालगायत तालमा डुङ्गा खियाएर पनि पर्यटकले मनोरन्जन लिने गरेका छन् । अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी आउने पर्यटकले सामान्यतः डिसेम्बर ३० देखि तीन÷चार दिनसम्म पोखरामा बिताउने गरेको नेपाल ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल९टान० पश्चिमाञ्चल क्षेत्रीय सङ्घका द्वितीय उपाध्यक्ष एवं होटेल एशियाका सञ्चालक धर्म पन्थीले बताए । होटेल एशियामा डिसेम्बर ३० र ३१ का लागि ५० प्रतिशत कोठा बुकिङ भइसकेको जानकारी दिँदै उनले अङ्ग्रेजी नयाँ वर्ष नजिकिँदै गर्दा पोखेरेली पर्यटकको स्वागतको पर्खाइमा रहेको बताए ।
परिचित पर्यटकीय स्थल बन्दै शङ्खरापुर, होमस्टे संचालनको तयारी
काठमाडौं । श्रीस्वस्थानी कथामा ‘लावण्य देश’ को नामबाट चित्रित शङ्खरापुरमा पर्यटकीय विकासको सम्भावना बढ्दै गएको छ । काठमाडौँ जिल्लामै रहेर पनि ओझेलमा परेको यस क्षेत्रमा ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेका क्षेत्रका साथै जहरसिंह पौवा वनभोजस्थल, देउरालीमा सञ्चालित प्याराग्लाइडिङ र स्थानीय होटेल खुलेसँगै पर्यटकीय चहलपहल बढ्न थालेको छ । काठमाडौँको रत्नपार्कबाट १८ किलोमिटरको दूरीमा रहेको साँखुसम्म मोटरबाटोको स्तरोन्नति भएमा अन्तर्राष्ट्रिय पर्यटक बढाउन सहज हुने देखिएको छ । शङ्खरापुर होटेल एशोसिएशनका अध्यक्ष सुमन थापाका अनुसार हालसम्म सो क्षेत्रमा होटल व्यवसायका लागि रु एक अर्ब ६५ करोडको लगानी भइसकेको छ । यहाँका ३८ होटलमा गरी पाँच सय कोठाको क्षमता छ । चाँडै केही पाँच तारे होटल बन्ने तयारीमा छ । स्थानीय घरवास (होमस्टे) सञ्चालनका लागि पनि तयारी भइरहेको छ । शालिनदी, साँखु, मणिचूड, बज्रयोगिनी, इन्द्रायणी सलम्बुदेवी, विश्वम्भरा नारायणजस्ता धार्मिक क्षेत्रका कारण यहाँ वर्षेनी धार्मिक पर्यटक वृद्धि हुँदैछन् । ती क्षेत्रलाई थप विकास गर्दै प्राकृतिक पहाडी वन जङ्गल, मणिचुड, झुले देउराली, जहरसिंह पौवा र थाना भञ्ज्याङलाई पर्यटकीय र धार्मिक क्षेत्रका रूपमा विकसित गर्न शङ्खरापुर नगरपालिकाले बजेट विनियोजन गरेपछि थप पर्यटकीय विकास हुने सम्भावना देखिएको छ । विसं २०६८ को जनगणनानुसार २५ हजार ३३८ जनसङ्ख्या रहेको र ६० दशमलव २१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको तीन हजार तीन सय वर्ष अगाडि बनेको शङ्ख आकारको यो शहर मौलिक पाँच ढोकाका कारणले पनि परिचित छ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लासँग जोडिएको शङ्खरापुर नगरपालिकाको वनभोजस्थल जहरसिंह पौवामा नगरपालिकाले हिमाल र सूर्योदय अवलोकनका लागि हालै बनाएकोस्तम्भका कारण पनि यहाँ चहलपहल बढेको छ । थाना भञ्ज्याङ्गमा केबुलकार सञ्चालनको पनि पहल भएको छ । नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले विनाशकारी भूकम्पमा थिलथिलो भएका सम्पदा र भवनको पुनःनिर्माण गर्दै पर्यटनलाई पहिलो प्राथमिकता दिएर नगरवासीलाई समृद्धिका लागि लागेका छन् । ०७२ सालको भूकम्पमा यस नगरपालिकामा १०८ को मृत्यु भएको थियो भने छ हजार घर ध्वस्त भएका उक्त ठाँउमा पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिने अनुदानमा नगरपालिकाका तर्फबाट थप रु एक लाख दिने नीति लिइएको जानकारी दिएका छन् । नगरपालिकाले चीनको ल्हासा नगरपालिका र अन्तर्राष्ट्रिय बौद्ध पर्यटन केन्द्रको सहयोगमा चाँपाबोट र चिहानडाँडामा स्रङचङगम्पो र भृकुटीको पार्क बनाउन पनि बजेट विनियोजन गरेको छ । नगर क्षेत्रभित्रको धार्मिक, सांस्कृतिक, पर्यावरणीय पर्यटनको सम्भाव्यता उजागर गर्न नगरस्तरीय एकीकृत पर्यटकीय गुरुयोजना तयार गरिने प्रमुख श्रेष्ठको भनाई रहेको छ । देउरालीस्थित शङ्खरापुर प्याराग्लाइडिङ प्रालिका सञ्चालक कुशल थापाले नियमित सञ्चालनका हिसाबले प्रदेश नं– ३ कै पहिलो प्याराग्लाइडिङ आफूले सञ्चालन गरेको र गतवर्ष तीन सय पर्यटकले मनोरञ्जन लिएको बताएका छन् । रासस
नेपाल र श्रीलङ्काबीच पर्यटन प्रवद्र्धनका सम्बन्धमा साझा अवधारणा
काठमाडौं । नेपालका लागि श्रीलङ्काका राजदूत स्वर्णा परेराले दुई देशबीच पर्यटन प्रवद्र्धन गर्न साझा अवधारणा अगाडी बढ्नुपर्ने बताएका छन् । पर्यटक तान्न दुई मुलुकबीच सिधा हवाई सम्पर्क विस्तार गरी प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइनुपर्ने खाँचो औँल्याउँदै कार्यक्रम बनाएर प्रवद्र्धन गर्नु पर्ने भनाई रहेको छ । नेपालका पूर्वपर्यटन राज्यमन्त्री याङकिला शेर्पा, टानका पूर्वअध्यक्ष चन्द्र रिजाल, पर्यटन व्यवसायी मोहन लम्साल लगायतले दुवै मुलुकबीच पर्यटन प्रवद्र्धन गर्न साझा कार्यक्रम बनाएर जानुपर्ने बताएका छन् । सन् १९२० देखि कूटनीतिक सम्बन्ध रहेपनि पर्यटन प्रवद्र्धन नभएकाले दुई देशबीचका ‘टूर अपरेटर’ को सम्मेलन गराई प्रचारप्रसार गरिएको खण्डमा पर्यटक आवागमन वृद्धि हुने बताएका छन् । करीब ७४ बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको श्रीलङ्काबाट वर्षेनी भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा वार्षिक ५० हजारको हाराहारीमा श्रीलङ्काका पर्यटक आउने गर्दछन् । दुई देशबीचको प्रवद्र्धनात्मक कार्यक्रमले सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्ष अभियानलाई सार्थक तुल्याउन महत्वपूर्ण सहयोग पुग्ने बताएका छन् । श्रीलङ्काको पर्यटन विकास प्राधिकरणका अनुसार सन् २०१६ मा ५७ हजार ५२७ र सन् २०१७ मा ४५ हजार ३७१ पर्यटक नेपाल आएका थिए । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले कमी हो । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार नेपालबाट सन् २०१६ मा १२ हजार ८३८ र सन् २०१७ मा ५९ प्रतिशतले घटेर जम्मा पाँच हजार १४४ पर्यटक श्रीलङ्का पुगेका छन् । रासस