गण्डकी प्रदेशमा ‘ॐ पार्क’ निर्माण शुरु, सन् २०२२ सम्म २० लाख बाह्य पर्यटक भित्राउने लक्ष्य

काठमाडौं । सन् २०२२ सम्म गण्डकी प्रदेशले २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यअनुरुप अहिले जिल्लाका पर्यटकीय क्षेत्रको संरक्षण, प्रवद्र्धन र पूर्वाधार निर्माणमा तीव्रता दिन थालेको छ । पर्यटकीय पूर्वाधार बनाउने, मुलुककै अग्ला र लामा मूर्ति र मन्दिर बनाउने होडबाजीनै चलेका बेला पर्वत सदरमुकाम कुश्माबजारमा ॐ पार्क निर्माण गर्न थालिएको छ । हिमाल पारिको जिल्ला मुस्ताङको मुक्तिनाथ, दामोदरकुण्ड, म्याग्दी र पर्वतका अन्य धार्मिक एवं पर्यटकीयस्थलमा आउने आन्तरिक तथा बाह्य पर्यटक र धर्मावम्बीलाई लक्षित गरी मध्यपहाडी लोकमार्ग नजिकै उक्त पार्क निर्माण शुरु गरिएको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा कुश्मा नगरपालिका–७ खरेहामा निर्माण गर्न लागिएको उक्त पार्कका लागि उद्योग तथा पर्यटनमन्त्री विकास लम्सालको पहलमा चालू आवमा रु ३० लाख विनियोजन भएपछि विस्तृत सर्भेक्षण गरी पार्क सहित १०८ पिपल, वैकुण्ठ जाने बाटोलगायत कार्य अघि बढाइएको वडाध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिएका छन् । उक्त कार्यमा वन डिभिजन कार्यालयले सहजीकरण गर्दै आएको छ । स्थानीय भड्खोरे सामुदायिक वनको जग्गालाई उपयोग गरी आकर्षक पर्यटकीय र धार्मिक गन्तव्यका रुपमा विकास गर्न लागिएको वडाध्यक्ष पौडेलको भनाइ थियो । पार्क निर्माण भएपछि वृद्धवृद्धा, बालबालिका र मुख्यगरी धार्मिक आस्था भएका बढी मात्रामा लाभान्वित हुने भएका छन् । उक्त पार्क निर्माणस्थलको निरीक्षण गर्नु पर्यटन विकासमन्त्री लम्सालले गण्डकी प्रदेश पर्यटनकै माध्यमबाट समृद्ध हुने भएकाले समयमै आवश्क पूर्वाधारका काम पूरा गर्नु पर्नेमा जोड दिएका छन् । यसअघि पर्वतको कुश्माबजारमा मुलुककै अग्लो शिवपार्वतीको मूर्ति र चुवामा विष्णुको मूर्ति निर्माण प्रक्रिया अघि बढाइएको थियो । रासस

रूकुमकाे युद्धस्थल पर्यटकीय सम्भावना क्षेत्र बन्दै, द्वन्द्वस्थल अध्ययन अवलोकन हुँदै 

काठमाडौं । रुकुम जिल्लाको सिस्ने गाउँपालिका–५ रुकुमकोटस्थित ठाटी डाँडामा भएको द्वन्द्वस्थल अवलोकन गरिएको छ । अवलोकनका क्रममा उक्त टोलीले रुकुमकोटको भू–बनोट र ऐतिहासिक हिसाबले पनि पर्यटकका लागि निकै महत्वपूर्ण जनाएको थियो । स्थानीय वासीसँगको छलफलका क्रममा द्वन्द्वस्थलमा सङ्ग्रहालय निर्माण गर्न उनीहरूले आग्रह गरेकामा त्यसको सम्भाव्यता अध्ययनलाई पनि अगाडि बढाइने पूर्वमन्त्री गणेशमान पुनको भनाइ रहेको छ । उक्त ठाउँमा जनयुद्धका क्रममा विसं २०५७ चैत १९ गते सरकार र विद्रोही पक्षबीच भीषण युद्ध भएको थियो । युद्धका क्रममा सरकारी पक्षका ३२ र विद्रोही (माओवादी) पक्षका आठ जनाले ज्यान गुमाएका ठाउँ प्रचारप्रसारको अभावले ओझेलमा परेको थियो । पूर्वमन्त्री गणेशमान पुन, काठमाडौँ त्रिभुवन विश्वविद्यालयका पर्यटन, पुरातत्व तथा सांस्कृतिक विभागका प्रमुख उपप्रध्यापक पशुपति न्यौपाने, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक स्वस्तिराज भण्डारी, विज्ञ सोमत घिमिरे, इञ्जिनीयर अजय मगर, प्रमुख जिल्ला अधिकारी जिल्लाका जनप्रतिनिधि लगायतले उक्त क्षेत्रलाई युद्ध पर्यटकीयस्थलका रुपमा विकास गर्न प्रचारप्रसार तथा संरक्षण गर्ने उद्देश्यले अवलोकन गरिएको बताएका छन् । युद्धस्थलमा एउटा घरको भग्नावशेष मात्र देखिएको जिविसको आर्थिक सहयोग, जिल्ला प्रहरी कार्यालयको प्रविधिक सहयोग र कमल दह प्राकृतिक सम्पदा तथा वातावरण संरक्षण केन्द्रको निर्मानिर्माण सहयोगमा चार वर्षअघि शहीद स्मारक निर्माण गरिएको थियो । रू ६५ लाखको लागतमा बनेको उक्त स्मारकमा युद्धमा सहादत प्राप्त गर्ने दुवै पक्षका शहीदको नाम लेखिएकाले त्यहाँ पुग्ने जोकोहीले युद्ध भएको कहिले र क–कसले ज्यान गुमाएका थिए भन्ने कुरा सजिलै थाहा पाउन सक्छन् । उक्त टोलीले सिस्ने गाउँपालिकास्थित रुकुमकोटका अन्य पर्यटकीयस्थलको पहिचान पनि गरेको थियो । रासस

चितवन राष्ट्रिय निकुञ्ज प्लास्टिकमुक्त  बन्दै, नगरपालिकाकाे यस्ताे छ कार्ययोजना

   काठमाडाैं । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्र्ज क्षेत्रमा प्लास्टिक निषेध गरेको छ । प्लास्टिक खाएर दुर्लभ वन्यजन्तुको मर्ने क्रम बढ्न थालेपछि प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताएका छन् । ढकालका अनुसार विगत दुई वर्षदेखि कसरामा रहेको मुख्यालयले निकुञ्जमा प्लास्टिक न्यूनीकरणको अभियान थालनी गरेको भए पनि मंगलबार औपचारिक रुपमा निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको हो । घोषणा भएसँगै जंगल घुम्न जाने पर्यटक तथा निकुञ्जभित्र रहेका नेपाली सेना र निकुञ्जका अधिकारीले प्लास्टिक र प्लास्टिकजन्य वस्तु निकुञ्जमा फाल्न पाउने छैनन् । सुरूवाती चरणमा लैजान दिने र फाल्न नदिने तथा केही समयपछि निकुञ्जमा प्लास्टिक निषेध गरिने भएको छ । प्लास्टिकमुक्त क्षेत्र घोषणालाई कार्यान्वयन गरी अर्थपूर्ण बनाउन नगरपालिकाले केही कार्ययोजना पनि बनाएको छ । निकुञ्जभित्र सेनाको ५० वटा पोस्टमा बस्ने सेनालाई प्लास्टिक झोलाको विकल्पमा कपडाको झोला प्रयोग गर्न लगाउने, जंगल घुम्न जाने पर्यटकलाई प्लास्टिक र प्लास्टिकजन्य सामग्री निकुञ्जमा नलैजान आग्रह गर्ने, मिनरल वाटरको बोतलको विकल्प खोज्न आग्रह गर्ने र निकुञ्जका ठाउँठाउँमा डस्टविन राख्ने तयारी भएको छ । जनचेतनाका लागि सूचनाको माध्यमको अधिकतम उपयोग गरी टेलिभिजन, रेडियो, सूचना बोर्ड, पोस्टर र स्टिकर बनाएर ठाउँठाउँमा टाँस गर्ने योजना रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले बताएका छन् । बाढीले बगाएर ल्याएको प्लास्टिक र जंगल घुम्न जाने पर्यटकले फालेका प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुका कारण निकुञ्ज प्रदूषित भएसँगै त्यसले जनावरलाई समेत मृत्युको मुखमा पुर्याएको छ । प्लास्टिक खाएर सबैभन्दा धेरै चरा मर्ने गरेको भेटिएको छ । निकुञ्जमा प्लास्टिक खाएर दैनिक २ वटा चरा मर्ने गरेको संरक्षणकर्मीहरुले बताएका छन् । निकुञ्ज स्थापना भएको लामो समय बितिसक्दा पनि यहाँ संरक्षणको सवालमा अथाह चुनौती छन् । मानव–वन्यजन्तुबीचको द्वन्द्व, राहत प्रक्रिया, नदीजन्य पदार्थ माथिको चाप, पूर्वाधार निर्माण, कर्मचारी आपूर्ति, नदी कटानजस्ता चुनौतीहरु विद्यमान रहेको प्रमुख संरक्षण अधिकृत ढकालले बताएका छन् ।