पर्यटकिय संस्था पनि मर्जरको बाटोमा, सोट्टो र नाट्टा एक हुने

काठमाडौं । पर्यटनका दुई संस्था सोसाइटी अफ टुर एन्ड ट्राभल अपरेटर्स नेपाल (सोट्टो) र नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा)ले एक हुने घोषणा गरेका छन् । नाट्टाका प्रथम उपाध्यक्ष अच्चुत शर्मा गुरागाईले एकै प्रकृतिका दुई संस्था मिलेर अगाडि बढ्नुपर्ने भन्दै एकताको हात अगाडि बढाएका छन् । शनिबार राजधानीमा आयोजिन सोट्टो नेपालको ११ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै शर्माले भने ‘हामी दुई संस्था एक भएर काम गर्दा संस्था बलियो हुने भएकोले मिलेरै जानुपर्छ । यसका लागि पहिले एकदुईवटा काम मिलेर अर्थात कार्यगत एकता गरौ त्यसपछि संस्था नै मर्ज गरौला’ शर्माले भने । ११ वर्ष पहिले नाट्टासँग केही व्यवसायीले उठाएका मुद्दालाई नाट्टाले वेवास्था गरेको र व्यवसायीबीच धु्र्रवीकरण बढेका कारण दुई संस्था भएको हो । एकै प्रकारको काम गर्ने र एउटै धरातल भएका संस्था मर्जमा जानुपर्ने आवाज व्यवसायीले यस अघि पनि उठाउदै आएका छन् । अब भने यसको वहस सतहमै आइपुगेको भने दुई संस्थाले पहिले कार्यगत एकता गर्ने र त्यसपछि एकढिक्का हुने बचनवद्धता जाहेर गरिसकेका छन् । सोट्टोको ११ वार्षिक साधारण सभाले शनिबार नै मधुु सूदन उपाध्यायको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसििमतको प्रथम उपाध्यक्षमा नारायण पराजुली, द्वितिय उपाध्यक्षमा मानबहादुर शाही, महासचविमा भुवनबहादुर पाण्डे चयन भएका छन् । निर्विरोधन निर्वाचित भएको सोट्टो कार्यसमिति पदाधिकारीका कोषाध्यक्षमा देवराज खनाल, सचिवमा दिनेश बस्नेत, सह कोषाध्यक्षमा भुवनदेवी महर्जन रहेको छन् । कार्यसमिति सदस्यहरूमा सविन खड्का, इन्दिरादेवी गौतम, कमलबहादुर मगर, गंगाप्रसाद गिरि, आनन्दकुमार क्षेत्री, रामस्वरुप महासेठ र कमल जिसी चयन भएको सोट्टो नेपालले जानकारी दिएको छ ।

हिमपहिरोमा बितेका श्रीमानको सम्झनामा सगरमाथा चढ्दै दुई एकल शेर्पा महिला

काठमाडौं। हिमाल आरोहण गर्दा बितेका आफ्नो श्रीमानको सम्झनामा र सम्मानमा दुई शेर्पा एकल महिला सगरमाथा चढ्ने भएका छन् । एकल महिलाले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिनको सगरमाथा चढ्न लागेको उनीहरुले बताएका छन् । सन् २०१४ मा हिमपहिरोमा पारी सोलुखुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं ४ निवासी निमा डोमा शेर्पाका श्रीमान छिरिङ् ओङ्छु शेर्पा र वडा नं ४ खुम्जुङ पाङपोचे निवासी फुर्दिकी शेर्पाको श्रीमान मिङ्मार शेर्पाको सन् २०१३ को हिमपहिरोमा परि मृत्‍यु भएको थियो। श्रीमानको मृत्‍यु पछी आफुहरुलाई ठूलो चोट परेको र त्यही चोटलाई बिर्साउन आफुहरुले सम्मान स्वरुप सगरमाथा आरोहण गर्न लागेको उनिहरुले बताए। सगरमाथा चढ्ने तयारीको शिलशिलामा उनीहरुले कार्तिक २६ गते मनाङ जिल्लामा रहेको चुल ईस्ट (६५८४ मि) र मंसिर ८ गते सोलुखुम्बु जिल्लामा रहेको आईसल्यान्ड पिक (६१८९ मि) आरोहण गरिसकेका छन् । आफु जस्तै एकल महिलालाई घरबाहिर आउनु पर्छ भन्ने हौसला दिन र पर्यटन बर्ष २०२० को प्रचारप्रसार गर्नु आरोहणको मुख्य उद्देश्य रहेको उनीहरुले बताए।

नेपाल र उत्तरप्रदेशबीच आर्थिक व्यापारिक तथा पर्यटन विस्तारमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको एफएनसीसीआईको १९ सदस्यीय व्यवसायिक प्रतिनिधिमण्डलले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथस“ग भारतको लखनउमा भेटवार्ता गरेको छ । नेपाल र उत्तरप्रदेशबीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी आकर्षण, पर्यटन प्रवद्र्धनमा सहकार्यका क्षेत्रहरूका सम्भाव्यता पहिल्याउन एफएनसीसीआई प्रतिनिधिमण्डल यतिखेर उत्तर प्रदेशको भ्रमणमा रहेको छ । महासंघसँगको भेटवार्तामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सीमा जोड्ने रणनीतिक सडकको स्तरोन्नती र भन्सार नाकामा भइरहेको ढिलाई कम गर्न कामको सुरुवात गरेको बताएका छन् । भैरहवा, नेपालगञ्जदेखि पश्चिम गौरीफन्टासम्म पुगेर विकास तथा व्यापार सहजीकरणको काम अनुगमन गर्ने जानकारी दिएका छन् । नेपाल भारत बीच हालसम्मको साँस्कृतिक तथा सामाजिक सम्बन्धलाई व्यापारिक सम्बन्धमा विस्तार गर्नु आवश्यक रहेको बताउँदै नेपाली प्रतिनिधिमण्डलले राखेका समस्याको जवाफ दिंदै मुख्यमन्त्री योगीले भनेका हुन् । भारतबाट नेपाल प्रवेश गर्ने मालबाहक गाडी १० मिनेट भन्दा बढी रोकिन नहुने साथै, गौरीफण्टा र अलिगढवा सीमानाकाको स्तरोन्नतिमा पनि उत्तर प्रदेश सरकारले तत्कालै काम थाल्ने मुख्यमन्त्री योगीले बताएका छन् । एफएनसीसीआईका अध्यक्ष राणाले दुई मुुलुक बीच भन्सार तथा सडकको विकासमा उत्तर प्रदेश सरकारले दिएको प्राथमिकताको स्वागत गर्दै नेपालको धार्मिक पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा उत्तर प्रदेशको सहयोग महत्वपूर्ण हुने बताएका छन् । दुई मुलुक बीचमा व्यापार मात्र नभई पर्यटनका क्षेत्रमा पनि सहयोग आदान प्रदान हुन आवश्यक रहेको बताउँदै नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्र, विकासमा पछि परेको हुँदा त्यहाँको विकासमा उत्तर प्रदेश सरकारको सहयोगको अपेक्षा गरेको अध्यक्ष राणाले बताएका छन् । एफएनसीसीआईका अध्यक्ष राणाको नेतृत्वमा १९ सदस्यीय प्रतिनिधिमण्डलले मुख्यमन्त्री योगीसँग भेटवार्ता गरेको थियो ।