नेपाल देवदेवताले माया गरेकाे देश हाे, तर नीति र प्रकियाले पछाडि धकेल्याे
श्री एयरलाईन्सका कार्यकारी अध्यक्ष सुधीर मित्तल नेपालको व्यवसायिक जगतले निकै महत्व दिएर हेरिरहेका व्यवसायी हुन् । उनी चार वर्षअघि विश्व बैंकको आकर्षक जागिर छाडेर पुर्खाको बिँडो थाम्न व्यवसायिक यात्रामा होमिए । बुवा बनवरीलाल मित्तलले हेलिकप्टर व्यवसायमा हासिल गरेको सफलतामा छोरा सुधीरले नयाँ इँटा थप्दै हवाई सेवा विस्तार गरेका छन् । आन्तरिक उडानको प्रतिष्पर्धामा खरो रुपमा उत्रिएको श्री एयरलाईन्सले अहिले अन्तर्राष्ट्रिय उडानका लागि सरकारको अनुमति पर्खिरहेको छ । मैले आफ्नो जीवनको लामो समय विश्व बैंकमा बिताएँ । अहिले एउटा कम्पनी सञ्चालन गरेर बसिरहेको छु । नेपालमा हेर्ने हो भने जुन क्षेत्रमा पनि अवसर नै अवसर रहेको पाउन सकिन्छ । कृषि, जलस्रोत, पर्यटन सबै क्षेत्रमा राम्रो अवसर रहेको छ । हामीले २ ठूला देशका अर्बौ जनसंख्यालाई आधार मानेर उत्पादनशील क्षेत्रमा लगानी गर्ने हो भने ठूलो सम्भावना रहेको छ । हामीले भू–परिवेष्ठित मुलुक भनेर तल पर्नुपर्ने कारण केही छैन । नेपाल भन्दा धेरै भू–परिवेष्ठित स्थान भारत र चीनकै प्रान्तहरु रहेका छन् । हामी समुद्र तहबाट जति टाढा छौं, उनीहरुको प्रान्त त्यति नै टाढा रहेको छ । त्यहाँ उद्योग हुने नेपालमा नहुने कुरा नै भएन । यो देशमा २ कुरा उद्योगका लागि बाधक रहेका छन् । एउटा नीतिगत झमेला । यो देशमा एउटा उद्योग खोल्नु पर्यो भने रिङ रोड भन्दा धेरै घुम्नु पर्छ । यहाँ ब्युरोकेसीले पनि नियम र कानूनलाई त्यसरी नै घुमाइरहेका हुन्छन् । अर्को ज्ञानको कमी । नबुझेर पनि यो क्षेत्रमा मानिसहरुले दुःख पाइरहेका हुन्छन् । यसरी एउटा प्रक्रियागत झन्झट अर्को नीतिगत समस्याले लगानी क्षेत्रको प्रगति हुन सकिरहेको छैन । हामी कहाँ प्रक्रियाको कुरा गर्ने हो भने रिगटा लाग्छ । प्रक्रियाको कुरा कसैले पनि बुझेका पनि छैनन् । हामीले २ अर्ब भन्दा बढीको उद्योग खोल्नु पर्यो भने उद्योग विभागले स्वीकृति दिनुपर्छ । यसका लागि ४ देखि ५ महिना लाग्छ, यो हाम्रो देशको लागि स्वभाविक नै भैसक्यो । उद्योग विभागले स्वीकृति दिइसकेपछि फेरी राष्ट्र बैंकमा निवेदन दिनुपर्छ, विदेशी मुद्रा भित्र्याउन । अब विदेशी लगानी स्वीकृति भैसकेको छ, फेरी मुद्रा भित्र्याउन बैंकको स्वीकृति लिनुपर्छ । त्यसमा ३ देखि ५ महिना लाग्छ । राष्ट्र बैंकको स्वीकृति पछि पुनः पैसा ल्याएपछि राष्ट्र बैंकमा लेखाङ्कन गराउनु पर्छ । यदि त्यो गराएन भने लगानीकर्ताले पछि रकम लैजान पाउँदैन । अहिले उद्योग विभागमा एउटा गर्भनिङ ल भन्ने छ । यसमा नेपालकै कानून हुनु पर्छ भनिएको छ । यो गर्भनिङ ल भनेको भोलि कुनै विवाद भयो भने त्यो बेला मुद्दा लड्ने एउटा कानून हो । त्यो किन नेपाल कै हुनुपर्ने ? उदाहरणका लागि विदेशी कम्पनीले सिंगापुरको कानून मान्छु भनेर भन्छ भने उसलाई मान्नु दिनुपर्छ । खर्च धेरै लाग्छ भनेर विदेशी कानून लागू गर्न नपाउनु त हास्यास्पद कुरा हो । कर्मचारी कुरै नबुझी यस्ता कुराहरुमा अल्झिरहेका छन् । नेपाली कम्पनीले नेपालको कानून मान्नुपर्छ । तर, विदेशी कम्पनीले किन मान्छ ? मैले विश्व बैंकमा रहँदा १०० वटा भन्दा बढी प्रोजेक्टहरुमा काम गरेको छु । यो सबै न्यूयोर्क कानून अनुसार लागू हुन्छ । यस्ता कुराहरु नेपाली ब्युरोकेसीले बुझ्दैनन्, अनि समस्या हुन्छ । यस्ता समस्या बुझेर वा नबुझेर आइरहेका हुन्छन् । यी कुरामा सुधार गर्न सकियो भने धेरै समस्याको समाधान हुन्छ । सर्वप्रथम नेपालमा कानूनी प्रक्रिया र नीति स्पस्ट हुनु पर्यो । विदेशी लगानीकर्ताले त सबैभन्दा पहिले नीति कै अध्ययन गर्छ । मैले यो क्षेत्रमा यति लगानी गर्यो भने यति प्रतिफल पाउन सक्छु । यो नीतिबाट यति रकम कमाउन सक्छु भनेर उनीहरुले अध्ययन गरिरहेका हुन्छन् । यदि नीति नै कमजोर भयो भने यसबाट देशले गुमाउनु पर्ने कुरा धेरै हुन्छ, पाउने कुरा भन्दा पनि । वैदेशिक लगानीकर्ताको बारेमा हाम्रो समुदायमा नकारात्मक कुरा गर्नु दुर्भाग्यको कुरा हो । त्यसबाट कति व्यक्तिलाई रोजगारी मिलिरहेको छ । राष्ट्रले कति आम्दानी गरिहेकोे छ, त्यसको पनि त मूल्याङ्कन गर्नु पर्यो । उसले नेपालमा शुरुमा लगानी गर्दा त ठूलो जोखिम लिएरै लगानी गरेको हुन्छ । हाम्रो समाजमा किन सकारात्मक कुरा गर्दैनन् । वैदेशिक लगानीकर्ताले कमायो भनेर डाहा गरिन्छ । यो गलत कुरा हो । लगानीकर्ताले सबैभन्दा पहिले मैले कति रकमको जोखिम लिने यसबाट कति प्रतिफल लिन सक्छु । कति रकमसम्म जोखिम लिमिट गर्ने र कति नाफा कमाउने भनेर सबै कम्पनीहरुले योजना बनाएका हुन्छन् । कुनै एक चिनियाँ लगानीकर्ता नेपाल आउँदै छ भने उसले यहाँ लगानी गरिरहेको एक उद्योगीलाई सोध्ला अवस्था कस्तो छ भनेर । यदि उसले नेपालको बारेमा नकारात्मक कुरा गर्यो भने त सो मान्छे सिधै नेपालबाट पलायन हुन्छ । लगानीकर्तामा कस्तो खालको सन्देश गैरहेको छ भने मैले प्रक्रिया शुरु गर्दा इजाजत पत्र नपाउने हो कि यसबाट जोखिम झन् बढेर जाने हो कि भन्ने डर लगानीकर्तामा हुन्छ । यदि कुनै कम्पनीले पैसा कमायो भने उसले कानून बमोजिम कमाएको पैसालाई किन स्वीकार गर्न नसक्ने ? एउटा कम्पनीले पैसा कमायो भनेर यसलाई कसरी दुःख दिने भनेर सोच्नु दुर्भाग्य हो । यसले लगानीकर्ताहरुमा स्वच्छ प्रतिस्पर्धाको विकास नभई उनीहरुको काम गर्ने उर्जामा परिवर्तन आउँछ । मैले गरेको एयरलाइन्स व्यवसायमा धेरै चुनौति छन् । यहाँ धेरै बाधा र व्यवधान रहेका छन् । लगानी धेरै रहेको छ । यहाँ राजनीतिक, समाज र जनता समेत कोही लगानीकर्ता आयो कि यो नाफा कमाउन आयो, यो नाफाखोरी हो भनेर हेयको दृष्टिले हेर्ने प्रचलन रहेको छ । यस्ता सोचले व्यवसायीहरुलाई काम गर्ने उर्जा मिल्न सकेको छैन । उद्यमीप्रति हेर्ने सबैको दृष्टिकोण उत्साहजनक छैन । मुखले सबैले ठिक पार्छन्, तर व्यवहारमा त्यो छैन । हरेक क्षेत्रमा चाहे त्यो कर्मचारी होस् चाहे त्यो नेता होस् । उनीहरुका भनाईमा उद्यमीहरु महान् छन्, उनीहरुले रोजगारी प्रदान गरेका छन्, कर तिरेका छन् । तर, व्यवहारमा त्यस्तो छैन । कर्मचारी कसरी प्रक्रियागत झन्झट बनाउने भन्ने सोच्छन् । राजनीतिक दृष्टि पनि उस्तै रहेको हुन्छ । हरेक क्षेत्रको सोच परिवर्तन हुनु आवश्यक छ । मेरो लामो समयको अनुभवले अन्य देशमा पनि यस्तो देखेको छु । तर, नेपालमा चाहि बढी नै हो । जरैदेखि सुधार नभएसम्म देशले निकास पाउदैन । उदाहरणको लागि अमेरिकामा यदि कसैले प्रगति गरेको देख्यो भने उसका लागि सबैले थपडी मार्छन् । उनीहरुको संस्कार उसले गर्न सक्ने भए मैले किन गर्न नसक्ने भनेर आफैं राम्रो गर्ने प्रयास गर्छन् । यहाँ चाहीँ एक जनाले प्रगति गर्यो भने कसरी खुट्टा तान्ने भन्ने विषयमा मात्र कुरा हुन्छ । अरुको सफलतामा सेलिब्रेट गर्ने परिपाटी हाम्रो देशमा भएन । पर्सुयट फर ह्याप्पीनेस भन्ने संस्कार हाम्रोमा निकै कम रहेको छ । एउटा अकबर र वीरबलको कथा छ । एकदिन उनीहरु दरबारका मान्छेहरु सहित समुन्द्र किनारमा हिड्दै थिए । यत्तिकैमा उनले किनारको बालुवामा एउटा धर्को ताने र भने यो धर्को नछोइकन कसैले ठूलो बनाउन सक्छ ? सबैजनाले आँट गरेनन्, अनि अकबरले वीरबलाई सोधे तिमी सक्छौं वीरबल । उनले छेउमा त्यो भन्दा लामो धर्को तानिदिए । हामी पनि यो कथाबाट किन नसिक्ने ? एउटा व्यक्तिले ठूलो कार चढ्यो भनेर मैले अब त्यसको भन्दा ठूलो कार किन्नुपर्छ भन्ने कि बन्चरो लिएर गाडी फोर्न जाने । त्यसैले यहाँ संस्कारको विकास हुन सकेन । नेपाल देवदेवताले माया गरेको देश हो । यहाँ उद्यमशीलता गर्न सकिन्छ । तर नीति, प्रकिया, प्रणाली, नीतिगत तहमा भएकाे संस्कारले हामीलाइ पछाडि धेकेलेकाे छ । श्री एयरलाईन्सले किनेको ३ वटा जहाज लामो समय त्रिभुवन विमानस्थलमा थन्किदा म निकै हतोत्साहित भएँ । यो मैले मेरो नाफाको लागि मात्र ल्याएको त होइन । यसबाट समग्र देशवासीले फाइदा लिने कुरा हो । एउटा उद्यमीलाई यसले कस्तो किसिमको असर पार्छ त्यो सबैले बुझ्नु पर्ने कुरा हो । नेपालका कर्मचारी राम्रापनि छन् । उनीहरु उद्योगीका काम गर्न डराउँछन् । सिधै भन्छन्–यो काम गरेर म फस्ने त होइन । म भन्छु किन डराउने राम्रो काम गर्न । उद्यमशीलता विकासको लागि हामीले दृढ भएर काम गर्नैपर्छ । हामीले लगानी गर्दा तत्कालै फल पाइन्छ सोच्नु हुँदैन । इमान्दार भएर काम गर्यौं भने अवश्यपनि फल प्राप्त हुन्छ । सबै नेपालीलाई नेपालको माया छ । तर, हाम्रो समुदायमा स्वार्थले सीमा नाघ्यो । मलाई लाग्छ हामी यति धेरै स्वार्थी हुनु जरुरी छैन । हामी सबै मिलेर अघि बढ्नुपर्छ । एक उद्यमीले अर्को उद्यमीको प्रगतिमा रमाउन सक्नुपर्छ ।
ठमेलमा रमाउन छाडे विदेशी पर्यटक, ‘माग्ने र सारङ्गी बजाउनेले चौपट पारे व्यवसाय’
काठमाडौं । नेपाल घुम्न आउने ९० प्रतिशत पर्यटकको पाईला ठमेलमा पर्ने गर्छ । ठमेल आफैंमा पर्यटकीय गन्तव्य भएकाले उनीहरु बस्न, खान तथा रमाउन ठमेल पुग्न रुचाउँछन् । तर, ठमेलमा विदेशी पर्यटकको ईच्छा विपरित सारंगी बजाउने, माग्ने तथा सामान जबरजस्ती किन्न बाध्य बनाउने गरिन्छ । यस्ता क्रियाकलापले पर्यटक आकर्षणमा असर गरिरहेको छ । ठमेल क्षेत्रमा विदेशी पाहुनाले भोग्दै आएको समस्याकाबारे बुझ्न ‘विकासन्यूज’ का प्रतिनिधि ठमेल पुग्दा पर्यटकहरुलाई सारङ्ग बजाउने र माग्नेहरुले दुःख दिइरहेको दृश्य देखियो । केशर पुस्तकालयबाट ठमेल प्रवेश गरेको केही बेरमा नै यस्ता दृश्य सामान्य जस्ता लाग्न थाले । ठमेलको नरसिंह चोक नपुग्दै एक जना व्यापारीले हातमा केही खेलौना बोकेर पर्यटक पछ्याई रहेका थिए । ठमेलमा पर्यटकले सामान छान्नु त परको केहीपनि किन्न ईच्छा नरहेको संकेत गरे । पर्यटकलाई माग्ने तथा सारंगीवालाले दिएको दुःख हेरिसकेपछि दैनिक झोलामा रुद्राक्ष बोकेर पर्यटक पछयाउने काभे्रका सीताराम गौतम र अन्य व्यापारीसँग केही जानकारी लियौँ । गौतमका अनुसार-‘काभ्रे कोशीपारीको स्थायी बासिन्दा भएरपनि विगत १५ बर्षदेखि सडकमा रुद्राक्ष बेच्नु मेरो बाध्यता हो ।’ विदेशी पर्यटकको ईच्छा विपरित नै सामान लाद्नु राम्रो कुरा नभएपनि यो उनको छाक टार्ने मुख्य बाटो रहेको बताए । उनले कुनै निश्चित ठाउँमा बसेर व्यापार गर्न पाए निकै सहज हुने उनले तर्क गरे । पर्यटक मात्र होइन ठमेल क्षेत्रका व्यवसायी पनि उस्तै हैरानी खेपिरहेका छन् । नरसिंह चोकका थान्का व्यापारी विष्णु श्रेष्ठ भन्छन्–‘पर्यटकले आफूले इच्छा गरेको सामान छानेर लिन पाउन पर्छ, छान्ने बेलामा बाजा बजाउने र माग्ने प्रवृती ठमेल क्षेत्रका व्यवसायीहरुलाई असर गरिरहेका छ । सबैले गरिखान पाउनु पर्ने भन्दै उनले सडकबाट पसलसम्म पछ्याउने जमातलाई एक निश्चत ठाउँ तोक्न सकेमा मात्र राम्रो हुनेमा जोड दिए । ठमेलको सात घुम्तीमा व्यापारी हरिशरण भट्टसँग भट्यौँ । उनी भन्छन्– ‘विदेशीलाई दिक्क लाग्ने काम हामीले रोक्न सक्नुपर्छ नत्र यसले ठमेल क्षेत्रको पर्यटक आकर्षण घटाउने छ ।’ सात महिनाको व्यापारिक अनुभव सुनाउदै भट्टले आगामी दिनमा यस्ता समस्याबाट छुटकारा पाएमा सबैलाई राम्रो हुने र विशेषतः पर्यटकलाई पनि थप आनन्द मिल्ने बताए । ठमेलको भगवतीस्थानमा रहेको सल, पस्मीना व्यवसाय गर्दै आएका मिर जविड अस्मद भन्छन्–‘शुरुमा पर्यटक नेपाल आउँदा खुशी नै रहन्छन, तर माग्ने कुराले भने उनीहरुमा नराम्रो असर समेत पार्ने गरेको हुन्छ ।’ पयर्यटकलाई चाहिने सरसफाई ठमेलमा रहेपनि उनीहरुलाई पछ्याउँदै माग्ने प्रवृती भने पटक्कै राम्रो नभएको अस्मदले बताए । ठमेलमा आउने पर्यटकले भोग्दै आएका समस्याका विषयमा ठमेल टुरिजम डेभलपमेण्ट काउन्सिलका अध्यक्ष समीर गुरुङ भन्छन्–‘पर्यटकलाई दुःख दिएको भन्दापनि गन्दर्वले आफ्नो काम गरेका हुन्, तर उनीहरुको व्यवस्थापन गर्नु भने आश्यक छ ।’ आगामी दिनमा यस्ता समस्या हटाउन काउन्सिल लागी परेको उनको दाबी छ । आगामी दिनमा गन्धर्वको पोशाक व्यवस्था गर्ने तथा ठमेलमा आउने पर्यटकलाई मागेर दुःख नदिने वातावरण सिर्जना गर्न सबै जना लाग्नु पर्ने काउन्सिलका अध्यक्ष गुरुङको धारणा रहेको छ । के भन्छन् त विदेशी पर्यटक ? ‘नेपाल घुम्न पाएकोमा म निकै खुसी छु , अझ केही कुरामा मेहनत गरेमा नेपाल धेरै राम्रो देखिन्छ’–ठमेलमा भेटिएका एक पर्यटक पेरिस नागरिक लौरियन्टले भने । उनले आफू नेपाल आएको केही दिन मात्र भएको बताए । लौरियन्टले भने–बाटोमा माग्दै हिड्नेहरुले पर्यटकहरुलाई दुःख दिएको गुनासो गरे । जर्मनीबाट २० दिन अघि नेपाल झरेका र ठमेलमा भेटिएका अर्का विदेशी पर्यटक रोबिन भन्छन्–‘ठमेलमा माग्दै हिँड्ने तथा सडक व्यापार गर्ने धेरै छन्, त्यसरी गरी खानेले पर्यटकको जीवनमा खासै असर त नगर्लान्, तर उनीहरुको त्यो गतिविधिले एक किसिमको नराम्रो दृश्य पर्यटकको मनमा अवश्य गड्ने छ ।
चौधरी र एनई ग्रुपको ‘भिभान्ता काठमाडौं’ होटल संचालन, नयाँ मानक बनाउने दाबी
काठमाडौँ । चौधरी ग्रुप र एनई ग्रुपको साझेदारीमा ललितपुरको झम्सिखेलमा स्थापनाभएको ‘भिभान्ता काठमाडौं’ होटल माघ ३ गतेदेखि औपचारिक रूपमा संचालनमा आएको छ । दक्षिण एसियाकै ठूलो र नमुना हस्पिटालिटी कम्पनी ‘इन्डियन होटेल्स कम्पनी लिमिटेड (आईएचसीएल’ले ‘भिभान्ता काठमाडौं’को व्यवस्थापन सम्हालेको छ । जसलाई विश्वविख्यातताज ब्रान्डका रूपमा चिनिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा सीजी हस्पिटालिद्वारा सञ्चालित चित्ताकर्षक रिसोर्ट ‘मेघौली सेराई’पछि आईएचसीएलले व्यवस्थापनगर्ने ‘भिभान्ता काठमाडौं’ दोस्रो परियोजना हो । ‘मेघौली सेलाई’लाई ‘एल–अफिसियल’म्यागेजिनले संसारका सुन्दर होटल/रेस्टुराँको सूचीमा राखेको छ । “करिब दुई दशकपछि ताजलाई काठमाडौंमा ल्याउन पाउँदा हामी गौरवान्वित छौं । ताजको बहुआयामिक व्यवस्थापनसँगै भिभान्ताले गुणस्तरीयता, सेवा र परिकारमा नयाँ मानक बनाउने छ,” सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले भने, “नेपालको पर्यटन प्रवद्र्धनमा भिभान्ताले निरन्तर रूपमा भूमिका खेल्नेछ, जसरी वर्षौंदेखि मेघौली सेराईले पर्यटनलाई केन्द्रमा राख्दै आएको छ ।” सुन्दर सजावट, आकर्षक कलाकृतिले भरिपूर्ण ‘भिभान्ता काठमाडौं’मा ११० वटा कोठा छन् । छोटो र लामो बसाईँका लागि यो होटेल उत्कृष्ट रोजाइ विश्वास लिइएको छ । “यात्रामा रुचि राख्ने र नेपालको सौन्दर्य रुचाउने विश्वभरका मानिसलाई हामी भिभान्ता काठमाडौँमा स्वागत गर्न आतुर छौँ ।” एनई ग्रुपका प्रबन्ध निर्देशक रवीन्द्रभक्त श्रेष्ठले भने, “संसारमा उपलब्ध उत्कृष्ट सेवाहरू भिभान्तामा पनि पाइने छन् । पर्यटकलाई भिभान्ताको बसाई संझानायोग्य रहनेछ ।” ‘भिभान्ता काठमाडौं’ले व्यायामशाला, स्विमिङ पुल र स्पाको सुविधापनि उपलब्ध गराउने छ, जसले यो क्षेत्रका मौलिक सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई जीवन्त राख्ने बताइएको छ । रविभक्तश्रेष्ठले नेतृत्वगरिरहेको एनई ग्रुप ‘भिभान्ता काठमाडौं’को एक प्रमुखप्रवर्तक हो । यो कम्पनीले हस्पिटालिटी, रियल–इस्टेट, वित्तीय, स्वास्थ्य, उपभोग्य सामग्रीउत्पादन, प्राइभेट इक्विटीलगायत विविध क्षेत्रमा लगानी गरेको छ । सीजी हस्पिटालिटीले विश्वका ९ मुलुकमा ४ हजार २ सय कोठासहित ८५ वटा होटल र रिसोर्ट सञ्चालन गरिरहेको छ । थप ३ मुलुकमा २ हजार १ सय कोठासहित ४० वटा होटल र रिसोर्ट सञ्चालन तयारीमा छन् । सन् २०२० भित्र १० हजार कोठासहित विभिन्न २० मुलुकमा २ सय होटल खोल्ने कम्पनीको लक्ष्य छ ।