हेलिकप्टर सोसाइटी भन्छ-पर्यटकमा गलत सूचना प्रवाह नगरौँ
काठमाडौं । १ हप्तादेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पर्वतारोहणमा जाने पर्यटकको सन्दर्भमा गलत सूचना प्रवाह गरेको भन्दै हेलिकप्टर सोसाईटी अफ नेपालले दुःख व्यक्त गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी हेलिकप्टर सोसाइटीले दुःख व्यक्त गरेको हो । पर्यटकलाई विमारी बनाई रकम असुल्नेदेखि फेक रेष्क्यू हुने सम्मको सूचना बजारमा आएको भन्दै सोसाईटीले पत्रकार सम्मेलनमा असन्तुष्टि पोख्यो । हिमालमा उद्धारको एक मात्र विकल्पको रुपमा रहेको हेलिकप्टरलाई समेत मुछेको भन्दै सोसाईटीले सिजन सुरु हुने बेलामा बेरोजगार हुने स्थितिको सिर्जना हुन लागेको बताएको छ । यसरी हेलिकप्टर अपरेटर, अस्पताल तथा ट्रेकिङ एजेन्सीलाई नै दोष लगाउनु जायज कुरा नभएको हेलिकप्टर सोसाईटीको बुझाई रहेको छ । हेलिकप्टर सोसाईटी अफ नेपालका अध्यक्ष रामेश्वर थापाका अनुसार–‘हामीलाई मान्छे बचाएको दिन गर्व हुन्छ, विदेशी पर्यटक हाम्रा पाहुना भएकाले तिनलाई समेत बचाउनु हाम्रो कर्तव्य हो ।’ विगतमा ६० हजार लाग्ने शुल्क हाल १० हजारमा झरेको र यो विषयमा धेरैलाई जानकारी नभएको थापाले जानकारी दिए । सोही सम्मेलनमा हेलिकप्टर सोसाइटीकका महासचिव योगराज कँडेल शर्माले भने–‘रेस्क्यूलाई उचाई, मौसम, प्रविधि लगायतका कुराले असर पार्छ, तसर्थ सबै रेस्क्यू एकै किसिमका हुन्नन्, तर हामीले रेस्क्यूको महत्व भने बुझ्न जरुरी छ ।’ अहिलेपनि नेपालमा हाई अल्टीच्यूड रेस्क्यू सम्बन्धी तालिम तथा उद्धार कार्य हुँदै आईरहेको छ । पर्यटकको स्वास्थ्य समस्या तथा अन्य विपतका विषयमा हेलिकप्टरका संस्थाहरुबाट नकारात्मक संलग्नता रहेको छैन । पर्यटक खोज उद्धार, उपचार तथा अनुगमन सम्बन्धी कार्यविधि २०७५ आइसकेको छ । तर, अर्को सिजन सुरु हुने बेलामा विभिन्न शंका उत्पन्न गर्न खोजिएको भन्ने हेलिकप्टर सोसाईटीको तर्क रहेको छ । साथै, लान्छना लगाउँदा हेलिकप्टरको भूमिका ओझेलमा पर्छ । सरकार २०२० मा २० लाख पर्यटक भित्र्याउने तयारीमा रहेको बेलमा गलत सूचना प्रवाह हुनुले पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने सोसाईटीको दाबी छ । सरकारी तहबाट नीति बनाएमा त्यसको पालना गर्न आफूहरु तयार रहेको हेलिकप्टर सोसाईटीले जनाएको छ । धेरैजसो अवस्थामा बीमाका सन्दर्भमा समेत हेलिकप्टरमा समस्या रहेको बताइयो ।
राष्ट्र बैंकको अध्ययन भन्छः पर्यटकीय होटल बढे
काठमाडौँ । सरकारले पर्यटन क्षेत्रमा गरेको लगानी तथा प्रचार प्रसारका कारण पछिल्लो दिनमा पर्यटकस्तरीय भौतिक पूर्वाधारको विकासमा गुणस्तरीय उपलब्धि देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो एक अध्ययनमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा पर्यटकस्तरीय होटलको सङ्ख्या वृद्धि भएको पाइएको छ । बैंकका अनुसार पोखरामा धेरै होटल निर्माण भएका छन् । प्रतिशतका आधारमा ३१.८ प्रतिशत होटल पोखरा क्षेत्रमा निर्माण भएका छन् । अध्ययनमा समेटिएका जिल्लामा पर्यटकस्तरीय होटल तथा लजको सङ्ख्या १२ प्रतिशतले वृद्धि भई दुई हजार ८६० पुगेको छ भने होटल श्यया सङ्ख्या ८.७ प्रतिशतले वृद्धि भई ७५ हजार ७९२ पुगेको छ । बैंकले कूल ७७ मध्ये ४७ जिल्लामा अध्ययन गरेको थियो । आर्थिक वर्ष २०७४/७५ मा गरिएको अध्ययनलाई बैंकले सार्वजनिक गरेको हो । बैंकका अनुसार पर्यटक आगमन सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । पछिल्लो दिनमा घर/भवन नक्सा पास गराउनेको सङ्ख्यामा ४९.२ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/७४ मा त्यस्तो सङ्ख्या ३१.८ प्रतिशतले वृद्धि भएको थियो । विराटनगर र धनगढी क्षेत्रमा घर/भवन नक्शा पास सङ्ख्यामा क्रमशः २.४ र ७.३ प्रतिशतले ह्रास आएको छ भने बाँकी अन्य क्षेत्रमा उल्लेख्य दरमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/७४ मा घरजग्गा रजिष्टे«शन सङ्ख्या १०.५ प्रतिशतले वृद्धि भएकामा समीक्षा वर्षमा ८.५ प्रतिशतले घटेको छ । घर जग्गा रजिष्ट्रेशनवापतको राजस्वमा ०.२ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष यस्तो राजस्व ३९.५ प्रतिशतले बढेको थियो । क्षेत्रगतरुपमा घरजग्गा रजिष्ट्रेशनवापतको राजस्व सङ्कलनमा वीरगञ्ज, पोखरा र सिद्धार्थनगर क्षेत्रमा क्रमशः १०.९, ११.२ र २४.७ प्रतिशतले कमी आएको छ भने बाँकी सबै क्षेत्रमा वृद्धि भएको छ । त्यसमा धनगढी क्षेत्रमा सबैभन्दा बढी अर्थात् ५१ प्रतिशतले र काठमाडौँ क्षेत्रमा सबैभन्दा कम अर्थात् ०.३ प्रतिशतले वृद्धि भएको छ ।
बाक्लो हिमपात भएसँगै दोलखामा पर्यटकको घुइँचो, पहिलाे रोजाइ कालीञ्चोक
काठमाडौं । दोलखाको उच्च भूभागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै हिउँ खेल्ने पर्यटकको घुइँचो लागेको छ । जिल्लाको पर्यटकीय क्षेत्र कालीञ्चोक, शैलुङ, खरिढुङ्गा, जिरी, च्योर्दुङ, खावालगायत उच्च भूभागमा बाक्लो हिमपात भएको छ । हिमपात पछि दोलखामा हिउँ खेल्नकै लागि दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । जिल्ला आउने अधिकांश पर्यटकको पहिलो रोजाइ कालीञ्चोक परेको छ । पर्यटक प्रायः कालीञ्चोकको कुरी जाने, हिउँसँग रमाउने र केबुलकार चढ्ने उद्देश्यले दोलखा आउने गरेको पाइएको छ । शुक्रबार र शनिबार मात्र करीब १० हजार पर्यटक हिउँ खेल्न दोलखा आएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुन्दर कार्कीले बताएका छन् । कालीञ्चोकको कुरीमा मात्र करीब तीन हजार पर्यटक राख्न सकिने होटल सञ्चालनमा छन् । ती सबै होटल एक सातासम्मका लागि बुकिङ भइसकेको होटल सुनपातीका सञ्चालक हरि ओलीको भनाई रहेको छ । होटल सबै बुकिङ भए पनि बाक्लो हिमपातका कारण गाडी पाँच किमी तलबाटै कुरीसम्म पुग्न नसकेकोलो समस्या भएको जनाएका छन् । हिउँका कारण कुरीसम्म पुग्नका लागि समस्या भएपछि चरिकोटक होटल समेत भरिभराउ छन् । निरन्तर हिउँ परिरहेको हुँदा कालीञ्चोकमा पिउने पानीको सबैभन्दा ठूलो समस्या भएको स्थानीय होटल व्यवसायी सोनाम शेर्पाले बताएका छन् । ट्याङ्करबाट पानी ल्याउने गरिएकामा हिउँका कारण यातायात अवरुद्ध भएकाले खाद्यान्नसमेत अभाव हुन थालेकाले कालीञ्चोकका सबै होटल बन्द गर्नुपर्ने स्थिति आउँन सक्ने बताएका छन् । कालीञ्चोकमा यातयात सञ्चालन गरी खाद्यान्न तथा पानीको आपूर्ति सहज बनाउन प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख वासुदेव पाठकले बताए । केही दिनदेखि लगातार हिमपात भएसँगै कुरी तथा कालीञ्चोक मन्दिर आसपासमा तीन फिटभन्दा बढी हिँउ जमेको छ । अठ्तीस हजार बयालिस मिटरको उचाइमा रहेको कालीञ्चोकमा पुसदेखि फागुनसम्म हिमपात हुने गर्छ । राजधानी काठमाडौँबाट १३३ किमी को सडक यातयताबाट चरिकोट पुगेपछि १७ किमी दूरी पार गरेर कालीञ्चोक पुग्न सकिन्छ । हिमपातसँगै सय थुम्का रहेका शैलुङमा पनि हिउँ खेल्न आउने पर्यटको सङ्ख्या वृद्धि भएको शैलुङ गाउँपालिका प्रमुख भरत दुलालले बताएका छन् । जिल्लाको खरीढुङ्गा, च्योर्दुङ, खावा, डाँङ्डगे डाँडालगायत क्षेत्रमा पनि हिउँ खेल्ने आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ । रासस