विराटनगर किंग्सलाई श्री एयरलाइन्सको साथ

काठमाडौँ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटमा विराटनगर किंग्सलाई श्री एयरलायन्सले एक वर्षका लागि मुख्य प्रायोजन गरेको छ । आज आयोजित कार्यक्रममा विराटनगर र श्री एयरलायन्सबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । श्री एयरलायन्सका प्रतिनिधि अनिल मानन्धर र विराटनगर किङ्ग्सका मालिक प्रफुल्ल वैद्यले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताको रकम भने खुलाइएको छैन् । सम्झौतासँगै विराटनगरले श्री एयरलायन्स विराटनगरको नामबाट डिपीएल खेल्नेछ । यस्तै विराटनगरले विदेशी खेलाडीका रुपमा भारतका प्रथम श्रेणीका क्रिकेटर अभिनास यादव र शिवकान्त शुक्लालाई अनुबन्ध गरेको जनाएको छ । यादव देब्रेहाते स्पिनर र शुक्ला देब्रेहाते ब्याट्सम्यान हुन् । विराटनगरमा रणनीतिक खेलाडी करण केसी रहेका छन् । उक्त संस्करणको डीपिएल यही माघ २६ देखि आगामी फागनु ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुँदैछ । देशकै सर्वाधिक पुरस्कार राशीको डिपिएलमा विराटनगरसहित धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेनले प्रतिस्पर्धा गर्ने छन् । विराटनगरमा कुशल भुर्तेल, अर्जुन अधिकारी, किशोर महतो, आसिफ शेख, राजेश पुलामी मगर, महोमद संसद शेख, पृथु बास्कोटा, हरिशङ्कर साह, सुशन भारी श्रेष्ठ, अमृत गुरुङ, तृतराज दास, शिवकान्त शुक्लालगायत खेलाडी रहेका छन् । यसअघि राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको विराटनगरमा पारसले यस वर्षको डिपिएल नखेल्ने जनाएपछि करणले कप्तानी गर्न लागेका हुन् । रासस

महासंघका उपाध्यक्ष ढकाल भन्छन्-‘पर्यटन सुदूरपश्चिम समृद्घिको आधार’

काठमाडौँ । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन नै सुदूरपश्चिम समृद्विको आधार भएको बताएका छन् । कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदुरपश्चिम महोत्सवलाई सोमबार धनगढीमा सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त कुरा उल्लेख बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्थानीय स्तरमा आयोजना गर्ने यस्ता मेला महोत्सवले स्थानीय उत्पादनलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सुदूरपश्चिमका विद्यमान सम्भावनालाई अधिकतम उपयोग गर्न नेपालको निजी क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको कुरा दोहोर्याए । सुदूरपश्चिम क्षेत्र दक्षिणी छिमेकी मित्र राष्ट्रभारतको सिमानासँग धेरै नजिक रहेकाले यहाँ उत्पादन हुने बस्तुहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्न समेत तुलनात्मकरुपमा सहज रहेको कुरा उल्लेख गरे । प्रदेशनम्बर ७ (सुदूरपश्चिमप्रदेश) का मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आथित्यमा सम्पन्न उद्घाटन सत्रलाई प्रदेशका मन्त्रीहरू, स्थानीय जनप्रतिनिधिहरु लगायत राजनितिक दलका प्रतिनिधि तथा स्थानीय उद्योगी व्यवसायीहरुले सम्बोधन गरेका थिए ।

टानले भन्यो-नेपाल भ्रमण वर्षलाई प्रभावित पार्न किन खोजिंदैछ ?

काठमाडौँ । पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान)ले केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पदयात्रा तथा पर्वतारोहण र उद्धारसम्बन्धी भ्रामक समाचार सम्प्रेषण गरेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । टानका अध्यक्ष नवराज दाहालले आज एक विज्ञप्ति जारी गरी सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको कार्यक्रमलाई नै प्रभावित तुल्याउने गरी भइरहेको अनर्गल प्रचारबाजीले समग्र पर्यटन क्षेत्रलाई असर पुग्ने भन्दै सम्पूर्ण राष्ट्रिय सञ्चार माध्यमलाई देशको पर्यटनको हितमा समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् । “विगतमा सरकारबाट यस सम्बन्धमा सबै प्रकारको निक्र्योल भइसकेको अवस्थामा देशको गौरवमय कार्यक्रम नेपाल भ्रमण वर्षलाई नै विफल बनाउन केही शक्ति अनर्गल प्रचारप्रसारमा लागेको देखिन्छ, यसले पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको छ” विज्ञप्तिमा भनिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘फेक रेस्क्यु’ सन्दर्भमा सत्यतथ्य छानबिन गर्न एक कार्यदल गठन गरी छानबिनपश्चात प्रतिवेदन समेत बुझाइसकेको छ । सोही प्रतिवेदनका आधारमा मन्त्रालयले पदयात्रा, पर्वतारोहण तथा अन्य साहसिक पर्यटकीय क्रियाकलापमा पर्यटकलाई पर्नसक्ने प्राकृतिक वा अन्य विपत्तिबाट हुने क्षतिलाई न्यूनीकरण गरी खोज उद्धार तथा उपचार कार्यलाई सुव्यवस्थित गर्न “पर्यटन खोज उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि–२०७५” कार्यान्वयन गर्न एक कार्यदल गठन गरी उक्त कार्यदलले काम समेत अघि बढाएको छ । रासस