बैशाख १३ गतेदेखि आन्तरिक पर्यटन मेला, २ सय स्टलबाट देशभित्र देश चिनाइने
काठमाडौं । नेपाल भ्रमण वर्षलाई सफल बनाउन निजी क्षेत्रका पर्यटन व्यवसायीले आगामी वैशाख १३ र १४ गते भृकुटीमण्डपमा आन्तरिक पर्यटन मेला गर्ने भएका छन् । गन्तव्य नेपाल इभेन्ट मेनेजमेन्टलगायत संस्थाको आयोजनामा हुने उक्त मेलामा देशका ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्यको प्रदर्शन गरिनेछ । सबै जिल्लाको संस्कृति प्रचार गर्न विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिनुका साथै व्यापारिक प्रयोजनका २०० कक्ष राखिने छन् । पर्वतारोहणका लागि चाहिने ट्रेकिङ सामग्री, हस्तकला सामग्री, विभिन्न जिल्लाबाट उत्पादित सामग्री, पर्यटकीय होटलका कक्ष, ट्राभल, ट्रेकिङ, एयरलाइन्सलगायत पर्यटकीय सङ्घ सस्था, स्कुल कलेज प्रतिष्ठानका कक्ष राखिने छन् । आयोजित पत्रकार सम्मेलनमा गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले पर्यटन क्षेत्रले देश विकास र जनताको समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा पर्यटन बजार विस्तारका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिए। ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपालका अध्यक्ष नवराज दाहालले देशका विभिन्न ग्रामीण भेगभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान गरी तीनलाई प्रवद्र्धन गरी पर्यटकलाई आकर्षित गर्न सकिने विचार व्यक्त गरे।
‘नेपाल पर्यटन वर्ष २०१९’ अभियानलाई सफल बनाउन यस्तो छ एनआरएनएको रणनीति
काठमाडाैं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले नेपाल सरकारले घोषणा गरेको ‘नेपाल पर्यटन वर्ष २०१९’ अभियानलाई सफल बनाउन विभिन्न कार्य योजना एवं रणनीति सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच यस अघि नै घोषणा गरेको नेपाल पर्यटन प्रवद्र्धन वर्ष अन्तर्गत अघि सारेका विभिन्न प्रस्तावित गतिविधिहरुबारे जानकारी गराएको छ । कार्यक्रममा एनआरएनएका अध्यक्ष भवन भट्टले अभियान मार्फत सरकारको संघको संजाल विस्तार भएका ८० मुलुकबाट पर्यटक भित्र्याउन ‘३ मित्र आफ्नो मुलुक पठाऊ’ अभियानलाई अघि बढाउने बताए । अध्यक्ष भट्टले नमस्ते, अतिथि देवो भवःलगायतका अभियानलाई निरन्तरता दिने, डायस्पोरा मार्फत नेपालको सांस्कृतिक, धार्मिक, साहसिक एवं पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको बताए । उनले भने, नेपालमा प्रत्येक पर्यटक देखे पछि हासेर नमस्कार गरौं र विदेशमा पनि हामीले मिठो मुस्कानसहित हाँसेर नमस्ते गरौं ताकी हाम्रो संस्कार देखेर पनि हाम्रो मुलुक घुम्ने रहर जागोस् भनी राष्ट्रिय समन्वय परिषद्हरुले काम गरिरहेका छन् । यस्तै विदेशमा रहेका नेपाली समुदाय (डायस्पोराबाट) पर्यटकलाई नेपाल भ्रमण गर्न उत्प्रेरित गर्ने, डायस्पोरामा नेपाली महोत्सव आयोजना गर्ने, विदेशीस्थित विभिन्न संघ-संस्थासँग मिलेर व्यवसायिक कार्यशाला एवं प्रवद्र्धनात्मक कार्यक्रम गर्ने, नेपालीद्वारा विदेशमा सञ्चालित रेष्टुरेन्ट एवं अन्य व्यवसायिक निकायमा समेत नेपाललाई चिनाउने खालका सामाग्री राख्ने र कार्यक्रम गर्ने लगायतका योजना संघले अघि बढाएको अध्यक्ष भट्टले बताए । पर्यटन प्रवद्र्धनका लागि नेपाललाई चिनाउने मौलिक र सांस्कृतिक पहिचान झल्काउने खालका फोटो प्रदर्शनी, खेलकुद प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गर्ने र सरकारले पहिचान गरेका एक सय वटा गन्तव्य स्थलमा बढी भन्दा डायस्पोरा एवं बाह्य पर्यटक भित्र्याउने रणनीति संघले अघि सारेको छ । कार्यक्रममा नेपाल पर्यटन वर्ष २०१९ अभियानका संयोजक सोम नाथ सापकोटा र एक्सपेरिएन्स नेपालका संयोजक दिपेशमान शाक्यले अभियान अन्तर्गतका प्रस्तावित गतिविधीबारे विस्तृत जानकारी गराएका थिए। त्यस्तै, कार्यक्रममा महिला संयोजक रजनी प्रधान, मध्यपूर्वका नेपाल पर्यटन प्रवद्र्धन उप समितिका संयोजक धर्मराज गिरि, गैरआवासीय नेपाली संघ अन्तर्गतको कृषि समितिका संयोजक युवराज गुरुङ, होटेल एशोसियसनका सिइओ टेकेन्द्र बहादुर महत, भिजिट नेपालका क्यानडाका संयोजक नरबहादुर टण्डन, मकाउका मकुश बरुवाल लगायत संचारकर्मीहरुको सहभागी रहेको थियो ।
चर्चित तर नभेटिने व्यवसायी थिए आङछिरिङ शेर्पा, यस्तो छ उनको व्यवसायिक यात्रा
काठमाडौं । बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भयो । सोहि दुर्घटनामा परी पर्यटन क्षेत्रका एक चर्चित व्यवसायी आङछिरिङ शेर्पाको समेत निधन भयो । सोलुखुम्बुमा जन्मे हुर्केका शेर्पा युवा अवस्थामा नै श्रमिकको रुपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका थिए । पछि उनी ट्रेकिङ र हवाई सेवाको क्षेत्रमा पायोनियरको रुपमा स्थापित थिए । साथै, पछिल्लो समय उनी ट्राभल, होटल तथा रेष्टुरेन्ट क्षेत्रकाे विजनेशमा पनि जमेका थिए । शेर्पा यति एयरलाइन्स, तारा एयरलाईन्सका प्रबन्ध निर्देशक हुन् । यति एयर नेपालको आन्तरिक उडान भर्ने दोस्रो ठूलो हवाई सेवा प्रदायक कम्पनी हो भने तारा एयर माउण्टेन फ्लाइट गर्ने लिडर कम्पनी हो । शेर्पा माउन्टेन टुरिजमको पायोनियर नै भएको पर्यटन व्यवसायी केशव पाण्डे बताउँछन् । त्यस्तै, उनी अन्तराष्ट्रिय उडान भर्दै आएको हिमालयन एयरलाईन्सका अध्यक्ष हुन् । उनले पछिल्लो समय डाइटेस्टिक हेलिकप्टर कम्पनी किनेको थिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक व्यापारमा पनि उनले राम्रो होल्ड गरेका थिए । नेपालको हवाई सेवाको बजारमा उनका कम्पनीहरुले करिब २५ प्रतिशत हिस्सा लिएको अनुमान गरिएको छ । थामशेर्खु ट्रेकिङ कम्पनीबाट उनी विजनेशमा माथि आएका थिए, जहाँ अहिले पनि करिव ७०० कर्मचारी छन् । आङछिरिकी भाउजू पासाङ ल्हामु शेर्पाको २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी फर्कने क्रममा हिमपहिरोमा परेर मृत्यु भएपछि थामशेर्खु ट्रेकिङ कम्पनीले सफलता चुमेको थियो । सोही कम्पनीबाट भएको आर्जनबाट शेर्पाले यति एयरलाईन्स खोलेको पर्यटन व्यवसायीहरु बताउँछन् । निजीकरणको क्रममा गोकर्ण फरेष्ट रिसोर्टको व्यवस्थापन उनैले लिएका हुन् । चितवनको चर्चित रिसोर्ट ‘कसरा’ उनकै हो । सगरमाथा बेसक्याम्पमा पनि उनका होटलहरु छन् । यति माउन्टेन्ट लज लगायत हिमाली क्षेत्रका पर्यटकीय स्थलहरुमा र पोखरामा पनि उनका स–साना होटलहरु थुप्रै भएको पर्यटन व्यवसायीहरु बताउँछन् । काठमाडौंको लैनचौरमा सात तारेस्तरकाे ‘बुटिक होटल’ सञ्चालन गर्ने उनको तयारी थियो । जसका लागि ठूलो भवन बनिरहेको छ । शक्ति केन्द्रकाे नजिक सार्वजनिक मञ्चहरुमा नदेखिने, आफ्नै कम्पनीले आयोजना गरेका पत्रकार सम्मेलनहरुमा पनि नदेखिने शेर्पा पछिल्लो दशक सत्ता शक्तिसँग नजिक देखिन्थे । पर्यटन मन्त्री चढेको हेलिकप्टरमा उनको यात्राले पनि सत्तामा उनको पहुँच र प्रभाव सजिलै अनुमान गर्न सकिन्छ । कुनै बेला वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, क्याप्टेन रामेश्वर थापा र आङछिरीङ शेर्पा ‘इन्डोर गेम्स’का खेलाडी भएको र उनीहरु बीचको दोस्ती निकै राम्रो भएको बताइन्छ । पर्यटन तथा नागरिक उड्यन मन्त्री नियुक्तीदेखि यस क्षेत्रको राजनीति नियुक्तमा आङछिरिङ शेर्पाको नाम जोडर चर्चा परिचर्चा हुने गरेको थियो । तत्कालिन पर्यटन मन्त्री कृपाशुर शेर्पाको नियुक्ती आङछिरिङ कै इच्छामा भएको बताइको थियो । त्यतिबेला नै धुम्बराईस्थित नेपाल कम्यूनिष्ट पार्टीले प्रयोग गर्दै आएको भवन समेत शेर्पाले उपलब्ध गराएका हुन् । हिमालयन एयरलाइन्समा केपी शर्मा ओलीको अनाैपचारिक रूपमा ८८ करोड रुपैयाँ लगानी रहेकाे बताइन्छ । तर, नेपाल उद्योग परिसंघले यहि फागुन दुई गते आयोजना गरेको उद्यमशीलता सम्मेलनमा ओलीले अहिलेसम्म कुनै पनि कम्पनीमा एक कित्ता पनि सेयर नभएको बताएका थिए । लाक्पा सोनाम, आङछिरिङ र टेण्डी शेर्पा तीन दाजुभाइ हुन् । टेण्डीको पनि २०५५ सालमा सोलुखुम्बुमा एमआइ १७ हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको थियो । आङछिरिङको श्रीमती, दुई छोरा पासाङ र नुर्वु छन् ।