बुद्ध एयरले जेठ १३ देखि कोलकाता उडान गर्ने, सोमबार, बुधबार र शुक्रबार उडान हुने
काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने भएको छ । यसअघि वैशाख २ गतेदेखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन गरेको हो । निर्वाचनले उडान मिति परिवर्तन भए पनि उडान समय तालिका भने परिवर्तन नभएको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । बुद्धले कोलकाता उडान एटिआर ७२–५०० जहाजले साताको नियमित तीन उडान भर्नेछ । उडान हरेक साताको सोमबार, बुधबार र शुक्रबार हुनेछ । भारतमा लोकसभा निर्वाचन यही अप्रिल ११ देखि मे १९ सात चरणमा सञ्चालन हुनेछ । भारतीय यात्रुका लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेज पनि सञ्चालन गर्नेछ । यसका लागि भारतमा डिजिटलका साथै अन्य माध्यमबाट पनि प्रचार–प्रसार गरिरहेकोे छ । नेपाली यात्रुहरुका लागि पनि कोलकाता टुर प्याकेज, गङ्गासागर तथा जग्गनाथपुरी दर्शन प्याकेज ल्याएको कम्पनीले जनाएको छ । बुद्ध एयरसँग अहिले छ वटा एटिआर ७२–५००, तीन वटा एटिआर ४२–३२० र दुई वटाबीच क्राफ्ट जहाज सञ्चालनमा छन् । थप एटीआर–७२ जहाज अर्को महिनादेखि सञ्चालनमा आउने कम्पनीले जानकारी दिएको छ ।
धुलिखेलमा जिप फ्लाईङ, यसरी बन्नुस् सुपर म्यान
धुलिखेल । प्याराग्लाइडिङ, बञ्जीजम्प जस्तै साहसिक खेल ‘जिप लाइन’को मजा लिन अब उपत्यकावासीका लागि धेरै टाढा धाउन नपर्ने भएको छ । काठमाडौँबाट झण्डै ३३ किलोमिटर दूरीमा पर्ने काभ्रेपलाञ्चोकको पर्यटकीय गन्तव्य धुलिखेलमा साहसिक खेल ‘जिप लाइन’ले सेवा दिन थालेपछि टाढा पुग्नुपर्ने अवस्थाको अन्त भएको हो । कास्कीको पोखरापछि उक्त खेल यही फागुनदेखि धुलिखेलमा सञ्चालनमा आएको हो । धुलिखेलको थाक्लेडाँडादेखि शुरु हुने जिप लाइन पाँचखालको खावामा पुगेर अन्त हुन्छ । पुष्कर भण्डारी र मनोज श्रेष्ठले जिप लाइनको मजा लिँदै भने, “रमाइलो भयो, साहसिक खेलमा रमाउनेका लागि यो निकै महत्वपूर्ण लाग्यो, अझ ‘सुपरम्यान उड्दा थप मजा आउँछ ।” कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेसमा बसी पर्यटकले चराको पखेटा झैँ हात फैलाएर ‘सुपरम्यान फ्लाइङ’ गर्छन् । यसरी खेल्दा करीब एक मिनेट हावामा उडेको महसुस हुन्छ । माथिबाट जङ्गल फाँट, बस्ती साथै विभिन्न दृश्यावलोकन गर्दा छुट्टै आनन्द आउने पर्यटक बताउँछन् । फलामको लठ्ठा (डोरी) मा घिर्नी जोडिएको हुन्छ । त्यही घिर्नीमा विशेष प्रकारको फितामा झुण्डिएर पर्यटक माथिबाट तल झर्छन् । हावाको वेगमा प्रकृतिको आनन्द लिनलाई यो यो खेल उपयोगी छ । “हामीले एक महीनादेखि यो खेल सञ्चालमा ल्याएका छौँ, अर्को हप्ता उद्घाटन गर्ने योजना छ”, सञ्चालक केदार थापाले भने । उनका अनुसार पर्यटकीय क्षेत्र धुलिखेलको नजिकै र भोटेकोशीलगायतका ठाउँमा जाने आउने बाटो अरनीको राजमार्ग भएकाले त्यसको नजीक जिप लाइन शुरु गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वल्ड वाइड एड्भेन्चर प्रालिले शुरु गरेको जिपलाइन उद्घाटन नहुँदै देशका विभिन्न जिल्लासहित चीन, कोरिया, हङ्कङ, अमेरिका र स्वीट्जरल्याण्डका पर्यटकले यो खेलको मजा लिइसकेका छन् । धुलिखेल जिपलाइन परियोजनाअन्तर्गत अहिलेसम्म चार करोड ७५ लाख लगानी भइसकेको छ । अझै निर्माणका क्रममा रहेकाले करीब सात करोड लाग्ने अनुमान गरिएको अर्का सञ्चालक भुपेश श्रेष्ठले बताए । उक्त परियोजनाको निर्माण कार्य गएको साउनदेखि शुरु गरिएको थियो । यहाँ साना बालबालिकाका लागि छुट्टै जिपलाइन छ । यस्तै चिल्ड्रेन एड्भेञ्चर क्याम्पसहित, रिसोर्ट निर्माणाधीन छ । थाक्लेडाँडादेखि खावासम्म सञ्चालन हुने जिप लाइनको दूरी करीब एक हजार १०० मिटरको छ । समुद्रसतहदेखि एक हजार ३०० मिटर उचाइबाट शुरु भएर एक हजार २०० मिटरको सतहमा अन्तिम केन्द्र छ । फ्लाइङको गति प्रतिघण्टा ६० देखि अधिकतम ९५ किलोमिटरको हुने प्राविधिकले बताएका छन् । बढीमा एक मिनेट २० सेकण्डको समयमा आनन्द लिन सकिने उक्त साहसिक खेलको महत्वपूर्ण पक्ष भनेको ‘सुपरम्यान’ हो । यहाँबाट दैनिक ६० जनासम्मले सेवा लिनसक्ने सञ्चालक श्रेष्ठले बताए । युरोपियन र अमेरिकी राष्ट्रिय सुरक्षा मापदण्डमा आधारित भई अष्ट्रिया र भारतीय प्रविधिमा आधारित जिप लाइन सञ्चालाका लागि दुई जना भारतीय प्राविधिकसहितको टोली छ । समयसमयमा भोटेकोशीको बञ्जीजम्पको निरीक्षण गर्दै आएका प्राविधिकले प्राविधिक परीक्षण गर्ने गरेका छन् । तेह्र वर्ष उमेर माथिकालाई माथिल्लो र तेह्र भन्दा कम उमेरकालाई खावास्थित तल्लो स्टेशनमा जिप लाइन खेलाइन्छ । पन्ध्र वर्षका लागि २० रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर साहसिक खेल शुरु गरिएको यहाँ साधारण जिप लाइन, सुपरम्यान र टेन्डम (जोडी) यात्रा गर्ने सुविधा छ । खेलमा सहभागी हुने पर्यटकका लागि पाँच लाखको दुर्घटना बीमा गरिएको छ । प्रतिपर्यटक साधारणतर्फ दुई हजार ५००, सुपरम्यानको तीन हजार ५०० र जोडी यात्राको चार हजार ५०० शुल्क तिर्नुपर्छ । तस्बीर र भिडियोका लागि छुट्टै शुल्क लाग्छ । रासस
सौर्य एयरलाइन्सले तिर्यो १ करोड बक्यौता, दुई महिनाभित्र बाँकी ३ करोड तिर्ने
काठमाडौँ । निजी क्षेत्रको वायु सेवाप्रदायक कम्पनी सौर्य एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करीब एक करोड बक्यौता तिरेको छ । पहिलो चरणको किस्ताबापत ५० करोड तिरेर यही फागुन २४ गतेबाट पुनः उडान शुरु गरेको सौर्यले आइतबारसम्म ९८ लाख ५० हजार बुझाएको विमानस्थलले जनाएको छ । कम्पनीले फागुन २१ गते पहिलो किस्ताको ५० लाख बक्यौता तिरेको थियो । दुई महिनाभित्र सबै बक्यौता तिर्ने वचनपछि विमानस्थलले सौर्यलाई उडान अनुमति दिएको थियो । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार सो कम्पनीले विमानस्थललाई जरिवानासहित चार करोड बक्यौता रकम तिर्नुपर्नेछ । दुई महिनाभित्र सबै बक्यौता तिर्ने एयरलाइन्सले वचन दिएको उनले उल्लेख गरे । सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । उसले आगामी वैशाखभित्र नयाँ जहाज भित्र्याउने तयारी गरेको छ । उक्त एयरलाइन्सका बजार प्रमुख मुकेश खनालले अप्रिल १५ भित्र सिआरजे २०० सिरिजको जहाज ल्याउने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । हाल सौर्यले विराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज तथा धनगढीका लागि उडान गर्दै आएको छ । यो कम्पनीसँग अहिले दुई बम्बार्डिएर जहाज छन् । सौर्यले अबको ६ महीनाभित्र तीन एटिआर जहाज भित्र्याउने योजना बनाएको छ । रासस