पर्यटन करलाई एकरूपता बनाऊ : टान

काठमाडौँ । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टानले पर्यटन क्षेत्रमा स्थानीय निकायले लगाउन थालेको करलाई व्यवस्थित गर एकरूपता बनाउन माग गरेको छ । प्रख्यात खुम्बु क्षेत्रमा खुम्बु पासाङ गाउँपालिकाले प्रतिपर्यटक २ हजार रुपैयाँ कर लिन थालेको जानकारी दिँदै मंगलबार आयोजित एक कार्यक्रममा टानका अध्यक्ष नवराज दाहालले भने, ‘अन्य स्थानीय निकायबाट पनि यस्तै हुन खोजेकाले समाधान निकाल्न आवश्यक छ ।’ त्यस्तै पर्यटक खोज उद्धार तथा अनुगमन कार्यविधि २०७५ अनुसार पर्यटकले अनिवार्य रूपमा प्रशिक्षित पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्थालाई कार्यान्वयन गर्न पनि टानले माग गरेको छ । टानका अध्यक्ष दाहालले भने, ‘अहिले पर्यटक आफूखुसी एक्लाएक्लै विभिन्न पदमार्गमा गइरहेका छन्, यसले एकातिर पर्यटकको असुरक्षा बढाएको छ भने अर्को तर्फ ट्रेकिङ व्यवसायीको पेसामा नकारात्मक प्रभाव पारेको छ ।’ टानका पूर्वअध्यक्ष जेबी सिंहले संविधानको अनुसूचीमा पर्यटन क्षेत्रबाट संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारले कर उठाउन पाउने उल्लेख गरेकाले अन्योलता बढेको बताए । पर्यटन क्षेत्रमा सबै सरकारले कर उठाउन थाल्ने हो भने देशको पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पार्ने र विश्वभर यसको सन्देश नराम्रो जाने उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

आरोहीबाट २५ करोड बढी रोयल्टी उठ्यो, ४६ आरोही समूहलाई आरोहण अनुमति

काठमाडौँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणका लागि हालसम्म ४६ आरोही समूहले आरोहण अनुमति लिएका छन् । छयालीस आरोही समूहका १९३ आरोहीबाट आजसम्म रु २५ करोड ५६ लाख २८ हजार ८३७ रोयल्टी जम्मा भएको पर्यटन विभागले जनाएको छ । सो मध्ये सर्वोच्च शिखर सगरमाथाबाट मात्रै रु २३ करोड ९२ लाख ५७५ रोयल्टी उठेको छ । सगरमाथा आरोहणका लागि १९ आरोही समूहका १९३ आरोही गएका छन् । सगरमाथासहितका हिमाल आरोहणका लागि आरोही धमाधम गन्तव्यतर्फ लागेका विभागले जनाएको छ । कञ्चनजङ्गा र ल्होत्सेका लागि समान चार र अन्नपूर्ण तथा अमादब्लममा समान दुई आरोही समूहले आरोहण अनुमति लिएका छन् । मकालु, नुपुचे र ग्याल्जेनपिकका लागि दुई÷दुई समूहले अनुमति पाएका छन् । विभागको पर्वतरोहरण शाखाका रामेश्वर निरौलाका अनुसार आरोही आउने क्रम जारी रहेकाले यो वर्ष आरोहीको उत्साहजनक सहभागिता रहने अनुमान छ । सन् २०१८ को वसन्त ऋतुमा रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी जम्मा भएको थियो । सोमध्ये सबैभन्दा धेरै सगरमाथाबाट मात्रै रु ३५ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी उठेको थियो । सन् २०१८ को यही मौसम (वसन्त ऋतु) मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए । सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य १३ सयभन्दा बढी हिमाल रहेका बताइन्छ । रासस

हिमाली क्षेत्रमा ‘फेक रेस्क्यु’ : दोषीमाथि कारबाही नहुँदा पर्यटकको बुकिङ रद्द बढ्दो

काठमाडौँ । डेढ महिनाअघि पर्यटन व्यवसायी मोहन लम्सालको कम्पनीमा बेलायतका १६ जनाको टोलीले ट्रेकिङका लागि बुकिङ गर्योर् । तर, एक साता नबित्दै रद्द गरेर तीनजना मात्र आउने जानकारी बेलायती एजेन्टले दिए । अर्को ८ जनाको समूहले पनि विभिन्न हिमाल आरोहणका लागि बुकिङ गरेको थियो । फेरि पनि साता नबित्दै तीनजनाले रद्द गराए  । त्यसयता बुकिङमा जति उत्साह देखिएको छ, धमाधम रद्द गर्नेको मात्रा पनि उस्तै रहेको लम्सालको अनुभव छ । यसो हुनुको कारण रहेछ, विदेशी सञ्चारमाध्यमले नेपालमा ‘फेक रेस्क्यु’ बारेका समाचार लेखिदिनु । यता दोषीमाथि कारबाही नहुनु । अघिल्लो सिजनमा भएको ‘फेक रेस्क्यु’बारे अध्ययन गर्न गठित समितिले दिएको रिपोर्टमा औँल्याइएका दोषीमाथि कारबाही भएको छैन । विदेशी सञ्चारमाध्यमले पनि यसबारे बारम्बार समाचार लेखिदिनाले पर्यटकमा नेपालप्रति नकारात्मक छाप परेको व्यवसायी बताउँछन् । लम्साललाई पनि विदेशी एजेन्टले यस्तै जानकारी दिने गरेका छन् । ‘विदेशी भाषामा नेपालको फेक रेस्क्युबारे समाचार आइरहेका छन्,’ उनले भने, ‘त्यसमाथि समितिले दोषी औँल्याएकाहरूमाथि कारबाही नहुँदा पर्यटकमा नेपालप्रति अविश्वास बढेको देखिन्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।