अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत हुँदैः तीन महिनासम्म दैनिक १० घन्टा विमानस्थल बन्द
काठमाडौँ । दैनिक २१ घन्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ चैतदेखि तीन महिना दैनिक १० घन्टा बन्द हुने भएको छ । धावनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि १४ घन्टामा सीमित हुने विमानस्थलका प्रवक्ता प्रताप तिवारीले बताए । मर्मत गरिने अवधिभर विमानस्थल बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गर्ने तयारी छ । अहिले बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालन भइरहेको छ । दैनिक १० घन्टा विमानस्थल बन्द हुँदा करिब २० प्रतिशत उडान कटौती हुने प्रवक्ता तिवारीले बताए । ‘आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा गरी करिब २० प्रतिशत उडान कटौती हुने अवस्था छ,’ उनले भने, ‘पिच मर्मत गर्न विमानस्थल बन्द गर्नुपर्ने तथा खुला रहने समयमा पनि विमानस्थलको पार्किङ क्षमता तथा ह्यान्डलिङ क्षमतालाई ध्यानमा राखेर उडान तालिका बनाइएको छ ।’ विमानस्थलबाट अहिले दैनिक ३ सय ५० आन्तरिक र करिब १ सय अन्तर्राष्ट्रिय उडान भइरहेको छ । मर्मत अवधिभर भने नयाँ उडान तालिकाअनुसार दुवै गरी झन्डै ९० वटा उडान दैनिक कटौती हुने उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
एनआरएनए युरोप क्षेत्रीय बैठक सम्पन्न, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने निर्णय
लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत युरोप क्षेत्रको क्षेत्रीय साइबर बैठक सम्पन्न भएको छ । २४ मार्च २०१९ मा क्षेत्रीय संयोजक शिव बरुवालको अध्यक्षतामा सम्पन्न बैठकले १२ औँ युरोपेली भेला अगस्ट ३ र ४ मा इटालीको रोममा गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको छ । बैठकमा संस्थाले विगतमा गरेका गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजनाको बारेमा समेत छलफल गरिएको थियो । बैठकमा यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपालीहरुलाई संघको सदस्यता वितरण त्यसको व्यवस्थापन तथा नवीकरण लगायतका विषयमा सचेत गराउने र हाल भइरहेको पहललाई समेत थप सार्थक बनाउने गरी अघि बढ्ने निर्णय गरिएको छ । साथै, यूरोप क्षेत्रमा नेपाल महोत्सवको आयोजना गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन व्यापक प्रचार प्रसार गर्ने निर्णय समेत गरिएको छ । बैठकबाट १२ औँ युरोपेली भेला लाई भव्य रुपमा सम्पन्न गर्नको लागि युरोप संयोजक शिव बरुबालको संयोजकत्वमा युरोप क्षेत्रका सम्पूर्ण आइसीसी सदस्य एनसीसी अध्यक्ष आयोजक राष्ट्र इटालीका उपाध्यक्ष महासचिव समेत रहने गरी मूल आयोजक समिति गठन गरेको छ । युरोप उप–संयोजक गोबिन्दप्रसाद गौतमले सञ्चालन गरेको बैठकमा युरोप क्षेत्रका महिला उपसंयोजक, युवा उपसंयोजक साथै एनसीसी अध्यक्षहरुले आफ्नो प्रगति प्रतिबेदन प्रस्तुत गर्दै सदस्यता वितरणको लागि संघले सुरु गरेको नयाँ डिजिटल प्रविधिलाई सहज बनाउनु पर्ने र डाटा सुरक्षाको ग्यारेन्टी हुनु पर्ने धारणा राखेका थिए । आइसीसी सदस्यहरुले आइसीसी र एनसीसीबीच समन्वयलाई थप प्रभावकारी बनाउनु पर्ने विषयमा चर्चा गरेका थिए । बैठकमा आइसीसी उपाध्यक्षद्वय कुमार पन्त र सपिलाराज भण्डारीले सम्बोधन गर्दै आगामी कार्ययोजनाको बारेमा जानकारी गराएका थिए । युरोपका २८ राष्ट्रमा फैलिएर रहेको एनआरएनए युरोप क्षेत्रको बैठकमा युरोप क्षेत्रका विभिन्न एनसीसी अध्यक्ष तथा महासचिवहरु, आइसीसी सदस्यहरु युरोप क्षेत्रका उप–संयोजकहरु, महिला उपसंयोजक, युवा उप–संयोजक लगायतको सहभागिता रहेको थियो ।
नौ समूहलाई हिमाल आरोहणको अनुमति, चार दिनमै ४ करोड राजश्व सङ्कलन
काठमाडौँ । पर्यटन विभागले हिमाल आरोहण अनुमति ‘पर्मिट’ जारी गर्न शुरु गरेको चार दिनमै करीब चार करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमालबाट रु तीन करोड ९० लाख नौ हजार २९७ राजश्व उठेको विभागको पर्वतरोहण शाखाका रामेश्वर निरौलाले जानकारी दिए । यीमध्ये सबैभन्दा बढी सगरमाथाबाट रु तीन करोड ५३ लाख राजश्व उठेको छ । विभागले यो सिजनको गत फेब्रुअरी २७ मा पहिलो आरोहण पर्मिट जारी गरेको थियो । पछिल्लो मार्च २३ देखि २५ सम्म तीन दिनमै रु तीन करोड ८७ लाख राजश्व उठेको छ । वसन्त ऋतुको यो याममा हिमाल आरोहणका लागि १५ भन्दा बढी आरोही दलले पर्मिटका लागि निवेदन दिएकामा विभागले सोमबारसम्म नौ समूहलाई आरोहण अनुमति दिएको छ । यीमध्ये तीन सगरमासहित ल्होत्से, अन्नपूर्ण, कुम्भकर्ण, पुमरी, थापा पिक र छोपबमरी रहेका छन् । वैशाख महिनासम्म आरोहण अनुमति लिने भएकाले आरोहीको सङ्ख्या बढ्ने विभागको अनुमान छ । सन् २०१८ को यही मौसम (वसन्त ऋतु) मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए । सगरमाथा आरोहणको रोयल्टी ऋतुअनुसार फरक–फरक हुन्छ । विदेशी आरोहीले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्नेछ । विभागका अनुसार सन् २०१८ को वसन्त ऋतुमा ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी जम्मा भएको छ । योमध्ये सबैभन्दा धेरै सगरमाथाबाट मात्रै रु ३५ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी उठेको छ । सरकारले आरोहणका लागि ४१४ हिमाल खुला गरेको छ, अझै आरोहणयोग्य १३ सयभन्दा बढी हिमाल रहेका छन् । रासस