रूकुमकाे युद्धस्थल पर्यटकीय सम्भावना क्षेत्र बन्दै, द्वन्द्वस्थल अध्ययन अवलोकन हुँदै 

काठमाडौं । रुकुम जिल्लाको सिस्ने गाउँपालिका–५ रुकुमकोटस्थित ठाटी डाँडामा भएको द्वन्द्वस्थल अवलोकन गरिएको छ । अवलोकनका क्रममा उक्त टोलीले रुकुमकोटको भू–बनोट र ऐतिहासिक हिसाबले पनि पर्यटकका लागि निकै महत्वपूर्ण जनाएको थियो । स्थानीय वासीसँगको छलफलका क्रममा द्वन्द्वस्थलमा सङ्ग्रहालय निर्माण गर्न उनीहरूले आग्रह गरेकामा त्यसको सम्भाव्यता अध्ययनलाई पनि अगाडि बढाइने पूर्वमन्त्री गणेशमान पुनको भनाइ रहेको छ । उक्त ठाउँमा जनयुद्धका क्रममा विसं २०५७ चैत १९ गते सरकार र विद्रोही पक्षबीच भीषण युद्ध भएको थियो । युद्धका क्रममा सरकारी पक्षका ३२ र विद्रोही (माओवादी) पक्षका आठ जनाले ज्यान गुमाएका ठाउँ प्रचारप्रसारको अभावले ओझेलमा परेको थियो । पूर्वमन्त्री गणेशमान पुन, काठमाडौँ त्रिभुवन विश्वविद्यालयका पर्यटन, पुरातत्व तथा सांस्कृतिक विभागका प्रमुख उपप्रध्यापक पशुपति न्यौपाने, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक स्वस्तिराज भण्डारी, विज्ञ सोमत घिमिरे, इञ्जिनीयर अजय मगर, प्रमुख जिल्ला अधिकारी जिल्लाका जनप्रतिनिधि लगायतले उक्त क्षेत्रलाई युद्ध पर्यटकीयस्थलका रुपमा विकास गर्न प्रचारप्रसार तथा संरक्षण गर्ने उद्देश्यले अवलोकन गरिएको बताएका छन् । युद्धस्थलमा एउटा घरको भग्नावशेष मात्र देखिएको जिविसको आर्थिक सहयोग, जिल्ला प्रहरी कार्यालयको प्रविधिक सहयोग र कमल दह प्राकृतिक सम्पदा तथा वातावरण संरक्षण केन्द्रको निर्मानिर्माण सहयोगमा चार वर्षअघि शहीद स्मारक निर्माण गरिएको थियो । रू ६५ लाखको लागतमा बनेको उक्त स्मारकमा युद्धमा सहादत प्राप्त गर्ने दुवै पक्षका शहीदको नाम लेखिएकाले त्यहाँ पुग्ने जोकोहीले युद्ध भएको कहिले र क–कसले ज्यान गुमाएका थिए भन्ने कुरा सजिलै थाहा पाउन सक्छन् । उक्त टोलीले सिस्ने गाउँपालिकास्थित रुकुमकोटका अन्य पर्यटकीयस्थलको पहिचान पनि गरेको थियो । रासस

चितवन राष्ट्रिय निकुञ्ज प्लास्टिकमुक्त  बन्दै, नगरपालिकाकाे यस्ताे छ कार्ययोजना

   काठमाडाैं । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्र्ज क्षेत्रमा प्लास्टिक निषेध गरेको छ । प्लास्टिक खाएर दुर्लभ वन्यजन्तुको मर्ने क्रम बढ्न थालेपछि प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताएका छन् । ढकालका अनुसार विगत दुई वर्षदेखि कसरामा रहेको मुख्यालयले निकुञ्जमा प्लास्टिक न्यूनीकरणको अभियान थालनी गरेको भए पनि मंगलबार औपचारिक रुपमा निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको हो । घोषणा भएसँगै जंगल घुम्न जाने पर्यटक तथा निकुञ्जभित्र रहेका नेपाली सेना र निकुञ्जका अधिकारीले प्लास्टिक र प्लास्टिकजन्य वस्तु निकुञ्जमा फाल्न पाउने छैनन् । सुरूवाती चरणमा लैजान दिने र फाल्न नदिने तथा केही समयपछि निकुञ्जमा प्लास्टिक निषेध गरिने भएको छ । प्लास्टिकमुक्त क्षेत्र घोषणालाई कार्यान्वयन गरी अर्थपूर्ण बनाउन नगरपालिकाले केही कार्ययोजना पनि बनाएको छ । निकुञ्जभित्र सेनाको ५० वटा पोस्टमा बस्ने सेनालाई प्लास्टिक झोलाको विकल्पमा कपडाको झोला प्रयोग गर्न लगाउने, जंगल घुम्न जाने पर्यटकलाई प्लास्टिक र प्लास्टिकजन्य सामग्री निकुञ्जमा नलैजान आग्रह गर्ने, मिनरल वाटरको बोतलको विकल्प खोज्न आग्रह गर्ने र निकुञ्जका ठाउँठाउँमा डस्टविन राख्ने तयारी भएको छ । जनचेतनाका लागि सूचनाको माध्यमको अधिकतम उपयोग गरी टेलिभिजन, रेडियो, सूचना बोर्ड, पोस्टर र स्टिकर बनाएर ठाउँठाउँमा टाँस गर्ने योजना रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले बताएका छन् । बाढीले बगाएर ल्याएको प्लास्टिक र जंगल घुम्न जाने पर्यटकले फालेका प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुका कारण निकुञ्ज प्रदूषित भएसँगै त्यसले जनावरलाई समेत मृत्युको मुखमा पुर्याएको छ । प्लास्टिक खाएर सबैभन्दा धेरै चरा मर्ने गरेको भेटिएको छ । निकुञ्जमा प्लास्टिक खाएर दैनिक २ वटा चरा मर्ने गरेको संरक्षणकर्मीहरुले बताएका छन् । निकुञ्ज स्थापना भएको लामो समय बितिसक्दा पनि यहाँ संरक्षणको सवालमा अथाह चुनौती छन् । मानव–वन्यजन्तुबीचको द्वन्द्व, राहत प्रक्रिया, नदीजन्य पदार्थ माथिको चाप, पूर्वाधार निर्माण, कर्मचारी आपूर्ति, नदी कटानजस्ता चुनौतीहरु विद्यमान रहेको प्रमुख संरक्षण अधिकृत ढकालले बताएका छन् ।

तनहुँको बन्दीपुर पर्यटकीय नगर बन्दै, दैनिक ३ सय भन्दामाथि पर्यटकको आगमन

काठमाडौं । एक वर्षको अवधिमा एक लाख पचास हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरेका छन् । सन् २०१८ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म उक्त सङ्ख्यामा पर्यटक बन्दीपुर भित्रिएको पर्यटन विकास समितिका अध्यक्ष वैशबहादुर गुरुङले जानकारी दिएका छन् । सन् २०१७ मा करीब एक लाख पर्यटकले बन्दीपुरको भ्रमण गरेका थिए । भ्रमण गर्नेमध्ये ८० प्रतिशत आन्तरिक पर्यटक रहेका रहेका थिए । आउने बाह्य पर्यटकमा अमेरिका, थाइल्याण्ड, चीन, भारत र कोरियाका बढी छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आन्तरिक पर्यटक बढी मात्रामा बन्दीपुर आएका थिए । “नेपालीमा घुम्ने संस्कृतिको विकास हुँदै गएको बताउँदै जाडो मौसमसँगै यतिबेला बन्दीपुरमा पर्यटकको ओइरो लागेको जानकारी दिएका छन् । दैनिक करीब तीन सय पर्यटक बन्दीपुर घुम्न आउने क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानको भनाई रहेको छ । बन्दीपुरको मनोरम दृश्य र ऐतिहासिकस्थलको बारेमा जानकारी लिन बाह्य पर्यटक आउने गरेको छन् । बन्दीपुरमा हिमालय दरबार, ग्रिनपार्क, फेवा, गाउँघर, वल्र्ड इन, बन्दीपुर प्यालेस, मगर भिजेललगायत सानाठूला गरी ५७ होटल तथा २२ घरबास सञ्चालनमा छन् । ती सबै होटलमा एकै पटक एक हजार ३०० देखि एक हजार ४०० सम्म पर्यटकले रात बिताउन सक्ने व्यवस्था रहेको होटल संचालकको भनाइ छ ।बन्दीपुरमा ढुङ्गाले छापेको बाटोमा सवारीसाधन गुडाउन निषेध गरिनुका साथै पुराना घर भएकाले बाह्य पर्यटक आकर्षित हुने गरेका छन् । काठका बुट्टा कुँदिएका झ्याल तथा ढोका, इँट्टाबाहिर देखिने प्यागोडा शैलीका घर बन्दीपुरको मुख्य आकर्षणको रुपमा रहेका छन् । पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दूरीमा बन्दीपुर पर्छ । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायत हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । रासस