चिनियाँ होटेल र रेस्टुरेन्टमा उतैको एपबाट भुक्तानी, नेपालमा रेकर्ड छैन

काठमाडौँ । नेपालमा चिनियाँ नागरिकले सञ्चालन गर्ने होटेल तथा पसलहरूले भिच्याट तथा अलिपेजस्ता चिनियाँ डिजिटल वालेटमार्फत भुक्तानी लिने गरेका छन् । खासगरी नेपाल घुम्न आउने चिनियाँ पर्यटकसँग उनीहरूले चिनियाँ डिजिटल वालेटमार्फत भुक्तानी लिने गरेका हुन् । त्यसरी लिएको भुक्तानी सीधै चीनकै खातामा जाने हुँदा नेपालमा रकम मात्रै होइन, रेकर्ड पनि रहँदैन । नेपाल राष्ट्रबैंकको अनुमतिविना हुने गरेको यस्तो भुक्तानी अवैधानिक भएको नेपाल राष्ट्र बैंकले बताएको छ । खासगरी चिनियाँभाषीकै होटेल तथा पसल धेरै रहेको ठमेल क्षेत्रमा यस्तो कारोबार बढी हुन्छ । भिच्याट र अली–पेजस्ता डिजिटल वालेट नेपालमा दर्तासमेत भएका छैनन् । तर, त्यसको प्रयोगमार्फत चिनियाँ व्यवसायीले विदेशी मुद्रा अपचलन गरिरहेका छन् । ‘अधिकांश चिनियाँ पर्यटकले पसल तथा होटेल सेवाबापत बिलको भुक्तानी गर्दा भिच्याट र अली–पेजस्ता इन्टरनेट सञ्जाल प्रयोग गर्छन्,’ एक नेपाली टुरिस्ट गाइडले भने, ‘नेपालीसँग भने उनीहरू डलर वा युआनमा कारोबार गर्छन् ।’ ‘चिनियाँ डिजिटल वालेटमार्फत त्यहाँका नागरिकबीच हुने कारोबारबाट देशले कुनै फाइदा लिन सक्दैन,’ पर्यटन बोर्डका एक अधिकारीले भने, ‘यसलाई नेपालको कानुनी दायरामा ल्याए मात्र पर्यटन उद्योगमा चिनियाँले गरेको कारोबारबाट फाइदा पुग्न सक्छ ।’ राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भीष्म ढुंगानाका अनुसार भिच्याट र अली–पेलाई अनुमतिपत्र प्रदान गर्न प्रक्रिया सुरु भइसकेको छ । ती कम्पनीका नेपाली एजेन्टले अनुमतिपत्र पाउन राष्ट्र बैंकमा निवेदन दिएका छन् । एजेन्टले सेवा सञ्चालनका लागि ती कम्पनीसँग सम्झौता गरेर राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेपछि उनीहरूले वैधानिक रूपमा यहाँ कारोबार गर्न सक्ने ढुंगानले बताए । त्यसपछि राष्ट्र बैंकको नियमनअनुसार सफ्टवेयरमार्फत नेपालमा कारोबार हुन्छ । ‘त्यसको रेकर्ड नेपालमा हुन्छ, सेटलमेन्ट पनि नेपाली बैंकमार्फत नै हुन्छ । नेपाली बैंकमार्फत सम्बन्धित देशमा रकम जान सक्छ,’ उनले भने । अमेरिकी कम्पनी पेपालमार्फत नेपालमा हुने गरेको कारोबार पनि गैरकानुनी रहेको र कानुनी प्रक्रियामा ल्याउने प्रयास भइरहेको ढुंगानाले बताए । राष्ट्र बैंकले चिनियाँ डिजिटल वालेटबाट नेपालमा कारोबार हुनु गैरकानुनी भएको जनाएको छ । गैैरकानुनी हुँदाहुँदै पनि तत्काल कुनै कदम चालेर नियन्त्रणमा लिन नसकिएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भीष्म ढुंगानाले बताए । ‘यी वालेट चीनमा लोकप्रिय र कानुनी छन्,’ उनले भने, ‘तर, नेपालमा भने गैरकानुनी हुन् । हामी यसलाई बन्द गर्नेभन्दा पनि कानुनी दायराभित्र कसरी ल्याउने भन्नेमा छौँ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

आरोहीको ओहिरोः ४८ करोड बढी रोयल्टी

काठमाडौँ । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न मुलुकका आरोहीको उत्साहजनक सहभागिता रहेको छ । यस यामको हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म हिमाल आरोहण अनुमति लिने आरोही समूहको सङ्ख्या ९३ पुगेको छ । सगरमाथासहितका हिमाल आरोहणका लागि ९३ समूहबाट ७७८ जना आरोही गएका छन् । सो आरोही समूहबाट हालसम्म ४८ करोड ३० लाख ४४ हजार ८४२ रोयल्टी जम्मा भएको विभागले जनाएको छ । यीमध्ये सगरमाथाबाट मात्रै ४३ करोड ५२ लाख ५५ हजार ९१२ रोयल्टी उठेको छ । सगरमाथा आरोहणका लागि मात्रै ३३ आरोही समूहका ३६२ आरोही छन् । त्यसैगरी ल्होत्सेका नौ आरोही समूहका ७७ आरोही छन् । अमादब्लमका लागि पाँच आरोही समूहका ४९ आरोही र कञ्चनजङ्गा आरोहणका लागि पाँच आरोही समूहका ३२ आरोही गएका छन् । त्यस्तै मकालुका लागि चार आरोही समूहका ५३ आरोही गएका छन् । अन्नपूर्णमा तीन र धौलागिरि हिमाल आरोहणका लागि तीन आरोही समूहले अनुमति लिएको विभागको विवरणमा उल्लेख छ । सगरमाथामा कुन देशका कति आरोही वसन्त ऋतुको यो याममा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि ३७५ आरोही छन् । ती आरोहीमध्ये २९९ पुरुष र ७६ महिला छन् । सबैभन्दा बढी भारतबाट ७५, संयुक्त राज्य अमेरिकाबाट ७४ र चीनबाट ६० आरोही सगरमाथा आरोहणमा गएका छन् । त्यस्तै, संयुक्त अधिराज्य बेलायतबाट ४३, नेपालबाट १३, नर्वे र क्यानाडाबाट समान आठ र जापान र लेवनानबाट समान आठ तथा ब्राजिल, नर्वे र अर्जेन्टिनाबाट समान पाँच जना आरोही रहेका छन् । सगरमाथा आरोहणमा जाने महिलातर्फ सबैभन्दा धेरै चीनबाट २० र भारतबाट १८ जना छन् । पुरुषतर्फ अमेरिकाबाट ७०, भारतबाट ५७ र चीनबाट ४० सबैभन्दा धेरै आरोही रहेका छन् । वैशाख महीनाभर जसो आरोही आउने भएकाले यो सङ्ख्या अझै बढ्ने विमागले अनुमान गरेको छ । रोयल्टी बढी उठ्यो अघिल्लो वर्ष (सन् २०१८)को वसन्त ऋतुको तुलनामा यो याममा हिमाल आरोहणबाट रोयल्टी रकम बढी जम्मा भएको छ । यो मौसममा आरोही आउने क्रम जारी रहेको हालसम्मको अवधिमै ४८ करोडभन्दा बढी रोयल्टी जम्मा भइसकेको छ । अघिल्लो वर्षको सोही याममा सगरमाथासहितका हिमालबाट ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी जम्मा भएको थियो । सोमध्ये सबैभन्दा धेरै सगरमाथाबाट मात्रै ३५ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी उठेको थियो । सन् २०१८ को यही मौसम (वसन्त ऋतु)मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए । मुलुकको पर्यटनमा महत्वपूर्ण आधार पर्वतीय पर्यटन हो । राजश्व आम्दानीका हिसाबले पनि सबैभन्दा धेरै हिमालबाटै रोयल्टी उठ्छ । संसारका ओरीहीको उत्कृष्ठ रोजाइमा सगरमाथासहितका हिमाल पर्छन् । त्यसैले हरेक वर्ष विभिन्न मुलुकका आरोही उल्लेख्य सङ्ख्यामा आरोहणका लागि नेपाल आउने गर्छन् । पर्वतारोहण आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमालमध्ये नेपालमा आठ वटा हिमाल पर्दछन् । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगत रुपमा मात्रै पाँच हजारको हाराहारीले आरोहण गरेका छन् । सगरमाथा आरोहणका लागि विदेशी नागरिकले ११ हजार अमेरिकी डलर तिर्नुपर्छ भने नेपाली नागरिकले रु ७५ हजार रोयल्टी बुझाउनुपर्छ । सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य हिमाल एक हजार ३०० भन्दा बढी रहेको बताइन्छ । रासस

हिमालयन ट्राभलमार्टको तेस्रो संस्करण जेठ २३ देखि २६ सम्म काठमाडौमा हुने

काठमाडौँ । हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण आगामी जेठ २३ देखि २६ (जुन ६ देखि ९) सम्म काठमाडौंकोमा आयोजना हुने भएको छ । नेपाललाई हिमालय प्रवेशद्धार तथा साहसिक पर्यटनको केन्द्र एवं सबल पर्यटन मैत्री गन्तब्यको रुपमा विश्व सामु स्थापित गर्ने उद्देश्यका साथ सन २०१७ देखि वार्षिक कार्यक्रमको रुपमा आयोजना गरिदै आएको हिमालयन ट्राभल मार्ट नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने शसक्त ब्राण्डको रुपमा विकास हुँदै गएको छ । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रिय एवम पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले आयोजना गरिने हिमालयन ट्राभल मार्टको आयोजना गर्दै आइरहको छ । हिमालयन ट्राभल मार्टको यस अघि सम्पन्न भएका दुई संस्करणहरुको सफल आयोजनाले नेपाली पर्यटन क्षेत्रको प्रचार–प्रसार तथा प्रवद्र्धनमा नयाँ आयाम थपेको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले बताए । उनले भने,‘ हिमालयन ट्राभल मार्ट क्रमशः ब्राण्डिङ्ग हुँदै आइरहको छ । जसले नेपाली पर्यटन क्षेत्रकै शीर उच्च पार्नुका साथै विश्व बजारमा नेपालको शसक्त उपस्थिति जनाउन सहयोग पुगेको छ ।’ हिमालयन ट्राभल मार्टले छोटो समयमै विश्व पर्यटन बजारमा राम्रो ख्याति प्राप्त गरिरहेको र धरै पर्यटन स्रोत बजारहरुवाट मार्टमा सहभागिताका लागि चाहना बढ्दै जानुले यसको लोकप्रियता पनि बढ्दै गएको शाक्यले बताए । हिमालयन ट्राभल मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हुँदै गइरहेको र यसमा आयोजना गरिने बी–टु–बी कार्यक्रमले नेपालको पर्यटन पर्वद्धनमा सहयोग लाई विश्व सामु चिनाउन पुगेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । उनले भने,‘मार्ट पर्यटन ब्यावसायीहरु, सहभागीहरु तथा सबै सरोकारवालाहरुका लागि नेटवर्किङ्ग, ब्यावसाय प्रवद्र्धन, ज्ञान तथा सिप आदान–प्रदान गर्न एक अद्धितीय मञ्च बन्न पुगेको छ । ’ जोशीले नेपाल भ्रमण वर्षकोे पूर्व सन्ध्यामा आयोजना हुन गईरहको मार्टले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि सहयोग गर्ने बताए । मार्टको पूर्व सन्ध्यामा क्रेता र बिक्रेताबाट जुन खालको चासोहरु देखिएका छन् । यसले मार्टको सफलता बढ्दै गएको जोशीले बताए । हिमालयन राष्ट्रहरुबाट विक्रेताहरु तथा विश्वब्यापी क्रेताहरुलाई एउटै मञ्चमा भेला गराई उनीहरुबीच ब्यापार आदान–प्रदान तथा सम्बन्ध संञ्जाल विस्तारको उद्देश्यले पाटा नेपाल च्याप्टरद्धारा यस विजनेस–टु–विजनेस मार्टको परिकल्पना गरिएको हो । हिमालयन ट्राभल मार्टको दास्रो संस्करणमा हिमालयन राष्ट्रहरु बाहेकपनि युएई, भियतनाम र कोरिया जस्ता राष्ट्रहरुले विक्रेताको रुपमा सहभागिता जनाएको थिए जसले प्रश्तुत मार्टको बढ्दो लोकप्रियतालाइ दर्शाउँदछ । मार्टको बढ्दो लोकप्रियतालाई कायम राख्दै मार्टको आगामी संस्करणहरुलाई थप सशक्त, प्रभावकारी एवम् फलदायी मार्टको रुपमा आयोजना गर्नका लागि अन्तर्राष्ट्रिय सम्बन्धन तथा साझेदारी, विशिष्ठ ब्यक्तित्वहरु–वक्ताहरु निर्धारण, प्रायोजक प्रवद्र्धन, सहभागीहरु (क्रेता तथा विक्रेताहरु लगायत अन्य पाहुनाहरु) को आमन्त्रण तथा पत्राचार जस्ता अधिकांश आवश्यक पूर्वतयारी तथा ब्यवस्थापन कार्यहरु उल्लेख्य मात्रामा समपन्न भइसकेको नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले बताए ।  यो पटकको मार्टमा नेपाल, भारत, पाकिस्तान, तिब्वत (चीन) र भुटान लगायत हिमालयन राष्ट्रहरुबाट विक्रेताहरु तथा युरोप, अमेरीका, अष्ट्रेलिया, न्यूजिल्याड, रसिया तथा सि. आई. एस. राष्ट्रहरु, एशिया र अरब राष्ट्रका क्रेताहरुको सहभागी हुने बुडालले जानकारी दिए । यस अघि सन् २०१७ सालमा ५३ देशहरुवाट २ सय २५ विदेशी प्रतिनिधिहरु,सन् २०१८ मा सम्पन्न भएको मेलामा ३६ वटा विभिन्न देशहरुवाट १ सय ७० भन्दा बढी विदेशी प्रतिनिधिहरुको सहभागिता रहेको पाटा नेपाल च्याप्टरले जानकारी दिएको छ । मार्टले देशको पर्यटकीय गन्तव्य, वस्तु तथा सेवाको प्रचारप्रसार र बजारीकरण, लगायत विश्वब्यापी पर्यटन एवम हस्पिट्यालिटी संध संस्थाहरु, कम्पनीहरु र हिमालयन पर्यटन क्षेत्र सम्बन्धित विविध क्षेत्रमा आवद्ध ब्यवसायी तथा व्यक्तित्वहरु बीच व्यापार आदान प्रदान गराउने असिमित अवसरहरु प्रदान गराउने छ । तेस्रो हिमालयन ट्राभल मार्टमा आयोजना गरिने कार्यक्रमहरु नेपाल भ्रमण बर्ष २०२० को पूर्वतयारी एवम् निर्धारित लक्ष्यप्राप्तिमा समेत केन्द्रित रहने पाटा नेपाल च्याप्टरले जानकारी दिएको छ ।