अध्ययनबिना होमस्टेलाई ३० करोड

पोखरा । गण्डकी प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँगाउँमा पुर्याएर पर्यटनमय बनाउने र स्वरोजगारी सिर्जना गर्ने भन्दै बिनाअध्ययन होमस्टेलाई ३० करोड रुपैयाँ बाँड्ने भएको छ । सरकारले बजेट दिँदा होमस्टे सञ्चालन गर्ने समुदायको वास्तविक अवस्था पहिचान गरेको छैन। पर्याप्त अध्ययन र अनुसन्धानबिना नै रकम उपलब्ध गराइएको हो। गाउँगाउँमा होमस्टे सञ्चालन गर्ने भन्दै प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ छुट्ट्याएको थियो। आजको नागरिक दैनिकमा समाचार छ ।

ललितपुर महानगरले पर्यटकलाई सुबिधा दिन विद्युतीय बस सञ्चालन गर्ने

ललितपुर । ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सञ्चालनको योजना बनाइएको हो । कुनकुन रुटमा कति बस आवश्यक छ भनेर अध्ययन भइरहेको महानगरले जनाएको छ । यस वर्षको बजेटमा महानगरले रु पाँच करोड विद्युतीय बस सञ्चालनका लागि छुट्टाएको थियो । भित्री भागमा सबैतिर सार्वजनिक सवारी पनि नजाने र ट्याक्सीले पनि बढी भाडा लिने हुँदा पर्यटकलाई सुविधा दिन बस सञ्चालन गर्न लागिएको महानगरका प्रवक्ता राजु महर्जनले बताए । पर्यटकले एकातिर छोटो दूरीमा ट्याक्सी जानै नमान्ने र गएकाले पनि बढी भाडा लिन खोज्ने गुनासो गर्दै आएका छन् । उनका अनुसार बस सञ्चालनले विशेष गरेर असाहय, वृद्ध र अपाङ्गता भएका पर्यटकलाई सुविधा हुनेछ । उनले भने, “बसमा चढेर खासखास घुम्नुपर्ने सबै स्थानमा पर्यटकलाई पुर्याउने हाम्रो लक्ष्य हो ।” पुल्चोकबाट मङ्गलबजार र पाटनढोकाबाट मङ्गलबजारसम्म बस सञ्चालन गर्ने योजना रहेको प्रवक्ता महर्जनले बताए । पाटनभित्र रहेका दरबार क्षेत्रसँगै अरु मन्दिर, विहारलगायतका पर्यटकीय गन्तव्यलाई समेटेर रुट बनाइने उनले बताए । उनले भने, “अध्ययन प्रतिवेदनका आधारमा छिट्टै सञ्चालन गर्ने योजना छ ।” रासस

असार १९ देखि काठमाडौँ-ओसाका सिधा उडान, पैंतालीस हजारमै उड्न पाइने

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजबाट रु ४५ हजारमै जापानको यात्रा तय गर्न सकिने भएको छ । आगामी असार १९ (४ जुलाई, २०१९) देखि जापानको ओसाका सिधा उडान भर्ने तयारी गरेको निगमले काठमाडौँ–ओसाका उडानको भाडा निर्धारण गरेको हो । जसअनुरुप एकतर्फी ४५ हजार र दुईतर्फी भाडा ७७ कायम गरिएको छ । जापानको एभिएसनले स्वीकृत गरेको भाडादर नै लागू हुने निगमले जनाएको छ । भाडादर स्वीकृत भएपछि निगमले अन्य कागजी प्रक्रिया मिलाए छिट्टै टिकट बिक्रीको काम पनि शुरु गर्नेछ । जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब)बाट उडान अनुमति पाएपछि निगमले ओसाका उडान निश्चित गरेको हो । जापान एभिएसनबाट उडान अनुमति पाएपछि असारको दोस्रो सातादेखि ओसाका सिधा उडान गर्ने तयारी गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । निगमलाई आन्तरिक तथा बजार व्यवस्थापनका लागि झण्डै ४५ दिन लाग्ने छ । सहायक प्रवक्ता कोइरालाका अनुसार उडान अनुमति पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने योजना छ । निगमले काठमाडौँ–ओसाकाका लागि वाइड बढी ए–३३० जहाजमार्फत उडान गर्नेछ । काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाकोे छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ । वाइड बडी जहाजले पहिलोपटक लामो गन्तव्य उडान भर्न लागेको हो । गत असार र साउन महीनामा निगमले खरीद गरेका दुई वाइड बडी जहाजले पुरानै छोटो दूरीको गन्तव्यमा पालैपालो उडान भर्दै आएका थिए । निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाएको थियो । निगमले चीन, जापान, कोरिया र साउदी अरबमा उडान गर्ने व्यापारिक योजनाअनुसार वाइड बडी जहाज भित्र्याएको थियो । निगमले जापानकै नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान भर्नका लागि प्रक्रिया अघि बढाएको छ । यो विमानस्थलमा सातामा दुई उडान भर्ने निगमको योजना छ । “नारिता उडानका लागि हामीले प्रक्रिया अघि बढाइसकेका छौँ । नारिता उडानका लागि सातामा तीन दिनको ‘स्लट’ पाए पनि दुई वटा मात्रै उडान गर्नेछ । यात्रुको चापअनुसार उडान वृद्धि गरिनेछ”, सहायक प्रवक्ता कोइरालाले भने । निगमले एक दशकअघि जापान उडान बन्द गरेको थियो । चीनको साङ्घाइबाट ओसाकाको कन्साइँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको एयरलाइन्सले जहाज अभावमा बन्द गरेको थियो । नेपाल–जापानबीचको द्विपक्षीय हवाइ सम्झौताअनुसार नेपालका एयरलाइन्सले जापानको हानेदा एयरपोर्टबाहेकका अरु सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउनेछन् । सम्झौताअनुसार अबदेखि हप्ताको १४ तथा दैनिक दुई उडान नेपालबाट जापानका विभिन्न शहरमा गर्न मिल्ने छ । नेपाली एयरलाइन्सले जापानका विमानस्थलबाट अमेरिकाबाहेकका अन्य देशका विमानस्थलमा पनि उडान गर्नसक्ने छन् । नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ । गत पुस २५ गते जापानका परराष्ट्रमन्त्री तारो कोनो नेपाल भ्रमणमा आएका बेला हप्तामा १४ उडान भर्ने गरी काठमाडौँ–नारिता हवाई सेवा सम्झौता भएपछि निगमले त्यसका लागि जेक्याबलाई पत्राचार गरेको थियो । निगमले चीनको गोञ्जावो उडानका लागि पनि कागजी प्रक्रिया शुरु गरेको छ । त्यहाँ सातामा तीन उडान गर्ने योजना छ । त्यसैगरी साउदी अबरमा उडान भर्नका लागि निगमले ‘जनरल सेल्स एजेन्ट (जिएसए)’ छनोट प्रक्रिया अघि बढाएको छ । निगमको दक्षिण कोरियामा पनि उडान भर्ने योजना रहेपछि साउदी र कोरिया उडानका लागि केहीसमय लाग्ने बताइएको छ । निगमले वाइड विमान चालक (पाइलट) को थप व्यवस्था गर्दैछ । वाइड बडी जहाज पूर्ण क्षमताका साथ उडाउन १८ चालक र सोही सङ्ख्याका सहचालक चाहिन्छ । दुवै जहाजका लागि ३६ पाइलट आवश्यक पर्ने निगमले जनाएको छ । निगमले अहिले भारतको नयाँदिल्ली, बेङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन् । रासस