ठमेलमा रमाउन छाडे विदेशी पर्यटक, ‘माग्ने र सारङ्गी बजाउनेले चौपट पारे व्यवसाय’

काठमाडौं । नेपाल घुम्न आउने ९० प्रतिशत पर्यटकको पाईला ठमेलमा पर्ने गर्छ । ठमेल आफैंमा पर्यटकीय गन्तव्य भएकाले उनीहरु बस्न, खान तथा रमाउन ठमेल पुग्न रुचाउँछन् । तर, ठमेलमा विदेशी पर्यटकको ईच्छा विपरित सारंगी बजाउने, माग्ने तथा सामान जबरजस्ती किन्न बाध्य बनाउने गरिन्छ । यस्ता क्रियाकलापले पर्यटक आकर्षणमा असर गरिरहेको छ । ठमेल क्षेत्रमा विदेशी पाहुनाले भोग्दै आएको समस्याकाबारे बुझ्न ‘विकासन्यूज’ का प्रतिनिधि ठमेल पुग्दा पर्यटकहरुलाई सारङ्ग बजाउने र माग्नेहरुले दुःख दिइरहेको दृश्य देखियो । केशर पुस्तकालयबाट ठमेल प्रवेश गरेको केही बेरमा नै यस्ता दृश्य सामान्य जस्ता लाग्न थाले । ठमेलको नरसिंह चोक नपुग्दै एक जना व्यापारीले हातमा केही खेलौना बोकेर पर्यटक पछ्याई रहेका थिए । ठमेलमा पर्यटकले सामान छान्नु त परको केहीपनि किन्न ईच्छा नरहेको संकेत गरे । पर्यटकलाई माग्ने तथा सारंगीवालाले दिएको दुःख हेरिसकेपछि दैनिक झोलामा रुद्राक्ष बोकेर पर्यटक पछयाउने काभे्रका सीताराम गौतम र अन्य व्यापारीसँग केही जानकारी लियौँ । गौतमका अनुसार-‘काभ्रे कोशीपारीको स्थायी बासिन्दा भएरपनि विगत १५ बर्षदेखि सडकमा रुद्राक्ष बेच्नु मेरो बाध्यता हो ।’ विदेशी पर्यटकको ईच्छा विपरित नै सामान लाद्नु राम्रो कुरा नभएपनि यो उनको छाक टार्ने मुख्य बाटो रहेको बताए । उनले कुनै निश्चित ठाउँमा बसेर व्यापार गर्न पाए निकै सहज हुने उनले तर्क गरे । पर्यटक मात्र होइन ठमेल क्षेत्रका व्यवसायी पनि उस्तै हैरानी खेपिरहेका छन् । नरसिंह चोकका थान्का व्यापारी विष्णु श्रेष्ठ भन्छन्–‘पर्यटकले आफूले इच्छा गरेको सामान छानेर लिन पाउन पर्छ, छान्ने बेलामा बाजा बजाउने र माग्ने प्रवृती ठमेल क्षेत्रका व्यवसायीहरुलाई असर गरिरहेका छ । सबैले गरिखान पाउनु पर्ने भन्दै उनले सडकबाट पसलसम्म पछ्याउने जमातलाई एक निश्चत ठाउँ तोक्न सकेमा मात्र राम्रो हुनेमा जोड दिए । ठमेलको सात घुम्तीमा व्यापारी हरिशरण भट्टसँग भट्यौँ । उनी भन्छन्– ‘विदेशीलाई दिक्क लाग्ने काम हामीले रोक्न सक्नुपर्छ नत्र यसले ठमेल क्षेत्रको पर्यटक आकर्षण घटाउने छ ।’ सात महिनाको व्यापारिक अनुभव सुनाउदै भट्टले आगामी दिनमा यस्ता समस्याबाट छुटकारा पाएमा सबैलाई राम्रो हुने र विशेषतः पर्यटकलाई पनि थप आनन्द मिल्ने बताए । ठमेलको भगवतीस्थानमा रहेको सल, पस्मीना व्यवसाय गर्दै आएका मिर जविड अस्मद भन्छन्–‘शुरुमा पर्यटक नेपाल आउँदा खुशी नै रहन्छन, तर माग्ने कुराले भने उनीहरुमा नराम्रो असर समेत पार्ने गरेको हुन्छ ।’ पयर्यटकलाई चाहिने सरसफाई ठमेलमा रहेपनि उनीहरुलाई पछ्याउँदै माग्ने प्रवृती भने पटक्कै राम्रो नभएको अस्मदले बताए । ठमेलमा आउने पर्यटकले भोग्दै आएका समस्याका विषयमा ठमेल टुरिजम डेभलपमेण्ट काउन्सिलका अध्यक्ष समीर गुरुङ भन्छन्–‘पर्यटकलाई दुःख दिएको भन्दापनि गन्दर्वले आफ्नो काम गरेका हुन्, तर उनीहरुको व्यवस्थापन गर्नु भने आश्यक छ ।’ आगामी दिनमा यस्ता समस्या हटाउन काउन्सिल लागी परेको उनको दाबी छ । आगामी दिनमा गन्धर्वको पोशाक व्यवस्था गर्ने तथा ठमेलमा आउने पर्यटकलाई मागेर दुःख नदिने वातावरण सिर्जना गर्न सबै जना लाग्नु पर्ने काउन्सिलका अध्यक्ष गुरुङको धारणा रहेको छ । के भन्छन् त विदेशी पर्यटक ? ‘नेपाल घुम्न पाएकोमा म निकै खुसी छु , अझ केही कुरामा मेहनत गरेमा नेपाल धेरै राम्रो देखिन्छ’–ठमेलमा भेटिएका एक पर्यटक पेरिस नागरिक लौरियन्टले भने । उनले आफू नेपाल आएको केही दिन मात्र भएको बताए । लौरियन्टले भने–बाटोमा माग्दै हिड्नेहरुले पर्यटकहरुलाई दुःख दिएको गुनासो गरे । जर्मनीबाट २० दिन अघि नेपाल झरेका र ठमेलमा भेटिएका अर्का विदेशी पर्यटक रोबिन भन्छन्–‘ठमेलमा माग्दै हिँड्ने तथा सडक व्यापार गर्ने धेरै छन्, त्यसरी गरी खानेले पर्यटकको जीवनमा खासै असर त नगर्लान्, तर उनीहरुको त्यो गतिविधिले एक किसिमको नराम्रो दृश्य पर्यटकको मनमा अवश्य गड्ने छ ।

चौधरी र एनई ग्रुपको ‘भिभान्ता काठमाडौं’ होटल संचालन, नयाँ मानक बनाउने दाबी

काठमाडौँ । चौधरी ग्रुप र एनई ग्रुपको साझेदारीमा ललितपुरको झम्सिखेलमा स्थापनाभएको ‘भिभान्ता काठमाडौं’ होटल माघ ३ गतेदेखि औपचारिक रूपमा संचालनमा आएको छ । दक्षिण एसियाकै ठूलो र नमुना हस्पिटालिटी कम्पनी ‘इन्डियन होटेल्स कम्पनी लिमिटेड (आईएचसीएल’ले ‘भिभान्ता काठमाडौं’को व्यवस्थापन सम्हालेको छ । जसलाई विश्वविख्यातताज ब्रान्डका रूपमा चिनिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा सीजी हस्पिटालिद्वारा सञ्चालित चित्ताकर्षक रिसोर्ट ‘मेघौली सेराई’पछि आईएचसीएलले व्यवस्थापनगर्ने ‘भिभान्ता काठमाडौं’ दोस्रो परियोजना हो । ‘मेघौली सेलाई’लाई ‘एल–अफिसियल’म्यागेजिनले संसारका सुन्दर होटल/रेस्टुराँको सूचीमा राखेको छ । “करिब दुई दशकपछि ताजलाई काठमाडौंमा ल्याउन पाउँदा हामी गौरवान्वित छौं । ताजको बहुआयामिक व्यवस्थापनसँगै भिभान्ताले गुणस्तरीयता, सेवा र परिकारमा नयाँ मानक बनाउने छ,” सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले भने, “नेपालको पर्यटन प्रवद्र्धनमा भिभान्ताले निरन्तर रूपमा भूमिका खेल्नेछ, जसरी वर्षौंदेखि मेघौली सेराईले पर्यटनलाई केन्द्रमा राख्दै आएको छ ।” सुन्दर सजावट, आकर्षक कलाकृतिले भरिपूर्ण ‘भिभान्ता काठमाडौं’मा ११० वटा कोठा छन् । छोटो र लामो बसाईँका लागि यो होटेल उत्कृष्ट रोजाइ विश्वास लिइएको छ । “यात्रामा रुचि राख्ने र नेपालको सौन्दर्य रुचाउने विश्वभरका मानिसलाई हामी भिभान्ता काठमाडौँमा स्वागत गर्न आतुर छौँ ।” एनई ग्रुपका प्रबन्ध निर्देशक रवीन्द्रभक्त श्रेष्ठले भने, “संसारमा उपलब्ध उत्कृष्ट सेवाहरू भिभान्तामा पनि पाइने छन् । पर्यटकलाई भिभान्ताको बसाई संझानायोग्य रहनेछ ।” ‘भिभान्ता काठमाडौं’ले व्यायामशाला, स्विमिङ पुल र स्पाको सुविधापनि उपलब्ध गराउने छ, जसले यो क्षेत्रका मौलिक सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई जीवन्त राख्ने बताइएको छ । रविभक्तश्रेष्ठले नेतृत्वगरिरहेको एनई ग्रुप ‘भिभान्ता काठमाडौं’को एक प्रमुखप्रवर्तक हो । यो कम्पनीले हस्पिटालिटी, रियल–इस्टेट, वित्तीय, स्वास्थ्य, उपभोग्य सामग्रीउत्पादन, प्राइभेट इक्विटीलगायत विविध क्षेत्रमा लगानी गरेको छ । सीजी हस्पिटालिटीले विश्वका ९ मुलुकमा ४ हजार २ सय कोठासहित ८५ वटा होटल र रिसोर्ट सञ्चालन गरिरहेको छ । थप ३ मुलुकमा २ हजार १ सय कोठासहित ४० वटा होटल र रिसोर्ट सञ्चालन तयारीमा छन् । सन् २०२० भित्र १० हजार कोठासहित विभिन्न २० मुलुकमा २ सय होटल खोल्ने कम्पनीको लक्ष्य छ ।

खप्तड आउने पर्यटकमा वृद्धि, स्थानीयवासी होमस्टे सञ्चालन गर्दै

काठमाडौं । सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको छ । चालू आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटकले निकुन्ज अवलोकन गरेकामा एक हजारभन्दा बढी स्वदेशी पर्यटकले अवलोकन गरेको निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिएका छन् । निकुञ्जमा बाह्य पर्यटकभन्दा बाजुरा, अछाम, डोटी र बझाङका पर्यटक अवलोकन तथा भ्रमणमा आउने गरेको निकुञ्जले जनाएको छ । निकुञ्जको भ्रमण गर्न आउने पर्यटकबाट चालू आर्थिक वर्षको सात महीनामा रु दुई लाखभन्दा बढी राजश्व सङ्कलन भएको छ । निकुन्जमा आन्तरिक पर्यटकलाई निःशुल्क र बाह्य पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार ३९० का दरले भ्रमण शुल्क तोकिएको छ । निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका साथै जङ्गली जनावर समेत हेर्न सकिन्छ । खप्तड क्षेत्रमा जेठमा गङ्गा दशहरा मेला तथा जनै पूर्णिमाका दिन जात्रा लाग्छ । खप्तड क्षेत्रमा पर्यटन गतिविधि बढाउन खप्तड प्रवेशद्धार बगलेकमा होमस्टे सञ्चालन गर्न लागिएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका, होटल व्यवसायी सङ्घ डोटी र पूर्वीचौकी गाउँपालिका–२ को संयुक्त लगानीमा बगलेक गाउँका १० घरमा घरबासको व्यवस्था मिलाउन लागिएको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष दीपकबहादुर खड्काको भनाई रहेको छ । जात्रा हेर्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला र नेपालका अन्य क्षेत्रबाट समेत पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीयवासी धनबहादुर विष्टले बताएका छन् । बगलेकमा तत्कालै ठूला होटेल सञ्चालनमा ल्याउन कठिन हुने भएकाले घरबासका माध्यमबाट पर्यटकलाई सुविधा दिन स्थानीय घर छनोट गरिएको जनाएका छन् । रासस