२० भारतीय तीर्थयात्रीले कैलाश मानसरोवर दर्शन गर्न पाएनन्, चीनले दिएन अनुमति
हुम्ला । कैलाश मानसरोवर दर्शनका लागि सिमकोट पुगेका २० भारतीय तीर्थयात्री सिमकोटबाट बुधबार फिर्ता भएका छन् । सन्नी ट्रेकमार्फत कैलाश मानसरोवर दर्शनका लागि भारतको महाराष्ट्र प्रदेशबाट हुम्ला पुगेका २० भारतीय तीर्थयात्रीलाई चीन सरकारले कैलाश मानसरोवर पुग्न प्रवेशाज्ञा अनुमति नदिएपछि फिर्ता हुनुपेको सन भ्याली रिसोर्टका व्यवस्थापक निमा लामाले जानकारी दिए । प्रवेशाज्ञा अनुमतिका लागि ७५ जनाको समूहलाई चिनियाँ दूतावासमा पठाएको भएपनि दूतावासले ५५ लाई मात्र कैलाश मानसरोवर दर्शनको प्रवेशाज्ञा दिएको छ । सिमकोट पुग्दा दर्शन गर्न जानका लागि चिनियाँ दूतावासले प्रवेशाज्ञा नदिँदा दुःख लागेको भारतीय तीर्थयात्री रेशमले बताए । उनले भने, “हामीले दुःख मात्र पायौँ, बल्लतल्ल कार्यालयको समय मिलाएर कैलाश मानसरोवर दर्शनका लागि आइयो तर प्रवेशाज्ञा पाउन सकेनौँ ।” शनिबारदेखि बुधबारसम्म हुम्ला हुँदै कैलाश मानसरोवर दर्शन यात्राका लागि सिमकोटमा ३०३ महिला र ३५९ पुरुष गरी ६९२ भारतीय तीर्थयात्री हुम्ला पुगेका छन् । तीर्थयात्रीको चाप बढेपछि सिमकोट–हिल्साका लागी दुई वटा सिम्रिक, दुईवटा समीट र एउटा माउन्टेन गरी पाँच हेलिकप्टरले बिहानदेखि बेलुकासम्म उडान भरेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । दुई हजारले लिए सीमा पास जिल्ला प्रशासन कार्यालय हुम्लाबाट चैत महिनादेखि जेठ पहिलो सातासम्म दुई हजार २५८ जनालाई सीमा पास दिएको छ । यो वर्ष मात्रै जिल्ला प्रशासन कार्यालय हुम्लाले ९०२ लाई नयाँ सीमा पास दिएको र एक हजार ३५६ जनाको नवीकरण गरेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा चैत्रदेखि अहिलेसम्म २३३ जनाको नवीकरण र १७० जनाको नयाँ सीमा पास प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयले सीमा पास र नागरिकता पाउन सात देखि आठ हजारसम्म खर्च गर्नुपर्ने अवस्था रहेको छ । त्यहाँका स्थानीयको समस्यालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय हुम्लाले हरेक वर्ष गाउँमा पुगेर सीमा पास र नागरिकता वितरण गर्दै आएको छ । रासस
उचाइ मापन गर्न गएको टोली सगरमाथा चुचुरोमा
काठमाडौं । सगरमाथा मापनका लागि चढेको नापी विभागको प्राविधिक टोली बुधबार बिहान ३.०० बजे सगरमाथाको चुचुरोमा पुगेको छ । मङ्गलवार दिउँसो १ः४५ मा उक्त टोली साउथ कोलबाट चुचुरोतर्फ लागेको थियो । नापी विभागका सगरमाथा उचाई मापन सचिवालयका प्रमुख सुशील डंगोलले टोलीले चुचुरोमा पुग्यौं भन्नेसम्मको खबर गरेको र त्यसपछि थप सूचना भने आइनसकेको जानकारी दिए । मङ्गलवार विहान पुग्ने अनुमान गरिएकोमा मौसम अनुकूल नभएपछि सोमवारदेखि सगरमाथाको साउथ कोलमा पुगेर टोलीले विश्राम गरेको थियो । शुक्रवार राति आधार शिविरबाट नापी विभागका प्राविधिक खिमलाल गौतमको नेतृत्वमा चारजनाको टोली चुचुरोमा पुगेको हो । सगरमाथा मापनका लागि जिएनएसएस रिसिभर र जिपिआर मेसिन चुचुरोमा लगिएको थियो । मेसिनसहित चुचरोमा पुगेको टोली र नियन्त्रण बिन्दुमा रहने प्राविधिकबीच एउटै समयमा सगमाथा अवस्थित जमिनको सतहमा आठवटा नियन्त्रण बिन्दुमा पनि प्रावधिकबीच सम्पर्क गर्नुपर्ने थियो । तल र माथि सम्पर्क भए नभएको पनि स्पष्ट सूचना आइसकेको छैन । नियन्त्रण विन्दुमा भएका प्राविधिक र चुचुरोमा भएकाबीच स्याटेलाइटबाट सूचना आदानप्रदान र सम्पर्क हुने व्यवस्था मिलाइएको थियो । नेपाल सरकारका तर्फबाट पहिलोपटक सगरमाथाको उचाई मापन गरिएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
७५ आरोही सगरमाथाको चुचुरोमा, ८६८ आरोहीले लिए आरोहण अनुमति
काठमाडौँ । यस यामको जारी हिमाल आरोहणमा हालसम्म ७५ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहण शुरु भएको सात दिनको अवधिमा ७५ आरोहीले सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक मीरा आचार्यले ७० देखि ७५ आरोहीले सगरमाथा चढेको विभिन्न एजेन्सीमार्फत जानकारी आएको र यसको पुष्टि भइनसकेको बताइन् । “सगरमाथा आरोहणका शुरुका दिनमा राम्रै प्रगति भएको थियो, बीचमा तीन दिनजति मौसम खराबीले आरोहण हुनसकेको थिएन, आज रातिदेखि आरोहण हुनसक्ने जानकारी आएको छ । यति जनाले सगरमाथा आरोहण गरे भनेर विभागले भन्ने अवस्था छैन तर, पनि हामीलाई एजेन्सीले जानकारी गराएअनुसार ७५ को हाराहारीमा आरोही सगरमाथा चुचुरोमा पुगिसकेका छन,”–उनले भने । सगरमाथाको आधारशिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार धेरै आरोही सगरमाथाको क्याम–२ भन्दा माथि भएको र सबै आरोहीमाथि (सगरमाथाको चुचुरो) तिर लागेपछि यतिखेर आधार शिविर शून्यजस्तो भएको छ । कामिरिता २४ औँ आरोहणमा वसन्त ऋतुको यस याममा सगरमाथाको आरोहण गत वैशाख ३१ गतेदेखि शुरु भएको थियो । आरोहणको दोस्रो दिन यही जेठ १ गते कामिरिता शेर्पाले सगरमाथाको २३औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए । उनी २४औँ पटकको सगरमाथा आरोहणका लागि सगरमाथाको चुचुरोतर्फ लागेको पर्यटन विभागले जनाएको छ । विगत तीन दिनदेखि प्रतिकूल मौसमका कारण आरोहण हुनसकेको छैन । अहिले उल्लेख्य सङ्ख्यामा आरोही अनुकूल मौसमको पर्खाइमा छन् । सम्भवतः आज रातिबाट आरोहण हुने र भोलिसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने बताइएको छ । मौसमले साथ नदिएका कारण धेरै आरोही चुचुरोमा जाने प्रतिक्षामा छन् भने आजदेखि मौसममा सुधार आएकाले एकै पटक चुचुरोतिर जानेको भीड लाग्ने सम्पर्क अधिकृत श्रेष्ठको भनाइ थियो । कञ्चनजङ्घा, मकालु ल्होत्से, अन्नपूर्णलगायत हिमालको पनि सफल आरोहण भएको छ । आरोहीको सङ्ख्याको एकिन जानकारी आइनसकेको विभागले जनाएको छ सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्न ९०० को हाराहारीमा स्वदेशी तथा विदेशी आरोहीले आरोहण अनुमति लिएका छन् । विभागका अनुसार यस याममा कूल ११३ आरोही समूहका ८६८ आरोहीले आरोहण अनुमति लिएका विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सगरमाथा आरोहणका लागि मात्रै ४४ आरोही समूहका ३८१ आरोही गन्तव्यतर्फ गएका छन् । यसमा ३७ विदेशी र सात नेपाली आरोही समूह छन् । सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा निक्लिएका छन् । यस याममा हिमाल आरोहणबाट करीब रु ५० करोड सलामी दस्तुर जम्मा भएको छ । यसमा सबैभन्दा धेरै रु ४४ करोड ४२ लाख ४३ हजार सगरमाथाबाट मात्र छ । रासस