मनकामना केवलकार ५ दिन बन्द, कहिलेदेखि हुन्छ सुचारु ?

काठमाडौँ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केवलकार ५ दिन बन्द हुने भएको छ । केवलकार सञ्चालनको २० वर्षपछि केबलकार ५ दिन बन्द हुन लागेको हो । केवलकार निर्माता कम्पनी डोप्पेलमेयर अष्ट्रियाका दिशानिर्देश र एउटा निश्चित अवधिमा पूरा गर्नु पर्ने प्रक्रिया तथा मापदण्ड बमोजिम उक्त कम्पनीका प्राविधिकहरुको प्रत्यक्ष निगरानीमा मर्मत गर्नु पर्ने भएकाले भदौ २२ गतेदेखि २६ गतेसम्म केवलकार सेवा बन्द हुने जनाइएको छ । २७ गतेदेखि केवलकार पुनः नियमित सञ्चालन हुनेछ । केवलकारको बुलह्वील लिनर चेञ्जिङ, मेन मोटर सर्भिसिङ र रोप रि–स्पीसिङको मर्मत सम्हार गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

ठूलाे दुर्घटना हुनबाट जोगियाे सीता एयरकाे जहाज

सोलुखुम्बु । लुक्लाबाट काठमाडौँका लागि उडेको सीता एयरको जहाजको इञ्जिन तीन मिनेटमै फेल भएको छ । लुक्लाबाट बिहान ८ः२१ मा उडेको’नाइनएन एजेएच’ उक्त जहाजको दायाँ इञ्जिन उडानकै क्रममा फेल भएको प्राधिकरणले जनाएको छ । विमानको एउटा इञ्जिन फेल भए पनि सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गराइएको नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाका इञ्चार्ज इमानाथ अधिकारीले जानकारी दिएका छन् । सो जहाजमा चालक दलका तीनजना मात्रै सवार थिए । काठमाडौंबाट पर्यटक लिएर लुक्ला आएको विमान फर्कदा खाली फर्किएको नागरिक उड्यन प्राधिकरण लुक्लाले जनाएको छ । प्राधिकरण लुक्लाका प्रमुख अधिकारीका अनुसार उडिसकेपछि इञ्जिन फेल भएकाले दुर्घटनाबाट जोगिएको हो । जहाज उड्ने समयमा यस्तो भएको भए केही दुर्घटना हुनसक्ने उनको भनाइ छ । क्याप्टेन भरत थापाले उडाएको जहाज बिहान ८ः५१ बजे सकुशल अवतरण गरिएको बताइएको छ । रासस

५० हजार पर्यटक भित्र्याउने अभियानसँगै शुरु भयो प्याराग्लाइडिङ उडान

गाईघाट । उदयपुर जिल्लाको बेलका नगरपालिकाले नगरपालिकाको बृहत् पर्यटन विकासलाई अगाडि बढाएर आर्थिक समृद्धि हासिल गर्न र बेलका क्षेत्रमा वार्षिक ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन प्याराग्गाइडिङ उडान सञ्चालन गर्ने अभियान तीव्र रुपमा शुरु गरेको छ । समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा रहेको बेलकाको मैनामैनीस्थित बोपताङ डाँडा र चम्पाकोट डाँडाबाट पटक–पटक प्याराग्लाइडिङ उडान परीक्षण गरेर सप्तकोशी बगरसम्म अवतरणको परीक्षण भएपछि अब यो क्षेत्रलाई एक नम्बर प्रदेशकै एक नम्बर प्याराग्लाइडिङ ‘हब’को रूपमा विकास गरेर वार्षिक ५० हजारसम्म पर्यटक भित्र्याउने गरी यो अभियान शुरु गरिएको बेलका नगरपालिकाले बताएको छ । यसभन्दा अघि पनि बेलका क्षेत्रका २०० भन्दा बढी युवा तथा पर्यटक उद्यमीले प्याराग्लाइडिङ उडानको तालिम लिइसकेको र बेलका मैनामैनीको बोपताङ र चम्पाकोटबाट पटक–पटक प्याराग्लाइडिङ उडान सफल भएपछि अब आगामी कात्तिक महिनादेखि नै स्थायी र व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान सञ्चालनमा ल्याउन अहिले अन्तिम तयारी कार्य भइसकेको नगपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताएका छन् । बेलकाको मैनामैनीको चम्पाकोट र बोप्ताङबाट सप्तकोशीको बगरसम्म उडान गर्नका लागि चाहिने आवश्यक भौतिक पूर्वाधार र निर्माण व्यवस्थापनको कार्य अहिले भइरहेको र यसका लागि बेलका प्याराग्लाइडिङ सङ्घ, सुनसरी चतरा प्याराग्लाइडिङ, पोखरा प्याराग्लाइडिङ तथा एशियन प्याराग्लाइडिङ समूहको आर्थिक लगानी र बेलका नगरपालिकाको पहलमा प्याराग्लाइडिङ सञ्चालन गर्ने कार्य तयारी तीव्र रुपमा भइरहेको पनि नगरपालिका प्रमुख थापाले बताए । बेलकामा अहिले आर्थिक समृद्धि हासिल गर्न कृषि र पर्यटन दुई क्षेत्र महत्वपूर्ण रहेको र पर्यटनका लागि सप्तकोशीमा बोटिङ र प्याराग्लाइडिङ महत्वपपूर्ण रहेको कारण पनि अब आगामी कात्तिक महिनादेखि पोखरामा जस्तै बेलकामा पनि व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान शुरु गर्ने उनले बताएका छन् । प्याराग्गाइडिङ र सप्तकोशीमा बोटिङबाट वार्षिक ५० हजारभन्दा बढी पर्यटक बेलकामा भित्रन सक्ने नगरपालिकाको अनुमान छ । प्याराग्लाइडिङ उडानका लागि पूर्वाधार तयार गर्न अहिले मैनामैनीको चम्पाकोटसम्म सडक व्यवस्थापन तथा पर्यटकको लागि खाने बस्नेसहितको होटल तथा घरबाससमेतको व्यवस्थापन कार्य भइरहेको नगरपालिकाले बताएको छ । मैनामैनीको बोपताङ तथा चम्कोट डाँडासम्म पुगेर पर्यटकले भोजपुर धनकुटा, खोटाङ तथा सुनसरी र सप्तरी जिल्लाहसहित उत्तरपट्टिको हिमालय अवलोकन गर्दै प्याराग्लाइडिङबाट उडेर मधेशको सप्तकोशीसम्म झर्न सक्ने र यसले पर्यटकलाई आकर्षण गर्नेसमेत बेलकाका पर्यटन व्यवसायी प्रवीन राई बताउँछन् । भारतको दार्जिलिङ, विहार, पश्चिम बङ्गाल, भूटान तथा नेपालको एक नम्बर प्रदेशका धेरै पर्यटक यसक्षेत्रमा प्याराग्लाइडिङ उडानका लागि आकर्षित हुने नगरपालिका प्रमुख थापाले बताए । प्याराग्लाइडिङ सञ्चालनबाट बेलका क्षेत्रका २ सय ५० युवाले प्रत्यक्ष रोजगारी पाउने, होटल, घरबास सञ्चालन हुँदा स्थानीयसमेत स्वरोजगार बन्ने र यसक्षेत्रको सांस्कृतिक तथा भौगोलिक अवस्थाको प्रचारप्रचार हुने अपेक्षा नगरपालिकाले गरेको छ । रासस