बाँदरमुढेमा १२ करोडको लागतमा स्मृति उद्यान बनाइने

रत्ननगर । चितवन माडीको बाँदरमुढे घटनाका मृतकको सम्झनामा स्मृति उद्यान बनाइने भएको छ । घटना भएको ठाउँदेखि ५०० मिटर पश्चिमपट्टिको विद्यालयको तीन बिघा क्षेत्रफलमा उद्यान बनाउन लागिएको हो । माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बाँदरमुढे घटना भएको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न उद्यान बनाउन लागिएको बताए । उद्यान निर्माण गर्न रु १२ करोडको डिपिआर निर्माण भएको उनले जानकारी दिए । उद्यान निर्माण गर्न डिपिआर सम्पन्न भई अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छ । “बहुवर्षीय योजनाका लागि शहरी विकास मन्त्रालयमा पेश गरेका छौँ”, उनले भने, “आगामी आर्थिक वर्षबाट काम शुरु हुन्छ, यो नेपालकै लागि ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा रहन्छ ।” प्रमुख ढकालका अनुसार यो उद्यानमा पर्यटकीय पूर्वाधार निर्माण हुनेछ । उद्यानमा फन पार्क, मृतक सबैका शीर कुँदिएका स्मारक बनाउने, माडीको संस्कृति, वेषभूषा झल्कने सङ्ग्रहालय बनाउने र सबैले पूजा गर्न मिल्ने गरी मन्दिर बनाउने योजना नगरपालिकाको छ । “मृतकका पीडितले बनाएको पुरानो स्मारक पनि यथावत रहन्छ”, उनले भने, “उद्यानले शान्ति प्रक्रियामा आइसकेपछि सो घटनालाई कसरी हेरिएको छ भन्ने सन्देश प्रवाह गर्छ । जसले गर्दा उद्यानमा ऐतिहासिक महत्व झल्किन्छ ।” राष्ट्रिय आधारभूत विद्यालय बाँदरमुढे र दिवाकर स्मृति विद्यालयसँग मर्ज हुन लागेकाले उद्यानलाई चाहिने जग्गा सहजरूपमा प्राप्त भएको उहाँको भनाइ छ । विस २०६२ जेठ २३ गते यात्रुबाहक बसमा शक्तिशाली एम्बुस पडकिएर ४२ ले ज्यान गुमाएका थिए । रासस

चार महिनामै भित्रिए १० हजार विदेशी पर्यटक

काठमाडौं । अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा गत माघ महिनादेखि वैशाखसम्ममा १० हजार ६०७ विदेशी पर्यटक भित्रिएका छन् । लामो समयसम्म ठूलो हिमपात परेको उक्त मौसममा गत वर्षको तुलनामा पर्यटकको सङ्ख्यामा गिरावट भने आएको छैन । जुन स्तरमा पर्यटकको सङ्ख्यामा वृद्धि हुनुपर्ने हो सोअनुरुप नभएको अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेकपोष्टका पर्यटक सहायक आशिष विश्वकर्माले बताए । उनका अनुसार हिमपातका कारण मौसम ढिलो शुरु भएकाले सोचेजति पर्यटक आउन, होटल व्यवसायी समयमा गाउँ फर्कन सकेनन् । लमजुङ बेंसीशहरबाट मनाङ हिँडेका पर्यटक बीच बाटोबाटै फर्किएका थिए । यस्तो परिस्थितिमा पनि पर्यटकको आगमनमा कुनै गिरावट आएको भने पाइएन ।यसरी अहिलेको मौसममा सबैभन्दा बढी इजरायली नागरिक ६०७ भित्रिएका छन् । सबैभन्दा कम भियतनामी २१३ रहेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङको तथ्याङ्कमा उल्लेख छ । यो मौसम जनवरीबाट शुरु भई मेमा सकिने गर्छ । सिजनको पहिलो महिना जनवरीमा सबैभन्दा कम जम्मा ४७२ मनाङ भित्रिएका थिए भने सबैभन्दा बढी अप्रिलमा पाँच हजार ९८ पर्यटक भित्रिएका धारापानी पर्यटक प्रहरीले जनाएको छ । यो सिजनमा जर्मन, फ्रान्स, ब्रिटिश, रसिया, भियतनाम, इजरायल र अमेरिका गरी जम्मा सात देशका नागरिक मनाङ आएका हुन् । अत्यधिक हिमपातले पर्यटक आवागमनमा प्रभाव पारेको हो । केही दुःखद् घटना घटे पनि आवागगमन निरन्तरता रहिनै रहेको कुरा प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताएका छन् । उनका अनुसार हिमपातको प्रभावमा पनि पर्यटकको चहलपहल प्रभावकारी रह्यो । रासस

पर्यटन क्षेत्रको कुम्भमेला ‘हिमालयन ट्राभल मार्ट’ आजदेखि, ४३ देशको सहभागिता

काठमाडौँ । नेपालसहित ४३ मुलुकका पर्यटन व्यवसायीको जमघट रहने ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण आजदेखि काठमाडौँमा शुरु हुँदैछ । पर्यटन क्षेत्रको कुम्भमेलाका रुपमा लिइने मार्टमा अन्तरदेशीय पर्यटन प्रवद्र्धन तथा व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । नेपाललाई हिमालयन प्रवेशद्वारका रुपमा परिचति गराउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुने मार्टको आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । सोल्टी क्राउन प्लाजामा यही जेठ २६ गतेसम्म चल्ने मार्टमा ४३ देशका करीब ७०० ले सहभागिता जनाउने मार्ट आयोजक प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले बताए । सन् २०१७ देखि वार्षिक कार्यक्रमका रुपमा आयोजना हुँदै आएको मार्ट नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने सशक्त ब्राण्डका रुपमा विकसित हुँदै गएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा इन्टरनेशनलको सहयोगमा पाटा नेपाल च्याप्टरले मार्ट आयोजना गर्न लागेको हो । मार्टअन्तर्गत यस पटक व्यवसायीसँग व्यवसायी ९बीटुबी० मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनी र छ मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भूटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनी तथा संस्थाले सहभागिता जनाउने पाटा नेपालले जनाएको छ । नेपालको पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्ने उपयुक्त थलोका रुपमा ट्राभल मार्ट स्थापित भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । मार्टमा सहभागिता जनाउने सबै विदेशी पाहुना बुधबारसम्म नेपाल आइसकेका पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सिइओ सुरेशसिंह बुडालले जानकारी दिए । मार्टमा प्रमुख वक्ताका रुपमा विश्वविख्यात हिमाल आरोही डक स्कट रहनेछन् । यस्तै अन्य दुई दर्जन राष्ट्रिय वक्ता तथा पर्यटनसम्बद्ध सरोकारवालाबीच पर्यटनका विविध पक्षबारे चर्चा हुने जनाइएको छ ।