केबलकारको ‘बटम स्टेशन’ भवनको शिलान्यास, १५ महिनामा सक्ने लक्ष्य

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण हुन लागेको केबलकारको ‘बटम स्टेशन’ भवन निर्माण शुरु भएको छ । केबलकारको साझेदारी कम्पनी आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले निर्माण गर्न लागिएको उक्त भवन सोमबार शिलान्यास गरेका हुन् । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा रु १८ करोड ५५ लाखको लागतमा निर्माण गर्न लागिएको उक्त भवन १५ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको उनले जानकारी दिएका छन् । उक्त लिमिटेड, पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेड, टुरिज्म इन्भेष्टमेन्ट फण्ड र बन्दीपुर गाउँपालिकाको साझेदारीमा रु एक अर्ब ३८ करोडको लागतमा बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजना पनि निर्माण गर्न लागिएको हो । केबलकारको टप स्टेशनमा १० तल्लाको होटलसहितको भवन निर्माण गरिनेछ । रु ८२ करोडको लागतमा निर्माण हुने उक्त होटलमा आधुनिक भ्यू टावर, बेनक्युट हल र ८० कोठा रहने अध्यक्ष शर्माले जानकारी दिए । ‘पहाडकी रानी’ नामले परिचित बन्दीपुर घुम्न आउने पर्यटकलाई मनोरञ्जन र सुविधा प्रदान गर्ने उद्देश्यले उक्त कम्पनीले विविध पूर्वाधार निर्माणको योजनाअनुसार कामलाई तीव्रता दिएको छ । रु ५६ करोडको लागतमा केबलकार निर्माण गरिने योजना रहेकामा उक्त कम्पनीले केबलकारमा आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरण जडान गर्ने योजना थपेको उनको भनाइ थियो । ठूल्ढुङ्गा स्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट एक घण्टामा २०० ले वारपार गर्न सक्नेछन् । विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि बन्दीपुर घुम्न आउने पर्यटकका लागि केबुलकार आकर्षण बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गा स्वाँराबाट शुरू हुने केबलकारले सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ । रासस

‘सिजन’ सकिएसँगै खुम्बु क्षेत्र सुनसान, व्यवसायीहरु भ्रमणमा

सोलुखुम्बु । नेपालको घरेलु विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने विमानस्थलको सूचीमा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला पर्छ । अति जोखिममध्ये विश्वकै १० औँ नम्बरमा आउने लुक्ला विमानस्थलमा दैनिक १०० को हाराहारीमा उडान तथा अवतरण हुने गरेको विमानस्थल कार्यालय बताउँछ । विश्वको सर्वोच्च शिखर सगरमाथासहितको हिमाल आरोहण गर्ने यात्रुले प्रयोग गर्ने यो विमानस्थलमा यात्रुको चाप पनि उस्तै हुन्छ । आरोही, उनका सहयोगी र उनीहरुले प्रयोग गर्ने सामान ढुवानीको विकल्प हवाईमार्ग या पदमार्ग मात्र रहेको छ । त्यसैले सबैभन्दा बढी हवाईमार्ग हुँदै यात्रु र उनीहरुको आवश्यक बन्दोबस्तीका सामग्री हवाईजहाजमार्फत ल्याउने लैजाने गरिन्छ । पर्यटकीय ‘सिजन’को बेला हजारौँ विदेशी तथा स्वदेशी पर्यटक खुम्बु क्षेत्रको भ्रमणमा आउने गर्छन् । विशेषगरी वर्षमा दुईपटक आरोहण सिजन हुने समयमा यहाँ यात्रुको चाप बढी हुन्छ । सिजनको बेलामा मात्रै खुम्बु क्षेत्रको गाउँ भरिभराउ हुन्छ भने अन्य समयमा सुनसान हुन्छ । स्थानीयसमेत भ्रमणका लागि अन्यत्र जाने भएकाले पनि सिजन नहुँदा सुनसान हुने गरेको हो । घरको हेरविचार गर्ने एक जना कामदार वा घरधनीबाहेक प्रायजसो सबैजना बाहिर भ्रमणमा जाने गरेको लुक्लाका तोया श्रेष्ठले जानकारी दिए । “अहिले क्रमैसँग खुम्बु सुनसान बन्दैछ”, श्रेष्ठले भने, “अहिले यहाँका विद्यार्थी र उनीहरुको हेरचाह गर्ने केही अभिभावकबाहेक अधिकांश भ्रमणमा निस्किएका छन् ।” पर्यटकीय सिजन सकिएपछि यस क्षेत्रका व्यवसायी भने ‘कार्गो’ ढुवानीमा व्यस्त हुन्छन् । अहिले विमान पनि यात्रुसँगै कार्गो ढुवानीमा व्यस्त रहेका छन् । तारा एयर लुक्लाका स्टेशन इञ्चार्ज अमृत मगरका अनुसार मङ्गलबार १५ उडान भए पनि दुई वटाबाहेक सबै विमानले कार्गो ढुवानी गरेका छन् । यस्तै बुधबार १० उडान भएकोमा पनि दुईवटामा यात्रु र अन्य उडानमा कार्गो ढुवानी गरिएको एयरलाइन्सले जनाएको छ । काठमाडौँ–लुक्लाका लागि उडान भरिरहेका तारा र समिट एयरले यात्रु अभाव हुँदा कार्गो ढुवानी गर्न थालेका हुन् । पर्यटकीय सिजन सकिएपछि लुक्ला आउने र काठमाडौँ जाने यात्रुको सङ्ख्या कमी हुँदा कार्गो ढुवानी भइरहेको विमानस्थल कार्यालय लुक्लाले जनाएको छ । केही विमानले सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थल र केही विमानले काठमाडौँबाट सिधै कार्गो ढुवानी गरिरहेका छन् । लुक्ला जाने विमानले खुम्बुका लागि दैनिक उपभोग्य वस्तुसहितको सामग्री लैजाने र फर्कँदा सगरमाथा आरोहीले प्रयोग गरेका सामान लिएर फर्किने गरेको तारा एयर लुक्लाका स्टेशन इञ्चार्ज मगरको भनाइ छ । सिजनअनुसार कार्गो ढुवानी शुल्कसमेत फरक पर्ने भएकाले सोहीअनुसार खुम्बुका व्यवसायीले सामान ढुवानी गर्ने गरेका छन् । प्रतिपटक एक हजार १०० केजीसम्म ढुवानी गर्नसक्ने विमान कम्पनी बताउँछन् । फाप्लुबाट लुक्लाका लागि प्रतिकेजी खाद्यान्न रु ५५ र निर्माण सामग्री रु ७५ मा ढुवानी गर्दै आएको तारा एयर फाप्लुका स्टेशन इञ्चार्ज शैलेश श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौँ लुक्लाका लागि भने प्रतिकेजी रु १२० सम्म पर्ने ढुवानीकर्ता बताउँछन् । यस गाउँपालिकाको वडा नम्बर १ खरिखाला क्षेत्रबाहेक माथिल्लो क्षेत्रमा खासै खेतीपाती हुँदैन । यहाँको मुख्य आम्दानीको स्रोतनै पर्यटन रहेको छ । सगरमाथासमेत यसै गाउँपालिकामा पर्ने भएकाले यस गाउँपालिकामा वार्षिक करीब ५० हजार देशी तथा विदेशी पर्यटक भ्रमणमा आउने गर्छन् । रासस

स्वास्थ्य र शैक्षिक पर्यटनको केन्द्र बन्दै तातोपानी कुण्ड

गलेश्वर । प्राकृतिक चिकित्सालय नामले संसारभरी चिनिएको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्ड पछिल्लो समय स्वास्थ्य र शैक्षिक पर्यटनको केन्द्रका रुपमा विकसित हुँदै जान थालेको छ । २०४२ सालमा पत्ता लगाइएको तातोपानीको मुहानलाई स्थानीयवासिन्दाले संरक्षण गरी कुण्डको रुप दिएर प्रचारप्रसार गरेपछि अहिले यो कुण्ड संसारभरी नै प्राकृतिक चिकित्सालयको रुपमा चिनिएको हो । मूलबाट नै ५७ डिग्री सेल्सियस तापक्रमको पानीमा विरेनुन र गन्धक मिश्रित वासना आउने यस कुण्डमा डुब्न र उपचार गराउनका लागि नेपालका साथै विदेशबाटसमेत पर्यटक र विरामीहरु आउने गरेका छन् । त्यसका साथै तातोपानी कुण्डप्रति शिक्षणसंस्था र विद्यार्थीहरुको पनि आकर्षण बढेको छ । यहाँ समय समयमा शैक्षिक भ्रमणका लागि टाढाटाढाबाट समेत विद्यार्थीहरु आउन थालेका छन् भने अनुसन्धान गर्न समेत विभिन्न शैक्षिक संस्थाहरुबाट विद्यार्थी आउने गरेका छन् । तातोपानी कुण्ड म्याग्दीको सदरमुकाम बेनीदेखि ९ किलोमिटर पश्चिममा पर्दछ । तातोपानी कुण्डमा सवारी साधनबाट सजिलै पुग्न सकिन्छ । जिल्लामा आउने उच्च सरकारी अधिकारी, केन्द्रीयस्तरका नेताहरु, स्वदेशी तथा विदेशी पर्यटक तातोपानी कुण्डमा नुहाउन र अवलोकन गर्न पुग्ने क्रम बढेसँगै तातोपानीको कुण्डमा स्वास्थ्य उपचारको महत्व बढेको हो । लाखौँ रकम खर्च गरी स्वदेश तथा विदेशका महङ्गा र ठूला अस्पतालमा पुगेर उपचार गर्दा पनि रोग निको नभएपछि यहाँ दीर्घरोगीहरु पनि तातोपानी कुण्डमा डुबेर बाफिई उपचार गरेपछि निको भएर फर्केका तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्डमा नेपालको अधिकांश जिल्लाका साथै स्नान गर्नका लागि भारत, जापान र बङ्गलादेशबाट समेत वर्षेनी सयौँ विदेशीहरु आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले जानकारी दिएका छन् । कुण्डमा एकपटक आएर डुबेका बिरामीहरु निको भएपछि फर्किएर पटकपटक आउने गरेका छन् । कुण्डमा वार्षिक झण्डै २० हजारको हाराहारीमा बिरामीहरु स्नान गर्न आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिको तथ्याङ्क रहेको छ । रासस