क्यानको बजेट ४६ अर्ब ९६ करोड, पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०७६ /०७७ का लागि ४६ अर्बको बजेट विनियोजन गरेको छ । क्यानले बिहिबार एक कार्यक्रमको आयोजना गर्दै चालु आवका लागि ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको हो । प्रक्षेपित आय अन्तर्गत ८ अर्ब ३३ करोड १३ लाख रहने अनुमान गरिएको छ । जसमध्ये एरोनोटिक अन्तर्गत ५ अर्ब ८३ करोड १९ लाख र नन एरोनोटिकल अन्तर्गत २ अर्ब ४९ करोड ९४ लाख अनुमान गरिएको छ । यस वर्ष विमानस्थल विकास शुल्क अन्तर्गत २ अर्ब २१ करोड २८ लाख उठाउने लक्ष्य रहेको बताइएको छ । क्यानको पुँजीको व्ययको पुँजीगत तर्फ ३४ अर्ब ४ करोड ३७ लाख, कार्यसञ्चालन तर्फ ४ अर्ब १८ करोड ८४ लाख गरी कुल ३८ अर्ब २३ करोड २१ लाख रहेको छ । के-के छन् नीति तथा कार्यक्रम ? नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आवको बजेट तथा कार्यक्रममा पुरानै आयोजना तथा कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । नयाँ विमानस्थल निर्माण गर्नुपर्दा नयाँ विमानस्थल निर्माण सम्बन्धी मापदण्ड, २०७३ र हेलिप्याड निर्माण गर्नुपर्दा जमिनको सतहमा हेलिप्याड निर्माण तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०७५ पालना गरिने बजेट तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आवश्यक भौतिक पूर्वाधार विकास गरी सेवा प्रवाहमा थप गुणस्तरीयता कायम गरी बुटिक विमानस्थलका रुपले स्तरोन्नती गर्ने,२४ सै घण्टा सञ्चालन योग्य बनाइने, यात्रुका लागि ट्रान्जिट लाउन्जको व्यवस्था गरिने,  विमानस्थलको आन्तरिक उडान तर्फ सम्माननीयलाई मात्र सवारी साधन सहित विमान नजिक जान पाउने व्यवस्था गरिने लगायतका मापदण्ड, कार्यक्रम तथा योजनाहरु रहेका छन् । यस्तै आन्तरिक विमानस्थलहरुमा भू-उपग्रहमा आधारित यान्त्रिक उडान प्रणाली लागु गर्दै लैजाने, विराटनगर, चन्द्रगढी, जनकपुर र धनगढी विमानस्थलको गुरुयोजना तयार गरी सो अनुरुप स्तरोन्नति गर्दै लगिने, अन्तर प्रदेश हवाई सेवा सञ्चालन तथा विस्तार गर्न वायुसेवा कम्पनीहरुलाई प्रोत्साहन गरिने उल्लेख गरेको छ । तीन विमानस्थलका लागि २३ अर्ब बजेट तथा कार्यक्रममा उल्लेख गरे अनुसार प्राधिकरणले तीन ठूला आयोजनाका लागि मात्र आधा बजेट विनियोजन गरेको छ । राष्ट्रिय गौरवका रुपले चिनिने निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि प्राधिकरणले २३ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेकोे छ । प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यसम्पन्न गरी यथाशीघ्र सञ्चालनमा ल्याउने, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न गर्ने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि प्राधिकरणबाट गर्नुपर्ने प्रारम्भिक कार्यसम्पन्न गरिने जनाइएको छ । हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ७४ प्रतिशत, पोखराको ४२ प्रतिशत काम सकिएको छ भने निजगढ विमानस्थलको वातावरणिय प्रभाव मूल्याङ्कन सम्पन्न भएको छ । १३ वटा विमानस्थल नाफामा देशका १३ वटा विमानस्थलहरु नाफामा सञ्चालन भइरहेको प्राधिकरणले जनाएको छ  । प्राधिकरणका महानिर्देशक राजन पोख्रेलका अनुसार हाल देशभर ५० वटा विमानस्थलहरु रहेका छन् । जसमध्ये ३२ वटा मात्र सञ्चालनमा रहेका छन् । अन्य विमानस्थलहरु यात्रुहरुके अभाव भई सडक विस्तार भएपछि बन्द भएका छन् । हाल देशभर सञ्चालनमा रहेका विमानस्थलहरु मध्ये नाफामा सञ्चालित विमानस्थलहरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,गौतमबुद्ध विमानस्थल, नेपालगंज,  पोखरा रहेका छन् । यस्तै विराटनगर, सिमरा, चन्द्रगढी, जनकपुर, भरतपुर ,जोमसोम, धनगढी, सिमिकोट र तेन्जिङ्ग हिलारी विमानस्थल नाफामा सञ्चालित रहेका छन् ।  

भरतपुरमा साहसिक खेल ‘जिपलाइन’ को शुभारम्भ, वार्षिक २० हजार पर्यटक भित्र्याउने लक्ष्य

भरतपुर । चितवनमा पहिलोपटक साहसिक खेलको रूपमा परिचित जिपलाइन सञ्चालनमा आएको छ । पर्यटन वर्ष २०२२ लाई लक्षित गर्दै भरतपुरको जलदेवी सामुदायिक वनले जिपलाइन सञ्चालनमा ल्याएको हो । जिपलाइनको बुधबार प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले उद्घाटन गरे । सामुदायिक वनले निजी कम्पनी वाइल्ड ओन्डर्स नेपाल प्रालिसँगको सहकार्यमा जिपलाइन सञ्चालनमा ल्याएको हो । सामुदायिक वनमा निर्माण गरिएको तीन ठूला र एउटा बच्चाका लागि तयार गरिएको जिपलाइन बुधबारदेखि सञ्चालनमा आएको सामुदायिक वनका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । उनले चितवन आउने पर्यटकको बसाइ लम्ब्याउन जिपलाइनले मद्दत पु¥याउने विश्वास व्यक्त गरे । बच्चाका लागि निर्माण गरिएको जिपलाइनको दूरी ५५ मिटरको छ भने अन्य तीन ८५ देखि १८५ मिटर दूरीमा रहेको जिपलाइन सञ्चालक राजकुमार श्रेष्ठले जानकारी दिए । उनले छिट्टै २८५ मिटरको अर्को जिपलाइन तयारीको क्रममा रहेको बताए । जिपलाइन निर्माणका लागि रु ७५ लाख खर्च भएको सामुदायिक वनले जनाएको छ । जिपलाइन तीन महीनामै निर्माण सम्पन्न भए पनि सबै प्राविधिक पाटो मिलाउँदा एक वर्ष लागेको सञ्चालक श्रेष्ठले बताए । जिपलाइनको मज्जा लिनका लागि बच्चाका लागि रु १०० र अन्यका लागि रु ५०० र ६०० को टिकट राखिएको छ । जिपलाइनमार्फत नै सामुदायिक वनमा वार्षिक २० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । रासस

विमानस्थल विस्तारका लागि सेनालाई वैकल्पिक स्थानकाे तय

चितवन । भरतपुर विमानस्थल विस्तारका क्रममा नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणका लागि भरतपुर महानगरपालिकाले वैकल्पिक स्थान तय गरेको छ । महानगरपालिका प्रमुख रेणु दाहालका अनुसार नेपाल ट्रष्टको नाममा रहेको पुरानो दरबार दियालो बङ्गला पहिलो प्राथमिकतामा राखिएको छ । भरतपुर महानगरपालिका–१ आँपटारीस्थित सो बङ्गला क्षेत्रमा ७० बिघा हाराहारी जमिन रहेको दाहालले बताएका छन् । सो स्थानमा हाल सेनाको गुल्म रहेको छ । सेनाको गण राख्दा त्यहाँको ऐतिहासिक महत्वका संरचना सुरक्षित हुने ठानिएको छ । दाहालका अनुसार दोस्रो विकल्पका रुपमा आँपटारीको जङ्गल क्षेत्र, तेस्रो विकल्पका रुपमा ठिमुराको सार्वजनिक जग्गा र चौथो विकल्पमा भतेरीको वन क्षेत्र अगाडि सारिएको छ । ती जमिनको रङ्गीन नक्सासहित आवश्यक सम्पूर्ण कागजपत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाइएको प्रमुख दाहालले बताएकी छिन् । योसँगै विमानस्थलसँग सम्बन्धित हालसम्म भएका बैठक, छलफल, पत्राचारलगायतका कागजपत्रसमेत सँगै बुझाइएको छ । प्रमुख दाहालले नेपाली सेनाले जुन जमिन उपयुक्त ठान्दछ सोही जमिन हस्तान्तरणका लागि आवश्यक व्यवस्थापन गर्न सकिने बताइन् । केही दिनअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्री भट्टराईको उपस्थितमा यहाँ भएको छलफलमा महानगरले जग्गाको टुङ्गो लगाउने, मन्त्रालयले प्राविधिक समिति गठन गर्ने र अध्यक्ष दाहालले रक्षा मन्त्रालय र पर्यटन मन्त्रालयका मन्त्री र उच्च अधिकारीलाई डाकेर बैठक गरी निर्णय गर्न सहयोग पुर्याउने सहमति भएको थियो । हाल विमानस्थलको धावनमार्ग छोटो हुँदा उच्च जोखिममा साना जहाज मात्र उडान र अवतरण हुँदै आएको छ । विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन केन्द्र र कालीबहादुर गण रहेको छ । दुवै गरेर ७२ बिघा जमिन चर्चेका छन् । त्यहाँबाट गण र प्रजनन केन्द्र स्थानान्तरण गरी विमानस्थल विस्तार गर्न लागिएको हो । विमानस्थलको धावनमार्ग बढाएसँगै ७२ सिटे जहाज उडान र अवतरण गर्न सकिने छ भने रात्रिकालीन उडानसँगै अन्य जिल्लासँग हवाई सम्बन्ध बढाउन सकिने भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले बताएका छन् । मन्त्री भट्टराईले भरतपुर विमानस्थललाई राजधानीको विमानस्थलको विकल्पका रुपमा विकास गरी देशका अन्य विमानस्थलसँग हवाई सम्बन्ध विकास गर्ने बताउँदै आएका छन् । हाल भरतपुरबाट काठमाडौँ र पोखरा उडान हुँदै आएको छ । रासस