यतीको भरतपुर-पोखरा उडान आइतबारदेखि, भाडा दर सस्तो
चितवन । यती एयरलायन्सले यही भदौ १५ गतेदेखि भरतपुरबाट पोखरा सस्तो भाडादरमा सिधा उडान शुरु गर्ने भएको छ । दैनिक पोखराबाट भरतपुर र सोही जहाज भरतपुरबाट पोखरा जाने गरी नयाँ उडान भर्ने भएको हो । एयरलायन्सका भरतपुर शाखा व्यवस्थापक अनुप ढकालका अनुसार बिहान ११ः३० बजे भरतपुरबाट पोखरा जहाज उड्ने छ । यती एयरलायन्सको ३० सिटको जेडस्टिम जहाज पोखरा-भरतपुर उडान गरिने उनले जानकारी दिए । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै दुई पर्यटकीय गन्तव्य जोड्ने गरी यतीले उडान शुरु गर्न लागेको हो । पोखरा देशकै दोस्रो र चितवन तेस्रो पर्यटकीय गन्तव्य हो । एकतर्फी उडानको रु दुई हजार ५०० मात्र भाडादर तय गरी उडान गर्न लागिएको ढकालले जानकारी दिए । भरतपुर-पोखरा हाल बुद्धएयरले उडान भर्दै आएको छ । सो एयरलायन्सले एकतर्फी भाडा रु तीन हजार ८०० लिने गरेको छ । यती एयरलायन्सले हाल भरतपुर-काठमाडौँ दैनिक चार वटा उडान भर्दै आएको छ । रासस
भरतपुरलाई वैकल्पिक आन्तरिक विमानस्थल बनाइने
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भरतपुर विमानस्थललाई काठमाडौँ बाहिरको वैकल्पिक आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले भरतपुर विमानस्थललाई रात्रिकालीन बनाउने, धावनमार्ग थप गर्ने, ट्रमिनल भवन आधुनिक र व्यावसायिक बनाउने जानकारी दिएका हुन् । नेपालभरका विमानस्थलको स्तर वृद्धि गर्ने तयारी भएको भन्दै उनले काठमाडौँ उपत्यका नजिकै रहेको यो विमानस्थलको विस्तार छिटो गर्ने गरी काम अगाडि बढ्ने उल्लेख गरेका छन् । विमानस्थलको उत्तरतर्फ रहेको नेपाली सेनाको व्यारेक र घोडा प्रजनन् क्षेत्रले केही समस्या दिए पनि त्यसलाई केही दिनभित्रै समाधानको बाटोमा लैजाने गरी अगाडि बढेको उनको भनाइ थियो । उनले भने, “अबको १० दिनभित्रमा नेपाली सेनाको प्रमुख, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, जिल्लाका सरोकारवालाबीच संयुक्त बैठक बसेर यो समस्या समाधान गर्नेछौँ ।” नेपाली सेनालाई उचित स्थानमा स्थानान्तरण गरी विमानस्थलको धावनमार्ग विस्तारको काम हुने उनको भनाइ थियो । विमानस्थलमा ठूला जहाज ल्याउनका लागि पहिलो चरणमा विमानस्थल विस्तारलाई जोड दिइने मन्त्री भट्टराईले बताए । भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा हुने बताउँदै उनले विमानस्थलको स्तरोन्नति गरिने बताएका हुन् । भ्रमण वर्ष सफल पार्न गर्नुपर्ने पूर्वाधार निर्माण, विदेशमा प्रचारप्रसार जस्ता काम भइरहेको उनले जानकारी दिए । अर्को प्रसङ्गमा मन्त्री भट्टराईले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई भाडादरमा ५० प्रतिशत छुट दिने विषयमा निजी विमान कम्पनीले आनाकानी गर्न नहुने बताएका छन् । उनले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु राज्य र निजी क्षेत्र सबैको दायित्व भएकामा जोड दिएका हुन् । आफूले घोषणा गरेको विषयमा विमान कम्पनीले केही टिप्पणी गरेको बताउँदै उनले यसलाई आफूले स्वागत गरेको भन्दै कार्यान्वयनको चरणमा आउनेमा विश्वस्त रहेको बताए । विमान कम्पनीले नै सामाजिक उत्तरदायित्वअन्तर्गत यो घोषणा गर्ने अपेक्षा आफूले गरेको बताउँदै उनले धर्म र पापको पनि ख्याल गर्न आग्रह गरे । उनले भने, “मान्छे कसैसँग नडराए पनि पाप र धर्मसँग डराउनुपर्छ । सबैसँग छलफल गरेर यो निर्णय कार्यान्वयन हुन्छ ।” हवाई भाडा दर समायोजन हुने उनको भनाइ थियो । उनले भने, “भाडादर पुनरावलोकन गर्छौं, इन्धनको कुराले भाडादर महङ्गो छ । विदेशीको झनै महङ्गो छ । यसलाई छिट्टै पुनरावलोकन गरेर भाडादर निकाल्छौँ ।” नेपाल एयरलाइन्सको सुधार गर्ने महत्वपूर्ण एजेण्डाका साथ काम अघि बढिरहेको उनको भनाइ थियो । सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र भरतपुर विमानस्थल प्रमुख पवनकुमार गौतमले विमानस्थलको अवस्थाका बारेमा जानकारी गराउँदै काम अघि बढाउनुपर्नेमा जोड दिएका थिए । रासस
काठमाडौँ-ओसाका उडान शुरु, यात्रु तथा भ्रमण टोलीका सदस्यसहित १३० जना सवार
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भदौ १२ गते बिहीबारदेखि जापानको ओसाका व्यावसायिक उडान शुरु गर्दैछ । निगमको वाइड बडी ए ३०३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडानको औपचारिक शुरुआत गर्न लागेको हो । जापान उडानको बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक समारोहकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गरेका थिए। विमानस्थलमा औपचारिक उद्घाटनपछि वाइड बडी जहाज बुधबार नै राति २ः३० बजे ओसाका गन्तब्य उडान गरेर ६ घण्टाको उडान पछि ओसाका कन्साई इन्टरनेशनल एयरपोर्टमा ध्वजाबाहक जहाज अवतरण भएको छ । त्यहाँ पनि औपचारिक उद्घाटन कार्यक्रम गरिने कार्यक्रम रहेको छ । ओसाका उडानमा पर्यटनराज्यमन्त्री धनबहादुर बुढा, छ जना सांसद, मन्त्रालयका उच्च अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमका प्रतिनिधि र सञ्चारकर्मी सहभागी छन् । ओसाका उडानका लागि सम्पूर्ण तयारी पूरा भएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए । उनका अनुसार ओसाकाको पहिलो उडानमा यात्रु तथा भ्रमण टोलीका सदस्यसहित १३० जना सवार छन् । निगमले २७४ यात्रु क्षमताको वाइड बडी ए ३३०–२०० जहाजबाट साताको तीन मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँ–ओसाका नियमित उडान गर्ने जनाएको छ । निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको छ । उक्त गन्तव्यमा दुई तर्फी भाडा रु ७२ हजार ८१४ कायम गरिएको छ । यो प्रवद्र्धनात्मक भाडा दर हो । एक महिनापछि नयाँ भाडादर कायम गरिने निगमले जनाएको छ ।काठमाडौँदेखि ओसाका उडानको समयावधि छ घण्टाको छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थलको मर्मतको काम भइरहेको सन्दर्भमा निगमको उडान अवधिमा आधा घण्टा विमानस्थल खुला गरिनेछ । विमानस्थलको ‘ट्याक्सी वे’ को मर्मतको काम आगामी सेप्टेम्बर १ देखि डिसेम्बर ३१ तारिखसम्म चल्ने छ । उक्त अवधिमा निगमको उडान हुने तीन दिन ३० मिनेट विमानस्थल सञ्चालन गरिनेछ । जहाज उड्ने दिन राति २ बजे विमानस्थल सञ्चालन गरी राति २ः३० बजे पुनःबन्द गरेर काम गरिनेछ । मर्मतको सामान्य अवस्थामा राति ११ः३० देखि बिहान ६ः३० बजेसम्म विमानस्थल बन्द गरिने विमानस्थलले जनाएको छ । राष्ट्रिय ध्वजाबाहकको सेवालाई मध्यनजर गर्दै मर्मतको अवधिमा आधा घण्टा विमानस्थल सञ्चालन गरिनेछ । डेड महीनाअघि अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ तीन महिनाको अवधिमा सम्पन्न गरिएको थियो । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै जापान उडानको योजना बनाइएको निगमले उल्लेख गरेको छ । नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटन नेपाल आएका छन् । सन् २०१७ मा २७ हजार ३२६ पर्यटक नेपाल भ्रमणमा आएका थिए । निगममले वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलोपटक उडान भर्न लागेको हो । निगमले गत वर्ष असार र साउन महीनामा दुई नयाँ वाइड बडी जहाज खरीद गरेको थियो । निगमले जापान उडान १३ वर्षपछि पुनः शुरु गर्न लागेको छ । यसअघि अक्टोबर ३० सन् १९९४ निगमले ओसाका उडान शुरु गरेको थियो । जुन उडान काठमाडौँ र चीनको साङ्घाई हुँदै जापानको ओसाका थियो । अप्रिल १२ सन् २००७ मा जहाज अभाव भएको भन्दै निगमले ओसाका उडान बन्द गरेको थियो । रासस