पर्यटकको पर्खाइमा बौडेश्वर झरना, झण्डै तीन करोडको लागतमा बालमैत्री पार्क बन्दै
काठमाडौँ । धुँवाधुलो र कोलाहलबाट एकछिन मुक्ति पाउन चाहनुहुन्छ ? यदि चाहानुहुन्छ भने तपाईँका लागि उपर्युक्त गन्तब्य बन्न सक्छ बौडेश्वर झरना । शामाखुसीचोकबाट करिब १० किलोमिटर दुरीमा रहेको बौडेश्वर झरना काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिक पर्ने पर्यटकीय स्थल हो । साँस्कृतिक, ऐतिहासिक र प्राकृतिक महत्व बोकेको बौडेश्वर क्षेत्र हेर्दा मनमोहक मात्र होइन धार्मिक दृष्ट्रिकोणले पनि उतिकै चिरपरिचित छ । काठमाडौंको टोखा नगरपालिका १ झोरमा अवस्थित बौडेश्वर झरना पछिल्लो समय सबैको रोजाई बनेको छ । निश्चल, स्वच्छ र गडगडाहट छहराहरु छर्केर बहेको बौडेश्वर झरनाको सौन्दर्यतामा जो कोहि पनि मन्त्रमुग्ध हुन्छन् । प्राकृतिक संरचनामै यथावथ रहेको यो झरनाको मनोरञ्जन र आनन्द लिन दिनहुँ आन्तरिक र बाह्य पर्यटकहरुको चाप बढ्दै गएको छ । कर्मचारीहरु शनिबारे बिदा मनाउन होस्, साथीहरु मिलेर पिक्निक खान होस् वा परिवारजन धार्मिक संस्कार गर्नकै लागि भएपनि मानिसहरु मनोकाक्षां पुरा गर्ने विश्वासका साथ झोर पुग्ने गरेका छन् । बौडेश्वर पर्यटकिय क्षेत्रका रुपले मात्र होइन धार्मिक हिसावले पनि महत्वपूर्ण क्षेत्रका रुपले चिन्ने गरिन्छ । भगवान महादेवको शक्ति पिठका रुपमा लिएको बौडेश्वरमा मानिसहरु ब्रतबन्ध, विवाह र धार्मिक कार्यका लागि पनि पुग्ने गर्दछन् । मनमोहक र सुन्दर झरनाको छेउमै एउटा अलौकिक गुफा पनि छ । जसभित्र छिरे भगवान महादेवलाई मागेको बर पाइने धार्मिक विश्वास रहि आएको छ । गुफा भित्र भगवान महादेवको मन्दिर पनि छ । हिँउदको समयमा भन्दा पनि बर्खायाममा बढि पर्यटकहरु बौडेश्वरमा पुग्ने गरेको एक स्थानियले बताए । ‘हिउँदमा पानी अलि कम हुने गरेको छ’, उनले भने,बर्खामा पानी बढि भएका कारण पर्यटकहरु पानी सँग रमाउन बढि आउने गर्दछन् ।’ यो समय पर्यटकका लागि बौडेश्वर उचित पर्यटकिय स्थल हो । काठमाडौं कोलाहल र धुलोधुवाँबाट छुट्कारा पाउन अहिले बौडेश्वरमा जाने मानिसहरुको भिँड लाग्ने गरेको छ । २४ करोडको बौडेश्वर गुरुयोजना तयार टोखा नगरपालिकाले झोर क्षेत्रको पूर्वाधार विकासका लागि २४ करोड ६७ लाख ९२ हजारको गुरुयोजना तयार पारेको छ । बौडेश्वर क्षेत्रमा पर्यटकहरुको आकर्षित गन्तब्य बनाउनका लािग नगरपालिकाले सो रकमको गुरुयोजना तयार पारेको बताएको हो । नगरपालिकाले गुरुयोजनामा मनोरञ्जनपार्क, मन्दिर, रक क्लाइम्बिङ, पिक्निक स्पोट्स र फुटवल ग्राउण्ड निर्माण गर्ने गुरुयोजनामा उल्लेख गरेको छ । बौडेश्वर क्षेत्रमा सडक स्तरोन्नतीका लागि ३ करोड, झरनाको ड्याम निर्माणका लागि १ करोड, मनोरञ्जनात्मक पार्क,पिक्निक स्पोट र रक कलाइम्बिङका लागि ५ करोड, झुलुङ्गे पुलका लागि ३ करोड, खेलकुद संरचनाका लागि ३ करोड र बालमैन्त्री पार्क नजिकै अन्य संरचनाहरुका लागि २ करोड ५० लाख रुपैयाँ लागत लाग्ने गुरुयोजनामा उल्लेख गरिएको छ । नगरपालिकामा यी संरचनाहरु निर्माण भएपछि बौडेश्वर क्षेत्रको विकास र पर्यटक भित्र्याउन उल्लेख्य भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ । नगरपालिकाले प्रथम चरणमा बालमैत्री पार्क, दित्तिय चरणमा पिक्निक स्पोटस्, तेस्रो चरणमा मनोरज्नात्मक पार्क, चौथो चरणमा झुलुङ्गे पुल र रक कलाइम्बिङ र पाँचौं चरणमा बाँकी र छुटपुटका कामहरु गर्ने गुरुयोजनामा उल्लेख गरिएको छ । २ करोडको लागतमा बालमैत्री पार्क बन्दै टोखा नगरपालिकाले २ करोड ७६ लाख ७५ हजारको लागतमा बालमैत्री पार्क निर्माण शुरु गरेको छ । बौडेश्वर गुरुयोजना अन्तर्गत पहिलो चरणको काममा पर्ने बालमैत्री पार्कको निर्माण कार्य शुरु गरेको नगरपालिकाले जनाएको छ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरसभाबाट प्रत्येक वडामा उद्यान निर्माण गर्ने योजना रहेको बताउँदै वडा न १ बाट बालमैत्री पार्कको निर्माणे शुरु गरिएको बताए । यसरी ठाउँठाउँमा उद्यान निर्माण गर्नाले सौन्दर्यतासँगै सार्वजनिक जग्गाको संरक्षणमा समेत टेवा पुग्ने उनको भनाई छ । चार रोपनी जग्गामा निर्माणाधीन पार्कमा टोखा नगरपालिका, काठमाडौं महानगरपालिका र अर्थ मन्त्रालयको लगानी रहेको जनाइएको छ । साईट इञ्जिनियर रुद्रनाथ आचार्यले ३ करोड ८४ लाख अनुमानित रकम भएपनि माथि उल्लेखित रकममा पार्क बनाउन शुरु गरिएको बताए । उनले बौडेश्वरमा प्राकृतिक झरना मात्र भएकोले पर्यटकहरुलाई भुलाउन र मनोरञ्जन गराउनको माध्यमका रुपमा पार्कले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘काठमाडौंमा पर्यटकका लागि निशासिने अवस्था छ’, उनले भने, बौडेश्वर प्राकृतिक सुन्दरताले रमणिय भएकोले पर्यटकको सहजताका लागि भौतिक पूर्वाधारका संरचनाहरु निर्माण गर्न शुरु गरिएको बताए । श्रृंखला निर्माण सेवाले पार्कको निर्माणको ठेक्का लिएको छ । पाकको निर्माण कार्य चालु आर्थिक वर्षको असार सम्म सक्ने लक्ष्य लिएको छ । नगरपालिकाको झोरमा अवस्थित बौडेश्वर क्षेत्र प्राकृतिक रुपमा मात्र होइन साँस्कृतिक र धार्मिक रुपले पनि भरिपूर्ण छ । सरकारले बौडेश्वरलाई उचित प्राथमिकताका साथ भौतिक संरचनाहरु निर्माण गरे पर्यटकहरुको आकर्षण बढ्ने कुरामा दुईमत छैन । सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्यायने लक्ष्यलाई सहयोग गर्न पनि बौडेश्वरले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
प्रतिकूल मौसमका कारण हवाई उडान ठप्प, सयौँ पर्यटक लुक्लामै अलपत्र
सोलुखुम्बु । तीन दिनदेखि मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा सयौं विदेशी पर्यटक अलपत्र परेका छन् । खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौँ फर्कने करिब ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार शुक्रबारदेखि मौसम प्रतिकूल हुँदा पर्यटक अलपत्र परेका हुन् । शुक्रबार २० वटा उडान तालिका भए पनि कुनै उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।त्यस्तै, शनिबार २५ वटा उडान तालिकामध्ये पाँच वटामात्रै उडान भएको थियो भने आइतबारका लागि ३० वटा उडान तालिका भए पनि एउटै उडान हुन नसकेको प्राधिकरण प्रमुख अधिकारीले बताए । आइतबारका लागि तारा एयरको १५ सीताको १० र समिटकोे पाँच गरी ३० वटा उडान तालिका रहेको थियो । बाक्लो हुस्सुका कारण हेलिकप्टरले समेत उडान भर्न नसकेपछि थप समस्या भएको छ । निश्चित समय तालिका मिलाएर आएका पर्यटक बढी मारमा परेका छन् । सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकले सबैभन्दा बढी हवाई सेवा प्रयोग गर्छन् । खुम्बु क्षेत्रसम्म सडक पहुँच नपुगेका कारण पनि यात्रुका लागि हवाइजहाजको विकल्प कम हुन्छ । एक दिनको पैदलयात्रा पछि मात्र सडक मार्ग प्रयोग गर्न सकिने भए पनि बर्खाको समयमा करिब दुई दिनको पैदल हिँड्नु पर्नेहुन्छ । विमानस्थलमा हवाइजहाज नभए हेलिकप्टर प्रयोग गर्न सकिने भए पनि बाक्लो हुस्सुका कारण थप समस्या भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नेपाल भ्रमणमा आउने पर्यटकको एक प्रमुख गन्तव्य सगरमाथा क्षेत्र पर्छ । त्यसैले यो मौसममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तेञ्जिङ हिलारी विमानस्थल लुक्ला आउने पर्यटकको चाप अत्याधिक हुन्छ । सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा यो बेला मौसम अनुकूल हुँदा दैनिक ३०० भन्दा बढीसम्म पर्यटक आउने गर्छन् । रासस
नेपाल भ्रमण वर्ष सफल पार्न काठमाडौँमा त्रिदेशीय पर्यटन मेला आयोजना गरिँदै
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटन प्रवद्र्धनका गतिविधि बढेका छन् । तीन महिनापछि शुरु हुने भ्रमण वर्षलाई लक्षित गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटकीय गतिविधि भइरहेका छन् । अभियानलाई प्रभावकारी बनाउन सरकार तथा निजी क्षेत्रका पर्यटन व्यवसायी लागिपरेका छन् । मुलुकको समग्र पर्यटन प्रवद्र्धनको जिम्मेवारी लिएको नेपाल पर्यटन बोर्डले पनि आफ्नो भूमिकालाई पूर्ण क्षमताका साथ प्रयोग गर्दै निजी क्षेत्रको साझेदारीलाई फराकिलो बनाएर प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गरिरहेको छ । भ्रमण वर्ष सचिवालयले आफ्ना पर्यटकीय गतिविधि र सरोकारवाला निकायसँगको साझेदारी अभिवृद्धि गर्दै पर्यटन प्रवद्र्धनमा जुटेको छ । स्वदेशमा मात्र नभई विदेशमा पनि भ्रमण वर्षको प्रचार प्रसारले तीब्रता पाएको छ । बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलियालगायत मुलुकमा नेपालका पर्यटकीय गन्तव्य झल्कने प्रचारात्मक सामग्रीका साथ प्रवद्र्धन गरिएको छ । हालै बेलायतको लण्डनमा ‘बस ब्राण्डिङ’ गरिएको छ । छिट्टै चीनको बेइजिङ र साङ्घाई तथा अष्ट्रेलियालगायत गन्तव्यमा पनि त्यस्तै प्रवद्र्धनात्मक कार्यक्रम गरिने बोर्डका बजार प्रबन्धक श्रद्धा श्रेष्ठले जानकारी दिएका छन् । भ्रमण वर्षलाई लक्ष्य गर्दै काठमाडौँमा त्रिदेशीय पर्यटन मेला नेपाल–इण्डिया–चाइना एक्स्पो (नाइस) आयोजना गरिँदैछ । भ्रमण वर्ष सचिवालय र बोर्डको सहयोग र समन्वयमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नाइस कार्यक्रम आयोजना गर्न लागेको हो । झण्डै एक हजार विदेशी पाहुनालाई एउटै मञ्चमा जम्मा गरेर नेपालको पर्यटन प्रवद्र्धन गरिनेछ । नेपालको सबैभन्दा ठूलो स्रोत बजारका रुपमा रहेका दुई छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको भ्रमण वर्ष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले बताए । “हामी दुई ठूला पर्यटकीय स्रोत बजार (भारत र चीन) को बीचमा छौंँ, यसलाई मात्र उपयोग गर्न सक्ने हो भने हामी पर्यटकीय लक्ष्य भेटाउन मुस्किल पर्ने छैन, त्यसैले भारत र चीन लक्षित प्रवद्र्धनका कामलाई प्रभावकारी रुपमा अघि बढाउँदैछौँ”, उनले भने । नाइस एक्स्पो आगामी फागुन ९ देखि १२ गतेसम्म (फेब्रुअरी २१ देखि २४ तारिख) आयोजना हुनेछ । एक्स्पोमा २०० भन्दा बढी क्रेताले भाग लिने जनाइएको छ । पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालका अनुसार एक सय बिक्रेता, चीन र भारतका ५० भन्दा बढी सञ्चारकर्मी, १५ विज्ञ वक्तालाई आमन्त्रण गरिनेछ । एक्स्पोमा नेपाल, भारत र चीनका एयरलाइन्स, होटल/रिसोर्ट, पर्यटक यातायात, ट्राभल, टूर, बैंक तथा वित्तीय संस्थालगायत पर्यटनसँग सम्बन्धित कम्पनीले सहभागिता जनाउनेछन् । सरकारले नेपाल भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । मुख्य ठूला पर्यटकीय स्रोत बजार चीन र भारत लक्षित प्रवद्र्धनका गतिविधि अघि बढाइएको छ । ती मुलुकबाट केही प्रतिशत मात्र पर्यटकलाई नेपालमा आकर्षण गर्न सके लक्षित पर्यटकीय आँकडा भेट्टाउन समस्या नहुने पर्यटन व्यवसायीको धारणा छ । संयुक्त राष्ट्र सङ्घ, विश्व पर्यटन सङ्घको सन् २०१७ को वार्षिक प्रतिवेदनअनुसार विश्वमा एक अर्ब ३२ करोड ३० लाख पर्यटक पुगेका छन् । तीमध्ये सबैभन्दा धेरै चिनियाँ पर्यटक छन् । सन् २०१८ मा एक करोड ५० लाख चिनियाँ नागरिक विश्व भ्रमणमा निस्केका छन् । त्यस्तै भारतबाट पनि ठूलो संख्यामा पर्यटक घुम्न जाने गरेका छन् । नेपाल आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी भारतीय र चिनियाँ नै छन् । नेपाल पर्यटन बोर्डको विवरणअनुसार सन् २०१८ मा १२ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । उक्त अवधिमा भारतबाट दुई लाख ४३८ भारतीय पर्यटक नेपाल आएका छन् भने चीनबाट एक लाख ५३ हजार ६०२ पर्यटकले नेपाल घुमेका छन् । सन् २०१७ मा क्रमशः भारतबाट एक लाख ६० हजार २८३ र चीनबाट एक लाख चार हजार ६६४ नेपाल आएका थिए । भ्रमण वर्षकै सन्दर्भमा आगामी नोभेम्बरमा चीन र भारतमा बेग्लाबेग्लै नेपाल प्रदर्शनी गर्ने भ्रमण वर्ष सचिवालयको तयारी छ । छिमेकी मुलुकबाहेक अन्य सम्भावित स्रोत बजारमा पनि प्रवद्र्धनात्मक गतिविधि गरिने बताइएको छ । बौद्ध धर्मावलम्बीलाई ध्यान दिँदै म्यानमा, कम्बोडियालगायत देशबाट पर्यटक आकर्षण गर्ने कार्ययोजना रहेको छ ।