नेपाल र युएईबीच हवाई सेवा सम्झौता, नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने

काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स युएईका बीचमा हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को ४०औँ महासभाका दौरानमा उक्त हवाई सम्झौता भएको हो । महासभामा नेपालका तर्फबाट सहभागी हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र युएईका अर्थमन्त्री सुल्तान बीन साइद अल्मान्सोरीले शनिबार हवाई सेवा सम्झौतामा हस्ताक्षर गरेका हुन् । हवाई सम्झौतासँगै दुई देश बीचको हवाई सेवालाई थप सुरक्षित र विश्वासिलो बनाउन मद्दत पुगेको पर्यटनमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत जनाएका छन् । “दुबै देशले अन्तर्राष्ट्रिय नियम तथा अनुबन्धनहरुको परिपालना गर्दै दुई देशबीचको हवाई सेवालाई थप सुरक्षित र विश्वासिलो बनाउनुका साथै सहयोगको आदनप्रदान गर्न मद्दत पुग्नेछ । “यो सम्झौता पत्रको तयारीमा लाग्नुभएका दुबै देशका सम्बद्ध अधिकारीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु”, मन्त्री भट्टराईले आफ्नो फेसबुकवालमा पोष्ट गरेका छन् । उनले हवाई सम्झौताले एक अर्को देशलाई सहयोग गर्ने वातावरण निर्माण हुनुका साथै नेपाल भ्रमण वर्ष २०२० अभियानलाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । एक सय ९३ देशका झण्डैं दुई हजार बढीको सहभागिता रहेको आइकाओ महासभामा आफ्नो सहभागिता र आफूले त्यहाँ व्यक्त गरेका धारणाले भ्रमण वर्षको प्रचार र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति देखाउन सहयोगी भूमिका निभाएको मन्त्री भट्टराईले उल्लेख गरेका छन् । उनले भ्रमण वर्ष सफल पार्न सेवा प्रवाहलाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै पछिल्लो समय गरिएको कार्यक्रम फलदायी बनेको बताए । भ्रमण वर्षको प्रवद्र्धनका लागि भ्रमण वर्ष शुरुवात कार्यक्रममा नेपालमा विभिन्न देशका राष्ट्रप्रमुख तथा नेपालमा रहेका विभिन्न कुटनीतिक नियोगका अधिकारीलाई बेलाइने जानकारी गराउँदै उनले विश्वका विभिन्न राष्ट्रमा रहेका नेपाली दूतावास तथा नियोगमार्फत ती देशका राष्ट्रप्रमुख तथा अधिकारीलाई बोलाएर विभिन्न देशमा कार्यक्रम गरिने बताए ।

कात्तिक १० देखि हिमालय एयरलाइन्सले चीनमा उडान भर्दै

काठमाडौँ । नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक महिनादेखि चीनको राजधानी बेइजिङलगायत मुख्य शहरमा उडान गर्ने भएको छ । चीनका गन्तव्यमा उडान भर्नका लागि लामो समयदेखि प्रयासरत कम्पनीले बेइजिङ, चाङ्सा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङमा उडान विस्तार गर्ने तयारी गरेको हो । चीनसँग सञ्जाल विकास गर्ने लक्ष्यका साथ हिमालयले बेइजिङमा पहिलो उडान शुरुआत गर्ने र क्रमशः अन्य गन्तव्यमा उडान भर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार आगामी कात्तिक १० देखि बेइजिङस्थित नवनिर्मित डाक्सिन इनटरनेशनल विमानस्थलमा हिमालयले उडान शुरु गर्ने छ । विश्वकै आधुनिक सुविधायुक्त यो विमानस्थल हालै मात्र औपचारिकरूपमा सञ्चालनमा आएको हो । उक्त विमानस्थलमा उडानका लागि ‘स्लट’ पाइसकेको कम्पनीले जनाएको छ । बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्तै व्यस्त भएका कारण नेपाली वायुसेवा प्रदायक कम्पनीले उक्त विमानस्थलमा स्लट पाउन सकेका थिएनन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पनि छिट्टै बेइजिङ उडान भर्ने तयारी गरेको छ । यद्यपि अहिलेसम्म उसले स्लट पाएको छैन । चिनियाँ प्राविधिक टोलीले निगमको ‘अडिट’ गरेपछि मात्र अनुमति पाउने बताइएको छ । चीनका विभिन्न गन्तव्यमा सिधा उडानबाट नेपाल भम्रण वर्षका सन्र्दभमा बढीभन्दा बढी चिनियाँ पर्यटक भित्र्याउन सहयोग पुग्ने कम्पनीले उल्लेख गरेको छ । त्यसैगरी हिमालयले आगामी कात्तिक महिनादेखि नै मलेशियाको राजधानी क्वालालम्पुरमा पुनः उडान गर्ने भएको छ । यो गन्तव्यमा प्रवेशाज्ञा प्रक्रियाको झन्झटले एक वर्ष अघिदेखि उडान रोकिएको थियो । कम्पनीको सेवा सुधार शाखा प्रमुख उज्ज्वला दलीले क्वालालम्पुर राम्रो स्रोत बजार भएकाले आगामी कात्तिक १० देखि सो गन्तव्यमा उडान शुरु गरिने बताइन् । पत्रकार सम्मेलनमा हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङले विश्व हवाई बजारमा हिमालय उदाउँदो कम्पनी भएकाले यसको गन्तव्य विस्तारसँगै सेवा स्तरीकरणमा विशेष ध्यान दिइने उल्लेख गरे । उनले नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको सन्दर्भमा हिमालयले धेरैभन्दा धेरै पर्यटक भित्र्याएर नपालको अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गरे । हिमालयले चीनलगायत गन्तव्यमा उडान थप गर्ने योजनासँगै जहाजको सङ्ख्या थप्ने प्रक्रियासमेत अघि बढाएको बुझिएको छ । कम्पनीको यही असोज महिनाभित्रै २८ सिट क्षमताको एयरबस ३१९ भाडामा ल्याउने तयारी छ । हिमालयले गत जेठ ३ गते भियतनामको ब्याम्बो एयरलाई भाडामा दिएको जहाज पनि फिर्ता ल्याउन लागेको छ । कम्पनीले छ महिनाका लागि जहाज भाडामा दिएको थियो । गत साउन ६ गतेबाट बङ्गलादेशको ढाकामा पनि उडान शुरु गरेको हिमालयले आगामी वर्षभित्र पाँच वटा जहाजले उडान गर्ने योजना बनाएको छ । अर्को वर्ष पनि नयाँ जहाज भाडामा ल्याउने एयरबससँग सम्झौता भइसकेको छ । एअरलाइन्सले मध्यपूर्वी एशियाका गन्तव्य दोहा, दुबई÷आबुधावी र दमाम (साउदी अरेबिया) मा उडान गरिरहेको छ । सन् २०१४ अगस्टमा स्थापित एयरलाइन्सले आफ्नो पाँच वर्षको अवधिमा तीनवटा न्यारोबडी ए–३२० जहाजमार्फत हाल पाँच गन्तव्य अबुधाबी, दमाम, दोहा, ढाका र क्वालालम्पुर (बीचमा रोकिएको) मा उडान भर्दै आएको छ । आठ प्रिमियम इकोनोमी क्लास र १५० इकोनोमी क्लास सीट भएका ए–३२०–२१४ सिरिजका जहाजले उडान गरिरहेको हिमालयले निकट भविष्यमा ल्हासा जस्ता उच्च स्थानमा उडान भर्नका निम्ति थप दुई थान ए–३१९ सिरिजका जहाज खरीद गर्ने योजना बनाएको छ । एशियाली मुलुकमा सञ्जाल विस्तार गर्ने लक्ष्यका साथ हिमालयले हालै युएईको आबुधाबी र बङ्गलादेशको ढाकालाई आफ्नो सञ्जालमा जोडेको छ । हिमालय एयरलाइन्सको चिनियाँ लगानीकर्ता फेरिएको छ । जम्मा ४९ प्रतिशत लगानी भएको तिब्बत एयरलाइन्स हिमालयबाट बाहिरिएको जनाइएको छ । उक्त कम्पनीको ठाउँमा तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एन्ड एन्भेष्टमेन्ट कम्पनी भित्रिएको हो । कम्पनीको ५१ प्रतिशत शेयर भने नेपालको यति वल्र्ड कम्पनीको नाममा रहेको छ । हिमालयले नयाँ लगानीकर्ता भित्रिएसँगै रणनीतिक योजनाका साथ कम्पनीको संस्थागत लोगो परिवर्तन गरेको छ । अध्यक्ष झोले हिमालयको नयाँपनले संस्थागत विस्तार र नयाँ उचाइ हासिल गर्ने रणनीतिक बाटोलाई पहिल्याएको र आगामी दिनमा कम्पनीलाई नेपाल मात्र नभई एशियामै नेतृत्व गर्ने एयरलाइन्सको रूपमा स्थापित गराउन निरन्तर प्रयास गरिने उल्लेख गरे । नेपाल र चीनबीच दुई दशकपछि गत साउन १० गते हवाई सेवा सम्झौता पुनरावलोकन सम्झौता भएको थियो । उक्त सम्झौतापछि अब ९८ उडान गर्न सकिनेछ । सातामा ७० उडान हुँदै आएकोमा १८ उडान थपिएको हो । नेपाल र चीनबीच जुलाई ७ सन् १९९८ मा हवाई सम्झौता भएको थियो । चीनको बेइजिङ, ल्हासा, साङ्घाई, कुनमिङ, ग्वान्जाओ, छेन्दु,, सियानलगायत गन्तव्यमा नेपाली जहाजले उडान भर्न पाउनेछन् । चीनसँगको दुई दशक बढी लामो हवाई साझेदारी भएपनि नेपाली जहाजले अझै सहज उडान पाएका छैनन् । चीनबाट अहिले पाँच वटा वायुसेवा प्रदायक कम्पनीले नेपालमा उडान भर्दै आएका छन् । यसअघि निजी क्षेत्रको हिमालयले चीनका गन्तव्यमा केही चार्टर्ड उडान मात्रै गर्दै आएको थियो ।

हिमालय एअरलाइन्सको नयाँ ब्राण्ड सार्वजनिक, दुईवटा ए३१९ जहाज भित्र्याउने

काठमाडौँ । हिमालय एअरलाइन्स्ले हिमालको चुचुरोमा उड्दै गरे चीललाई अंकित गर्दै बनाइएको नयाँ लोगो सार्वजनिक गर्दै आफ्नो ब्रान्ड पहिचान नयाँ बनाएको छ । हिमालयको निर्देशक सिद्धान्तः सुरक्षा, कार्यसम्पादन, ग्राहक सेवा, विजयी भावना र सुसंगत अभ्यास तथा एसियाली क्षेत्रमा सञ्जाल विस्तारका लागि हिमालयले गरिरहेको प्रयासमा आधारित रहेर यो नयाँ ब्रान्ड पहिचान परिवर्तन गरिएको जनाएको छ । रोयल सिंगी होटलमा आइतबार सम्पन्न पत्रकार सम्मेलनमा एअरलाइन्सले आफ्नो नयाँ संस्थागत लोगो सार्वजनिक गरेको हो । रणनीतिक योजना संगै एअरलाइन्सको नयाँ संस्थागत लोगो सार्वजनिक भएको हो । सन् २०१४ मा स्थापना भएदेखि नै हिमालय एयरलाइन्सले व्यवसायको सबै पक्षहरुमा विशिष्ट हुन आफूलाई परिस्कृत गर्दै ल्याएको छ । एउटा जहाज र एउटा गन्तव्य स्थानबाट सुरु गरेको एअरलाइन्स्ले तीन बर्षको अन्तरालमै आफ्नो स्वामित्वमा तीनवटा ए३२० जहाज कायम गर्न र पाँचवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । आबुधावी, दमाम र दोहालाई नेपालसँग जोड्दै एअरलाइन्स्ले मध्यपूर्वी मुलुकमा आफ्नो बलियो उपस्थिति जनाएको छ । दुई महिना अघि सन् २०१९ जुलाई २०, मा काठमाडौं–ढाका उडान सुरु गरेको यस एअरलाइन्स्ले यो रुटमा सेवा सञ्चालनलाई अझ मजबुत बनाउने संकल्प गरेको छ । हिमालय एअरलाइन्सद्वारा आयोजित पत्रकार सम्मेलनमा संस्थाको नयाँ लोगो एअरलाइन्स्का प्रेसिडेन्ट झो एन्योङ र भाइस्् प्रेसिडेन्ट विजय श्रेष्ठले सार्वजनिक गरे । एअरलाइन्सले नयाँ लोगो सार्वजनिक गरेसँगै यसको व्याख्या र संस्थाको प्रगतीलाई ब्रान्ड तथा सर्भिस डिपार्टमेन्टकी प्रमुख उज्ज्वला दलीले प्रस्तुत गरेकी थिइन् । आफ्नो नयाँ ब्राण्ड पहिचान सहित हिमालय एअरलाइन्स् निकट भविष्यमा दुईवटा ए३१९ जहाज भित्र्याउने क्रममा रहेको छ । यस्तो छ नयाँ लोगो हिमालय एअरलाइन्स्को नयाँ लोगोले ‘हिमालय’ मा भएको तीनवटा अंगे्रजी अक्षर ‘ए’ को संयोजनले उड्दै गरेको चीललाई चित्रित गर्दछ । चील हिमालय श्रृंखलामा पाइने पंक्षी हो र यसलाई दृढता र साहसको प्रतिक मानिन्छ जसले हिमालय एअरलाइन्स्को धेरै उचाईमा उड्न सक्ने साखलाई संकेत गर्दछ । त्यस्तै, लोगोमा उल्लेख गरिएको हिमालले हिमालय एअरलाइन्स्को नाम र स्थान व्याख्या गर्दछ । त्यसैगरी, लोगोमा प्रयोग भएको निलो, सेतो र सुन्तला रंगहरुको संयोजनले ‘एकीकृत र मेलमिलाप’ को भावलाई प्रतिनिधित्व गर्दछ । निलो रंगले आकाशलाई प्रतिनिधित्व गर्दछ, जसको अर्थ हो भद्र, शिष्ट र विश्वसनीयता । सेतो रंगले हिउले भरिएको पहाडलाई प्रतिनिधित्व गर्दछ, जसको अर्थ हो पवित्र, शान्ति र पारदर्शिता । त्यसैगरी सुन्तला रंगले जनता र उत्पादकत्वलाई प्रतिनिधित्व गर्दछ, जसको अर्थ हो शुभ, सक्रिय र प्रगति । यो संयोजनले हिमालय एअरलाइन्सको संस्थागत मूल्य मान्यतालाई वास्तविक रुपमा प्रतिबिम्बित गर्दछ ।