करिब एक करोड लगानीमा सात उद्यान निर्माण
बागलुङ । पर्यावरण जोगाउन र पर्यटकीय आकर्षण बढाउन जिल्लामा सात हरियाली उद्यान निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको ‘शहरी वन प्रवद्र्धन तथा उद्यान निर्माण’ योजनाअन्तर्गत बागलुङ नगरपालिका–६ स्थित विश्व शान्ति सर्वसिद्धिधाम पञ्चकोट, वडा नं १३ अमलाचौर, वडा नं १ स्थित कालिका भगवती मन्दिर, वडा नं १२स्थित पै्युँपाटाको डुङ्गाचौर सामुदायिक वन र वडा न. १४ को कैयाचौर सामुदायिक वनमा सो उद्यान बनाइएको हो । यस्तै, गलकोट नगरपालिका–७ मल्मस्थित पर्यटकीयस्थल राम्चेढुङ्गा र ३ हटिया, सहस्रधारामा पनि उद्यान बनाइएको छ । उद्यान निर्माणका लागि डिभिजन वन कार्यालयले झण्डै रु एक करोड लगानी गरेको थियो ।“एउटा उद्यानका लागि कम्तीमा रु नौ लाखदेखि बढीमा २२ लाखसम्म खर्च भएको छ”, कार्यालयकी अधिकृत सीता शर्माले भनिन् । पञ्चकोटमा बनेको हनुमान बाटिकामा सबैभन्दा बढी रु २१ लाख ९९ हजार खर्च भएको थियो । अघिल्लो आवमा सम्झौताअनुसारको काम सकिएको र चालू आवका लागि कार्यक्रम आइनसकेको उल्लेख गर्दै उनले बजेट र कार्यक्रम आएमा थप नयाँ ठाउँमा पनि उद्यान निर्माणको काम अघि बढाइने जानकारी दिएका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले शहर वरिपरिका खाली एवं पाखो जग्गालाई हरियाली क्षेत्रका रूपमा विकास गर्न वन प्रवद्र्धन तथा उद्यान निर्माण कार्यक्रम ल्याएको थियो । ती उद्यानलाई मनोरञ्जनस्थलको रूपमा विकास गर्ने र स्थानीयवासीको आयआर्जनमा समेत पनि टेवा पुर्याउने सो आयोजनाको लक्ष्य छ । गलकोट, मल्मस्थित राम्चेढुङ्गामा आठ रोपनी जग्गामा उद्यान बनाइएको उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बताए । उद्यान निर्माणमा प्रदेश सरकारको रु १२ लाख र पाँच लाख बराबरको जनश्रमदान गरी रु १८ लाख खर्च भएको उनको भनाइ थियो । उद्यानस्थलमा प्रवेशद्धार, पदमार्ग, शौचालय, बिरुवा रोपण, टिकट बिक्री कक्षलगायत संरचना बनाइएको छ । उद्यानको सबै काम सक्न बजेट, कार्यक्रम थप हुनुपर्ने अध्यक्ष थापाले बताएका छन् । स्थानीय जनहित माविको नाममा रहेको जग्गामा निर्माण गरिएको उद्यानबाट आउने आम्दानी आधा विद्यालयले पाउने सहमति छ । राम्चेढुङ्गामा प्याराग्लाइडिङ र सहस्रधारामा रहेको झरनामा छाँगावरोहण (क्यानोनिङ) को सफल परीक्षणसमेत भइसकेको छ । सहस्रधारामा पनि पदमार्ग, पोखरी निर्माण, शौचालय, बगैँचा, बिरुवा रोपणलगायत काम गरिएको वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिए । सहस्रधारा क्षेत्र ढाडाको पाखा सामुदायिक वन क्षेत्रमा पर्छ । रासस
नेपाल भ्रमण वर्ष २०२० सचिवालय र एनआरएनएबीच सातबुँदे सहमतिपत्रमा हस्ताक्षर
काठमाडाैं । नेपाल भ्रमण वर्ष २०२० र गैरआवसीय नेपाली संघ (एनआरएनए) नेतृत्वबीच सातबुँदे सहमतिपत्रमा हस्ताक्षर भएकाे छ । भ्रमण वर्ष २०२० सचिवालयका संयोजक सुरज बैद्य र संघका अध्यक्ष कुमार पन्तले आइतबार सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पत्रमा हरेक गैरआवासीय नेपालीले एकजना विदेशी साथी नेपाल भ्रमणमा पठाउने र त्यसको रेकर्ड दुवै पक्षले राख्ने समझदारी भएको छ । सहमतिपत्रमा सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने व्यक्ति वा संघसंस्थालाई सम्मान गर्नका लागि सचिवालयले नेपाल सरकारसमक्ष सिफारिस गर्ने समेत उल्लेख गरेको छ । यस्तै संघले नेपाल भ्रमण वर्ष २०२० अवधिभर संघका विश्वभर गरिने औपचारिक सेमिनार, गोष्ठीलगायतका कार्यक्रम नेपालमा नै गर्ने व्यवस्था मिलाउने सहमति भएको छ । संघले विश्वभर रहेका गैरआवासीय नेपालीहरुलाई सन् २०२० मा ‘स्पेन्ड होलिडे ईन नेपाल विथ फेमिली एण्ड फ्रेन्डस्’ अर्थात् ‘परिवार र साथीहरुसँग नेपालमा विदा मनाऔं’ अभियान सञ्चालन गर्ने छ ।गैर आवासीय नेपालीका विश्वभर रहेका व्यवसायिक फर्महरु तथा होटल रेष्टुरेन्टहरुमा नेपाल सम्बन्धी आकर्षक प्रचार सामग्रीहरु राखी प्रचार प्रसार गर्ने तथा प्रचारका सामग्रीहरु वितरण गर्ने समझदारी पनि भएको छ । साथै विश्वभर छरिएर रहेका सम्पूर्ण सदस्यलगायत नेपाली तथा विदेशी मित्रहरुको सवारी साधनहरुमा नेपाल भ्रमण वर्ष २०२० को लोगोसहितको स्टिकर टाँस्ने व्यवस्था मिलाउने समझदारी पनि भएको छ । संघले विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा भ्रमण वर्ष प्रवद्र्धन कक्ष स्थापना गर्न आवश्यक जनशक्तिसमेत उपलब्ध गराउने छ । नेपाल भ्रमण वर्षको प्रचारका लागि संघले विश्वका प्रमुख शहरहरुमा कार तथा साइकल र्याली गर्नेछ । यस्तो प्रचारात्मक कार्यक्रमको लागि संघले नेपाल भ्रमण वर्ष सचिवालयसँग समन्वय गर्नुपर्ने छ ।
नेपाल भ्रमण वर्ष आउन दुई महिना बाँकी, एनआरएनएको भूमिका के ?
काठमाडाैं । नेपाल सरकारले आयोजना गर्ने नेपाल भ्रमण वर्ष २०२० आउन अब दुई महिना मात्र बाँकी छ । यतिखेर पर्यटनसँग सम्बन्धित विभिन्न संस्थाहरु र नेपाल सरकार आफै पर्यटन गतिविधिहरु बढाउन तल्लिन छ । भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि सरकार विभिन्न देशमा बसोवास गरिरहेका नेपालीहरुसँग पनि समन्वय गरेर पर्यटनसँग सम्बन्धित गतिविधिहरु बढाइरहेकाे छ । विभिन्न देशका प्रतिनिधीहरुलाई निम्ताएर सरकारले यतिखेर भ्रमण वर्षको बारेमा जानकारी पनि गर्दै आएको छ । यतिखेर गैर आवसीय नेपाली संघ (एनआरएनए) पनि चुनावी माहाेलमा छ । संघमा उम्मेदवारी दिएकाहरूले पनि भ्रमण वर्ष सफल पार्न आफुहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै चुनावी मुद्धा बनाएका छन् । विदेशमा आर्जित पुँजी र सीप नेपालमा लगानी गर्ने भन्दै सन् २००३ मा सुरु भएको संघ हाल विश्वका ८३ वटा देशहरुमा छ । संघले नेपालबाट गएका नेपालीहरुलाई विदेशमा सहयोग गर्ने, नेपालका विभिन्न पूर्वाधार विकासमा टेवा पुग्ने खालका क्षेत्रमा लगानी गर्ने लगायतका काम पनि गर्दै आएको छ । सरकारले नेपाल भ्रमण वर्ष आयोजना गर्ने घोषणा गरेसँगै गैरआवासीय नेपालीहरु भ्रमण वर्षलाई सफल पार्न आफुहरुको पनि महत्वपूर्ण भूमिका हुने बताउँछन् । नेपालको पर्यटन प्रवद्र्धनका लागि एनआरएनएले उल्लेख्य काम गर्न सक्ने पर्यटन व्यवसायीहरुले बताएका छन् । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपाल भ्रमण वर्षमा धेरैभन्दा धेरै विदेशी नेपाल ल्याउन आफु सक्रिय रहने बताए । उनले १० अर्ब रुपैयाँको कोष नेपालमा ल्याएर त्यसको सहि परिचालन गर्ने बताए । कोष स्थापना भइसकेपछि यसलाई सेयर बजारमा लैजाने र घरैबट ५ डलर, १० डलर, १५ डलर जस्तो थोरै लगानी गर्न चाहनेले पनि लगानी गर्नसक्ने वातावरण बनाइने उनले बताए । यस्तै महिला उपाध्यक्षकी उम्मेदवार रविना थापाले ७० लाख नेपालीहरु विदेश रहेको बताउँदै तिनीहरुलाई भ्रमण वर्षको बारेमा जानकारी गराउन सकेपनि उल्लेख्य प्रगति हुने बताए । ‘नेपालीहरुले विदेशमा गएर रेस्टुरेन्टहरु खोल्नु भएको छ’ उनले भनिन्, रेस्टुरेन्टमा आएका विदेशीहरुलाई नेपाली परिकारको स्वादले पनि नेपाल आउन उत्प्रेरित गर्छ ।’ पर्यटकको आगमन बढाउनका लागि सरकारले सम्पूर्ण पक्षहरुको स्थिती सुधार्नु पर्ने उनले बताइन् । ‘प्राकृतिक विविधता भएको ठाउँमा अवश्य नै पर्यटकहरु आउँछन्’ उनले भनिन् सरकारले राम्रो सँग व्यवस्था गरेर पर्यटकलाई बोलाउँदा उनीहरुलाई फेरि पनि आउँ आउँ भन्ने खालको अवस्था बन्नु प¥यो ।’ यस्तै अमेरिका रिजनल कोडनेटरका उम्मेदवार राजन त्रिपाठीले संसारभरी रहेका नेपालीहरुको नेटवर्कलाई परिचालन गरेर नेपालमा पनि केहि गर्न सकिन्छ भन्ने वातावरण सिर्जना गर्ने सक्ने बताए । उनले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आफुहरुको पनि महत्वपूर्ण भूमिका हुने बताए । नेपालमा एनआरएनएको लगानी कति ? गैर आवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा कति लगानी गरेको छ भन्ने एकिन तथ्याकं नभएपनि उनिहरुले नेपालमा अर्बौं लगानी गरेको दावी गर्छन् । संघले हाल सम्म के कति क्षेत्रमा लगानी गरेको छ, भन्ने खालका आधिकारि तथ्याकं छैन । पन्तले नेपालको स्वास्थ्य, शिक्षा, उद्योग, होटल, जलविद्युत, एयरलाइन्स, व्यापार लगायतका क्षेत्रमा संघले लगानी गरेको बताए । एनआरएनमा आवद्ध व्यवसायीहरुले पछिल्लो समय जलविद्युत र होटलमा लगानी भित्र्याएका छन् ।