पर्यटकहरुलाई सुरक्षा दिन सशक्त रुपमा अगाडि बढ्दै नेपाल प्रहरी

काठमाडौं । मुलुकभर पर्यटन वर्षको स्वागतका लागि तयारी तीव्र पारिएको छ । यहि क्रममा नेपालमा आउने पर्यटकहरुलाई सुरक्षा दिन नेपाल प्रहरी सशक्त रुपमा अगाडि बढेको छ । पर्यटकीय क्षेत्र भएका जिल्लाहरुमा त्यहाँ कार्यरत सुरक्षा प्रमुखहरुले विशेष रणनीतिहरु अहिले देखि नै शुरु गरिसकेका छन् । यसैक्रममा मनाङ प्रहरीले पनि पर्यटक सुरक्षालाई मुख्य प्रथामिकतामा राखेर विभिन्न रणनितिहरु तय गर्दैै विशेष सुरक्षा योजना लागु गरिसेकेका मनाङको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक (डिएसपी) टीका बहादुर कार्कीले जानकारी दिएका छन् । यतिवेला जिल्लामा आउने पर्यटकको लागि सिजन सुरु भएको छ । आफ्नो महत्वपूर्ण समयको व्यवस्थापन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरु जिल्ला भित्रिनेको संख्या बढ्दै छ । जिल्ला आउने पर्यटकको रोजाई तिलिचो ताल अग्रस्थानमा छ । उच्च स्थानमा रहेको मनोरम तिलिचो तालमा पुग्ने पर्यटकको संख्या बढ्दै गर्दा त्यहाँ पुग्ने पर्यटकको सुरक्षा मनाङ प्रहरीले कडा रुपमा गर्दै आएको छ । पर्यटकको सुरक्षाका लागि मनाङ प्रहरीले तिलिचो तालमा नै प्रहरी गस्ती सुरु गरेको छ । अन्नपूर्ण पदमार्ग अन्तरगत पर्ने महत्वपूर्ण गन्तव्य तिलिचो तालमा पुग्ने पर्यटकको सुरक्षाका लागि प्रहरी गस्ती सुरु गरिएको प्रहरी प्रमुख कार्कीले बताए । अन्नपूर्ण पदमार्गमा आउने प्रर्यटकको चाप बढेसंगै उनीहरुको सुरक्षाका लागि प्रहरी तिलिचोसम्म पुगेको हो । यो हाम्रो दायित्व र जिम्मेवारी दुवै हो, डिएसपी कार्कीले भने, प्रहरी सहायक निरीक्षक मोहदत्त शर्माको कमाण्डमा प्रहरी टोली त्यहाँ पुगेको छ । यसले पर्यटकलाई पनि आफु सुरक्षित छु भन्ने महशुस हुनेछ । गस्तीसंगै डिएसपी टिका बहादुर कार्कीको कमाण्डमा ५१०६ मिटर उचाईमा रहेको लार्केपासमा गस्ती तथा ४१७५ मिटरउचाईमा रहेको नार्पाभूमी गाउँपालिका १ मा पर्ने नार गाउँमा पुगी गाउपालिका अध्यक्ष लगायत जनप्रतिनिधिसँग सुरक्षा सम्बन्धी अन्तरक्रिया गरेको थियो । त्यसैगरी, प्रहरी निरिक्षक सबिन भण्डारीको कमाण्डमा ५४१६ मिटर उचाईमा रहेको थ्रोङलापासमा, प्रहरी नायब निरीक्षक रामबहादुर बानिया र राजेश मल्ल ठकुरीको कमाण्डमा ५००२ मिटर उचाईमा रहेको काजिन सारा तालसम्म मनाङ प्रहरीले गस्ती गर्दै सुरक्षा प्रदान गर्दै आईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ग्रामिण पर्यटकीय सामुदायिक गस्ती सञ्चालन गरिएको हो । यो कार्यक्रमलाई जिल्लामा प्रभावकारी रुपमा अगाडि बढाईएको डिएसपी कार्कीले बताए । जिल्लामा रहेका र जिल्ला भित्रिने सबै नागरिकको जीउधनको सुरक्षाको लागि प्रहरी दत्तचित्त भएर लागिपरेको छ । सुरक्षाको कुनै पनि चिन्ता नगरी मनाङमा आउन डिएसपी कार्कीकोे आग्रह छ । गण्डकी प्रदेशमा आउने पर्यटकहरु सबैतिरबाट मनाङ भित्रिने भएकाले पनि यहाँ सूचना संयन्त्रलाई थप प्रभावकारी बनाउनु पर्नेछ । मुस्ताङ, गोरखा र तनहुँ तिनतिरैबाट यहाँ आन्तरिक र बाह्य पर्यटक आउने गर्दछन । त्यसैले, उनीहरुको सुरक्षा र सूचना दिने दुवै महत्वपूर्ण काम मनाङ प्रहरीले गर्नुपरेको छ । यसलाई थप प्रभावकारी बनाउने काम पनि सुरक्षा गस्तीले गर्ने डिएसपी कार्कीले जानकारी दिए ।अहिलेको सिजनमा मनाङमा दैनिक १ हजार भन्दा बढी पर्यटक भित्रिने गरेका छन । विगत वर्षदेखि विदेशी र स्वदेशी पर्यटक लगभग बराबरीको संख्यामा मनाङ आउने गरेका छन । गण्डकी प्रदेशले आन्तरिक पर्यटन वर्ष मनाइरहँदा यहाँ आउने पर्यटकको सुरक्षा र सुचना प्रणालीलाई व्यवस्थित गर्न थप ध्यान दिनुपर्ने त्यहाँ घुमेर आएका व्यवसायी दिनेशकुमार चुकेले बताए ।

अधिकांशको रोजाईमा मुस्ताङ, ह्वात्तै बढ्यो आन्तरिक पर्यटकको आगमन

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा केही दिनयता आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको छ । असोज महिनाको शुरुआतदेखि नै पर्यटकको आवागमन बढेपछि यहाँका होटेलमा अग्रिम बुकिङ हुन थालेका छन् । पर्यटकको बढ्दो आगमनले यहाँका पर्यटन व्यवसायी पनि उत्साहित बनेका छन् । पछिल्ला दिन घाँसादेखि लोमान्थाङसम्मका होटल पर्यटकले भरिभराउ हुन थालेको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिएका छन् । उनका अनुसार मुस्ताङमा २८० वटा होटल तथा लज सञ्चालनमा छन् । “बडा दशैँको घटस्थापना लगत्तै देशका विभिन्न ठाउँबाट मुस्ताङ घुम्न आउने क्रम बढिरहेको छ,” तुलाचनले भने, “पछिल्ला समयमा सडक, यातायातको सुविधा, छुट्टी र अनुकूल मौसमका कारण मुस्ताङ आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ ।” केही दिनयता पाहुनाको चापले आफूहरुको दैनिकी व्यस्त बन्दै गएको पुथाङस्थित शाभना होटलका सञ्चालक सुमन थकालीले जानकारी दिए । पोखरा–जोमसोम हवाई र बेनी–जोमसोम सडक मार्ग भएर दैनिक तीन हजार जनाभन्दा बढी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्याल मुस्ताङले जनाएको छ । ट्राफिक प्रहरी नायब निरीक्षक बद्रीनाथ शर्माका अनुसार मुस्ताङमा गाडी र मोटरसाइकलबाट पर्यटक मुस्ताङ भित्रिएका छन् । असोज–कात्तिक र फागुन–चैत–वैशाख महिना मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम मानिन्छ । पछिल्लो समय चर्चामा रहेको ‘कबड्डी कबड्डी कबड्डी’ नेपाली चलचित्रको छायाङ्कन भएको तल्लो मुस्ताङस्थित थासाङ गाउँपालिकाका लेते, नाउरीकोट, कुन्जोमा आन्तरिक पर्यटकको चाप बढेको सङ्घीय सांसद प्रेमप्रसाद तुलाचनले बताएका छन् । थासाङ गाउँपालिकाको सेकोङ ताल, भुछर ताल, टिटी ताल, गुरुसाङ्बो गुफा, घाँसा चरा अवलोकन आदिमा पर्यटक रमाउने गरेका छन् । माटोको शहर लोमान्थाङ, तिब्बती र थकाली कला संस्कृतिको अनुपम स्थल लेते, मुक्तिनाथ, ठिनी, ढुम्बा ताल, कागबेनी, दामोदर कुण्ड एवम् फरक भू–बनोट अवलोकनका लागि मुस्ताङ स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको पोखराका पर्यटन व्यवसायी तारानाथ पहारी बताउँछन् । पछिल्ला समयमा यहाँको होटेलका साथै ठाउँठाउँमा सञ्चालित घरवास पनि पर्यटकको रोजाइमा परेका छन् । अघिल्लो वर्ष मात्रै एक हजार आन्तरिक पर्यटकले ठिनी होमस्टेमा बास बसेको हामेस्टेका सञ्चालिका जुमा थकालीले जानकारी दिनुभयो । यस वर्ष अघिल्लो वर्षभन्दा दोब्बर सङ्ख्यामा पर्यटक आउने अपेक्षा गरिएको उनले जानकारी दिए । नेपालीमा बिदा, चाडपर्व र विशेष अवसरमा घुम्ने संस्कृतिको विकास हुँदै गएका कारण पनि मुस्ताङ अधिकांशको रोजाईमा पर्दै गएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख तुलसी दाहालले मुस्ताङमा पछिल्लो समय बाह्यको तुलनामा आन्तरिक पर्यटकको चहलपहल बढी हुँदै गएको बताएका छन् । रासस

दशैँपछि चितवनको सौराहा पर्यटकले भरिभराउ

भरतपुर । सुनसान बनेकाे साैराहा दशैँपछि पर्यटकले  भरिभराउ हुन थालेकाे छ ।  देशकै तेस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको चितवनको सौराहामा अहिले पर्यटकको चहलपहल बढेको छ । दशैँअघि सुनासनजस्तै बनेको सौराहामा यतिबेला पर्यटक आउनेक्रम बढेको हो । सौराहामा अहिले सबैभन्दा धेरै पर्यटक आउने बेला हो । विगतका वर्षमा दशैँअघिदेखि नै पर्यटकको भीडभाड हुने गरेको तर यसपटक ढिला गरी पर्यटकको चहलपहल बढेको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले बताएका छन् । उनले भने,“आन्तरिक पर्यटक ह्वात्तै बढेको छ, तर रात बिताउने पर्यटकको सङ्ख्या अझै कम छ ।” केही वर्षयता आन्तरिक पर्यटककै भरमा सौराहाको पर्यटन व्यवसाय चलेको छ । नेपालीहरू बिदाको समयमा घुम्ने संस्कार बढेकाले त्यसको प्रभाव बर्षेनी पर्यटकको सङ्ख्या बढ्दै गएको भट्टराई बताउँछन् । पछिल्लो समय चितवनमा देखिएको डेङ्गुको प्रकोप र काठमाडौँबाट चितवन भित्रिने सडकको दुरावस्थाका कारण पर्यटकको चहलपहल घटेको सौराहाका रेष्टुरेन्ट व्यवसायी गोकर्ण गिरी बताउँछन् । उनले दशैँपछि घुम्ने परम्परा रहेकाले अब पर्यटकको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरे । पछिल्लो समय सौराहामा विदेशी पर्यटकभन्दा स्वदेशी पर्यटकको सङ्ख्या बढ्दो छ । अहिले पनि आन्तरिक पर्यटक नै धेरै छन् सौराहामा । “सौराहाको राप्ती किनार क्षेत्रका रेष्टुरेन्टहरू भरिभराउ हुन थालेका छन्”, रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले भने, “परिवारसँग घुम्न आउने पर्यटक बढेका छन्, बाह्य पर्यटक भने फाट्टफुट्ट केही मात्रामा मात्र देखिन्छन् ।” चिनियाँ र भारतीय पर्यटक बढी छन् । सौराहामा ५० प्रतिशत आन्तरिक पर्यटक र ३० प्रतिशत बाह्य पर्यटक आउने गरेको व्यवसायीको भनाइ छ । पर्यटक आउने ‘सिजन’ बल्ल शुरु भएकाले विस्तारै पर्यटक बढ्दै जाने होटल व्यवसायी सुमन घिमिरेले बताए । तुलनात्मक रूपमा यसपटक पर्यटकको सङ्ख्यामा कमी आए पनि पर्यटकको सङ्ख्या बढ्ने क्रममा रहेको उनले जानकारी दिएका छन् । “नोभेम्बरसम्म नै पर्यटकको आउने सिजन हो”, उनले भने, “गत वर्षकै अनुपातमा पर्यटक आउने अनुमान गरेका छौँ ।” सौराहामा गतवर्षको तुलनामा यो सिजनमा यसपटक २० प्रतिशत पर्यटक पनि भित्रिएका छैनन् । गत वर्ष यसबेला दैनिक एक हजारको हाराहारीमा पर्यटक भित्रिएको क्षेत्रीय होटल सङ्घले जनाएको छ । विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज अवलोकन, हात्ती सफारी र जिप सफारीका लागि पर्यटकहरू सौराहा आउने गरेका छन् । यसरी, साना तथा ठूला १५० होटल र ८० रेष्टुरेन्ट रहेको सौराहामा सात हजार पर्यटक अट्ने क्षमता रहेको छ । गत वर्ष सौराहामा स्वदेशी तथा विदेशी गरी डेढ लाख पर्यटक भित्रिएका थिए । चितवन आउने पर्यटकमध्ये ८० प्रतिशतले सौराहा घुम्ने गरेका छन् । रासस