पर्यटकको पर्खाइमा नारच्याङ ताल, पूर्वाधार र प्रचारप्रसारको अभाव

म्याग्दी । अन्नपूर्ण, फ्रेन्क, तिलीचो र निलगिरि हिमालको फेदीमा गोलो आकारको ताल रहेको छ । तालमा हिमालको छायाँ हेर्न सकिन्छ । धेरै हिमालको चुचुरो एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । वरपर सुक्खा र उजाड पहाड छ । अन्नपूर्ण गाउँपालिका–४ अन्नपूर्ण आधार शिविरस्थित पञ्चकुण्ड नारच्याङ तालको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ । पूर्वाधार र प्रचारप्रसारको अभावका कारण ताल ओझेलमा परेको नारच्याङका डिलबहादुर गर्बुजाले बताए । समुद्री सतहदेखि चार हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकुण्ड नारच्याङ ताल करीब एक किलोमिटर लम्बाइ र ५०० मिटर चौडाइमा फैलिएको छ । अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर प्राकृतिक हिमताल बनेको वर्षौँ भए पनि यसको चर्चा खासै छैन । हालै अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका पोखराकी तानी थापाले तालको सौन्दर्यले मोहित र प्रफुल्लित बनाएको बताइन् । “ताल र हिमाल हेरेपछि बाटोको सबै दुःखकष्ट बिर्सिए”, उनले भने, “यहाँको प्राकृतिक सौन्दर्यको बारेमा वर्णन गरिसाध्य छैन ।” भौगोलिक विकटताका कारण तालसम्म पुग्न व्यवस्थित पदमार्गको अभाव छ । प्राकृतिक र धार्मिक महत्वका बारेमा प्रचारप्रसार हुनसकेको छैन । न्यून मात्रामा भक्तजन र पर्यटक पुग्ने गरेका नारच्याङका चन्द्रजित पुनले बताए । “यहाँ रक्त, दुग्ध, ताम्र, शुद्ध र स्वर्ण गरी पाँच छुट्टाछुट्टै ताल छन्”, उनले भने, “यो तालको धार्मिक महत्वका बारेमा धार्मिक ग्रन्थ पञ्चरामायणमा उल्लेख छ ।” परापूर्वकालमा कागभुसिन्दा नाम गरेका एक जना ऋषीले तपस्या गरेर ज्ञान आर्जन गरेर यो तालको बारेमा विभिन्न ठाउँमा प्रचारप्रसार गरेका थिए । पितृको सम्झनामा पिण्डदान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । ताललाई धार्मिक गन्तव्यको रुपमा विकास गराउन शिव मन्दिर र वौद्ध गुम्बासमेत निर्माण गरिएको छ । चन्द्रजित पुनले व्यक्तिगत लगानीमा सार्वजनिक शौचालय बनाएका छन् । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोजले पहिलोपटक आरोहण गरेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग आठ वर्षअघि मात्र पहिचान भएको थियो । यसअघि मुस्ताङको ताउलुङ हुँदै पाँचदेखि सात दिन लगाएर भिर र जङ्गलको बाटोमा जोखिमपूर्ण यात्रा गरेर आधार शिविर पुग्नुपर्दथ्यो । यसअघि यहाँसम्म जाने पदमार्ग नहुँदा आधार शिविर र ताल गुमनाम थियो । निलगिरि हिमाल पनि नजिकै भएकाले यसअघि यसलाई निलगिरि ताल भन्ने गर्दथे । नारच्याङ गाउँदेखि तीन दिनको यात्रापछि आधार शिविर पुग्न सकिन्छ । आधार शिविर र तालको एकीकृत पर्यटन विकासका लागि स्थानीयवासीले पदमार्ग, झोलुङ्गे पुल र आश्रयस्थल निर्माणलाई तीव्रता दिएका छन् । पदमार्ग पर्यटक हिँड्नलाई अझै योग्य भइसकेको छैन । स्तरोन्नति गरेर पदमार्ग सञ्चालनको तयारी गरिएको छ । ताल परिसरमा भक्तजन तथा पर्यटकलाई लक्ष्य गरी १५ जना क्षमताको आश्रयस्थल बनाइएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए । तालको गहिराइको मापन हुनसकेको छैन । तटबन्ध गरेर तालको गहिराइ तथा क्षेत्रफल बढाउने योजना रहेको नारच्याङका अगुवा सुवास विश्वकर्मा बताउँछन् । रासस

बेइजिङ उड्यो हिमालय एयरलाइन्स, काठमाडौँसँग सिधा हवाई सम्पर्क स्थापना

काठमाडौँ । काठमाडौँ र बेइजिङबीच सिधा हवाई सम्पर्क स्थापना भएको छ । नेपालको उड्डयन इतिहासमा पहिलो पटक उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेजिङमा सिधा हवाई उडान शुरु गरिएको हो । नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायु सेवा प्रदायक कम्पनी हिमालयले बेजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा आइतबारदेखि व्यावसायिक उडान शुरु गरेको छ । यसअघि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले चीनको साङ्घाई र ल्हासा सहरमा उडान गरेको भए पनि राजधानीसँग हवाई पहुँच विस्तार हुन सकेको थिएन । दुई देशका राजधानी काठमाडौँ र बेजिङ जोड्ने हिमालय पहिलो एयरलाइन्स भएको छ । नेपाल भ्रमण वर्षको संघारमा विश्वमै सबैभन्दा धेरै पर्यटक घुम्ने मुलुक चीनमा हवाई उडान शुरु भएसँगै नेपालमा चिनियाँ पर्यटकको आगमनमा बढोत्तरी हुने अपेक्षा गरिएको छ । पछिल्ला दिनमा चीनबाट नेपालमा भएको उच्चस्तरको भ्रमणले पनि धेरैभन्दा धेरै चिनियाँ नागरिकले नेपाल भ्रमण गर्ने अनुमान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सी चिनफिङले गत असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण गर्नुभएको थियो । उक्त भ्रमणले नेपालको पर्यटन बजारमा नयाँ तरङ्ग पैदा भएको छ । भ्रमण वर्षलाई सफल बनाउन चीनले आवश्यक सहयोग गर्ने राष्ट्रपतिको भ्रमणका दौरानमा नेपाललाई आश्वस्त तुल्याएको छ । चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार हो । सन् २०१८ मा एक लाख ६० हजार चिनियाँले नेपाल भ्रमण गरेका छन् । सन् २०१९ को आठ महीनाको अवधिमा अघिल्लो वर्षको सोही अवधिमा १० प्रतिशतले चिनियाँ पर्यटक बढेको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । चीनबाट वार्षिक १५ करोड विश्व भ्रमणमा जाने गरेको विभिन्न तथ्याङ्कले देखाउँछ । त्यसको केही हिस्सा मात्रै नेपाल भित्र्याउन सके नेपालको पर्यटनले सकारात्मक फड्को मार्ने सरकारी अधिकारी बताउँछन् । हिमालय एयरलाइन्सले १५८ सिट क्षमताको एयर बस ३२० जहाजबाट काठमाडौँ–बेजिङ उडान औपचारिक रुपमा शुरु गरेको हो । बेइजिङ सिधा उडान नेपालको नेपालको पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गासावित हुने हिमालय एयरलाइन्सले एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ । पछिल्ला दिनमा पर्यटकको सङ्ख्या अत्याधिक बढेको छ । यसले विदेशी मुद्रा आर्जनमा समेत टेवा पुग्ने कम्पनीका सेवा सुधार शाखा प्रमुख उज्ज्वला दलीले बताए । हिमालयको बेजिङ उडान शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हिमालय एयरलाइन्सले चीनसँगको हवाई सम्पर्क विस्तारले भ्रमण वर्षको अवधिमा चीनबाट पाँच लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई पूरा गर्न महत्वपूर्ण योगदान गर्ने व्यावसायिक सफलताको कामना गरे । नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले नेपाल अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तब्य भएको र चिनियाँ नागरिकका लागि पदयात्रा गर्न नेपाल दक्षिण एशियाकै मुख्य रोजाइमा पर्ने गरेको बताए । कम्पनीका अध्यक्ष झो एन्योङ्ले काठमाडौँ–बेजिङ सिधा उडानले नेपालमा चिनियाँ पर्यटकको सङ्ख्यामा बढोत्तरी हुनका साथै आर्थिक गतिविधि पनि बढ्ने विश्वास व्यक्त गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६५ जना यात्रुसहित बिहान ८ः३० बजे हिमालयको जहाज पहिलो उडान एच ९६६५ बेजिङ गन्तव्यमा उडेको थियो । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार बिहान उडेको जहाज राति पौने १० बजे काठमाडौँ फर्किने तालिका छ । हिमालयले सातामा तीन दिन आइतबार, मङ्गलबार र शुक्रबार उडान गर्ने तालिका छ । यो रुटमा एकतर्फी न्यूनतम भाडा दर रु २४ हजार पर्ने जनाइएको छ । कम्पनीसँग अहिले दुई थान ‘न्यारोबडी’ जहाज छन् । अर्को जहाज भियतनामको ब्याम्बो एयरलाई भाडामा दिइएको छ । उक्त विमान एक महीनाभित्र फिर्ता ल्याइने कम्पनीले जनाएको छ । हिमालयले नयाँ लगानीकर्ता फेरिएसँगै रणनीतिक योजनका साथ कम्पनीको संस्थागत लोगो परिवर्तन गरेको छ । हिमालको चुचुरोमा उड्दै गरेको चीललाई अङ्कित गर्दै बनाएको नयाँ लोगो फेरी जहाजलाई नयाँपन दिइएको हो । पाँच वर्षको अन्तरालमा सुरक्षा र विश्वसनीयताको प्रतिष्ठा निर्माण गर्दै संस्थालाई नयाँपन दिन संस्थाको महत्वपूर्ण आन्तरिक परिवर्तनसँगै उपयुक्त रणनीतिअन्तर्गत नयाँ लोगो स्वीकार गर्ने निर्णय भएको कम्पनीले उल्लेख गरेको छ । विश्वकै आधुनिक सुविधायुक्त डाक्सिन विमानस्थल हालै मात्र औपचारिकरूपमा सञ्चालनमा आएको थियो । हिमालयले बेजिङसँगै सन् २०१९ भित्रै चीनका अन्य तीन शहर क्रमशः गुयाङ, चाङ्सा र नाङचिङमा हप्ताको एक उडान गर्ने तयारी गरेको छ । नेपाल र चीनबीच दुई दशकपछि गत साउन १० गते हवाई सेवा सम्झौता पुनरावलोकन सम्झौता भएको थियो । उक्त सम्झौतापछि अब ९८ उडान गर्न सक्नेछ । सातामा ७० उडान हुँदै आएकामा १८ उडान थपिएको थियो । चीनको बेजिङ, ल्हासा, साङ्घाई, कुनमिङ, ग्वान्जाओ, छेन्दु, सियानलगायत गन्तव्यमा नेपाली जहाजले उडान भर्नए पाउनेछन् । चीनसँग दुई दशक बढी लामो हवाई साझेदारी भए पनि नेपाली जहालले चीनको राजधानी बेजिङमा सिधा व्यावसायिक उडान गर्न पाएका थिएनन् । हिमालयले पहिला चाटर्ड उडान गर्दै आएको थियो । लामो प्रयासपछि हिमालयले सिधा उडान शुरु गरेको हो । नेपाल एयरलाइन्सले पनि छिट्ट चीनका विभिन्न सहरमा उडान भर्ने तयारी गरेको छ । चीनबाट पाँच वटा त्यहाँको वायु सेवा प्रदायक कम्पनीले नेपाल उडान भर्दै आएका छन् । काठमाडौं बेजिङ रुटमा एकतर्फी उडान समय ५ः३० घन्टा हाराहारीको हुन्छ । हिमालयले हाल बङ्गलादेशको ढाका, युएइको अबुधाबी, दुबई, साउदी अरबको दमाम र कतारको दोहा सिधा उडान गर्दै आएको छ । नेपालले हालसम्म ४० वटा मुलुकसँग हवाई सम्झौता गरेको छ । रासस

नेपाली हाेटलमा विदेशी व्यवस्थापन: ‘लगानी नेपालीको, कमाइ विदेशीको’

काठमाडौं । पछिल्लो समय ठूलो लगानीका होटलहरु खुल्ने क्रम बढ्दो छ । ठूलो लगानीका होटलहरु बढेसँगै विदेशी व्यवस्थापनसहितका ‘चेन ब्राण्ड’ नेपाल भित्रिने क्रम पनि बढ्दै गएको छ । अर्बौ रुपैयाँ लगानी गरेर खोलिएका होटलको व्यवस्थापन विदेशीलाई दिँदा ‘लगानी नेपालीको, कमाइ विदेशीको’ भएको छ । ठूला होटल व्यवस्थापन गर्न दक्ष जनशक्ति नेपालमा नहुँदा र होटल सञ्चालनका लागि राम्रो प्रणालीको विकास गर्न नसक्दा विदेशी व्यवस्थापन भित्र्याउनु पर्ने वाध्यता रहेको होटल संघ नेपालका अध्यक्ष सिर्जना राणा बताउँछिन् । नेपालमा कुनकुन चेन ब्राण्ड छन ? हाल मेरियट, ताज, अलफ्ट, हिल्टन, शेराटन, फेयरफिल्ड, हायात, फ्रेन, स्विस, क्राउन लगायतका अन्तर्राष्ट्रिय होटल व्यवस्थापनका ब्राण्डहरु नेपालमा कार्यरत छन् । अमेरिकी होटल कम्पनी मेरिओटले एमएस समूहद्धारा सञ्चालिन होटल काठमाडौं मेरियटको व्यवस्थापन लिएको छ । भारतको ताज होटलले ललितपुरको होटल भिभान्ताको व्यवस्थापन गरिरहेकोछ । चौधरी ग्रुपको लगानी रहेको चितवनको मेघौली सराई सफारी होटलमा पनि ताजकै व्यवस्थापन छ । यस्तै चौधरी समूहको लगानी रहेको भरतपुरस्थित फ्रने रेसिडेन्सीमा भारतीय होटल तथा रिसोर्ट कम्पनी फ्रेनले व्यवस्थापन सम्हालेको छ । पोखरामा सञ्चालनमा आएको चारतारे होटल सरोवरमा स्विस इन्टरनेश्नलले व्यवस्थापन गरिरहेको छ । पाँचतारे अन्नपूर्ण होटलले भारतको ताज होटलको लगानी सहित व्यवस्थापन समेत भित्र्याएको थियो । त्यसैगरी सोल्टी होटलमा भारतीय होटल ओबरोय लाई व्यवस्थापनको जिम्मेवारी दिइएको थियो । बन्द भएर पुनः सञ्चालनमा आएको एभरेष्ट होटलमा पनि शेराटनले व्यवस्थापन सम्हालेको थियो । तर यी ब्राण्ड लामो समय टिकेनन् । सोल्टीबाट ओबरोय फिर्ता गएपछि अहिले क्राउन प्लाजा छ । होटल र्याडिसन ब्राण्डमा सञ्चालित नेपाल ओरियन्टल होटलमा पनि र्याडिसनको फ्रेन्चाइजी मात्र छ । हायात होटलको ब्राण्डमा सञ्चालित तारागाउँ रिजेन्सीमा भने हायात कर्पोरेसनले व्यवस्थापन नै सम्हालेको छ । यस्तै थाइल्याण्डको चेन होटल दुसीत थानीले नगरकोटको हिमालयन रिसोर्ट एण्ड स्पाको व्यवस्थापन गरिरहेको छ । होटललाई गुणस्तरीय मापदण्डमा ल्याएको भारतीय आयो ब्राण्डले पनि नेपालका होटलहरुमा व्यापक विस्तार गरिसकेको छ । स्थानीय होटलहरुसँगको साझेदारीमा अहिले देशका करिब २०० भन्दा बढि होटलमा ओयोको उपस्थिति रहेको छ । वर्षेनी कति रकम विदेशिन्छ ? अन्तर्राष्ट्रिय चेन ब्राण्डहरुले होटलहरुको व्यवस्थापन गरेवाफत वर्षेनी ठूलो धनराशी विदेश लैजाने व्यवसायीहरु बताउँछन् । ‘कुल आम्दानीको २५ देखि ३० प्रतिशत मेरियटले नै लैजान्छ’ होटल काठमाडौं मेरियटका अध्यक्ष शशिकान्त अग्रवालले भने । उनीहरुले रेट पनि उच्च राखेका हुन्छन् । हाल काठमाडौंको पाँच तारे होटलमा प्रतिरात ६ हजार रुपैयाँमा कोठा पाइन्छ भने काठमाडौं मेरियटले १५ हजार घटी कोठा बेचिरहेको छैन । व्यवसायीहरुले ठूलो रकम वाहिरीने गरेको बताए पनि नियमक निकायसँग भने तिनीहरुले कति रकम विदेश लगेर जान्छन् ठ्याक्कै तथ्याङ्क छैन । नेपाल राष्ट्र बैंक विदेशी विमिमय विभाग प्रमुख सरिता भट्टका अनुसार चेन होटलमार्फत नेपालबाट विदेशमा कति रकम जान्छ त्यसको मात्रै ठ्याक्कै अलग्गै तथ्याङ्क राख्ने गरिएको छैन । पहिला होटलमा विदेशी व्यवस्थापन कम भएकाले यस्तो तथ्याङ्क नराखे पनि अबका दिनमा भने राख्नु पर्ने महशुस राष्ट्र बैंकले गरेको छ । कतिपय विदेशीहरुले नेपाली होटलमा लगानी गरेर रकम विदेश लैजाने गरेका छन् भने कतिपय चेनहरु नेपाली होटलमा पूँजी लगानी नगरी होटलको व्यवस्थापनवाफत कुल आय र कुल नाफाको निश्चित प्रतिशत शुल्क लिने गरेका छन् । होटलपिच्छे सहमति तथा सम्झौता अनुसार यस्तो शुल्क भने फरक हुने गरेको छ । साथै, अन्तर्राष्ट्रिय ब्राण्डसँग साझेदारी गरेपछि व्यवसाय नभएपनि निश्चित शुल्क तिर्नुपर्ने हुँदा लगानीकर्ता माथि थप दवाव पनि पर्ने गरेको छ । के भन्छन् होटल उद्यमी ? विदेशी सिस्टमका चेन मेनेज्मेन्टहरु नेपालमा भित्र्यानु लगानीकर्ताका लागि राम्रो भएको होटल उद्यमीहरु बताउँछन् । तर होटल नाफामा नभए शुल्क तिर्न पनि दवाव पर्ने उनीहरुको तर्क छ । नागपोखरीमा मेरियट र ठमेलमा फेयरफिल्ड होटल संचालनमा ल्याएका उद्योगी शशिकान्त अग्रवालले सयभन्दा बढि देशका ६÷७ हजार स्थानमा उपस्थिति रहेको मेरिओटका ब्राण्डसँग जोडिएर उनीहरुको नेटवर्क मार्फत मार्केटिङ गर्नु हाम्रो लागि ठूलो अवसर भएको बताए । ‘अन्तर्राष्ट्रिय ब्राण्डको प्रवेश सम्भाव्य विदेशी लगानीका लागि पनि सकारात्मक हुन्छ’ उनले भने, ‘ग्लोवल ब्राण्डको व्यवसायिक उपस्थिति भएको ठाउँ अरु लगानीकर्ताका लागि समेत चासोमा पर्छ ।’ होटल एशोसिएसन अफ नेपालकी अध्यक्ष सृजना राणाले अन्तर्राष्ट्रिय स्तरका चेन मेनेजमेन्टहरु नेपालमा आउनु राम्रो भएपनि सिस्टम अनुसारको उपलब्धि तथा नाफा हुन आवश्यक रहेको बताइन् । ‘नेपाली बजारमा उनीहरुको सिस्टम आउँछ’ उनले भनिन्, कर्मचारीले पनि राम्रो व्यवस्थापन भएको होटलमा काम गर्ने अवसर पाउँछन् ।’ बढ्दो लगानी दुई वर्ष अगाडीसम्म १० वटामा सीमित पाँचतारे होटलको संख्या हाल १५ पुगेको छ । तीन दशकसम्म दुईवटामा सीमित चारतारे होटल पनि पछिल्लो समय दुई वर्षमै ११ वटा पुगेका छन् । तीन तारेको संख्या ३४, दुईतारे ४३ र एकतारेको संख्या ३६ पुगेको छ भने पर्यटक स्तरका होटलको संख्या पाँच सय २३ पुगेको छ । यो तथ्याकं केलाउँदा पछिल्लो समय नेपालमा होटल क्षेत्रमा लगानी बढ्दै गएको देखिन्छ । होटलमा लगानीकर्ताहरुको आकर्षण बढेसँगै उनीहरुले विदेशी व्यवस्थापनसहितका ब्राण्डहरुलाई पनि स्वदेश भित्र्याईरहेका छन् । देशभरका होटलहरुमा १० खर्ब लगानी देशभरमा सञ्चालित होटलहरुमा १० खर्बको लगानी पुगेको छ । होटल एसोसिएसन अफ नेपालका अनुसार अहिले देशभरका होटलमा १० खर्ब हाराहारीमा लगानी भइसकेको छ । पर्यटन विभागमा दर्ता भएका र सम्बन्धित होटलले दिएको विवरण अनुसार एक वर्षमा थप भएका चारवटा पाँचतारे होटलमा १० अर्बभन्दा बढि लगानी भएको छ । विभागमा सम्वन्धित होटलले बुझाएको विवरण अनुसार चारवटा पाँचतारे होटलको कुल पुँजी नै करिब १० अर्ब रुपैयाँ छ । गत आबमा थप भएका यस्ता पाँचतारे होटलमा दुई काठमाडौं र दुईवटा काठमाडौं बाहिर छन् । काठमाडौं भित्र एभरेष्ट हस्पिटालिटीको म्यारिओट काठमाडौं र छायाँदेवी कम्प्लेक्सको अलफ्ट काठमाडौं पाँचतारेमा थपिएका छन् । होटलमा व्यवसायमा विदेशी लगानी बढ्दै पछिल्लो समय नेपालको होटल व्यवसायमा विदेशी लगानी बढ्दै गएको छ । लगानी गर्न विदेशी लगानीकर्ताहरु आकर्षित भएका छन् । गत आर्थिक वर्षमा होटल व्यवसायमा करिब ५ अर्बले लगानी प्रतिबद्धतामा बृद्धि भएको छ । गत आर्थिक वर्षमा उद्योग विभागमा दर्ता भएका ६९ होटलमा ४० वटा विदेशी होटल रहेका छन् । उक्त होटलहरुले ९ अर्ब ३० करोड ६२ लाख लगानी गर्ने प्रतिबद्धतासहित अनुमति लिएको विभागले जनाएको छ । सो लगानी मध्ये सबैभन्दा धेरै चीनबाट रहेको छ । चीनले मात्रै ९ वटा होटल दर्ता अनुमति लिएको छ । यस्तै भारत, कोरिया र अमेरिकाले ३/३ होटल दर्ता अनुमति लिएका छन् । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ८३ करोड ३६ लाख लगानी प्रतिबद्धतामा ८४ वटा होटल दर्ता गर्न प्रतिबद्धता आएको थियो भने ५० वटा विदेशी, १९ वटा स्वदेशी र १५ वटा सयुक्त लगानी गर्ने प्रतिबद्धता जनाएका थिए ।