पर्यटन बोर्डका सातै प्रदेशमा संरचना विस्तार

काठमाडाैं । सार्वजनिक निजी साझेदारीका साथ मुलुकको पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले आफ्नो संरचनालाई सात वटै प्रदेशमा विस्तार गरेको छ । बोर्डले प्रदेशस्तरीय कार्यालय विस्तारका लागि सम्बन्धित प्रदेशमा अध्ययनका लागि कर्मचारी खटाइसकेको छ । गत पुस १५ देखि औपचारिक रुपमा सातै प्रदेशमा कर्मचारी खटएको बोर्डले अब छिट्टै प्रदेश कार्यालयलाई औपचारिकता दिने भएको छ । बोर्डले सबै प्रदेशमा आफ्नो कार्यालय विस्तारका लागि प्रक्रिया थालेको छ । प्रदेश कार्यालय स्थापनाको अध्ययनका लागि स्थलगत खटाइएका कर्मचारीले बोर्डमा आवश्यक तयारीसहितको प्रतिवेदन बुझाइसकेका छन् । प्रतिवेदनका आधारमा बोर्डले प्रदेश कार्यालय स्थापना गर्ने पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले जानकारी दिए । उनका अनुसार ती प्रदेशमा संरचनामा जान गृहकार्यका लागि खटिएका कर्मचारीले आआफ्ना प्रतिवेदन केन्द्रीय कार्यालयलाई बुझाइसकेका छन् । सोही प्रतिवेदनका आधारमा छिट्टै औपचारिक रुपमा बोर्डको संरचना खडा गरिनेछ । अहिले प्रदेश कार्यालयका लागि केन्द्रबाट कर्मचारी खटिइसकेका छन् । बोर्डले प्रदेश कार्यालयका लागि केन्द्रबाटै व्यवस्थापक तहका कर्मचारीको नेतृत्व हुने गरी कार्यालय विस्तार गर्नेछ । हरेक प्रदेश कार्यालयका साथै बोर्डको छुट्टै शाखा कार्यालय पनि रहनेछ । ती कार्यालयका लागि अधिकृतस्तरका कर्मचारीको व्यवस्था गरिने बोर्डले जनाएको छ । बोर्डले प्रदेश कार्यालय विस्तारका लागि आवश्यक बजेट तथा जनशक्तिका लागि तालुक मन्त्रालयसँग समन्वय गरिरहेको छ । प्रदेश कार्यालय विस्तारका लागि स्थानीय र प्रदेश सरकार, पर्यटन व्यवसायीलगायत सरोकार पक्षको धारणा बुझ्न केही महिनाअघि बोर्डका कार्यकारी प्रमुखसहितको कमिटीले प्रदेशका मुख्यमन्त्री, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री तथा व्यवसायीसँग सबै प्रदेशमा छलफल गरेको थियो । पुसको दोस्रो सातादेखि कर्मचारी नै खटाएर संरचना विस्तारमा बोर्ड जुटेको हो । बोर्डको प्रदेश संरचनानुरुप प्रदेश नं १ को विराटनगरमा प्रदेश कार्यालय रहने छ । त्यहाँ बोर्डले दिवाकरविक्रम राणालाई खटाएको छ । झापा र धरानमा छुट्टै कार्यालय हुनेछ । विराटनगरको प्रदेश कार्यालयले दुवै कार्यालयको संयोजन गर्नेछ । प्रदेश नं २ को जनकपुरमा समीर बज्राचार्यलाई खटाइएको छ । वीरगञ्जमा भने शाखा रहने छ । वाग्मती प्रदेशलाई भने सङ्घीय कार्यालयले हेर्नेछ । गण्डकी प्रदेशमा यसअघिकै बोर्डको मुख्य संरचनालाई स्थापना गरिएको छ । बोर्डका वरिष्ठ निर्देशक काशीराज भण्डारीलाई प्रमुख बनाइएको छ । लुम्बिनी प्रदेशको बुटवलमा बोर्डको प्रदेश कार्यालय रहनेछ । त्यहाँ बोर्डले लीला बानियाँलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ । भैरहवाको सुनौली र नेपालगञ्जमा पनि बोर्डको शाखा कार्यालय रहनेछन् । त्यसैगरी कर्णाली प्रदेशको सुर्खेतमा खड्गविक्रम शाह र सुदूरपश्चिमको धनगढीमा रोहिणी खनाललाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ । कूल ११ सदस्यीय सञ्चालक समिति रहने बोर्डको सञ्चालक समितिका अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव रहने व्यवस्था छ । निजी क्षेत्रका पाँच र सरकारी पाँच जनाको सञ्चालक समिति हुन्छ । सरकारीतर्फबाट पाँच सदस्यमा पर्यटन सचिव, अर्थ मन्त्रालयका सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, अध्यागमन विभागका महानिर्देशक र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक तथा निजी क्षेत्रका पाँच पर्यटन व्यवसायी रहन्छन् । बोर्डका कार्यकारी प्रमुख भने सदस्य सचिवका रुपमा रहने व्यवस्था छ । रासस

‘घुमौँ सौराहा’ अभियानले तान्यो पर्यटक

चितवन । कोभिड–१९ को सङ्क्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बन्दै गएको छ । अङ्ग्रेजी नयाँ वर्षसँगै यहाँको सौराहामा आन्तरिक पर्यटक क्रमशः बढ्दो क्रममा रहेका छन् । व्यवसायीले अङ्ग्रेजी नयाँ वर्ष अघि ‘घुमौँ सौराहा’ अभियान गरेका थिए । त्यतिबेला उनीहरूले प्रदेश नं २ र ३ का मुख्य शहरी क्षेत्रमा पुगेर अभियान चलाएका थिए । व्यवसायीले विराटनगर, धरान, जनकपुरलगायत पूर्वी नेपालका मुख्यमुख्य शहरमा कार्यक्रम गरेका थिए । ती कार्यक्रममा नेपाल सरकारको पर्यटन बोर्ड र स्थानीय तहहरूको सहयोग रहेको थियो । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार अभियानसँगै पूर्वी नेपालका पर्यटक पनि सौराहा आउन थालेका छन् । पारिवारिक र युवायुवती घुम्न आउने क्रम बढेको छ । उनले भने, “विगतमा विद्यार्थी बढी आउँथे, अहिले पारिवारिक भ्रमण आउने बढी छन् ।” शुक्रबार र शनिबारसँगै बिदाको दिनमा आधाभन्दा बढी होटल भरिन थालेका छन् । अन्य दिनमा पनि यो सङ्ख्या ४० प्रतिशत हाराहारी हुने गरेको उनले जानकारी दिए । कोभिड–१९ सङ्क्रमणपछि ठप्प रहेका सबै होटल खुल्न थालेका छन् । व्यवसायीमा पनि उत्साह थपिएको उनले बताए । सङ्घका पूर्वअध्यक्ष एवं अभियानका संयोजक सुमन घिमिरेले कार्यक्रमले राष्ट्रियरुपमा नै प्रचारप्रसार भएको बताए । जसका कारण पर्यटक आगमनमा सकारात्मक प्रभाव परेको भन्दै उनले यसै महिना अन्य प्रदेशका शहरमा पनि अभियान लिएर जाने तयारी गरिएको जानकारी दिए । उनले भने, “यस्ता अभियान र स्थानीय सञ्चारमाध्यममा नियमित प्रचारप्रसार गर्न सकेमा आन्तरिक पर्यटक भित्र्याउन सकिन्छ ।” रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले पछिल्ला दिनहरूमा आन्तरिक पर्यटकको निकै राम्रो उपस्थिति रहेको बताए । बिदाका दिनमा भीडभाड हुने गरेको भन्दै उनले अन्य दिनमा पनि पर्यटकको आगमन सन्तोषजनक हुँदै गएको जानकारी दिए । अभियान सौराहाका लागि महत्वपूर्ण बनेको भन्दै उनले यहाँको महत्वको बारेमा देशभर प्रचारप्रसार गर्न सकेमा पर्यटक भित्र्याउन सकिने अभियानले पाठ सिकाएको बताए । सौराहामा अहिले होटल रेष्टुराँले आन्तरिक पर्यटकलाई २० देखि ४० प्रतिशत छुट दिँदै आएका छन् । नेपालमै रहेका र बाहिरबाट आएका विदेशी पर्यटक पनि आउन थालेको खतिवडाले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जमा वन, वनस्पति र वन्यजन्तु अवलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् । दुर्लभ एकसिङ्गे गैँडा, बाघ, घडियाल गोही यहाँका मुख्य आकर्षक हुन् । यहाँ हात्ती सयर, डुङ्गा सयर, जीप सफारी, पैदलयात्रामार्फत निकुञ्ज र मध्यवर्ती क्षेत्र भ्रमण गराइने गरिन्छ । सौराहामा ठूला साना १४० होटल छन् भने करिब ५० रेष्टुराँ सञ्चालनमा छन् । रासस

कोराेना विरुद्धकाे खोप लगाएका विदेशी पर्यटकलाई सहजै प्रवेश दिने तयारी

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप लगाएर आउने विदेशी पर्यटकलाई सहजै प्रवेश दिने तयारी गरिएको बताएका छन् । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पर्यटन क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरुसँग भेटघाट गर्दै मन्त्री ढकालले कोभिड–१९ विरुद्धको खोप लगाएर नेपाल आउने विदेशी पर्यटकलाई प्रवेश सहज गराउने सरकारको तयारी रहेको बताएका हुन् । उनले नेपाल आउने व्यक्तिले क्वारेन्टिन बस्नुपर्ने अनिवार्य व्यवस्थालाई संशोधन गरी सहज बनाउने तयारी गरेको बताए । ७२ घण्टा भित्र पिसिआर परीक्षण गराएर आएको रिपोर्ट र नेपालमा परिक्षण गर्दापनि पिसिआर रिपोर्ट नेगेटिभ भएकाहरुलाई आफ्नो गन्तव्यमा सजिलै जान दिने व्यवस्था गर्न लागेको पनि उनले बताए ।