नवलपरासीकाे कावासोतीमा प्याराग्लाइडिङको सफल परीक्षण

कावासोती ।  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीस्थित बालुवाडाँडाबाट प्यारागलाइडिङ्गको परीक्षण उडान गरिएको छ । बिहीबार पाँच चालकले तीन पटक सफलरुपमा परीक्षण उडान गरेका छन् । चालकदलले एउटा उडान एक्लै र दुई वटा उडान दुई/दुई जनासहित उडान भरेका हुन् । पर्यटकीय क्षेत्रका लागि नयाँ सम्भावनाको खोजी गर्ने क्रममा प्याराग्लाइडिङ्गको उडान परीक्षण गर्न लागिएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शङ्कर मर्दनिया थारुले बताए । कावासोती पर्यटकीय दृष्टिले सम्भावनाको क्षेत्र भएकाले यसको परीक्षण थालिएको उनले बताए । नगरपालिकाले पर्यटकीय पूर्वाधार विकासमा समेत लगानी गरिरहेको भन्दै प्याराग्लाइडिङ्गको परीक्षण पूर्णरूपमा सफल भएमा यहाँ पर्यटनको नयाँ सम्भावनाको ढोका खुल्ने उपप्रमुख मर्दनिया थारुले बताए । पहिलो दिन आज पाइलट हरि थापाले पहिलो उडान गरेका थिए । बालुवाडाँडाबाट गरिएको उडानको कावासोती–१ मा रहेको पोखरीतालमा सफल अवतरण गरिएको हो । बालुवाडाँडा क्षेत्रमा हावाको बाहव, उडान र अवतरण क्षेत्र सबै दृष्टिले प्याराग्लाइडिङको लागि उपयुक्त रहेको प्राविधिक एवं पाइलट हरि पहारी बताए । प्याराग्लाइडिङको लागि बालुवाडाँडा उत्कृष्ट स्थान बन्न सक्ने सम्भावना रहेको पहारीले बताए । बालुवाडाँडाको ९२७ मिटर उचाइबाट उडान भरिएको थियो । कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले अवतरणस्थल पोखरी ताल पुगेर पाइलट दललाई स्वागत गरेका थिए । सो क्रममा नगर प्रमुख पुनले कावासोती नगरपालिकामा पर्यटकीय दृष्टिले हरेक सम्भावना रहेको भन्दै योजना अगाडि बढाउने युवालाई धन्यवाद व्यक्त गरे । कावासोती नगरपालिकाले समेत पर्यटकीय क्षेत्रको विकासमा लगानी गर्दै आएको बताउँदै यसको थप व्यवस्थापनमा समेत लागि पर्ने बताए । कावासोतीका युवाले स्थानीय उमेश रानाको अध्यक्षतामा बालुवाडाँडा प्याराग्लाइडिङ युवा समूह गठन गरेर यहाँको सम्भावनाबारे अध्ययन र प्रक्रिया अगाडि बढाएका थिए । नागरिक उड्डयन प्राधिकरणबाट परीक्षण उडानको अनुमति प्राप्त भएपछि अवश्यक सहकार्यको लागि कावासोती नगरपालिकासँग अनुरोध गर्दा सकारात्मक सहयोग प्राप्त भएको समूहका सचिव विमल रानाले बताए । चालक दलले पाँच दिनसम्म परीक्षण उडान गर्ने छन् । नियमितरुपमा प्याराग्लाइडिङ्ग सञ्चालनको लागि कस्तो सम्भावना रहन्छ भन्ने अध्यन गरिने चालक प्राविधिक एवं चालक पहारीले बताए । आज बालुवाडाँडाकै फरक स्थानबाट परीक्षण उडान गरिने छ । यस्तै अवतरणका लागि समेत फरक फरक स्थानको पहिचान गरिने पहारीले बताए । पाँच दिनसम्म गरिने उडानपश्चात् यहाँ व्यावसायिकरुपमा प्याराग्लाइडिङ्गको सम्भावना के रहन्छ भन्ने यकिन हुने बताए तर पहिलो दिनको उडानले यहाँ प्याराग्लाइडिङ्ग सफल हुने देखिएको उनले बताए ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई कतार एयरवेजको टिकट किन्दा विशेष छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच बैंकका ग्राहकलाई हवाई टिकट किन्दा छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका कन्ट्रि म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड बाहक ग्राहकवर्गले अनलाइन बुकिङ्गमार्फत कतार एयरवेजको टिकट खरिदमा १० प्रतिशतसम्म छुट पाउने छन् । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकलाई लावान्वित गर्दै आएको छ । बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २४५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतकामुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

मन्त्रालय जाँदा पढाउन हिँड्या जस्तो हुन्छः सीईओ रेग्मी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले मन्त्रालयका मन्त्री र कर्मचारीहरुको कार्यशैली र दक्षतामाथि प्रश्न गरेका छन् । कोरोना भाइरसपछि यसले निम्त्याएका चुनौती र गरेका कामहरु सार्वजनिक गर्दै सीईओ रेग्मीले मन्त्रालयका मन्त्री र कर्मचारीको क्षमतामाथि प्रश्न उठाएका हुन् । उनले आफुले मन्त्रालयमा जाँदा पढाउन हिँड्या जस्तो महसुस हुने सुनाए । ‘कहिले मन्त्रीज्यू फेरिनु भएको छ, कहिले सचिवज्यू फेरिने सहसचिव ज्यू फेरिने, पूरानो कर्मचारी फेरिएका छन्, त्यही पूरानो काम गर्न लाग्यो भने फेरि नयाँ तरिकाले जानु पर्छ, अगाडि गरिसकेको कूरा बारम्बार त्यही कूरा भन्नु परेको छ, हामी नेपाललाई कता लिएर जाँदैछौं त्यो नै क्लियर छैन, भन्दा नराम्रो सुनिएला म मन्त्रालय जाँदा पढाउन हिँड्या जस्तो लाग्छ,’ उनले भने । कार्यक्रममा सरकारको नीतिको कारणले नै पर्यटक भित्र्याउन असहज भएको बताए । ‘हाम्रो नीति पर्यटकलाई बोर्डरमा अनावश्यक टर्चर दिने भयो, अनावश्यक सोधिखोजी हामी गर्छौं, यसो गर्दा पर्यटक नै त्रसन्छ, उत्यसपछि कहिल्यै पनि नेपाल फर्कने मनसाय गर्दैन, हामीले पर्यटकहको संख्या बढाउन पनि सिस्टम चेन्ज गर्न आवश्यक छ,’ उनले भने । पर्यटन कोर्ड सांस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्रालय अन्तगर्त छ । सीईओ रेग्मी बोर्डको नेतृत्वमा आएपछि दुई मन्त्री फेरिएका छन् । यसअघि सो मन्त्रालयका मनत्री योगेश भट्टराई थिए भने मन्त्रालयका सचिव केदार बहादुर अधिकारी थिए । हाल सो मन्त्रालयमा मन्त्रीका रुपमा भानुभक्त ढकाल आएका छन् भने सचिव यादव प्रसाद कोइराला आएका छन् । मन्त्री र सचिव नै नयाँ आएपछि आफुले गर्ने काम योजनाहरु पनि फेरि सुरुबाट सुनाउनु र बुझाउनु पर्ने बाध्यता आएको उनले कार्यक्रममा बताए । कोरोना भाइरस (कोभिड–१९) को एक वर्ष र कोरोनाले सिर्जना गरेका चुनौती र यो अवधिमा नेपाल पर्यटन बोर्डले गरेको काम कारवाहीका बारेमा जानकारी दिँदै सीईओ रेग्मीले नेपालमा पर्यटन उद्योग प्रवर्द्धक गर्नको लागि सरकारले जेजस्ता नीतिगत व्यवस्था तथा भाषणवाजी रगेपनि कार्यान्वयनमा भने सुस्त देखिएको पनि बताए । ‘हामीले यो एक वर्षको अवधिमा अध्ययन अनुसन्धान तथा सर्भे गरेका थियौं, जसमा ८३७ जना सर्भेमा सहभागी भएका थिए, हामीले अध्ययन गरे अनुसार हालसम्म डेढ खर्ब रुपैयाँ मात्रै पर्यटन उद्योगमा लगानी भएको छ, पर्यटन क्षेत्रमा ८५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ,’ उनले भने ।