नेपाल भित्रिने सम्पूर्ण नाकाबाट ‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग
काठमाडाैं । पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट प्रवेशाज्ञा (भिसा) अनअराइभल सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । निजी क्षेत्रसँग साझेदारी गरी पर्यटन प्रवद्र्धन गर्ने जिम्मा पाएको नेपाल पर्यटन बोर्डले सम्बद्ध सङ्घसंस्थासँग बृहत छलफल गरी भिसा प्रक्रिया सहज तुल्याई स्वास्थ्य मापदण्डलाई सरलीकरण गर्न तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गरेको हो । विद्यमान मापदण्डले नेपालको पर्यटन क्षेत्रको छवि अझ खस्किएको र अन्तराष्ट्रिय बजारमा पर्यटनको नकारात्मक सन्देश जानसक्ने खतरा औँल्याउँदै बोर्डले यथाशीघ्र केही शर्तहरु पुनरावलोकन गर्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ । व्यवसायीसँगको छलफल र सुझावपछि बोर्डले गरेको १२ बुँदे निर्णयमा हवाईमार्गबाट नेपाल भित्रिने यात्रुको हकमा हवाईयात्रा प्रारम्भ हुने पहिलो प्रस्थानविन्दुबाट ९६ घण्टाको अवधिमा गरिएको कोभिड–१९ नेगेटिभ रिपोर्ट अनिवार्य भएको हुनुपर्ने तर पाँच वर्षमुनिका बालबालिकाको हकमा यो नियम लागू नहुने व्यवस्था गर्न भनिएको छ । भारतीयबाहेक अन्य मुलुकका यात्रुले नेपाल आई पुनः कोभिडको परीक्षण गर्नुपर्ने र सो रिपोर्ट नेगेटिभ आएको खण्डमा क्वारेन्टिनमा बस्न नपर्ने, यात्रुको स्वाब सङ्कलन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने र २४ घण्टाभित्र पिसिआर रिपोर्ट दिने व्यवस्था मिलाइनुपर्ने उल्लेख छ । भारतीय नागरिकको हकमा नेपाल–भारत ट्राभल बबल सम्झौताअनुसार नियम यथावत राख्न सुझाइएको छ । भारतसँग जोडिएका सम्पूर्ण नाका खुला गरी स्थलमार्गबाट निजी तथा पर्यटकीय सवारी साधन लिएर नेपाल भित्रिने भारतीय तथा अन्य मुलुकका यात्रुको लागि ९६ घण्टा अवधिमा गरिएको कोभिड नेगेटिभ रिपोर्ट भएको हुनुपर्ने छ । स्थलमार्गबाट निजी तथा पर्यटकीय सवारी साधन लिएर नेपाल भित्रिने भारतीय यात्रुले यहाँ आई पुनः कोभिडको परीक्षण गर्नुपर्ने र सो रिपोर्ट नेगेटिभ आएको खण्डमा क्वारेन्टिनमा बस्न नपर्ने तथा यात्रुको स्वाब सङ्कलन नेपाल आएको नाकाबाट नै हुने र २४ घण्टाभित्र पिसिआर रिपोर्ट दिने व्यवस्था मिलाउन आग्रह गरिएको छ । त्यसैगरी कोभिडको खोप लगाएका यात्रीको हकमा खोप सर्टिफिकेट उपलब्ध गरेको खण्डमा पिसिआर रिपोर्ट नचाहिने, कोभिडको पुनः नेपालमा पिसिआर परीक्षण गर्न नपर्ने र क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गर्न भनिएको छ । नेपालका सम्पूर्ण पर्यटकीय गन्तव्य तथा सम्पूर्ण गतिविधि (होटल, यात्रा, पदयात्रा, हाइकिङ, रेस्टुरेन्ट, स्पा, ¥याफ्टिङ, प्याराग्लाइडिङ, घरवास कार्यक्रम, साहसिक गतिविधि, पर्यटकीय सवारी साधन, पार्टी प्यालेस, रात्रिकालीनलगायत) गतिविधि पूर्णरूपमा तोकिएको मापदण्ड अपनाएर सञ्चालन गर्ने माग गरिएको छ । पर्यटकको सुविधाका लागि नेपालभित्र आवश्यकता महसुस गरेमा होटल र अस्पतालले सहकार्य गरी प्रत्येक प्रदेशमा कोभिड केयर सेन्टर सञ्चालन गर्न सक्ने, नेपाल भित्रिने सम्पूर्ण यात्रुहरुको अनिवार्य यात्रा बीमा गरिएको हुनुपर्ने मापदण्ड तोकिएको छ । त्यस्तै नेपाल भ्रमणमा आउने पर्यटकलाई प्रवेशाज्ञा सिफारिस सम्बन्धमा पालना गर्नुपर्ने शर्तहरुमा भ्रमण तालिका, आगमन मिति, यात्रा बीमा र पदयात्राको हकमा ट्रेकिङ कम्पनीले तयार पारेको यात्रा तालिकाको लागि अन्य शर्त यथावत नै रहने रहेको छ । भ्रमण र ¥याफ्टिङको हकमा एजेन्सीले तयार पारेको आइटीनरी, व्यक्तिगत यात्रुको हकमा होटल बुकिङ, पदयात्राको हकमा ट्रेकिङ कम्पनीको यात्रा तालिका, गाइड र पोर्टको सुनिश्चितता हुनुपर्नेछ । उल्लेखित प्रमाण उपलब्ध गरेको आधारमा अध्यागमन विभागले सोझै पर्यटक भिसा दिने व्यवस्था मिलाउन बोर्डले अनुरोध गरेको छ । विदेशी पर्यटकका लागि विद्यमान स्वास्थ्य मापदण्ड सरलीकरणका लागि बोर्डले दुई दिनअघि पर्यटन व्यवसायीसँग छलफल गरेको थियो । सोही आधारमा बोर्डले ‘भिजिटर प्रोटोकल’ बनाएको हो । रासस
देशदर्शनद्वारा १२ कराेड लगानीमा काठमाडौं–पोखरा रात्रिकालीन पर्यटक बससेवा शुरु
काठमाडाैं । काठमाडौंबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा शुरुआत भएको छ । देशदर्शन बससेवा प्रालिले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि रात्रिकालीन पर्यटक बससेवा शुरु गरेको हो । कोभिड–१९ को सङ्क्रमणका कारण थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्नका लागि सो प्रालिले सोमबार रातिदेखि काठमाडौँ–पोखरा रात्रिकालीन बससेवा शुरु गरेको हो । काठमाडौंको बौद्धबाट साँझ ६.३० बजे छुट्ने पर्यटकीय बस पोखराबाट भने ७.३० बजेमात्र काठमाडौंको लागि छुट्नेछ । प्रालिका कार्यकारी निर्देशक श्रीकान्त आचार्यले १२ करोड लगानीमा १६ बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित सेवा प्रदान गरिएको जानकारी दिए । मुख्य–मुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर दिवा तथा रात्रिकालीन बससेवा सञ्चालन गरेको उनको भनाइ छ । प्रालिले यसअघि नै काठमाडौं–जनकपुर, काठमाडौं–सुनौली र काठमाडौँ–लुम्बिनी रात्रिकालीन पर्यटकीय बससेवा सञ्चालन गरिसकेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई बस चढ्नुअगाडि शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक यात्रुलाई मास्कको अनिवार्य व्यवस्था गर्ने, बसभित्र स्यानिटाइजर गर्नेलगायतका सम्पूर्ण व्यवस्था मिलाएको प्रालिका बजार व्यवस्थापक प्रल्हाद लोहनीले बताए । रात्रिकालीन बसको टिकट देशदर्शन बससेवा प्रालिको वेवसाइट, नेट पे, लक्जरियर्स ट्राभल्स र इसेवामार्फत प्राप्त गर्न सकिने उनको भनाइ छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण स्थगन गरिएको थियो । अहिले काठमाडौंबाट मुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर झण्डै १०० पर्यटकीय बसले दिवा तथा रात्रिकालीन बससेवा प्रदान गर्दै आइरहेका छन् । हाल काठमाडौंको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवन, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् । रासस
उदयपुरकाे बेलकामा व्यावसायिक प्याराग्लाइडिङ शुरु हुँदै
उदगपुर । उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ कोभिड–१९ को प्रभावले लामो समयसम्म रोकिन पुगे पनि अब चाँडै शुरु हुने भएको छ । नगरपालिकाका अनुसार एक वर्ष अघिनै मैनामैनीसहितको क्षेत्रलाई पर्यटन प्रवद्र्धन र विकास गर्ने लक्ष्यसाथ व्यावसायिक प्याराग्लाइडिङ थाल्ने योजना रहेको थियो । नगरपालिकाको पहलमा अहिले मैनामैनीको बोपताङडाँडा र चम्पाकोट डाँडाबाट व्यावसायिक रुपमा उडान गर्ने योजना अन्तिमचरणमा पुगेको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए । प्रमुख थापाका अनुसार अब चैतको अन्तिमसम्ममा मैनामैनीको बोपताङ र चम्पाकोट डाँडाबाट नियमित व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान गरेर सप्तकोशी किनारसम्म झर्न र पर्यटकलाई मनोरञ्जन दिनको लागि उडान कार्य तयारी हुन लागेको हो । यस अघिनै बेलकाको चैनामैनीस्थित चम्पाकोट र बोपताङ डाँडाबाट पटकपटक सो सम्बन्धी उडानको परीक्षण सफल भइसकेको बेलका नगरपालिकाले बताएको छ । बेलकाका पचास भन्दा बढी युवाले प्याराग्लाइडिङ सञ्चालन र उडानको तालीमसमेत लिएका छन् । प्याराग्लाइडिङ सञ्चालन र व्यावस्थापन गर्नको लागि नगरपालिकाको पहलमा सुनसरीको धरान, बेलका नगरपालिका र कास्की पोखराका केही उद्यमीहरुले रु तीन करोडसम्मको आर्थिक लगानी गरिसकेकोले व्यवस्थापन कार्य अन्तिमचरणमा पुगेको नगरपालिकाले बताएको छ । अहिले सप्तकोशी क्षेत्र भ्रमण गर्न, सुनसरीको बराह क्षेत्र र मैनामैनी भ्रमण गर्न प्र्रतिमहिना पाँच हजार भन्दा बढी पर्यटक आउन थालेको र कोभिड–१९ को सुधारसँगै पर्यटकको सङ्ख्या बढ्दै जान थालेको बताइएको छ । मैनामैनी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन भएपछि बेलकाको ऐतिहासिक, पर्यटकीयस्थल मैनामैनी क्षेत्र र रामपुर ठोक्सिला बजार तथा सप्तकोशी क्षेत्रमा पर्यटकको आगमन बढेर स्थानीय क्षेत्रमा पर्यटन विकासमा टेवा पुग्ने थापा बताउँछन् । प्याराग्लाइडिङ सञ्चालनको लागि पोखराका प्राविधिक र यस क्षेत्रका अन्य व्यवसायीले योजना अगाडि बढाएको व्यवसायी सुरेश राईले बताए । पोखरा, बेलका र सुनसरीका व्यवसायीले आर्थिक लगानीसहित तयारी गरेको संलग्न व्यवसायी कृष्ण कार्कीले बताए । रासस