संस्कृति र पर्यटनका विकास समितिको छाता कानून निर्माण गरिँदै
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आफूअन्तर्गतका विकास समितिको छाता विधेयकको मस्यौदा बनाउन सुरु गरेको छ । मन्त्रालयमा संस्कृतिसँग सम्बन्धित ११ र पर्यटनसँग सम्बन्धित १४ विकास समिति छन् । हालसम्म यी समिति गठन आदेशानुसार सञ्चालनमा छन् । छाता विधेयक पारित भई प्रमाणीकरणपछि गठन आदेश खारेज हुने मन्त्रालयका संस्कृति महाशाखा प्रमुख लक्ष्मी बस्नेतले राससलाई जानकारी दिइन् । विधेयकको प्रारम्भिक मस्यौदा तयार पारी २५ वटै समितिसँग छलफलसमेत गरिएको उनले बताइन् । समितिहरुसँगको अन्तक्र्रियापछि मस्यौदालाई संशोधन गरी कानून, न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयको राय सुझावका लागि पठाइने छ । दुवै मन्त्रालयको राय आएपछि मन्त्रिपरिषद्मा पठाइने मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्ले प्रक्रिया पूरा गरी विधेयक संसद्मा दर्ता गर्नेछ । संस्कृतिसम्बन्धी ११ समितिमा नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति, पाथीभरा क्षेत्र विकास समिति, बराह क्षेत्र विकास समिति, हलेसी महादेवस्थान विकास समिति, हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति छन् । यसैगरी बूढानीलकण्ठ क्षेत्र विकास समिति, बौद्धनाथ क्षेत्र विकास समिति, पाटन सङ्ग्रहालय विकास समिति, देवघाट क्षेत्र विकास समिति, भानु जन्मस्थल विकास समिति र बौद्धदर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति रहेका छन् । बूढानीलकण्ठ र भानु जन्मस्थल विकास समिति राज्य पुनर्संरचनापछि स्थानीय तहमा गए पनि पछिल्लो समय मन्त्रालयअन्तर्गत नै हुनुपर्ने माग स्थानीयस्तरबाट आइरहेको संस्कृति शाखा प्रमुख दुर्गाप्रसाद पोखरेलले बताए । पर्यटनसँग सम्बन्धित विकास समितिमा तारागाउँ विकास समिति, पर्यटन तथा होटल व्यवस्थापन समिति, पर्वतीय प्रशिक्षण विकास समिति, खप्तड क्षेत्र पर्यटन विकास समिति, राष्ट्रिय ताल संरक्षण विकास समिति, रुरु–रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति, विदेह–मिथिला क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, चिसापानी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, लुम्बिनी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, सिम्रौनगढ क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, सलहेश क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति र मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति गरी १४ वटा समिति रहेका छन् । छाता कानून निर्माणपछि मन्त्रालय अन्तर्गतका यी समितिलाई व्यवस्थापन एवं नियमन गर्न सहज हुने जनाइएको छ ।
सुर्खेतमा श्री एयरलायन्सको परीक्षण उडान शुरु
सुर्खेत । निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–सुर्खेत विमानस्थलमा परीक्षण उडान शुुरुआत गरेको छ । काठमाडौं–सुर्खेत सिधा परीक्षण उडान शुरु गरेको श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजले आज बिहान १०ः३५ मिनेटमा धावनमार्गमा अवतरण गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेश पन्थीले जानकारी दिए । “चालक भरतसिंह थापाको नेतृत्वमा जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेको हो”, उनले भने, “अब नियमित उडान गर्दा कतिसम्म भार बहन गर्न सकिन्छ भन्नेबारे एयरलाइन्सका प्राविधिकले अध्ययन गर्छन् होला ।” उनले २० देखि २२ डिग्री सेल्सियस तापक्रमसम्म क्षमताअनुसारको लोड ल्याउन सकिने चालकले जानकारी गराएको बताए । कार्यालय प्रमुख पन्थीका अनुसार जहाँजका लागि रनवे उपयुक्त रहेको तर नियमित उडानका लागि श्री एयरलायन्स कम्पनीले बजारको अवस्था अध्ययन गर्ने बताएको छ ।
सिरुबारीमा ११ महिनापछि खुल्यो घरबास
पोखरा । कोभिड– १९ का कारण बन्द पर्यटकीय गाउँ स्याङ्जाको सिरुबारीलगायतका होमस्टे (घरबास) ११ महिनापछि सञ्चालनमा आएका छन् । घरबास एशोसिएशन नेपालले आज पोखरामा पत्रकार सम्मेलन गरी स्याङ्जाका होमस्टे पाहुनाको आतिथ्यताको लागि तयार रहेको जानकारी दिएको हो । सिरुबारी सामुदायिक होमस्टेका संयोजक जुम गुरुङले जताततैका पर्यटकीय गन्तव्य खुलिसकेको अवस्थामा अब नेपालको पहिलो पर्यटकीय गाउँ सिरुबारीलगायतका घरबास पनि पाहुनालाई न्यानो आतिथ्यताले स्वागत गर्न आतुर रहेको बताए । उनले कोभिड –१९ का कारण ठप्प पर्यटन क्षेत्रलाई चलायमान बनाउन घरबास सञ्चालन गर्न आवश्यक रहेको औल्याए । पत्रकार सम्मेलनमार्फत गुरुङले पर्यटकलाई सिरुबारीलगायतका घरबासमा आउन आग्रह गरे । उनका अनुसार स्याङ्जाामा ४९ सामुदायिक होमस्टे रहेको छ भने एक रातमा दुई हजार पाहुनालाई राख्न सकिन्छ । सिरुबारीमा मात्र २३ वटा घरमा होमस्टे सञ्चालनमा छन् । एशोसिएशनका अध्यक्ष मोहन खनालले प्राकृतिक हिमशृङ्खला, सूर्योदयको सुन्दर दृश्यसँगै गुरुङ, मगर, नेवार र भुजेल जातिको सांस्कृतिक गतिविधिलाई नजिकबाट नियाल्न र गाउँलेको न्यानो आतिथ्यतमा रमाउन स्याङ्जाका होमस्टे उत्कृष्ट रहेको बताए । उनका अनुसार कोभिड अगाडि उक्त स्थानमा वार्षिक करीब ११ हजार पाहुना पुग्ने गरेका तथ्याङ्क छ । स्याङ्जा पर्यटन विकास समितिका अनन्तकुमार श्रेष्ठले सिरुबारीलगायतका होमस्टे सञ्चालनसँगै हरेक महिना एक एक वटा कार्यक्रम सञ्चालन गर्दै जाने बताए । उहाँले माघ २७ गते सिरुबारीको आँधिखोला गाउँपालिका–ं १ मा गाउँपालिका परिचयात्मक भ्रमण, फागुन २७ गतेदेखि २९ गतेसम्म बालिङ नगरपालिका– ४ कुलमान घिसिङ झरनामा क्यानोनिङ महोत्सव तथा मैत्रीपूर्ण प्रतियोगिता र चैत २७ गते सिरुबारीमा होमस्टेमा कोभिड –१९ को प्रभावको बारेमा अन्तक्र्रिया कार्यक्रम तय गरिएको जानकारी दिए । कार्यक्रममा आन्तरिक पर्यटन पुनरुत्थानका संयोजक अग्नि कँडेलले गाउँ पर्यटनको अग्रणी सिरुबारी देशकै नमूना होमस्टे भएकाले यहाँबाट अन्य होमस्टेले धेरै कुरा सिक्न सक्ने बताए । उनले पछिल्लो समय आन्तरिक पर्यटकका कारण ग्रामीण पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताउँदै पर्यटन प्रवद्र्धनका लागि सबैले आ–आफ्नो ठाउँबाट जागर चलाएर अघि बढ्नुपर्ने धारणा राखे । उनले पछिल्लो समय होमस्टेमा शहरबजारबाट लगिएका खानेकुराले स्थानीय स्वादलाई विस्थापित गरिरहेको उल्लेख गर्दै घरबासमा स्थानीय उत्पादनमा जोड दिएर पाहुनालाई आर्कषित गर्नुपर्ने उनको भनाइ थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिड– १९ का कारण मानिस शान्त र प्राकृतिक वातावरणको खोजीमा रहेको उल्लेख गर्दै गाउँ पर्यटनमा आर्कषण बढेको बताए । उनले कृषि र पर्यटनलाई जोडेर स्थानीय उत्पादनको स्वाद र स्थानीय रहनसहन संस्कृतिलाई घरबास कार्यक्रममा बढी जोड दिनुपर्ने बताए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले ग्रामीण पर्यटन प्रवद्र्धन गर्न र घरबासको बारेमा सही सूचना दिन पर्यटन बोर्डले मोबाइल एप्स तयार गर्न लागेको जानकारी दिए । रासस