प्रधानमन्त्री ओलीद्वारा ‘प्रदेश गौरव भिलेज’को उद्घाटन, चालु आवमै ५०० घर हस्तान्तरण गर्ने

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को आज उद्घाटन गरका छन् । बिर्तामोड-७ मा निर्मित सो ‘भिलेज’मा ३७ आवासगृह छन् । भद्रपुरका धनजुजु श्रेष्ठ र कमला श्रेष्ठले निःशुल्क प्रदान गरेको एक बिघा तीन कठ्ठा जग्गामा प्रदेश नम्बर १ सरकार, नगरपालिका, ह्याबिटाट नेपाल र सहारा नेपालको १४ करोड ८० लाख रूपैयाँका लागतमा ग्राम निर्माण गरिएको थियो । नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले सो बस्तीमा अतिविपन्न कुर्मी र सन्थाल समुदायका परिवारलाई बसोबास गराइएको जानकारी दिए । उनका अनुसार हालसम्म नगरपालिकाभित्र ३०६ घर निर्माण गरेर विपन्न समुदायलाई हस्तान्तरण गरिसकिएको छ । चालु आर्थिक वर्षमा ५०० घर निर्माण गरेर हस्तान्तरण गर्ने योजनानुरुप २०६ घर निर्माणाधीन रहेको उनले बताए । रासस

युवालाई सहकारीमार्फत वन तथा वातावरण क्षेत्रमा जोडौं- वनमन्त्री आले

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सहकारी उद्यमशिलतामा अवरोध पुर्याउने ऐनहरुलाई संशोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा युवा समावेशिता विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै साे बताएका हुन् । ‘प्रधानमन्त्री केपी ओलीसँग भेटेर छिटो भन्दा छिटो ऐनहरु संशोधन गर्नका लागि छलफल गर्नेछु । सहकारीलाई यस सरकारले महत्वका साथ लिएको छ । यसमा तपाईहरु ढुक्क हुनुस् ।’, उनले भने । उनले प्रधानमन्त्री जडिबुटी खेती कार्यक्रमलाई सहकारीमार्फत संचालन गर्नका लागि मन्त्रालयले नीतिगत व्यवस्था गर्ने समेत जिकिर गरे । ‘वन तथा वातावरणमा पनि सहकारीमार्फत युवालाई जोड्न सकेको खण्डमा दिगो हुन्छ भन्ने विषयमा छलफल भएको छ । सहकारीमा रहेका युवालाई वन तथा वातावारणको संरक्षणमा समेत जोड्ने गरी नीतिगत व्यवस्था गर्नका लागि सहकारीसँग बसेर छलफल गर्न सकिन्छ ।’ उनले भने । युवा उद्यमशिलता विकासका लागि सहकारीलाई परेको अप्ठ्यारो फुकाउँदै अगाडि बढ्न सरकार तयार भएको बताए । महासंघका अध्यक्ष मिनराज कडेलले सहकारीले भोकमरी र गरिवी निवारण गर्ने कार्यमा सहकारीको योगदान रहेको बताए । उनले युवा स्वरोजगार सिर्जनाका लागि सहकारीको योगदान बृद्धि गर्न अभियान लागि परेको बताए । महासंघका निवर्तमान अध्यक्ष केशव बडालले सहकारीले युवामा उद्यमशिलता क्षमता बृद्धि गर्नुपर्नेमा जोड दिए । उनले देश विकास युवाको सिर्जनात्मक उद्यमशिलताबाट मात्र सम्भव भएको बताए । महासंघका संचालक तथा युवा उपसमित संयोजक सागर ढकालले निजी क्षेत्रबाट व्यवसाय संचालन गर्न सजिलो भए पनि सहकारीमार्फत व्यवसाय संचालन गर्न कठिन भएको बताए । उनले सदस्यलाई प्रोजेक्ट बेसमा ऋण दिनसक्ने अवस्था बनाउनुपर्ने बताए । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङले सहकारीको नेतृत्व तहमा युवा समावेश गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा आइएलओका कन्ट्री डाइरेक्टर नविन कर्णले सहकारीमार्फत उद्यमशिलता प्रवद्र्धनका लागि युवाको भूमिका विषय कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यक्रमको अध्यक्षता महासंघका लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले गरेका थिए । त्यसैगरी कार्यक्रममा युवा उद्यमीहरु अर्वान गलकी निकिता आचार्य, खालीसीसीकी आयुसी केसी र अन्तरप्रेरणाका निरज खनालसँग सहकारीमा युवा अभ्यास, संम्भावना तथा चुनौतीहरुसम्बन्धी व्यवहारिक अनुभव आदान प्रदान गरिएको थियो ।

रिठेपानी डाँडा ६ महिना भित्र कटान गर्न सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निकट रहेको रिठेपानी डाँडा ६ महिना भित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रिय सभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको बिहीबारको बैठकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका समस्याहरुको सम्बन्धमा सरोकारवालासँग छलफल गरेपछि विमानस्थलको दक्षिण पूर्वमा रहेको रिठेपानी डाँडा कटान गर्ने कार्य आगामी ६ महिना भित्र सम्पन्न गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न समेत मन्त्रालयलाई निर्देशन दिएका छन् । ‘आजको छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निकट रहेको रिठेपानी डाँडा ६ महिना भित्र कटान गरी प्रगति विवरण समितिमा पेस गर्न निर्देशन दिने निर्णय गरियो ।’, उनले भने । समितिको बैठकले विमानस्थल भित्र निर्माण गर्न लागिएको नेपाल आयल निगमको डिपो निर्माण गर्ने कार्यपनि ६ महिना भित्र सम्पन्न गरी समितिमा जानकारी गराउन निर्देशन दिएको छ । सभापति भट्टले भने ‘नेपाल आयल निगमको डिपो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ महिना भित्र काम सम्पन्न गरी समितिलाई जानकारी दिने निर्णय भयो ।’ यस्तै पोखरा महानगरपालिकाको ल्याण्डफिल्ड साइट सार्ने सम्बन्धमा समितिले महानगरपालिकासँग छलफल गर्ने निर्णय समेत गरेको छ । समितिले विमानस्थल निर्माणका बाँकी रहेका सबै काम समयमै सम्पन्न हुने अपेक्षा समेत गरेको छ । सबै काम छिटो भन्दा छिटो सम्पन्न गर्न सम्बन्धित सबै मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको पनि सभापति भट्टले बताए । ‘आज उठान भएका र थाल्न शुरु भएका काम अगाडि बढिराखेको छ । त्यो छिटो भन्दा छिटो सम्पन्न होस । यी सबै विषयहरु समाधान हुने छ भन्ने समितिले अपेक्षा र निष्कर्ष गरेको छ । अन्तमा आ–आफ्नो मन्त्रालयले गर्नुपर्ने बाँकी रहेका कार्यहरु छिटो भन्दा छिटो सम्पन्न गर्न सम्बन्धित सबैलाई समिति निर्देशन दिन्छ ।’, उनले भने ।