अविस्मरणीय पश्चिम यात्रा
काठमाडौं । फरक परिवेशमा मनमा अनेक कुतूहलता लिएर यात्रा गर्दाको मज्जा बेग्लै हुन्छ । जीवन सोचे झै छैन र त सोचे जस्तै बनाउन प्रयासरत रहन्छ मान्छे । जीवनमा सम्झनाका अनेक क्षणहरु आउँछन्,चाहे ती तिता हुन् या मिठा । खै रहस्यमय मानव जीवनलाई चर्चा गर्ने आ–आफ्नै तरिकाहरु भएपनि यात्राका रुपमा चर्चा गर्नेहरुप्रति सहभाव राख्न विवस तुल्याउँछ बेला बखत आउने यस्तै यात्राको सन्दर्भले । यात्राका सबै क्षणहरु सहज हुँदैनन् तर त्यही असहजता भित्र सहज परिस्थितिको सिर्जना गर्न सके लाग्छ जीवन यात्राका कुनैपनि क्षण निरस बन्दैनन् । सम्झनाका अनेक तरेलीहरुमा तरंगिएर प्रकृतिका मनमोहक, सुन्दर परिवेश नियाल्न गरिने यात्राहरु साँच्चै जीवन्त बनेर रहन्छन् । शिशिरको अन्त्यसँगै वसन्त ऋतुले दैलो अघार्ने प्रयत्न गर्दै गरेको समय । रुखहरुमा अङ्कुराउँदै गरेका पालुवाहरुसँगैको हरियाली दृश्य नियाल्दै डाँडापाखामा फुलेका लालीगुराँस र त्यसमा भुलेका भमराहरु सरी प्रकृतिको सुन्दर परिदृश्यमा लिप्त हुन चाहन्छ मान्छे । भौतिक सुख सुविधा जति नै भएपनि त्यसबाट प्राप्त हुने आनन्दको क्षण भन्दा प्रकृतिको विचरणबाट प्राप्त हुने आनन्द कम नहुने यथार्थलाई कहाँ नकार्न सकिन्छ र ? आजको मान्छे यो भिडभाड र सहरमुखी परिवेशबाट एकैछिन भएपनि प्रकृतिका सुन्दरतामा आफूलाई भुलाएर दुःख भुल्दै आनन्दको सास फेर्न चाहन्छ । हो तिनै यात्रीय क्षणहरुमध्येको यात्रा हो पश्चिम नेपालको चार दिने हाम्रो यात्रा । पोखराको नयाँबजारमा अवस्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा फागुन २१ देखि २४ गतेसम्म भएको अवलोकन भ्रमणको सन्दर्भ जोड्दै छु म यति बेला । ७० जना सेयर सदस्यको टोली हामी बिहान ७:३० बजे पोखराबाट पश्चिम नेपालको महाकाली सम्मको यात्रामा निस्कियौँ । पूर्वी नेपालका विभिन्न ठाउँहरुको भ्रमण गरिसकेको भएपनि पश्चिम नेपालको यात्रा मेरा लागि पहिलो पटक भएकाले मनमा विशेष उल्लास थियो । कस्तो होला पश्चिम नेपालको चित्र ? विभिन्न कल्पनाले डेरा जमाएको थियो मनमा । थोरै मात्र परिचित अनुहार थिए समूहमा । अपरिचत अनुहारसँगै परिचित हुँदै एक साथ यात्रा गर्दा झन् छुट्टै आनन्दको अनुभूति हुँदो रहेछ । संस्थाको नाम जस्तै काम फरक परिवेशका मित्र मिलन ।पृथ्वी राजमार्ग वरपरको सुन्दर परिवेश नियाल्दै तनहुँको गुणादी पुगेर खाजा खाएपछि हाम्रो बस सिधै नवलपुरमा रहेको सिजि धाममा गएर रोकियो । साँच्चै सुन्दर र मनमोहक सिजि धामले जो कोहीलाई पनि लोभ्याउँछ । टोलीमा पहिलो पटक सिजिधाम पुगेका सबै मख्ख थिए । नेपाली परिवेशमा रहेका धेरै धामको तत् स्थानमा गएर दर्शन गर्न नसक्नेहरुका लागि धेरै तीर्थ स्थलको वस्तु र विषय सङ्कलन गरेर सहज दर्शनको मौका मिलाइ दिएको छ, चौधरी ग्रुपद्वारा निर्मित यो धामले । व्यवस्थित यस धाममा हिन्दु र बुद्ध धर्मसँग सम्बन्धित विविध विषयवस्तुको सुन्दर संयोजन पाइन्छ । भनिन्छ सुन्दरता पदार्थमा होइन नजरमा हुन्छ । जुन वस्तुप्रति जस्तो दृष्टिकोण राख्यो उस्तै लाग्छ । वास्तविकता त त्यही हो तर सबै नजरका लागि यो परिवेश रोचक र आकर्षक नै लाग्छ भन्न मन लाग्यो नियालेपछि । डन्डा नजिक पुगेर खाना खाएपछि बसमा दोहोरी खेल्दै नाच्दै यात्रा अगाडि बढ्यो । बर्दियाको बाँसगढीमा रहेको होटल अतिथि पुग्दा रातको एक बजिसकेको थियो । एक बजे खाना खाएर सुतेपछि भोलिपल्ट तत् स्थानमा रहेको केदारेश्वर महादेव मन्दिर अवलोकन गरियो । मन्दिर परिवेशसँगै त्यहाँ रहेको दृश्यावलोकन टावर अनि ठूलो डमरु माथि ठड्याइएको विशाल शिवलिङ्ग त्यहाँको विशेष आकर्षण रहेछ । नयाँ परिवेश धेरैको मनमा कौतुहलता थियो कस्तो होला पश्चिम नेपाल । मनको खुल्दुली मेटाउनका लागि पर्खाइको घडी अब लामो थिएन । यात्रामा दुवै बसका यात्री अगाडि बढ्यौं । बर्दिया राष्ट्रिय निकुञ्ज परिवेश, मृग जरायो मयूर जस्ता पशुपंक्षीहरु अवलोकन गर्दै बबई ड्राइभर्सन, बगरमा पसारिएका घडियाल गोही, कछुवा नियाल्दै चिसापानीस्थित कर्णाली नदीमाथि बनेको आकर्षक पुल वारि पुगेर हामी रोकियौँ । सबै जना झरेर सामूहिक तस्विर लिएसँगै पैदल त¥यौँ कर्णाली पुल । कोरोना कहरले सीमिततामा खुम्चिएको तन, मन नवीन परिवेशमा पुग्दा आह्लादित बनिसकेको थियो । चिसापानीस्थित सिद्धबाबा गेस्ट हाउसमा स्वादिष्ट भोजन ग्रहण गरियो दिउँसो १ बजे । साथीहरुले कर्णालीको माछाले स्वाद फेरे । त्यसपछि २ बजे टोली अगाडि बढ्यो । कैलालीको टीकापुर वृहत्त उद्यानसँगै घोडाघोडी ताल नियाल्दै हामी भुल्यौ केही बेर यही परिवेशमा । सीमसार क्षेत्र घोडाघोडी ताल परिवेश साँच्चै सुन्दर र मोहक रहेछ । त्यसपछि हामी बासका लागि पुग्यौ कञ्चनपुरस्थित होटल चेतनमा । बेलुकी ८ बजे त्यहाँ पुगेर विश्राम लिएका हामी सबै होटलको आतिथ्यता र सुविधा देखेर चकित भयौँ । भोलिपल्ट विहान ८ बजे हामी यात्राको मुख्य गन्तव्य महाकाली नदीमाथि बनेको आकर्षक पुल र नदी पारि रहेको दोधारा चाँदनी नगरपालिका क्षेत्र अवलोकनका लागि त्यसतर्फ लाग्यौँ । आँखाले हेरेर नभ्याउने महाकाली नदी माथिको १.५ किलोमिटरको झलुङ्गे पुल विशेष लाग्यो । आधा घण्टा लगाएर पुल तरेपछि हामीले रिक्सामा दोधारा चाँदनी परिवेश घुम्यौँ । इमानदार, सोझा स्थानीयको बोलीवचनसँगै त्यहाँको परिवेश साँच्चै लोभलाग्दो लाग्यो । देशको पश्चिमी सीमा घुमेर फर्कियौँ हामी मनभरि नेपाल सजाउँदै । चिसापानीमै आएर दिनको तिन बजे खाना खाएपछि हाम्रो टोली बर्दिया राष्ट्रिय निकुञ्ज परिसरमा रहेको ठाकुरद्वारा नगरपालिकास्थित खाता जैविक मार्ग होम स्टे डल्लागाउँमा बासका लागि पुग्यौँ । सांस्कृतिक कार्यक्रम भएको सामुदायिक भवनको सभाहलको भित्तामा विभिन्न जीवजन्तुका तस्विर सहित लेखिएको ‘‘ बाँच्न देऊ सृष्टि थाम्छु मारे एक छाक जीवित रहे पाहुना डाक्छु डलर दिन्छु लाख ।। लोप हुँदै छु संसारबाटै कसले बचाइ देला पछुताउँछौ मानव तिमी भयो सोच्ने बेला ।।’’ यी चार हरफले मेरो ध्यान खिच्यो । यथार्थ बोलेको प्रस्तुत कवितांशले मन छोयो । पञ्चकन्या सहितको विशेष आतिथ्यता ग्रहण गरी बेलुका हामी थारु नृत्यमा झुम्यौँ । त्यहाँको संस्कृति, परिवेशसँगै होम स्टे सञ्चालन, व्यवस्थापन समितिका सचिव शालिकराम चौधरीले ओझेलमा परेको डल्ला क्षेत्र होम स्टे सञ्चालनसँगै महानायक, मिस नेपाल समेतको आगमनले चर्चामा रहेकोमा खुसी प्रकट गरे । साँच्चै होम स्टे सांस्कृतिक आदान प्रदानको उत्कृष्ट थलो मात्र नभई दुःख बिसाउने चौतारी बन्दो रहेछ । स्थानीय स्तरको आर्थिक समृद्धिका लागि पनि यसले सघाउनेमा विश्वस्त बने म । फिँजारिएको क्षेत्र,सरल स्थानीय र तिनको सक्रियता साँच्चै गजबको थियो । मेरा लागि होम स्टेको बसाइँ पहिलो पटक भएकाले पनि विशेष लाग्यो, स्मरणीय बन्यो । फागुन २४ गते हामी डल्लाबासीको न्यानो आतिथ्यता मनभरि सँगाल्दै फर्कियौँ । फर्कदा कार्यतालिका बमोजिम हामीले ठाकुरबाबा नपा–१ भुरीगाउँ, बर्दियामा रहेको हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारीको अवलोकन पनि गर्याैँ । दुई पटक उत्कृष्ट सहकारी अवार्ड जितिसकेको यस सहकारीले मुख्य कार्यालयसँगै नौ वटा सेवा केन्द्र मार्फत सेवा दिँदै आएको संस्थाका कार्यकारी अधिकृत गणेश थापाले जनाए । संस्थाको सेयर सदस्य बिमा, ऋणी बिमा, लगायत कोखदेखि शोकसम्म कार्यक्रम प्रभावकारी लाग्यो । करिब ९ हजार सदस्य रहेको यो सहकारीले साँच्चै सदस्य मैत्री कामसँगै सामाजिक सेवाका काममा समेत अग्रसरता देखाउँदै आएको दृश्य सामग्री हेरेपछि अनुभूत भयो । करिब ३९ करोड चुक्ता पुँजी रहेको नेफ्स्कुनमा आबद्ध यस संस्था उदाहरणीय लाग्यो हामीलाई । दिउँसो दुई बजे नेपालगञ्ज बसपार्कमा खाना खाएपछि हामीहरु जोगबनी नाका पार गरी भारतको रुपडिया गयौँ । नेपाली सीमाको चेकजाँच र भारततर्फको चेकजाँच निकै फरक लाग्यो । नेपाल तर्फको फितलो चेकजाँच कै कारण पनि नेपाली चेलीहरु सहजै बेचिन पुग्दा रहेछन् भन्ने अनुभूत भयो । साथीहरुले आवश्यक किनमेल गरेपछि बेलुकी ६ बजे हाम्रो समूह पोखरा फर्कने तरखरमा लाग्यो । सिद्धार्थ राजमार्ग हुँदै १४ घण्टाको रात्री सफरपछि बिहान हामी सकुशल पोखरा आइपुग्यौँ । केही साथीहरुको नयाँ ठाउँ घुम्ने भन्दा पनि खानपान मै भुल्ने बानीले घुम्नै पर्ने केही ठाउँ छुटेको गुनासो केही सहयात्रीहरुले गरे । समय व्यवस्थापन उचित तबरले नहुँदा कही कतै असहज महशुस भएपनि अवलोकन भ्रमण फलदायी र अविस्मरणीय नै बन्यो । संस्थाका सल्लाहकार हँसिला, रसिला दण्डपानी बरालको हस्यौली, ठट्यौली मिठा गफ, निवर्तमान अध्यक्ष भरत भट्टराई र सहचालक दाजुको नृत्य, संस्थाका प्रमुख, मित्र किरण अधिकारीसहितका साथीहरुको टिकटक डान्स, साथी प्रतीकको मादल ताल, अपरिचित– दोहोरीमा बाटुली उपनाम पाएकी सङ्गिनीसँगको दोहोरी, मायालु आमाहरु, केही लजालु केही चञ्चल मुहार आदि सबै सम्झनलायक किस्सा हुन् यात्राका । आयोजना र व्यवस्थापनको भूमिका निभाउनु हुने साकोसका अध्यक्ष मित्र रमण पौडेल, कार्यसमितिका साथीहरुसँगै साथ दिएर भ्रमण सभ्य र भव्य बनाउनुहुने सम्पूर्ण सेयर सदस्यप्रति पङ्क्तिकार आभारी छ ।
अझै सुनसान छ घोडेपानी–पुनहिल, १०० बढीले गुमाए राेजगारी
घोडेपानी । फागुन–चैत–वैशाखको मौसममा म्याग्दीको अन्नपूर्ण–६ घोडेपानीको सन्नी होटलका सञ्चालक सन्नी पुनलाई खाना खाने फुर्सद पनि हुँदैनथ्यो । एक वर्षयता सन्नी मात्र नभएर घोडेपानीका सबै होटल व्यवसायी फुर्सदिलो भएका छन् । ‘कोरोना र बन्दाबन्दीले बन्द भएको होटल गत माघदेखि खुले पनि अझै तङ्रिन सकेको छैन’, उनले भने, ‘खाली होटल रुँघेर बसेका छौँ । आन्तरिक पर्यटक फाट्टफुट्ट आएका छन् । त्यकिो भरमा चल्न गाहे छ ।’ विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गत वर्षको चैत महिनादेखि गरिएको बन्दाबन्दी खुलेपछि धेरै क्षेत्र पुरानै लयमा फर्किन थालेका छन् । पर्यटन व्यवसाय भने अझै तङ्रिन नसकेको घोडेपानीको स्नोल्याड होटलका सञ्चालक सुशील पुनले बताए । विगतका वर्षमा यतिबेला पर्यटकले भरिभराउ हुने पर्यटकीयस्थल र त्यहाँका होटलमा यसपालि फागुन सकिनै लाग्दा फाट्टफुट्ट आएका स्वदेशी पाहुना मात्र भेटिन्छन् । ‘विदेशी पर्यटकको आगमन शून्य छ’, पुनले भने, ‘स्वदेशी पर्यटकको आगमन अपेक्षाकृत हुन सकेको छैन ।’ घोडेपानीमा बास बसेर पुनहिल घुम्न जाने पर्यटकको एका बिहानै लाम लाग्दथ्यो । समुन्द्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा अवस्थित घोडेपानीमा २५ वटा सुविधा सम्पन्न होटल छन् । इलाका प्रहरी कार्यालय घोडेपानीका अनुसार यहाँ वार्षिक ५० हजार जना भन्दाबढी विदेशी पर्यटक आउँथे । बन्दाबन्दीका कारण होटल बन्द भएपछि त्यहाँ काम गर्ने १०० जनाभन्दा बढीको रोजगारी गुमेको छ । दुई अर्बभन्दा बढीको लगानी भएको घोडेपानीको होटल व्यवसाय सङ्कटमा परेको छ । भूकम्प, हुद्हुद आँधी र नाकाबन्दी हुँदा पनि अहिलेको जस्तो सुनसान थिएन घोडेपानी । विगतमा भिडभाड भएर होटलमा कोठासमेत पाउन मुस्किल पर्ने घोडेपानी यसपाली सुनसान र शान्त रहेको पोखराबाट घुम्न आएका मनोज क्षेत्रीले बताए । ‘लामो समय घर र बजारमा थुनिएर बस्नुपर्दा दिक्क भएकाले घुम्न आएको हो’, उनले भने, ‘शान्त वातावरणमा प्रकृतिको सौन्दर्यमा रमाउन पाउँदा फूर्तिलो भएको महशुस भयो ।’ यतिबेला घोडेपानी–पुनहिल क्षेत्रको वातावरण बढो मनमोहक छ । जङ्गलमा गुराँस फुल्न थालेको छ । गण्डकी प्रदेशकै ठूलो गुराँसको जङ्गल घोडेपानीमा छ । यहाँको जङ्गलमा रातो, सेतालगायत नेपालमा पाइने ३२ मध्ये १६ प्रजातिका गुराँस पाइन्छ । समुन्द्री सतहदेखि तीन हजार ३१० मिटर उचाइमा अवस्थित पुनहिलबाट सूर्योदय, हिमाल र गुराँसे जङ्गलको अवलोकन गर्न सकिन्छ । पोखराबाट घोडेपानी घुम्न आएका रमेश श्रेष्ठले पर्यटन र होटल व्यवसायीले आन्तरिक पर्यटकलाई लक्षित गरेर प्याकेज ल्याउनुपर्ने बताए । ‘नेपालको पर्यटन व्यवसायको भरथेग गर्ने भनेको अब आन्तरिक पर्यटकले नै हो’, उनले भने, ‘विदेशीलेभन्दा नेपालीले खर्च पनि बढी खर्च गर्छन् तर व्यवसायीले त्यहीअनुसारको व्यवहार गर्न र सुविधा दिन सक्नुप¥यो ।’ पर्यटन र होटल व्यवसायलाई पुनःजीवन दिन घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई लक्षित गरेर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गरिएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताउनुभयो । पोखरे बगर हँुदै घोडेपानी जोड्ने सडक निर्माण भएकाले गाडीबाटै घुम्न आउन सकिने उहाँले बताउनुभयो । पर्यटक आगमन ठप्प हुँदा अन्नपूर्ण गाउँपालिकाको चालू आर्थिक वर्षको आन्तरिक आम्दानी प्रभावित भएको छ । पर्यटकीयस्थल घोडेपानी, पुनहिल र तातोपानी कुण्डको प्रवेश शुल्क उठाउन नपाएपछि गाउँपालिकाको रु एक करोडभन्दा आम्दानी गुमेको हो । गत आव २०७६/७७ मा घोडेपानी–पुनहिल प्रवेश शुल्क र त्यहाँ चिया पसल सञ्चालनका लागि रु ६५ लाखमा ठेक्का लगाएको थियो । यसैगरी तातोपानी कुण्डको प्रवेश शुल्क उठाउन र त्यहाँ रेष्टुरेन्ट चलाउन ५५ लाखमा ठेक्का लगाएको थियो । घोडेपानी पुनहिल भ्रमण र तातोपानी स्नानका लागि नेपालीलाई प्रतिव्यक्ति ५० र विदेशीलाई १०० प्रतिव्यक्ति शुल्क तोकिएको छ । यस वर्ष पर्यटक आगमन नभएपछि पर्यटकीयस्थलको प्रवेश शुल्क उठाउने ठेक्का लगाउन नसकिँदा आयस्रोतमा असर परेको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । गत असारमा भएको गाउँसभाले घोडेपानी पुनहिल र तातोपानीको ठेक्काबाट १५/१५ लाख आम्दानी गर्ने लक्ष्य राखेको थियो । आर्थिक वर्षको आठ महीनासम्म पर्यटक गतिविधि चलायमान हुन नसकेपछि गत हप्ता भएको गाउँसभाले तातोपानीबाट रु एक लाख र घोडेपानीबाट ५० हजार आम्दानी हुने गरी बजेट संशोधन गरेको छ । एक लाख ५० हजार आम्दानी गर्ने लक्ष्य राखिएको रातोपानी र पाउद्वार तातोपानी कुण्डबाट १५/१५ हजार र ५० हजार आम्दानी हुने अनुमान गरिएको सेकार्कु तातोपानी कुण्डबाट पाँच हजार आम्दानी हुने गरी करको दर घटाएको छ । अमानतमा तोकिएको रकम बुझाएर शुल्क बुझाउनेलाई जिम्मेवारी दिने गाउँपालिकाले जनाएको छ । पर्यटकको प्रवेश शुल्क अन्नपूर्ण गाउँपालिकाको मुख्य आन्तरिक आयस्रोत हो । यस वर्ष कोरोनाले आम्दानीसँगै सो परिचालन गरेर हुने विकास गतिविधिसमेत प्रभावित भएको अध्यक्ष पुनले बताए । रासस
२२ वटा बसमा बैंक अफ काठमाण्डूको ‘क्यूआर कोड’ सुबिधा, भाडा तिर्न पैसा बोक्नै नपर्ने
काठमाडौं । बैंक अफ काठमाण्डूले डिजिटल कारोबार विस्तारित गर्न विभिन्न बस सेवामा क्यूआर कोड सेवा शुरु गरेको छ । बैंकले पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा भाडा संकलनार्थ क्यूआर कोडको सेवा शुरु गरेको हो । फागुन २८ गते भएको उक्त कार्यक्रममा बैंक अफ काठमाण्डूको प्रदेश नं १ को प्रादेशीक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधिलाई क्यूआर कोड हस्तान्तरण गरेका हुन् । यस सेवाको शुभारम्भसंगै पूर्वी नेपाल यातायातमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुँदै बिराटनगर र धरानसम्म यात्रा गर्ने ग्राहकले बसमा राखिएको बैंक अफ काठमाण्डूले हस्तान्तरण गरेको क्यूआर कोडलाई स्क्यान गरी बस भाडा भुक्तानी गर्न सक्नेछन् । साथै, कंकाई माई पाथीभरा यातायातद्वारा सञ्चालित ७ वटा बसहरुले काँकडभिट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुँदै बिराटनगर र धरानसम्म बस सेवाको सुबिधा दिईरहेकोमा अब उपरान्त् यस बस सेवा प्रयोग गर्ने सबै ग्राहकले क्युआर कोड स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सक्नेछन् । साथै, यस बैंकद्वारा राखिएको क्यूआर कोड छोटो दुरीको यातायात सेवाहरुमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म सञ्चालित हुने सुपर जनसेवा यातायात समितिका ५ बसहरुमा क्यूआर कोड स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सकिनेछ । सेवाग्राहीले टिकट काउन्टरमा टिकट दर्ता गरी भुक्तानी गर्दा वा सिधै बसमा नै भाडा भुक्तानी गर्दा बैंकद्वारा हस्तान्तरण गरीएको क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । बैंकले हालसम्म ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । यससंगै बैंक अफ काठमाण्डूले आफ्ना शाखा कार्यालयलाई परिचालन गरी देशका विभिन्न व्यापारिक तथा अन्य स्थानहरुमा क्यूआर कोड राखी डिजिटल कारोबारको लागी ग्राहकलाई उत्प्रेरित गरिरहेको छ ।