आरोहीको स्वास्थ्यमा ख्याल गर्न आधार शिविरमै डाक्टर पठाउँदै सरकार
काठमाडौं । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणमा सगरमाथा आधार शिविरमा सरकारी डाक्टर जाने भएका छन् । पर्यटन विभागले वसन्त यामको आरोहणमा पहिलो पटक सगरमाथा आधार शिविरमा सरकारी डाक्टर पठाउने तयारी गरेको हो । पर्यटन विभागको आग्रह अनुसार स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले पहिलो पटक दुई जना सरकारी डाक्टरलाई आधार शिविरमा पठाउने गरी विभागमा खटाइसकेको छ । आरोहणको सिजनमा पहिलो पटक सगरमाथा आधार शिविरसम्म सरकारी डाक्टर पठाउन लागिएको पर्यटन विभाग अन्तरगतको पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्य बताउँछिन् । उनका अनुसार दुई सरकारी डाक्टरसगैँ अर्का एक जना डाक्टर गरी तीन जना डाक्टर करिब तीन महिना आधार शिविरमा (चैत २० गतेदेखि जेठ १५ गतेसम्म) रहनेछन् । विभिन्न हिमाल आरोहणमा सहभागी विदेशी तथा स्वदेशी आरोहीहरुले हिमाल आरोहणमा सरकारले महङ्गो शुल्क लिएपनि पर्याप्त स्वास्थ्य सेवा नपाएको गुनासो गर्दै आएका थिए । आरोहीको गुनासोअनुसार पहिलो पटक सगरमाथा आधार शिविरसम्म सरकारी डाक्टरको उपस्थिति गराउने कामको सुरुवात भएको निर्देशक आचार्य बताउँछन् । पर्यटन विभागले आरोहण दलका लागि पठाएको लियाजन अफिसर समेत आधार शिविरमा नपुगी चर्काे शुल्क लिने गरेको भन्दै आरोहीहरुले गुनासो गर्दै आएका छन् । आरोहीको गुनासोका आधारमा विभागले यस सिजनको आरोहणमा लियाजन अफिसरलाई अनिवार्य रुपमा आधार शिविरमा पुग्नैपर्ने निर्देशन दिसकेको छ ।
६ वटा समूहले थाल्यो कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि सर्वेक्षण
काठमाडौं । कालीगण्डकी नदीमा जलयान अर्थात् पानीजहाज सञ्चालनका लागि सर्वे थालिएकाे छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म जलयान सञ्चालन गर्न छ वटा समूहले स्थलगत परीक्षण तथा सर्वे शुरू गरेको हो । पाल्पाको राम्दीदेखि देवघाटसम्म १३५ किलोमिटर जलयान सञ्चालनको योजना बनाइएको छ । सरकारले नेपालका विभिन्न नदीमा जस्तै कालीगण्डकीमा पनि पानीजहाज सञ्चालन गर्न बिहीबारदेखि सर्वे शुरु गरिएको नेपाल पानीजहाज कार्यालय काठमाडौँका निमित्त प्रमुख विपिनराज भण्डारीले जानकारी दिए । उनले अन्तरराष्ट्रियस्तरमा सञ्चालन हुने पानीजहाजमा नेपालको झण्डा राखेको पानीजहाज सञ्चालन गर्ने योजना रहेको र आन्तरिकरुपमा नेपालका नदीमा पानीको बहाव अनुसारका साना खालका पानीजहाज सञ्चालन गरिने बताए । कोशी नदीमा तुम्लिङटारदेखि चतरासम्म, नारायणीमा देवघाटबाट तल गण्डकसम्म, काली नदीमा राम्दीदेखि देवघाटसम्म तथा कर्णाली नदीमा जहाज सञ्चालनका निम्ति सर्वेको काम गरिएको नेपाल पानीजहाज कार्यालय काठमाडौँका निमित्त प्रमुख भण्डारीको भनाइ छ । जलस्रोतविद् अनुप खनालले नदीमा पानीको सतहलाई हेर्दा पानीजहाज सञ्चालनका निम्ति सम्भव रहेकामा जोड दिए । जलस्रोतविद् खनालले कालीगण्डकी नदीमा नेपालमै पहिलो पटक अत्याधुनिक मेसिनबाट पानीको गहिराइ नाप गरिएको, केही ठाउँमा गहिराइ नपुग्ने तथा छेउछाउका ढुङ्गा हटाउनुपर्ने ठाउँमा हटाउने र अन्तरराष्ट्रियस्तरमा भएका प्रयासलाई प्रयोग गरी तयार गरेको प्रतिवेदन सरकारलाई बुझाउने जानकारी दिए । छ वटा टोलीले कालीगण्डकी नदीमा परीक्षण गर्दैछ । विसं २०४०/४१ तिर पानीको अनुमानित आँकलनबाट पनि सञ्चालन भएको जलयान कालीगण्डकी नदीमा सफल भएकाले अहिले प्रविधिको प्रयोगबाट सुरक्षित हिसाबले नापजाँच परीक्षण गरिएको टोलीले जानकारी दिएको छ । आफ्नो क्षेत्रमा राष्ट्रिय गौरवको योजनाका रुपमा कालीगण्डकीमा पानीजहाजको अवधारणा अघि सारिएको सङ्घीय सांसद दलबहादुर रानाले बताए । काली नदीको किनारैकिनार करिडोर तथा कालीगण्डकीमा पानीजहाज सञ्चालन भयो भने छिमेकी देश भारतसम्म यहाँ उत्पादित सामानलाई बिक्रीवितरण लगायत सामान आयात निर्यातमा समेत सहज हुने सांसद रानाको भनाइ छ । पुल निर्माणले गति लिँदै पुल निर्माण शुरु भएको १० वर्षसम्म कालीगण्डकी नदीमा रोकिएको पुल निर्माणले पुनः गति लिन थालेको छ । पाल्पाको रामपुर नगरपालिका–८ भुजातघाट तथा स्याङ्जाको चापाकोट नगरपालिका–९ निर्दिमघाट जोड्ने कालीगण्डकी नदीमा बन्ने मोटरेबल पुलको निर्माण कार्य थालिएको हो । प्राविधिक कारण देखाइ ठेकेदारको लापर्वाहीका कारण रोकिएको पुल पुनःनिर्माण कार्य थालिएको पुल निर्माण समितिका उपसंयोजक त्रिलोचन अधिकारीले जानकारी दिए । कन्काइ नेपाल प्रगति मिलिनियम जेभी कन्ट्रक्सन प्राली काठमाडौंले ठेक्काको जिम्मेवारी पाएको छ । पुल निर्माणस्थलमा माटो परीक्षण गरी यसअघिको सम्झौतालाई म्याद थप गरी निर्माण कार्य अगाडि बढाइएको छ । पहिले जमीनदेखि छ मिटर गहिराइ राखेर पर्खाल लगाउने भने पनि प्राविधिक कारण समस्या आएपछि १४ मिटर तलबाट पर्खाल लगाएर निर्माणको काम थालेको समितिले जनाएको छ । सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले डिजाइन स्वीकृत गरी निर्माण थालिएको र तीव्र गतिमा काम सम्पन्न गर्ने योजना रहेको जानकारी दिए । एक सय ५२ मिटर लामो मोटरेबल पक्की पुल को स्याङ्जा पाल्पातर्फ एक/एक वटा र बीचमा गरी तीन वटा पर्खाल निर्माण गरिएको छ । यसअघि २०६६/६७ मा निर्माण शुरु गरिएको पुल निर्माण रोकिएर पुनः थालनीका लागि २०७७ मङ्सिरमा निर्माणको सम्झौता भएको हो । यसअघि रु १७ करोड लागतमा निर्माण सम्पन्न गर्ने सम्झौता भएकामा २० प्रतिशत रकम थपेर निर्माण कार्य शुरु गरिएको समितिले जनाएको छ । समितिका उपसंयोजक अधिकारीका अनुसार अबको २०७८ असारसम्ममा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । पुल निर्माणपछि लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा उत्पादित विभिन्न कृषिउपजलाई अन्य क्षेत्रसम्म बिक्रीवितरणका निम्ति पु¥याउन सकिने उनको भनाइ छ। कालीगण्डकी करिडोर पनि तीव्र गतिमा निर्माण भइरहेकाले यस क्षेत्रलाई व्यापारिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्रका रुपमा विकास गर्न सकिने बताइएको छ । रासस
बक्यौता रकम भुक्तानी गर्न वायुसेवा कम्पनीका सञ्चालकको आलटाल
काठमाडौं । लामो समयदेखि बन्द भएका वायुसेवा कम्पनीका सञ्चालकले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम भुक्तानीमा आलटाल गर्दै आएका छन् । बन्द भएका ११ वटा कम्पनीका सञ्चालकले लामो समयसम्म बक्यौता रकम भुक्तानी नगरेपछि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले कम्पनीका सञ्चालकको खोजी थालेको हो । क्यानले सञ्चालक सम्पर्कमा नआएपछि एक महिनाको समय राखेर सम्पर्कमा आउन सार्वजनिक सूचना प्रकाशन गरेको थियो । उक्त समय फागुन २६ गते सकिएको छ । तोकिएको समयमा केही कम्पनीका सञ्चालकहरु सम्पर्कमा आएपनि रकम भुक्तानी नभएको क्यानले जनाएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्री सम्पर्कमा आएका धेरै सञ्चालकहरुले आफू सञ्चालक नभएको लिखित जवाफ दिएको बताउँछन् । ‘हामीले नाम सार्वजनिक गरेकामध्ये अधिकाशं कम्पनीका सञ्चालकहरु सम्पर्कमा आउनु भएको छ । सम्पर्कमा आएकामध्ये नेकोन, शिवानी र कस्मिर एयरका अधिकाशं सञ्चालकले आफ्नो कुनै सम्बन्ध नभएको बताएका छन्’, उनले भने, ‘सञ्चालकको लिखित जवाफका आधारमा कम्पनी रजिष्ट्रार कार्यालयसँग आवश्यक कागजपत्र माग गरेका छौँ, उताबाट आएको जवाफका आधारमा थप अनुसन्धान गछौँ ।’ क्यानले अन्तिम एक पटक बाँकी बक्यौता रकम भुक्तानी गर्न समय थप गर्ने तयारी गरेकोे छ । ‘हामीले एकपटक बक्यौता रकम भुक्तानीका लागि मौका दिने तयारी गरेका छौँ, दोस्रो पटकको सूचनामा समेत सम्पर्कमा आएर रकम भुक्तानी नगरे बाँकी बक्यौता रकम भुक्तानीका लागि कुमारीचोकमा रहेको केन्द्रिय तहसिल कार्यालयलाई जिम्मा दिन्छौँ’, उनले भने । नेकोन एयर, शिवानी एयर, अल्पाईन एयर, गोरखा एयर, कर्णाली एयर, माउण्टेन एयर, कस्मिक एयर, सांग्रिला एयर, स्काईलाईन एयरवेज, एयर काष्ठमण्डप र नेपाल एयरवेज रहेका छन् । ११ वटा कम्पनी मध्येमा सबैभन्दा धेरै बक्यौता रकम नेकोन एयरको रहेको छ । उक्त एयरको बक्यौता रकम ४ करोड ७० लाख ६० हजार ७ सय ५५ रहेको छ । नेकोन पछि कस्मिक एयरको ३ करोड ४७ लाख ५८ हजार, शिवानी एयरको ५५ लाखा ५१ हजार, गोरखा एयरको २० लाख ३५ हजार रहेका छ । यस्तै, कर्णाली एयरको १७ लाख ४६ हजार, माउण्टेन एयरको १२ लाख ७३ हजार, कस्मिक एयरको ३ करोड ४७ लाख ५८ हजार, साँग्रिलाको १५ लाख ३७ हजार, स्काईलाईन एयरवेजको १५ लाख ५० हजार, एयर काष्टमण्डपको ७ लाख ३८ हजार, नेपाल एयरवेजले ५ लाख ५० हजार रुपैयाँ र अल्पाईनको ७२ हजार बक्यौता रकम रहेको छ ।