चिनियाँ प्राविधिक नआउँदा पोखरा विमानस्थलमा उपकरण जडान रोकियो

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ७२ प्रतिशत पूरा भएको छ । २०७४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको विमानस्थल २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङसँग सम्झौता भएको थियो । सम्झौता अबधिभन्दा ६ महिना अगाडी नै निर्माण सम्पन्न गर्नेगरी काम भएको उक्त विमानस्थल कोरोना महामारीका कारण निर्माणमा ढिलाई हुँदै गएको छ । सम्झौता अबधिको ६ महिना अगाडी सम्पन्न हुने भनिएको उक्त विमानस्थल सन् २०२१ को अन्तिमसम्म सम्पन्न गर्ने तयारी अनुसार निर्माणको काम भइरहेको विमानस्थल आयोजना कार्र्यालयले जनाएको छ । आयोजनाका प्रमुख विनेश मुनंकर्मीका अनुसार हालसम्म धावनमार्ग (रनवे), आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत विभिन्न १४ भवनको अधिकांश काम सकिएको छ । त्यसैगरी, भवन, ह्यांगर, पार्किङ, सडक, नाला, टर्मिनल भवन लगायतका भवनको फिनिसिङ, मुख्य प्रवेशद्वारको सडक ढलानलगायत निर्माणका काम सम्पन्न भइसकेको छ । करिब २२ अर्ब रुपैयाँ लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले ०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो । प्राविधिक नहुँदा उपकरण जडानको काम सुरु भएन विमानस्थल निर्माणमा दक्षता हासिल गरेका प्राविधिकहरु नहुँदा उपकरण जडान हुन सकेको छैन । निर्माणमा कार्यरत अधिकांश चीनियाँ प्राविधिक कोरोना महामारीका कारण निर्माण क्षेत्रमा आउँन नसक्दा उपकरण जडानको काम सुरु हुनै सकेको छैन । ‘भिसा नीतिका कारण धेरै चिनियाँ प्राविधिकहरु आउन सकेका छैनन, दक्ष कामदार सगैँ आवश्यक अधिकांश उपकरण चीनमा नै रोकिएका छन् । उपकरण सगैँ कामदारहरु निर्माण क्षेत्रमा आउने योजना थियो, तर विभिन्न कारणले ल्याउँन सकिएको छैन’, मुनंकर्मीले भने । उनका अनुसार विमानस्थललाई आवश्यक उपकरणमध्ये चीनबाट आउनुपर्ने सामान आइसकेको छ  भने अमेरिका, युरोप, अस्ट्रेलिया लगायतका देशबाट आउनुपर्ने सामग्री आइपुगिसकेको छैन । प्राविधिक ल्याउन आवश्यक तयारी गरिएको उनले जानकारी दिए । निर्माण कम्पनीले समेत अबको एक महिनाभित्र सबै प्राविधिक आइसक्ने जनाएको छ । चीनबाट खोप लगाएर आउने उनीहरु लामो समयसम्म क्वारेन्टाइनमा बस्नुपर्दा तोकिएको समयमा आउँन सकेका छैनन् । रिठ्ठेपानी डाँडो कटाईमा ढिलाई विमानस्थल निर्माणको मुख्य समस्याको रुपमा रहेको रिठ्ठेपानी डाँडो कटाईको काम सुरु हुन सकेको छैन । लामो समयदेखि डाँडोमा भएको रुख कटानको विषय रोकिदा विमानस्थल सञ्चालनमा ढिलाई हुने देखिएको हो । रुख कटानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वन मन्त्रालयलाई पत्राचार गरेपनि वन मन्त्रालयले निर्णय दिन ढिलाई गरेको छ । वनको निर्णय आउँन ढिलाई हुँदा तोकिएको समयमा विमानस्थल सञ्चालमा ल्याउन समेत समस्या हुने देखिएको आयोजना कार्यालयले जनाएको छ । ६ महिना म्याद थपको तयारी तोकिएको समयमा विमानस्थल निर्माण सम्पन्न नभएपछि ६ महिना म्याद थपको तयारी भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले तोकिए समयमा निर्माण सम्पन्न नहुने भन्दै आगामी डिसेम्बरसम्म समय थप्ने तयारी गरेको छ । म्याद थपको तयारी भए पनि तोकिएको समय बाँकी हुँदा निर्णय भइसकेको छैन । विमानस्थलमा १८ प्रतिशत उपकरण र १० प्रतिशत सिभिलको काम बाँकी छ । हालसम्म २ हजार ५ सय मिटर लामो रन–वे, ट्याक्सी–वे, टर्मिनल बिल्डिङ, टावर, ह्यांगर, एप्रोन, आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँचमार्ग (एक्सेस रोड), सिँचाइ नाला, पानी बाहिर पठाउने (आउटलेटिङ) तथा कल्भर्टको काम सकिएको छ । हाल १ सय ६० चिनियाँ र ५ सय ४० नेपाली गरी ७ सय कामदार निर्माणमा खटिएका छन । इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा निर्माणाधीन विमानस्थलमा हाल डेडिकेटेड फिडर निर्माणको काम भइरहेको छ ।

मनकामना केबुलकार सेवा चैत ३० गतेसम्म बन्द हुने

काठमाडाैं । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा आगामी चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ । कम्पनीकाे अनुसार केबुलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्य अनुसार चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म केबुलकार सेवा बन्द हुने भएकाे हाे । उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुने कम्पनीले जानकारी दिएकाे छ ।  

‘पर्यटन उद्योगलाई चलायमान बनाउन सरकार लागि परेको छ’

काठमाडाैं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटन व्यवसायीहरुको भावना अनुरुप पर्यटन उद्योगलाई चलायमान बनाउन सरकार लागि परेको बताएका छन् । होटल संघ नेपालको ४७ औं वार्षिक साधारणसभाको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार गम्भिर रहेको बताए । उनले सरकारले होटल व्यवसायी आफैले बनाएको स्वास्थ्य मापदण्डलाई मन्त्रिपरिषद्बाट पारित गराई यस क्षेत्रलाई चलायमान बनाउन सहयोगी बनेको पनि बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि आगामी नीति तथा कार्यक्रमबाट सम्बोधन गरिने बताउँदै के कस्ता कार्यक्रम समावेस गर्नुपर्छ सुझाव दिन व्यवसायीहरुसँग आग्रह गरे । मन्त्री ढकालले व्यवसायीको सुझाव अनुसार नै कार्यक्रमहरु ल्याउने प्रतिवद्धता समेत व्यक्त गरे । कार्यक्रममा होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले आन्तरिक पर्यटन मार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा जोड दिइन् । अन्तर्राष्ट्रिय पर्यटन आगमन पूर्ण अवस्थामा नफर्किएसम्म होटल उद्योगलाई चलायमान बनाउन आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखी सरकारले अल्पकालिन र दिर्घकालिन रणनीति तर्जुमा गर्न उनले माग गरिन् । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दीका कारण पर्यटन छेत्र लामो समय बन्द हुन पुग्यो । अझैपनि पर्यटन क्षेत्र पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । सरकारले पर्यटन व्यवसायीका लागि पुनरकर्जा र व्यवसाय निरन्तरता कर्जा उपलब्ध गराएपनि सबै व्यवसायीले प्राप्त गर्न नसकेको गुनासो व्यवसायीहरुको छ ।