मौसम खराबीले सयौँ उडान प्रभावित
काठमाडाैं । प्रतिकूल मौसमका कारण पाँच दिनदेखि हवाई उड्डयन क्षेत्र प्रभावित भएको छ । खराब मौसमको सबैभन्दा बढी मार हवाई क्षेत्रले बेहोर्नु परेको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भए । आज पनि कतिपय गन्तव्यको उडान सञ्चालनमा कठिनाइ भएको विमानस्थलले जनाएको छ । विशेषगरी हेलिकोप्टर कम्पनीको व्यापार बढी प्रभावित भएको छ । तीन दिनका लागि बुकिङ भएका विभिन्न कम्पनीका दैनिक ७० जना यात्रु उडाउने उडान तालिका रहे पनि चार दिनसम्म उडान भएन । यो अवधिमा करीब ४० उडान रद्द भए । यस्तै, १२ भन्दा बढी उद्धार उडान रद्द भएको वायुसेवा सञ्चालक सङ्घ नेपालले जनाएको छ । गोसाइँकुण्डको मात्रै ४० उडान रद्द भएको छ । सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले प्रतिकूल मौसमका कारण हवाई क्षेत्रको उडान प्रभावित भएको र सबैभन्दा बढी असर हेलिकोप्टर कम्पनीमा परेको बताए । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणले देशभरको जनजीवन प्रभावित भएको छ । वायु प्रदूषणले मानवस्वास्थ्यमा पनि असर गर्ने विज्ञहरुले बताएका छन् । वसन्त यामको मुख्य आरोहणको मौसममा हेलिकोप्टरको व्यापार राम्रो हुन्छ । अघिल्लो वर्ष कोभिड–१९ महामारीका कारण आरोहण नभएपछि प्रभावित बनेको यो व्यवसाय कोभिडपछि विस्तारै गति लिँदै गरेकामा केही दिनदेखिको मौसम खराबीको थप चपेटामा परेको छ । हेलिकोप्टरका ११ कम्पनी रहे पनि १० कम्पनीका ३६ हेलिकोप्टरले सेवा दिँदै आएका छन् । भिजिबिलिटी नहुँदा हेलिकोप्टरमात्र हैन जहाजको उडान पनि प्रभावित भएको छ । प्रवक्ता शर्माका अनुसार हवाईजहाजतर्फ पनि चार दिनसम्म अधिकांश उडान रद्द भए । सोमबारसम्मको तथ्याङ्कमा ट्रङक रुटमा बुद्ध एयरको ६५, यती एयरलाइन्सको ४५, श्री एयरलाइन्सको २२, सौर्य एयरलाइन्सको १४ र अन्य एयरलाइन्सको आठ उडान रद्द भएका छन् । यस्तै, स्टल रुटमा पनि करीब ४० उडान रद्द भएको सङ्घका प्रवक्ता शर्माले जानकारी दिए । अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ नियमित उडानमा ४०० उडान हुने गरेका छन् । हवाईजहाजतर्फ नौ कम्पनीका ५० जहाज छन् । पछिल्लो चार दिनमा आन्तरिकतर्फ सयौँ उडान रद्द भएका छन् । प्रतिकूल मौसमकैबीच विमानस्थलले आन्तरिक र अन्तरराष्ट्रियतर्फ यान्त्रिक पद्धति (आइएफआर) उडान सञ्चालन गरिरहेको छ । अन्तरराष्ट्रिय उडानतर्फ पनि केही उडान प्रभावित भएका छन् । थोरै उडान डाइभर्ट भएका थिए । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको छ । अहिले पनि नेपालको आकाशमा बाक्लो तुवाँलो लागेको छ । विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै नेपाल तथा भारतका विभिन्न स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको जानकारी दिए । अर्का मौसमविद् मञ्जु बासीले डढेलोका कारण वायुमण्डलमा असर परेको र बाक्लो तुवाँलो लागेको बताए । अहिले काठमाडौँ उपत्यका पूरै तुवाँलोले ढाकेको र भिजिबिलिटी कम रहेको उनले जानकारी दिए । वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले यस्तो अवस्थामा सावधानी अपनाउन आग्रह गरेको छ ।
हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित, आज पनि सम्भावना कम
हुम्ला । हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो । आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि नेपालगञ्ज तथा सुर्खेतबाट हुने सम्पूर्ण हवाई सेवा बन्द भएको छ । तुवाँलोको कारण दई दिनमा दुई दर्जनभन्दा बढी उडान रद्द भएका छन् । तुवाँलोले सोमबार साँझसम्म पनि जिल्लाभर छोपेकाले आज पनि उडानको सम्भावना कम रहेको छ । उडान नभएपछि यात्रुलाई आवतजावत गर्न असहज भएको छ । काठमाडौंसहित देशभर असर गरेको वायुप्रदूषणले जिल्लाको हवाई सेवा प्रभावित बनाएको हो । आइतबार बिहानदेखि जिल्लामा दृश्य क्षमता (भिजिबिलिटी) नपुग्दा दुई दिनदेखि हवाई सेवा प्रभावित बनेको हो । जिल्लाको एक मात्रै अन्तर जिल्ला जोड्ने हवाई सेवा प्रभावित हुँदा निर्माण सामग्रीदेखि दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत समस्या भएको छ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न ढुवानीमा समेत बाधा पुगेको छ । रासस
मुस्ताङ जोड्ने सडक थप दुई दिन बन्द
म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । यसअघि चैत १४ देखि १७ गतेसम्मलाई बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द गरिएको थियो । प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको अध्यक्षतामा बसेको बैठकले तीव्ररूपमा भइरहेको सडक विस्तारको कामलाई पूर्णता दिन दुई दिन समय थप गर्ने निर्णय गरेको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमका प्रशासन शाखा प्रमुख नारायण पौडेलले जानकारी दिए । प्रजिअ पौडेलसहित सुरक्षा र आयोजनाका अधिकारीले सडक निर्माणस्थलको स्थलगत निरीक्षण गरेपछि समय थप गर्नुपर्ने निष्कर्ष निकालेका हुन् । उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर र कैकुखोला क्षेत्रमा सवारी आवतजावत बन्द गरिएको छ । सडक स्तरोन्नति, बेस बगाउने तथा पहिराका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले सम्भावित जोखिम र दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले बताए । सडक बन्द हुने स्थानबाहेकका ठाउँमा भने सवारी चलेका छन् । यातायात व्यवसायीले सवारी साधन परिवर्तन गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएका छन् । म्याग्दी र मुस्ताङ खण्डको आन्तरिक यातायात सेवामा भने असर नपर्ने बताइएको छ । बेनी–जोमसोम ७६ किमी सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । प्याकेज नं २ को काभ्रेभिरमा गत पुस १९ गतेदेखि सडक चौडा गर्न शर्मा–गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहाँ एक किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने जनाइएको छ । काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । निर्माण कम्पनीले नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ । यस्तै सोही खण्डको थासाङ–४ कैकुमा पटक–पटक बाढीले सडक बगाउने र पहिरो जाने हुँदा सडक अवरुद्ध हुने गर्छ । करिब रु छ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं २०७४ देखि निमार्ण शुरु भएको हो । एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ । करिडोरका अनुसार जोमसोम–कोरला सडकको सात प्याकेजमध्ये चार प्याकेजको काम निर्माण सकिएको छ । बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम–कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको छ । रासस