सगरमाथा आरोहण विदेशी राजकुमारदेखि खेलाडीसम्म, यसरी हुँदैछ यस वर्षको हिमाल आरोहण
काठमाडौं । कोरोना महामारीका कारण गत वर्ष रोकिएको नेपालको हिमाल आरोहणमा यस वर्ष उत्साह थपिएको छ । नेपाल सरकारले पर्यटन गतिविधि खुला गरेसगैँ कोरोनाको सन्त्रासकै बीच हिमाल आरोहणमा विदेशी सहित स्वदेशी आरोहीको आर्कषण बढ्न थालेको हो । आरोहीको माग अनुसार पर्यटन विभागले विभिन्न १० हिमाल आरोहण गर्न ४ सय २० आरोहीलाई अनुमति दिइसकेको छ । विभागले अनुमति दिएका १० हिमाल मध्येमा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि रहेका छन् । गत शुक्रबार साझँसम्म सगरमाथा आरोहण गर्न २६ समूहका २ सय ४४ जना आरोहीले अनुमति लिएको विभाग अन्तरगतको पर्वतारोहण शाखाले जनाएको छ । विभागले भर्खर अनुमति जारी गरेको भन्दै अनुमति लिने आरोहीको संख्यामा बृद्धि हुने अनुमान गरिएको पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्य बताउँछिन । ‘पर्यटन गतिविधि खुला भएपनि अनुमति जारी हुँदैन कि भन्ने थियो, तर हाम्रो अपेक्षा भन्दा धेरै आरोहीले अनुमति लिइसक्नुभएको छ, गत वर्ष रोकिएको हिमाल आरोहण यस वर्ष पूरानै गतिमा फर्किन अनुमान छ’, उनले भनिन् । विभागको तथ्यांक अनुसार यस वर्षको आरोहणमा विदेशी आरोहीको आर्कषण बढ्दै गएको छ । गत वर्षसम्म नेपालीसगैँ विदेशी आरोहीले पर्यटन विभागबाट विभिन्न हिमाल आरोहण गर्न अनुमति लिने गरेकोमा यस वर्ष नेपाली आरोहीको आर्कषण कम देखिएको छ । सगरमाथा आरोहणमा राजकुमारदेखि खेलाडीसम्म यस वर्षको हिमाल आरोहण अन्तरगत विश्वकै सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्न बहराइनका राजकुमारदेखि खेलाडीसम्मले विभागबाट अनुमति लिएका छन् । यस वर्षको आरोहणमा विदेशी भीभीआईपी आरोहीले गर्दा अन्य आरोहीको समेत आर्कषण थपिएका विभागका अधिकारीहरु बताउँछन् । कोरोना महामारीकै बीच गत भदौमा मनास्लु र लोबुचे हिमालको सफल आरोहण गरेका बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफाको समूह सगरमाथा आरोहणको तयारीमा जुटेको छ । गत भदौँमा दुई हिमाल आरोहण गरेर फर्किएका १६ जनाको समूह सगरमागा आरोहण गर्न आधार शिविरमा पुगिसकेका छन् । राजकुमार सहित यस वर्षको आरोहणमा अमेरिकन चर्चित गायक माइक पोस्नर, कतार ओलम्पिक कमिटीकी वरिष्ठ महिला अधिकृत (अन्तराष्ट्रिय खेलाडी) शेख आस्मा अल थानी तथा अमेरिकाका पूर्व फुटबल खेलाडी मार्क प्याटिसनले आरोहण अनुमति लिइसकेका छन् । सुरक्षित रहन विभागको आग्रह कोरोना सन्त्रासकै बीच विभिन्न हिमाल आरोहणका लागि अनुमति पाएका आरोहीलाई स्वास्थ्य सुरक्षा अपनाउन विभागले आग्रह गरेको छ । विभागले सुरक्षित रुपमा आरोहण गर्न गाइड नफेर्न, एकै होटलमा लामो समयसम्म बस्नु परेमा रुम चेन्ज नगर्न, समूहमा भन्दा एक्लै हिड्न आग्रह गरेको छ । पहिलो पटक सगरमाथा आधार शिविरमै सरकारी डाक्टर यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणमा सगरमाथा आधार शिविरमा सरकारी डाक्टर पुगेका छन् । पर्यटन विभागले वसन्त यामको आरोहणमा पहिलो पटक सगरमाथा आधार शिविरमा सरकारी डाक्टर पठाएको हो । दुई सरकारी डाक्टर प्रकाश खरेल र सुरज श्रेष्ठ गत अप्रिल २ तारिखमा आधार शिविरमा पुगिसकेका छन् । विभागले आरोहणको सिजनमा पहिलो पटक सगरमाथा आधार शिविरसम्म सरकारी डाक्टर पठाएको हो । दुई सरकारी डाक्टरसगैँ अर्का एक जना नीजी क्षेत्रबाट गएका डाक्टर गरी तीन जना डाक्टर करिब तीन महिना आधार शिविरमा (चैत २० गतेदेखि जेठ १५ गतेसम्म) रहनेछन् । विभिन्न हिमाल आरोहणमा सहभागी विदेशी तथा स्वदेशी आरोहीहरुले हिमाल आरोहणमा सरकारले महङ्गो शुल्क लिएपनि पर्याप्त स्वास्थ्य सेवा नपाएको गुनासो गर्दै आएका थिए । आरोहीको गुनासो अनुसार पहिलो पटक सगरमाथा आधार शिविरसम्म सरकारी डाक्टरको उपस्थिति गराउने कामको सुरुवात गरिएको विभाग अन्तरगतको पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्य बताउँछिन् । पर्यटन विभागले आरोहण दलका लागि पठाएको लियाजन अफिसर समेत आधार शिविरमा नपुगी चर्काे शुल्क लिने गरेको भन्दै आरोहीहरुले गुनासो गर्दै आएका छन् । आरोहीको गुनासोका आधारमा विभागले यस सिजनको आरोहणमा लियाजन अफिसरलाई अनिवार्य रुपमा आधार शिविरमा पुग्नैपर्ने निर्देशन दिइसकेको छ ।
काठमाडौंको ३६० दृश्यको आनन्द लिन सकिने ताहिना टेरेस चैत ३१ गतेदेखि खुल्दै
काठमाडौं । काठमाडौं म्यारियट होटलको नयाँ पूर्वी मेडीटेरियन रेस्टुरेन्ट, ताहिना टेरेस अप्रिल १३ अर्थात आगामी चैत ३१ गतेदेखि खुल्ने भएको छ । यो टेरेस सो दिनदेखि साँझ ४ बजेदेखि रातीको १० बजेसम्म सार्वजनिक रुपमा खुला हुन लागेको हो । उक्त टेरेसबाट हिमालको काठमाडौं शहरको ३६० दृश्यको आनन्द लिन सकिनेछ । साँझको लागि भर्खरको बनाइएको पूर्वीय मेडीटेरियन स्नाक्स, सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । मेज्जे प्लेटर र रमाईलो बारबेक्यु र कबाबहरु खानेहरुको लागि यो एउटा उत्तम स्थल हो । काठमाडौं शहरको पूर्ण सौन्दर्यता महसुस गर्न सकिने यस ताहिना टेरेसबाट पहाडको सूर्यास्त देख्न सकिने छ । ताहिना टेरेसले आरामदायक भाइब्स, फल्टलेस सर्विस, स्वादिलो खाना र पेय पदार्थहरुको अफर गर्दछ । यस भेन्यूको केही मुख्य हाइलाटहरु भनेका यसका क्याजुअल लाउन्ज एम्बियन्स, ट्रेन्डी शिश, फियूजन सिग्नेचर ककटेलको साथ ताजा बेक्ड मानकिश र अठेन्टिक अरबीक ग्रीलहरु हुन् ।
कर्मचारीले लुकाएर राखेको जहाजका पाटपुर्जा बेच्दै वायुसेवा निगम
काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारीले लुकाएको विमानको पाटपूर्जा बिक्री गर्ने भएको छ । लामो समयदेखि निगमका कर्मचारीेले लुकाएर राखेको पाटपूर्जा निगम सञ्चालक समितिले बिक्री गर्न लागेको हो । तीन वर्षअघि बिक्री भएको जहाजको समेत गरी अन्य जहाजको पाटपूर्जा करिब ३८ लाख अमेरिकी डलर बराबरमा बिक्री गर्न निगमले टेन्डर आह्वान गरेकोे छ । निगमले दुई थान बोइङ जहाजमा प्रयोग हुने इन्जिन र आवश्यक पाटपूर्जा छुट्टाछुट्टै मूल्य तोकेर बिक्रीको प्रस्ताव गरेको छ । दुई थान विमानका लागि आवश्क पर्ने पाटपूर्जाको निगमले ३८ लाख ५४ हजार ८०५ अमेरिकी डलर भन्दा माथिको मूल्य राखेको छ । यस्तै सबैभन्दा बढी शुल्क इन्जिमा राखिएको छ । निगमले ३३ लाख ५५ हजार बढी डलरमा इन्जिन रहेको जनाएको छ । कसरी पत्ता लाग्यो लुकाएको पाटपूर्जा ? नेपाल वायुसेवा निगमले तीन वर्षअघि विस्थापन गरेको बोइङ ७५७ को पाटपूर्जा एक वर्ष अघि भेटिएको थियो । जहाज बिक्री भएपछि लामो समयसम्म निगमका कर्मचारीले लुकाएका उक्त पाटपूर्जा तत्कालीन पर्यटनमन्त्री योगेश भटराईले निगम सुधारका लागि गठन गरेको कार्यदलले भेटाएको थियो । उक्त कार्यदलले लामो समय लगाएर निगम सुधारका लागि आवश्यक सुझाव सहितको प्रतिवेदन पेश गरेका थिए । कार्यदलले बुझाएको अध्ययन प्रतिवेदनका आधारमा निगमले उक्त पाटपूर्जा बिक्री गर्न लागेको हो । करिब तीन महिना लामो समय लगाएर अध्ययन गरेको उक्त कार्यदलले निगमको विमानस्थलको ह्याङगरमा गएर अध्ययन गर्दा शिल नै नतोडेका उपकरणहरु भेटाएको थियो । जहाजका लागि आवश्यक नै नपर्ने उपकरणहरु कर्मचारीहरुले प्रलोभवनमा परी खरिद गरि लुकाएर राख्ने गरेको पाइएको कार्यदलका एक सदस्यले जानकारी दिए । आफूहरुले अध्ययन गर्दा जहाजका लागि आवश्यक नै नपर्ने पाटपूर्जाहरु खरिद गरेको देखिएको र अध्ययन गर्दै जादा तीन वर्षपछिका लागि आवश्यक पर्ने धेरै पाटपूर्जाहरु भेटिएको उनको भनाई छ । बिक्री भइसकेको जहाजको पाटपूर्जाहरु निगमका कर्मचारीहरुले लुकाएको भेटेपछि बिक्री गर्न लागिएको हो । ‘निगमका ईन्जिनियरिङ विभागका कर्मचारीहरुको मिलोमोतोमा धेरै पाटपूर्जाहरु खरिद गर्ने तर जडान नै नगरी थन्काएर राखिने गरेकोे रहेछ । एउटा पार्टको उपकरण बिग्रिएको छ, अन्यको समेत खरिद गरेर राखिने रहेछ । कर्मचारी प्रलोभवनमा परी नबिग्रिएको पाटपूर्जा समेत विदेशमा गएर साटिने रहेछ, नबिग्रिएको उपकरण साटेर कमशल ल्यायो, दुई÷तीन महिनापछि बिग्रिन्छ पुनः विदेशमा मर्मतका लागि लग्ने भन्दै कमिसन खायो, निगममा जहाजका पाटपूर्जा लुकाउने नबिग्रीएकोलाई बिग्रीएको भन्दै बनाउन पठाउने चलन नै रहेछ,’ एक सदस्यले भने । उनका अनुसार पर्यटन मन्त्रीको रुपमा नियुक्त हुने मन्त्रीका लागि चुनाव खर्च उठाउने र निगममा नियुक्त भएर आउने महाप्रबन्धकका लागि कमाउने माध्यन नै निगम बन्ने गरेको थियो । तत्कालिन मन्त्री भटराईले निगममा समग्र सुधार ल्याउने गरी आवश्यक सुझाव दिन पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा ५ सदस्यीय ‘नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेका थिए । समितिका सदस्यहरुमा चार्टर्ड एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रकाश पौडेल, पुर्व क्याप्टेन सुधीरशमशेर राई र सदस्य सचिवको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने थिए । कार्यदलका संयोजक घिमिरेलाई मन्त्री भट्टराईको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले ४ वर्षका लागि निगम सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको थियो । यसैगरी कार्यदलका सदस्य डिमप्रकाश पौडेललाई गत असोजमा निगमको प्रबन्ध निर्देशकको रुपमा नियुक्त गरिएको छ ।