बहराइनका राजकुमारको समूहले लियो सगरमाथा आरोहणको अनुमति
काठमाडौं । वसन्तु ऋतुको हिमाल आरोहणका लागि बहराइका राजकुमारको समूहले आरोहण अनुमति लिएका छन् । राजकुमारको समूहले आरोेहण अनुमति लिएसगैँ वसन्त ऋतुको सगरमाथा आरोहणको पहिलो अनुमति जारि भएको हो । पर्यटन विभागले शुक्रबार बहराइका राजकुमार सेख मोहम्मद आमाद सहित १६ जनाको समूहलाई आरोहण अनुमति दिएको हो । सर्वाेच्च शिखर सगरमाथाको आरोहण गर्न गत चैत २ गते बहराइनका राजकुमारको टोली नेपाल आइपुगेको थियो । यसअघि उक्त समूहले सगरमाथा क्षेत्रमा पर्ने लोबुचे र गोरखा जिल्लामा पर्ने मनास्लु हिमालको सफल आरोहण गरिसकेको छ । टोलीमा १३ जना बहराइन रोयल गार्ड डिफेन्स फोर्सका १३ जना र तीन जना बेलायती नागरिक पनि छन् । आरोहण टोली ८० दिन नेपालमा रहनेछन । राजकुमारको समूहले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरी शुक्रबार आरोहण अनुमति लिएको आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिए । उनका अनुसार विभागबाट आरोहण अनुमति लिएसगैँ आरोहणको सम्पूर्ण तयारी पूरा भएको छ । विभागबाट वसन्त यामको हिमाल आरोहणका लागि ६१ जना आरोहीले अनुमति लिएका छन् । विभागले यसअघि नैे अन्नपूर्ण, नुप्त्से र मनास्लु हिमाल आरोहणको अनुमति दिइसकेको छ ।
निगमलाई अर्थ मन्त्रालयका दुई विकल्पः सके जहाज भाडामा लगाउ, नसके बिक्री गरेर व्यवस्थापन गर
काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम सञ्चालक समितिले सञ्चालन खर्च समेत धान्न नसकेको भन्दै चिनियाँ जहाज ग्राउन्डेड गरेको ९ महिनापछि अर्थ मन्त्रालयले जहाज व्यवस्थापन गर्न स्वीकृति दिएको छ । बिहीबार अर्थ मन्त्रालयले निगम सञ्चालक समितिलाई जहाज व्यवस्थापनाका लागि दुई विकल्प दिएको हो । अर्थले सकेसम्म जहाज भाडामा लगाउनु नसके अन्तिम विकल्पको रुपमा जहाज बिक्रीगर्न भन्दै निगम सञ्चालकलाई दुई विकल्प दिएको हो । अर्थ मन्त्रालयले निगमको स्वामित्वमा हुने गरी जहाज भाडामा लगाएर नाफा आर्जन गर्न पहिलो सर्त दिएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार अर्थले दोस्रो सर्त स्वरुप अधिकतम फाइदा हुने गरी बिक्री गर्न सहमति दिएको छ । अर्थबाट आएको दुई वटा विकल्पमध्ये सकेसम्म पहिलो विकल्पलाई प्राथमिकता दिने नसके दोस्रो विकल्प स्वरुप जहाज बिक्री गरिने उनले बताए । निगमले २०७१ सालदेखि २०७४ सालसम्म अनुदान सहित खरिद गरेर ल्याईएको चिनियाँ जहाजले सञ्चालन खर्च समेत धान्न नसकेको भन्दै साउन १५ गते बसेको निगम सञ्चालक समितिले जहाज ग्राउन्डेड गर्ने निर्णय गरेको थियो । निगम सञ्चालक समितिले नोक्सानी बढी भएको भन्दै चिनियाँ अनुदान तथा खरिद गरेर ल्याईएका ४ थान वाई–१२ ई र २ थान एमए–६० गरी ६ विमान ग्राउन्डेड गर्ने निर्णय गरेको ९ महिनापछि बिहीबार अर्थ मन्त्रालयले जहाज व्यवस्थापनको स्वीकृति दिएको हो । सरकारको पूर्ण स्वमित्वमा सञ्चालन भएको जहाज र दुई देशबिचको सम्बन्धका कारण देखाउँदै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जहाज व्यवस्थापनको मोडालिटिको विषयमा अर्थ मन्त्रालयसँग राय मागेको छ । अर्थ मन्त्रालयले जहाज खरिदको विषय दुई देशबीचको सम्बन्धसँग जोडिएको भन्दै जहाज व्यवस्थापनको निर्णय दिएको थिएन् । निगमले ५६ सिट क्षमताका २ थान एमए–६० र १९ सिट क्षमताका ४ थान वाई–१२ ई जहाज ल्याएको थियो । दुई अर्ब ९४ करोड अनुदान र तीन अर्ब ७२ करोड ऋणमा २०७१ सालदेखि २०७४ सालसम्म ६ वटा जहाज नेपाल ल्याईएको थियो । खरिद गरेर ल्याईएको ४ थान जहाज १.५ प्रतिशत ब्याजमा चीनकै एक्जिम बैंकबाट नेपाल सरकारले ऋण लिएको थियो । अनुदान तथा ऋणगरी ६ अर्ब ६७ करोड खर्च गरेर जोडिएका ६ थान जहाजबाट निगमले हालसम्म एक अर्ब ८४ करोड रुपैयाँ नोक्सान व्यहोर्नुपरेको जनाएको छ । कुन जहाज कहिले ल्याईयो ? २०६९ सालमा नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार निगमले ६ वटामध्ये दुई थान वाई १२ ई र एउटा एमए–६० गरी तीन थान चिनियाँ विमान अनुदानमा नेपालले प्राप्त गरेको थियो । अनुदान बाहेकका दुई वाई १२ ई र एउटा एमए ६० विमान एक्जिम बैंकको सहुलियत ऋणमा खरिद गरिएको हो । दुई देशबिच जहाज खरिदको सम्झौता भएको २ वर्षपछि अर्थात वि.स २०७१ कात्तिक १७ मा पहिलो जहाज स्वरुप वाई १२–ई विमान नेपाल ल्याइएको थियो । सुरुमा ०७१ मा एउटा एमए ६० र एउटा वाई १२ ई जहाज अनुदानमा ल्याइएको थियो । ०७३ मा निगमले एउटा एमए ६० र एउटा वाई १२ ई जहाज खरिद गरेर ल्याएको थियो । अर्को वर्ष ०७४ मा दुईवटा वाई १२ ई जहाज ल्याइएको थियो । चीनबाट आउँनु पर्ने अन्तिम विमान भने २०७४ फागुन १ मा नेपाल आइपुगेको थियो । कुन वर्ष कति नोक्सान ? चिनियाँ जहाज उडाउन नसक्दा निगमले हालसम्म एक अर्ब ८४ करोड रुपैयाँ नोक्सान व्यहोर्नुपरेको छ । निगमका अनुसार आर्थिक वर्ष ०७१/७२ मा तीन करोड, आर्थिक वर्ष ०७२/७३ मा नौ करोड, आर्थिक वर्ष ०७३÷७४ मा १० करोड ३१ लाख र आर्थिक वर्ष ०७४/७५ मा एमए ६० बाट ३१ करोड ६४ लाख र वाई १२ ई बाट २८ करोड ९६ लाख गरेर जम्मा ६० करोड ६० लाख रुपैयाँ नोक्सान भएको थियो । यसैगरी गत आर्थिक वर्ष ०७५/७६ मा दुईवटा एम ६० बाट २९ करोड ८४ लाख र चारवटा वाई १२ ई बाट २२ करोड ३६ लाख गरेर ५२ करोड २० लाख रुपैयाँ तथा ०७६/७७ मा ५० करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको निगमले जनाएको छ । सम्बन्धित सामग्री वायुसेवा निगमलाई डुवायो चिनीयाँ जहाजले, ९ महिना पार्किङमै थन्क्याउँदा साढे १० करोड स्वाहा
पर्वतारोहण क्षेत्रका श्रमिकका लागि मानसिक स्वास्थ्य तालीम
काठमाडौं । पर्वतारोहण क्षेत्रमा कार्यरत नेपाली श्रमिकका लागि मानसिक स्वास्थ्यसम्बन्धी विशेष तालीम सम्पन्न भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गत वैदेशिक रोजगार तथा कल्याणकारी विभाग, महिला तथा युवा विभाग र स्वास्थ्य समितिको संयुक्त समन्वयमा सञ्चालन भएको उक्त तालीममा पर्वतारोहण सङ्घ सम्बद्ध ३९ जनाले सहभागिता जनाएका छन् । कार्यक्रमको उद्घाटन सत्रमा सङ्घका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा बद्री केसीले कोभिड–१९ का कारणले मानसिक समस्याले गर्दा वैैदेशिक रोजगारलगायतका क्षेत्रमा कार्यरत श्रमिकलाई नकारात्मक असर पारेको पाइएको जानकारी दिए । विशेष गरेर पर्वतारोहण सङ्घसँगको सहकार्यमा साहसिक नेपाली पर्वतारोही श्रमिक तथा पर्वतारोहण क्षेत्रका अन्य व्यक्तिका लागि यो तालीमले व्यक्तिगतरुपमा मात्रै नभई उसको परिवार तथा समाजलाईसमेत फाइदा पुगिरहेको डा केसीको भनाइ थियो । उनका अनुसार सङ्घले कोभिड–१९ का कारणले प्रभावित नेपाली श्रमिकलाई विभिन्न गन्तव्य देशमा र नेपाल फर्केपछि पनि राहत तथा उद्धारका लागि सहयोग पु¥याएको छ । यस्तै सङ्घका अर्का उपाध्यक्ष एवं महिला तथा युवा विभाग संयोजक रविना थापाले कोरोनाले सबै क्षेत्रमा आर्थिक एवं सामाजिकरुपमा समेत असर परेको र पर्वतारोहण एवं टे«किङ व्यवसायमा समेत असर परेको बताइन । मानसिक स्वास्थ्यका सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण हुनुपर्ने उनको भनाइ थियो । सङ्घका स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले सङ्घले टेलिहेल्थका माध्यमबाट देशविदेशमा रहेका नेपालीलाई सहयोग पु¥याउनका लागि पहल गरिरहेको जानकारी दिए । कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङले गैरआवासीय नेपाली सङ्घ र नेपाल पर्वतारोहण सङ्घको सहकार्यमा यस्ता किसिमका कार्यक्रम गर्दै जाने बताए । साहसी पर्वतारोही माया गुरुङ तथा अन्य यस क्षेत्रसँग सम्बन्धित सबै सहभागीले तालीम अत्यन्त फलदायी रहेको र आगामी दिनमा पनि सङ्घबाट यस प्रकारको सहयोगको अपेक्षा राखेको धारणा राखेका थिए । तालीम कार्यक्रममा डा विजय ज्ञवाली तथा माधव खतिवडाले मानसिक स्वास्थ्य, तनाव एवं आत्महत्या रोकथाम जस्ता विषयमा प्रशिक्षण दिएका थिए । रासस