पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै वायुसेवा संचालकले बढाए भाडा, अब कहाँ जान कति लाग्छ ?
काठमाडौं । पेट्रोलियम पदार्थको विक्री वितरणको एकाधिकार पाएको सरकारी स्वामित्वको नेपाल आयाल निगमले एकपछि अर्काे गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाउन थालेपछि त्यसको चौतर्फि असर पर्न थालेको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएर पछि बजारमा प्रायः सबै दैनिक उपभोग्य बस्तुको मूल्य बढेको छ । दैनिक उपभोग्य बस्तुको मूल्यका बारेमा खासै चर्चा नहुने गरेको र उपभोक्ताले पनि एक दुई रुपैयाँ त हो नि भन्दै खासै ध्यान नदिदा त्यति चर्चा हुने गरेको छैन । तर, पेट्रोलियम पदार्थको मूल्य बृद्धिसँगै संगठित रुपमा केही बस्तु तथा सेवाको मूल्य बढाउन थालिएको छ । निजी क्षेत्रबाट हवाई सेवा प्रदायकहरुले हवाई इन्धनमा बढेको मूल्य उपभोक्ताले तिर्नुपर्ने निर्णय गरेर सरकारी निकायबाट स्वीकृत पनि गराएका छन् । निजी क्षेत्रबाट हवाई सेवा प्रदान गरिरहेका कम्पनीहरुको संस्था वायुसेवा संचालक संघले इन्धनमा बढेको मूल्य उपभोक्ताले तिर्नुपर्ने निर्णय आफूहरुले गरेको र आफूहरुको सो निर्णय सरकारी निकाय नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको दाबी गरेको छ । संघले इन्धनमा बढेको मूल्य अनुसार यात्रुलाई ‘फ्यूल चार्ज’ लाग्ने नीतिगत निर्णयमा टेकेर सोही अनुसार निर्णय गरिएको बताएको छ । यसरी इन्धनमा बढेको मूल्य अनुसार यात्रुसँग फ्यूल चार्ज लिन पाउने नीतिगत निर्णय २०७५ साल जेठ २५ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय भएको संघको भनाई छ । नयाँ भाडादर भोलि बैशाख ७ गतेदेखि लागू हुनेछ । नयाँ भाडादरमा दुरी अनुसार १० रुपैयाँदेखि ८५ रुपैयाँसम्म बढाईको छ । सबैभन्दा बढी अर्थात ८५ रुपैयाँ भाडा काठमाडौंदेखि धनगढीसम्मको बढेको हो । थप भएको भाडादर यस्तो छ [pdf id=269436]
पोखरालाई केन्द्र बनाएर चार गन्तव्यमा उडान गर्दै बुद्ध एयर
काठमाडौं । नीजि क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले पोखरा विमानस्थललाई आधार बनाएर चार नयाँ गन्तव्यमा उडान गर्ने भएको छ । यसअघि काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयलाई आधार बनाएर उडान गर्दै आएको बुद्धले पोखराबाट नयाँ गन्तव्यमा उडान विस्तार गर्न लागेको हो । नयाँ गन्तव्यको रुपमा बुद्धले पोखरा–भैरहवा, पोखरा–सिमरा, पोखरा–नेपालगञ्ज र पोखरा–विराटनगर उडान गर्न लागेको हो । नयाँ चार गन्तव्यमा आगामी मे १ तारिखबाट उडान सुरु गर्ने तयारी भएको बुद्धका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार पहिलो पटक बुद्धले अन्तर प्रदेशीय उडान सुरु गर्न लागेको हो । यस्तैगरी, बुद्धले आगामी मे १ तारिखबाट नै भरतपुर–भैरहवा र तुम्लीङटार-विराटनगरमा उडान गर्ने घोषणा गरेको छ । ‘हामीले विभिन्न ६ वटा नयाँ गन्तव्यको उडानमा सुरुवाती चरणमा बिचक्राफ्टबाट गर्नेछौँ । साबै गन्तव्यमा सातामा तीन उडान गछौँ, विस्तारै यात्रुको चाप र माग अनुसार जहाज सगैँ उडान विस्तार गछौँ’, बस्नेतले भने, ‘यात्रुको माग बढेमा हामीले एटिआर–७२ जहाजबाट उडान सुरु गछौँ ।’ ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक सय उडान गर्दै आएको छ । बुद्धले हाल भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । बुद्धले हाल काठमाडौं, पोखराबाट माउन्टेन फ्लाईट गरिरहेको छ । नयाँ गन्तव्यको भडादर : बुद्धले आगामी मे १ तारिखबाट सुरु गर्न लागेको अन्तरप्रदेश स्तरीय उडान गन्तव्य अन्तरगत पोखरा–नेपालगञ्ज रुटमा ४ हजार ५०० रुपैयाँ, पोखरा–विराटनगरमा ६ हजार रुपैयाँ, पोखरा–सिमरामा ४ हजार ३०० रुपैयाँ, पोखरा– भैरहवामा ३ हजार १०० रुपैयाँ, भैरहवा–भरतपुरमा २ हजार ५०० रुपैयाँ र विराटनगर–तुम्लिङटारमा ३ हजार १०० रुपैयाँ उडान भाडादर तोकिएको छ । यात्रुको मागका आधारमा भाडादर बढ्दै जाने बुद्धले जनाएको छ ।
नौ महिनामा ३० गैँडा मरे
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ गते गैँडा मृतावस्थामा फेला परेको थियो । गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैँडा मरेका थिए । तीन महिना बाँकी रहँदा गत वर्षभन्दा बढी गैँडा मरेपछि निकुञ्जले गैँडा मर्नुको कारण पत्ता लगाउन समिति नै बनाएर काम गरिरहेको छ । प्राकृतिक कारणले मरेका गैँडा बूढो भएर, एकापसमा जुधेर, दलदलमा फसेर, बाघले आक्रमण गरेरलगायतका कारणले मर्ने गरेका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी हुँदा मृत्युदर बढेको अनुमान गरिएको छ । हालै गैँडा गणना भएपछि कुन क्षेत्रमा कति गैँडा छन् भन्ने यकिन तथ्याङ्क आइसकेको छैन । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले तथ्याङ्क निकालेपछि आवश्यक भएमा आन्तरिक स्थानान्तरणसमेत गरिने बताए । चोरी शिकारी नियन्त्रणका लागि निकुञ्ज लागिपरेको छ । केही तस्करीमा संलग्न पक्राउ परेपछि थप चोरी शिकार हुन पाएको छैन । गत वर्ष चोरी शिकार शून्य रहेको थियो । बरालले प्राकृतिक कारणबाट मर्ने सङ्ख्या पनि घटाउने प्रयास जारी रहेको जानकारी दिए । सन् २०१५ पछि यस वर्ष गैँडा गणना गरिएको हो । यस वर्षको गणनामा यस निकुञ्जमा ६९४ गैँडा भेटिएका थिए । यसअघिको गणनामा यो सङ्ख्या ६०५ मात्रै रहेको थियो । त्यसपश्चात स्नानान्तरण र चीनलाई उपहार दिइएको भए पनि सङ्ख्या भने वृद्धि भएको छ । बाढीबाट केही गैँडा बगेर भारत पुगेको अनुमान छ । भारतबाट १० वटा गैँडा फिर्ता ल्याइएको भए पनि अझै केही गैँडा भारतीय भूभागमा रहेको अनुमान गरिएको छ । आशा गरेअनुसार गैँडाको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित छन् । रासस