निषेधाज्ञाको दोस्रो दिन घट्यो आन्तरिक उडानको संख्या, आज ७७ उडान हुँदै
काठमाडौं । सरकारको काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागु गरेतापनि आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडानहरु नियमित रुपमा सुचारु भइरहेको छ । लामो तथा छोटो दुरीका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएतापनि हवाई उडान नियमित भइरहेको छ । निषेधाज्ञाको पहिलो दिन १०४ आन्तरिक उडान भएका थिए । पछिल्लो केही दिनको तुलनामा बुधबार हालसम्मकै धेरै उडान संख्या भएतापनि उपत्यकामा निषेधाज्ञा लागुभएसगैँ उडान संख्यामा कमी आएको छ । बुधबार १ सय ४९ वटा आन्तरिक उडान भएको थियो । निषेधाज्ञाको अघिल्लो दिनको तुलनामा बिहीबार उडान सख्यामा कमी आएकोमा शुक्रबार पुनः उडान संख्या घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहीबार साँझसम्म हवाइमार्गबाट ५ हजार ४५३ ले काठमाडौं छाडेका थिए भने २ हजार ८१६ यात्रु काठमाडौं भित्रिएका छन् । बिहीबार नेपाल एयरलाइन्सले ४, बुद्धले ४८, यतीले २७, ताराले ५, श्रीले १५ र सम्मिटले ५ उडान गरेको विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीले जानकारी दिए । आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले काठमाडौं छोड्नेको संख्यामा बृद्धि भएपनि आउनेको संख्यामा कमी हुँदा उडान संख्या घटाईएको बताएका छन् । उडान संख्यासगैँ घट्यो भाडादर आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीले उडान संख्यामा बृृद्धि गर्दै उडान भाडादर घटाएका छन् । निषेधाज्ञा भन्दा अगाडी उच्च भाडादर रहेका धनगढी, भैरहवा, विराटनगर लगायतका गन्तव्यमा भाडादर घटाईएको छ । यसअघि काठमाडौं–विराटनगर रुटमा करिब ६ हजार रुपैयाँ सम्म भाडा रहेकोमा बिहीबार एक हजार ५५० रुपैयाँसम्ममा उडान भइरहेको छ । वायुसेवा सञ्चालकहरुले भैरहवा–काठमाडौंको भाडा १५ सय, पोखरा–काठमाडौंको भाडा १९ सय रुपैयाँ राखेका छन् । शुक्रबार ७७ उडान काठमाडौं उपत्यकाका तीन जिल्लामा लागु गरिएको निषेधाज्ञाको दोस्रो दिन अर्थात आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ७७ आन्तरिक उडान हुने भएका छन् । विमानस्थल कार्यालयको तथ्यांक अनुसार विभिन्न ६ वटा वायुसेवा कम्पनीले उक्त उडान गर्न लागेका हुन् । शुक्रबार नेपाल एयरलाइन्सले ४, बुद्धले ३५, यतिले २०, ताराले ४, श्रीले १२ र सम्मिटले २ उडान गर्ने तालिका रहेको विमानस्थल कार्यालयका प्रमुख तिवारीले जानकारी दिए । उनका अनुसार यात्रुको निषेधाज्ञासगैँ वायुसेवा कम्पनीहरुले उडान संख्यामा कटौती गरेका छन् । पछिल्लो समय अन्य वायुसेवा कम्पनीकोे तुलनामा धेरै उडान गर्दै आएको निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले यात्रुको संख्यामा कमी आएसगैँ उडान संख्या कटौती भएको जनाएको छ । बुध्द एयरका बजार निर्देशक रुपेश जोशी अधिकांश जिल्लामा निषेधाज्ञा लागु हुँदा यात्रुको संख्यामा कमी आएपछि बताउँछन् । ‘धेरै जिल्लामा निषेधाज्ञा छ, हवाई उडान सुचारु भएपनि विमानस्थलसम्म पुग्न यात्रुलाई समस्या हुने गरेको छ । टिकट काटेका यात्रुहरु विमानस्थलसम्म आउने समस्या भएपछि यात्रुको संख्यामा कमी आएको हो’, उनले भने ।
हिमाल सरसफाई अभियानमा खुकुरी रमले नेपाली सेनासँग सहकार्य गर्ने
काठमाडौं । खुकुरी रमका उत्पादक द नेपाल डिस्टिलरिजले स्वच्छ हिमालय कार्यक्रम २०२१ मा नेपाली सेनासँग साझेदारीको गर्ने भएकाे छ । यस ऐतिहासिक हिमालय सफाइ अभियानमा नेपाली सेनासँग सहकार्य गर्न पाउँदा निकै गर्व लागेकाे कम्पनीले जनाएकाे छ । यो सफाइ कार्यक्रमले ल्होत्से, मकालु, धवलागिरी, पुमोरि, अमादब्लम र सबैभन्दा महत्वपूर्ण विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविरहरु र त्यसको सेरोफेरोहरुको सरसफाई गर्ने लक्ष्य राखेको छ । यस अभियानको थालनी ११ अप्रिल २०२१ बाट भएर ५ जुन, २०२१–विश्व वातावरण दिवसको दिनसम्म कायम रही सोही दिन समापन गरिनेछ । यसले सबै ६ वटा हिमालयहरुमा फ्याँकिएका करिब ७० हजार केजी तौल बराबरका उपयोगविहीन उपकरणहरु, खाद्यान्न सामग्रीका भाँडाहरु, पालहरु, तथा क्यानहरुका फोहरहरु संकलन गर्ने र त्यसलाई काठमाडौंमा पु¥याउने लक्ष्य राखेको छ, जहाँ फोहरहरु वर्गिकृत गरिनेछ र सोही अनुरुप व्यवस्थित गरिनेछ ।
त्रिभुवन विमास्थलबाट तेस्रो मुलुक प्रस्थानमा प्रतिबन्ध
काठमाडाैं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारगमन को रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ । नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही वैशाख १५ गते मध्यरातदेखि लागू हुने गरी उक्त विमानस्थलबाट अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको अध्यागमन विभागले जनाएको छ । त्रिभुवन विमानस्थललाई अन्तिम गन्तव्य बनाएर विदेशबाट आउन तथा उक्त विमानस्थलबाट विदेश जान पाउने व्यवस्थामा भने कुनै फेरबदल नगरिएको पनि उक्त विभागले जनाएको छ ।