एनएमएले आविष्कार केन्द्रलाई सापटीमा दियो ६० खाली सिलिण्डर
फाइल फोटो काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) ले आविष्कार केन्द्रलाई अक्सिजनको खाली सिलिण्डर उपलब्ध गराउने भएको छ । संघले हिमाल आरोहणमा प्रयोग हुने ६० वटा साना अक्सिजनकाे खाली सिलिण्डर सापटी स्वरुप उपलब्ध गराउन लागेको हो । संघका महासचिव कुलहादुर गुरुङ आविष्कार केन्द्रबाट पछि फिर्ता ल्याउन मिल्ने गरी असहज परिस्थितिमा सहयोग गरिएको बताउँछन् । उनले मंगलबार सामाजिक सञ्जाजलमा एक स्ट्टाटस राख्दै आविष्कार केन्द्रलाई सहयोग गरिएको जनाएका थिए । ‘कोरोना महामारीका कारण देखिएको असहज परिस्थितिलाई थोरै भएपनि नियन्त्रण गर्न तथा मावन जीवन जोगाउन नेपाल पर्वतारोहण संघले राष्ट्रिय आविष्कार केन्द्रलाई अक्सिजनको खाली सिलिण्डर (प्रयोगमा ल्याउन मिल्ने भए ६० वटा भन्दा बढी हुने) सापटी दिने निर्णय गरियो’, उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेका छन, ‘एक्सपिडिसन अप्रेडरहरु साथीहरु सम्भव भएसम्म आफूसँग भएका खाली अक्सिजन सिलिण्डर सहयोग गरौँ ।’ सोमबार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनले सामाजिक सञ्जाल मार्फत पर्वतारोहणमा प्रयोग हुने अक्सिजनका खाली सिलिण्डर सापटी दिन आग्रह गरेका थिए । उनले उक्त अक्सिजन सिलिण्डरमा ४ किलो अक्सिजन भर्न मिल्ने भन्दै २ बारमा अक्सिजन दिँदा ६ घण्टा जति पुग्ने भन्दै आविष्कार केन्द्रलाई बिक्री गर्न तथा सापटी दिन आग्रह गरेका थिए । ‘हिमाल चढ्ने र ट्रेकिंग गर्ने कम्पनीहरु संग खाली अक्सिजन सिलिन्डर छ कि ? हिमाल चढ्नेहरुले प्रयोग गर्ने खाली अक्सिजन सिलिन्डरहरु कसै संग छन भने सम्पर्क गर्नु होला । सगरमाथा सफा गर्ने टोलीहरुले जम्मा गरेका खाली सिलिन्डरहरु कहि कसैले जम्मा गरेर राख्नु भएको छ भने सम्पर्क राख्नु होला । ति खाली सिलिन्डरहरु राष्ट्रिय आविष्कार केन्द्रलाई बिक्रि अथवा सापटी दिए पनि हुन्छ । हामीले ति सिलिन्डरहरुमा अक्सिजन भरेर कोरोना बिरामीहरुलाई उपलब्ध गराउने छौं । नेपालमा अक्सिजनको खाली सिलिन्डरहरु को अत्यन्तै अभाव भएकोले यो अनुरोध गरिएको हो,’ उनी सामाजिक सञ्जालमा लेख्छन् । पुनको आग्रह अनुसार एनएमएले उक्त खाली सिलिण्डर सापटीमा दिने निर्णय गरेको जनाईएको छ ।
बैशाख २९ मा सगरमाथा आरोहणको तयारी, आधार शिविरमा ४ हजार बढी
काठमाडौं । आगामी बैशाख २९ गतेमा यस वर्षको सगरमाथा आरोहणको तयारी भएको छ । सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका आरोहीहरु उपयुक्त मौसमको पखाईमा बसेको पर्यटन विभागले जनाएको छ । अहिलेसम्म आगामी बैशाख २९ गतेदेखि जेठ १५ गतेसम्मको मौसम उपयुक्त रहेको भन्ने जानकारी आएको छ । उपयुक्त मौसममा आरोहण गर्ने तयारीका साथ आरोहीहरु तयारी अवस्थामा बसेको विभागका अधिकारीहरु बताउँछन् । यस सिजनको अरोहण अन्तर्गत सगरमाथा आधार शिविरमा आरोहीसगैँ शेर्पा गाईड तथा अन्य सहयोगी आधार शिविरमा पुगिसकेका छन् । आरोहीसगैँ आधार शिविरमा हाल ४ हजारभन्दा मानिसहरु रहेको जनाईएको छ । सगरमाथाका लागि ४०८ आरोहीलाई अनुमति विभागले यस सिजनको हिमाल आरोहण अन्तरगत सगरमाथा आरोहणका लागि ४४ समूहका ४०८ जना आरोहीलाई आरोहण अनुमति दिएको छ । आरोहीको माग अनुसार विभागले आरोहण अनुमति दिएको हो । यस सिजनको हिमाल आरोहणका लागि विभागले सगरमथा सहित विभिन्न १६ वटा हिमाल आरोहण गर्न ८५ समूूहका ७ सय ४२ आरोहीले आरोहणको अनुमति दिएको छ । जसमा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि छन् । सगरमाथा आरोहणका लागि ३ सय १५ पुरुष र ९२ जना महिला गरेर ४ सय ८ जनाले आरोहणका लागि अनुमति लिएर आधारशिविरतर्फ गएका छन । सरकारले आरोहण अनुमतिपत्रको रोयल्टीबापत मात्रै ७१ करोड ४८ लाख ५३ हजार ५ सय २९ रुपैयाँ संकलन गरेको छ । आरोहणमा कोटा कोरोना संक्रमणलाई ध्यानमा राख्दै पर्यटन विभागले हिमाल आरोहणमा कडाई गरेको छ । विभागले आरोहण अनुमति लिएर हिमाल गएका आरोहीलाई ध्यानमा राख्दै विभिन्न कडाई गरेको हो । लामो समयदेखि सगरमाथा आरोहणका लागि आधार शिविर पुगिसकेका आरोहीको स्वास्थ्यलाई ध्यानमा राख्दै विभागले नयाँ अनुमति लिएर जाने आरोहीलाई पीसीआर परीक्षणको नेगेटिभ रिपोट अनिवार्य गरिएको विभागकी निर्देशक मीरा आचार्य बताउँछिन् । उनका अनुसार विभागले आरोहणमा जाने प्रत्येक आरोहीलाई अनिवार्य रुपमा पीसीआर परीक्षणको नेगेटिभ रिपोट र मास्क अनिवार्य, आफ्नो क्यामभन्दा अर्काेमा बीना अनुमति जान नपाईन जस्ता नियम लागु गरेको छ । विभागले यसअघि नै सगरमाथा आरोहणमा ट्राफिक जाम (आरोहीको भिड) हुनसक्ने भन्दै एक पटक १७० जनाभन्दा बढी आरोही जान नपाउने जनाईसकेको छ । आरोहण अनुमति लिएको संख्याका क्रममा आरोहण गर्न विभागले आरोहीसगैँ आरोहण एजेन्सीलाई निर्देशन दिइसकेको छ । आरोहण शूल्क सगरमाथा आरोहणका लागि विदेशीले प्रतिव्यक्ति ११ हजार डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ भने नेपालीले ७५ हजार रुपैयाँ रोयल्टी तिर्नुपर्छ । सगरमाथा आरोहणका लागि बढीमा १५ जनाको समूह बनाउन पाउने व्यवस्था छ । सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ, अझै आरोहणयोग्य १३ सयभन्दा बढी हिमाल रहेको बताइन्छ ।
बिहीबारदेखि भारत बाहेक सबै अन्तर्राष्ट्रिय उडान बन्द
काठमाडौं । नेपाल सरकारले बिहीबार मध्येरातीदेखि भारत बाहेक सबै अन्तर्राष्ट्रिय उडानमा वैशाख महिनाभर रोक लगाउने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार मध्येरातबाट आन्तरिक तथा बिहीबार मध्येरातीबाट अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियाे । सरकारले अन्य देशका सबै व्यवसायीक उडानमा प्रतिबन्ध लगाएपनि नेपाल र भारतबीचको उडानलाई भने निरन्तरता दिएको छ । यसअघि एयर बबल अवधारणाअनुसारको सातै दिन उडान भएकोमा उक्त उडानलाई २ दिनमा झारिएको बताईएको छ। नेपाल नागरिक उडड्यन प्राधिकरणले बिहीबारदेखि भारत बाहेकका देशमा एक साता अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय भएको जनाएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बैशाख २३ (६ मे) बाट बैशाख ३१ (१४ मे) सम्म सबै गन्तव्यमा हुने अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय भएको विकासन्युजलाई जानकारी दिए । आज मध्येरातीदेखि बैशाख भर सबै आन्तरिक उडान समेत बन्द हुनेछन् ।