नेपाल एयरलाइन्सको जहाज अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन चीन जादै

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज स्वास्थ्य सामग्री लिन चीन जाने भएको छ । चीन सरकारले नेपाल सरकारलाई सहयोग गर्न लागेको ४०० थान अक्सिजन सिलिन्डर र २० वटा भेन्टिलेटर लिन वाइडबडी सोमबार साँझ बेइजिङ जान लागेको हो । आज बेलुका ५ः३० बजे निगमको एयरबस ३३० (वाइडबडी जहाज) जहाज चीनको बेइजिङ जानेछ । चीन सरकारले सहयोग स्वरुप दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेर लिएर मगंलबार काठमाडौं आइपुग्नेछ । उक्त कार्गो उडानमा निगमका १० जनाभन्दा बढी चालक दलका सदस्य रहेनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा बेइजिङमा कार्गो उडानको तयारी भएको हो । यसअघिको बन्दाबन्दीमा निगमको जहाजले चीन लगायतका देशबाट कार्गो उडान मार्फत स्वास्थ्य सामग्री ल्याईसकेको छ । निगमले कार्गो उडानका लागि आवश्यक जहाज नहुँदा वाइडबडी जहाजलाई नै कार्गो उडान बनाईदै आएको छ । यसअघि ओम्नी ग्रुपको स्वास्थ्य सामग्री ल्याएको निगमले अझै उडान भाडा पाएको छैन । अहिले स्वास्थ्य मन्त्रालयको आग्रहमा उडान गर्न लागिएको भन्दै उडान भाडा सरकारले व्यर्होने निगमको कर्पोरेशन विभागले जनाएको छ ।

सगरमाथा आधार शिविरबाट फर्केका १२ जनामा कोरोना संक्रमण

काठमाडौं । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । सगरमाथा आधार शिविरबाट फर्किएका १२ र सोलुदूधकुण्ड नगरपालिकामा थप एक जनामा पोजिटिभ देखिएसँगै सङ्क्रमितको सङ्ख्या २१ पुगेको हो । सगरमाथा आधार शिविरबाट फर्केका दुई विदेशीसहित १२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका स्वास्थ्य संयोजक अर्थिमाया तामाङले जानकारी दिईन । उनका अनुसार यही वैशाख १५ र १६ गते एन्टिजेन परीक्षण गर्दा दुई जनामा कोरोना सङ्क्रण पुष्टि भएको थियो । यस्तै बुधबार दुई तथा बिहीबार र शुक्रबार थप चार÷चार जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये कोरोना सङ्क्रमित दुईमा श्वासप्रश्वासमा समस्या देखिएपछि गाउँपालिकाको आइसोलेशन सेन्टरमा राखी उपचार शुरु गरिएको गाउँपालिकाले जनाएको छ । अन्य आठ जनालाई होम आइसोलेशनमा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार आजसम्म चार जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिकाबाट फिलिपिन्स र दुबईका एक÷एक नागरिकलाई थप उपचारका लागि हेलीकोप्टरमार्फत काठमाडौँ पठाइएको गाउँपालिका स्वास्थ्य संयोजक तामाङले जानकारी दिईन । यस्तै, जिल्ला अस्पताल फाप्लुमा परीक्षण गरेकामध्ये एकलाई काठमाडौँ र एकलाई विराटनगर रिफर गरिएको छ । लिखु हाइड्रोपावरमा गरिएको परीक्षणसहितको तथ्याङ्कलाई आधार मान्ने हो भने अहिलेसम्म जिल्लामा ३० जनामा कोरोना सङ्क्रमण भएको छ तर हाइड्रोपावरले गरेको परीक्षणलाई नेपाल सरकारले आधिकारिक मानेको छैन ।

२५ औं पटक सगरमाथा चुचुरोमा पुगे कामीरिता

काठमाडौं । नेपाली आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाथाको चुचुरोमा पुगेको छन् । यसअघि २४ औं पटक सफल आरोहण गरेका शेर्पा शुक्रबार साँझ २५ औं आरोहणको रुपमा सगरमाथाको चुचुरोमा पुगेका हुन् । काठमाडौंस्थित सेभन समिट ट्रेक्सका अनुसार, उनी यस सिजनका लागि डोरीको सहायताले बाटो बनाउने टोलीको नेतृत्व गर्दै साँझ ६ बजे चुचुरोमा पुगेका हुन् । बिहीबार साँझ उनीसहित १२ जना शेर्पा सगरमाथा आरोहणका लागि चौथो शिविरबाट हिँडेका थिए । कम्पनीका अनुसार, कामीरितासहितको टोलीमा ६ जना संखुवासभाका र ६ जना सोलुखुम्बुका शेर्पा आरोही छन् । १३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ । गत वर्षको आरोहणमा नै उनले २५ औं पटकको आरोहणको तयारी गरेतापनि कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको बन्दाबन्दीका कारण सबै हिमाल आरोहण रोकिएको थियो ।