सामुद्रिक आँधीको कारण हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव

काठमाडाैं । अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् । ‘मौसम प्रतिकुल हुँदा अहिले आरोहण भएको छैन’, आधार शिविरबाट आचार्यले भनिन्, ‘यतिबेला सयौँ आरोही आधार शिविरमा अनुकूल मौसमको पर्खाइमा हुनुहुन्छ ।’ यस वर्ष वसन्त यामको सगरमाथा आरोहण गत बैशाख २४ गतेदेखि सुरु भएको थियो । उक्त दिन शेर्पा आरोहीको टोलीले बाटो बनाउने क्रममा शिखर पुगेसँगै व्यावसायिक आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ । त्यसपछि वैशाख २८ र २९ गते सयौँ आरोही सगरमाथाको शिखरमा पुगेका थिए । यो समयमा दुई विदेशी आरोहीको मृत्यु भएको छ । दुई दिनमा करीब १५० भन्दा बढी आरोहीले सगरमाथाको शिखरमा पाइला टेक्न सफल भएको अनुमान गरिए पनि कोरोना सङ्क्रमणका कारण यकिन तथ्याङ्क सङ्कलनमा समस्या भएको नर्देशक आचार्यको भनाइ छ । उनका अनुसार आमादब्लम हिमालको आरोहण सकिएको छ भने लोत्से, नुप्त्से लगायतको हिमाल आरोहण हुने क्रम जारी छ । मौसम अनुकूल नहुँदा वैशाख ३० गतेदेखि आरोहण प्रभावित भएको भन्दै उनले सबैलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको बताए । मौसम अनुकूल हुने बित्तिकै पुनः शिखरतर्फ जाने क्रम शुरु हुने उनको भनाइ छ । तत्काल हिमाल आरोहण नगर्न÷नगराउन मौसमविद्को सुझाव अरब सागरको आँधीको प्रभाव नेपालमा पनि देखिने भएको हुँदा तत्काल हिमाल आरोहण नगर्न/नगराउन मौसमविद्ले सुझाव दिएका छन् । मौसमविद् मीनकुमार अर्यालका अनुसार हिमाल आरोहणमा गएकाहरु यो समयमा आधार शिविरभन्दा माथि नजाँदा राम्रो हुनेछ । यसको प्रभाव पश्चिमबाट क्रमैसँग पूर्वतर्फ सर्दै गएको हुँदा बिहीबारदेखि यसबारे प्रभाव बढी देखिने हुँदा उच्च सतर्कता अपनाउन आवश्यक रहेको उनको भनाइ छ । ‘भोलि पर्सिसम्म हिमालको माथिल्लो क्षेत्रमा गएकाहरु आधार शिविरमा झर्ने या सुरक्षित स्थानमा बस्नुपर्ने हुन्छ’, मौसमविद् अर्यालले भने, ‘यो समयमा उच्च वेगको हावा, पानी र हिमपात हुने सम्भावना हुन्छ, त्यसैले सतर्कता अपनाउन आवश्यक छ ।’ यस वर्षको वसन्त याममा सगरमाथासहितका हिमाल आरोहणका लागि ८५ समूहका ७४२ आरोहीले अनुमति पाएका छन् । रासस

निषेधाज्ञामा पनि चार्टर्ड र उद्धारका उडान नियमित, १४ दिनमा २८७ हवाई उडानबाट २८ हजार बढीले लिए सेवा

काठमाडौं । गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा लागु गरिएको निषेधाज्ञा सँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् । काेराेनाकाे दोस्रो लहरलाई ध्यानमा राख्दै सरकारले नियमित रुपमा हुँदै आएका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको हो । गत वैशाख २० गतेदेखि आन्तरिक उडान र वैशाख २३ गतेदेखि नियमति रुपमा हुने अन्तर्राष्ट्रिय उडान बन्द भएपनि चार्टड, उद्धार तथा कार्गाे उडानहरु भने सुचारु भएका छन् । पछिल्लो १४ दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ सय ८७ वटा उडान भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांक अनुसार बैशाख १८ गतेदेखि ३१ गते ( मे १ तारिखदेखि १४ तारिखसम्म) १ सय ४९ वटा अवतरण तथा १४८ वटा उडान भएका छन् । नियमित रुपमा हुने अन्तर्राष्ट्रिय उडानहरु बन्द भएपनि भारतको नयाँदिल्लीमा भने एयर बबल उडान सम्झौता अनुसार सातामा २ वटा उडान भइरहेका छ । एउटा नेपाल एयरलाइन्स बुधबार र एयर इन्डियाले शुक्रबार नेपाल–भारत उडान गर्दै आएका छन् । उक्त उडान मार्फत २८ हजार बढीले सेवा लिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार १४ दिनको अबधिमा १० हजार ६५१ जना स्वदेश त्रिभिएका थिए भने १७ हजार ६७६ जना बाहिरिएका थिए । ७ लाख ६८ हजार किलो सामग्री ओसारपसार १४ दिनको अवधिमा अन्तर्राष्ट्रिय उडान तथा चार्टर उडान मार्फत ७ लाख ६८ हजार ३ सय ७३ किलो बराबरको सामग्री ओसारपसार भएकाे छ । जसमा विश्वका विभिन्न देशबाट ३ लाख ६७ हजार ४ सय ८९ केजी सामान नेपाल भित्रिएकाे थियाे भने ४ लाख ८ सय ८४ केजी सामग्री निर्यात भएको विमानस्थल कार्यालयका प्रमुख प्रताप तिवारीले जानकारी दिए । यो बीचमा आयात गरिएको सामग्रीमध्ये धेरै मेडिकल सामाग्री तथा अक्सिजन सिलिन्डर रहेका छन् । उनका अनुसार मे १४ मा ५० हजार २ सय ९०, मे १३ मा १ हजार ९ सय ४, मे १२ मा ६४ हजार ४ सय ७४, मे ११ मा ४३ हजार ९ सय ८८ र मे १० मा १२ हजार २ सय केजी सामान विश्वका विभिन्न ठाँउबाट हवाई मार्गमार्फत नेपाल भित्रिएका हुन् । यसैगरी, मे ८ मा ३६ हजार ३ सय ८८, मे ७ मा २२ हजार ९ सय ४९, मे ६ मा ३० हजार ८ सय ३४, मे ५ मा ३६ हजार ५ सस ८, मे ४ मा २५ हजार ६ सय १५, मे ३ मा २७ हजार ८२, मे २ मा ४३ हजार २ सय २८ र मे १ मा २४ हजार २ सय २२ केजी सामान अन्तर्राष्ट्रिय उडान तथा चार्टर उडानबाट नेपाल भित्रिएको छ । आईतबार ५ अन्तर्राष्ट्रिय उडान नियमित उडान बन्द भएपनि आईतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५ वटा उडान हुने भएको छ । विमानस्थल कार्यालयको तथ्यांक अनुसार आइतबार तीन वटा उडान तथा तीन वटा अतवरण हुने भएको छ । जसमा नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ, हिमालय एयरलाइन्सको काठमाडौं– कुमलिङ उडान तथा अवतरण र कतार एयरवेजको दोहा–काठमाडौं उडान तालिका रहेको छ । निगम र हिमालयको कार्गाे उडान भएतापनि कतार एयरवेजको चाटर्ड उडान रहेको छ । नेपालमा रोकिएका अमेरिकी नागरिक लैजाने अमेरिकी दुतावासको पहलमा उक्त चार्टर्ड उडाड हुन लागेको हो ।

विदेशी पर्यटक अलपत्र

मनाङ । नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् । वर्षौँ दिनदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा केही सहज भएयता मनाङ आएका उनीहरु हाल मनाङ ङिस्याङ गाउँपालिकाका साङसार, भ्राका, मनाङ टङ्की मनाङ, हुम्डे र पिसाङलगायतका गाउँहरुमा बसोबास गर्दै आएको बताइएको छ । स्थानीयवासी राम गुरुङले बन्दाबन्दीका कारण हिँडडुल गर्न नपाएका कारण अनुसार उनीहरु त्यहीँ रहनु परेको बताए । उनका अनुसार ती विदेशी पर्यटकहरु सकुशल रहेका छन् । यस गाउँपालिकामा अहिले नयाँ भेरियन्टसहितको कोरोना भाइरस देखिन थालेपछि सबैजसो गाउँहरु ‘सिल’जस्तै भएका छन् । विश्वकै १०औँ नम्बरमा रहेको पर्यटकीय गन्तव्य अन्नपूर्ण पदमार्ग बन्द भएको छ । यहाँका मानिस होटल व्यवसाय बन्द गरेर घरभित्रै छन् । गत मङ्गलबारको पिसिआर रिपोर्टअनुसार एक विदेशी नागरिकसहित जिल्लाभर २८ जना कोरोना सङ्क्रमित पुष्टि भएका छन् । हाल जिल्लाभर कोरोना सङ्क्रमित ४४ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय मनाङले जनाएको छ । अहिलेसम्म जिल्लाका दुईवटा गाउँपालिकामा मात्र सङ्क्रमित भेटिएका छन् । यसमध्ये चामे गाउँपालिकामा सात र मनाङ ङिस्याङ गाउँपालिका ३७ जना सङ्क्रमित रहेका छन् । मनाङमा रहेका विदेशी नागारिक मनाङ ङिस्याङ गाउँपालिका मनाङ गाउँमा १४ जना खाङ्सार तिलिचो बेसक्याम्पमा चार, ङावोलगाउँमा तीन र पिसाङगाउँमा एक गरी जम्मा २२ विदेशी पर्यटक जिल्लामा रहेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उहाँका अनुसार वैशाख महिनामा १४४ पुरुष र ९७ महिला गरी २४१ विदेशी पर्यटक मनाङ भित्रिएका थिए । त्यस्तै १९७ जनाले थोरङ्ला पास गरी मुस्ताङ पुगेका छन् भने १० जना मनाङबाट फर्किएका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ । नेदरल्याण्डका नागरिक सङ्क्रमित भेटिएपछि मात्र जिल्ला प्रशासनले जिल्लाभित्र रहेका विदेशी पर्यटकको खोजी गर्न थालेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र मनाङमा तथ्याङ्क रहने भए पनि कुन ठाउँमा कति पर्यटक छन् भन्ने आधिकारिक नभएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए । उनका अनुसार विदेशी नागरिक अन्नपूर्ण क्षेत्रमा रहेका जाँचचौकीमा परमिट दर्ता गरेर आउने हुँदा हामीकोमा कुनै तथ्याङ्क हुँदैन । ‘हामीले अहिले तथ्याङ्क खोजिरहेका छौँ’, उनले भने । त्यस्तै अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले तथ्याङक सङ्कलन गर्दै गरेको र कुन पर्यटक कुन ठाउँमा बसेका छन् खोजी भइरहेको जनाएको छ । अहिले कोरोना ‘हटस्पोट’ जस्तै बनेको मनाङमा रहेका विदेशी नागरिक अलपत्र परेको जानकारीसँगै जिल्ला प्रशासन कार्यलयमनाङले तथ्याङ्क सङ्कलन गर्दै उनीहरुको इच्छाअनुसार चाहेको ठाउँमा पठाउने कार्य भइरहेको प्रजिअ लामिछानेले बताए । उनका अनुसार एक जना नेदरल्याण्डका नागरिक सङ्क्रमित भएको र उनलाई हेलीचार्टर्ड गरी काठामाडाैं पु¥याइएको छ भने अरु यहाँ सकुसल रहेका छन् । मनाङमा हाल अलपत्रमा रहेका अधिकांश युरोपियाली मुलुकका नागरिक छन् । दुई भारतीय, तीन इजरायली, अरु फ्रान्स, नेदरल्याण्ड र ब्रिटिसका नागरिक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ । देशका ठूला शहरमा भयवह स्थिति आउँदै गर्दा मनाङ छिरेका उनीहरु अहिले मनाङ ङिस्याङ गाउँपालिकाका विभिन्न गाउँमा बसिरहेका छन् । रासस