पर्वतमा १३ करोड लगानीमा विश्वकै दोस्रो लामो जिपलाइन बन्दै, दशैँसम्म सञ्चालन हुने
पर्वत । पर्वत सदरमुकाम कुश्माबजारमा निर्माणाधीन विश्वकै दोस्रो लामो दाबी गरिएको जिपलाइन आगामी दशैँसम्म सञ्चालनमा आउने भएको छ । पर्वतका सात जना युवा व्यवसायीको करिब १३ करोड लगानीमा निर्माणाधीन जिपलाइनको ९० प्रतिशत काम सकिएको हार्नेश जिपलाइन प्रालिका निर्देशक राजकुमार बस्नेतले बताए । उनले दशैँसम्म सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको बताए । ‘अहिले रिसोर्टतर्फको काम पनि धमाधम भइरहेको छ तर त्योभन्दा पहिले नै जिपलाइन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । जिपलाइन र हाइड्रोलिक पिङको काम अन्तिमतिर आइपुगेको छ’, उनले भने, ‘पर्वतमा साहसिक पर्यटनको विकासका लागि यो जिपलाइन पनि महत्वपूर्ण हुनेछ । जिपलाइनसहित साहसिक खालका अरु काम पनि हामीले गर्ने तयारी गरिरहेका छौँ ।’ जिपलाइनको परीक्षण अब १५ दिनपछि गर्ने तयारी भइरहेको बस्नेतले बताए । यस्तै छ महिनाभित्रमा रिसोर्ट, ह्युमन सिलिङसट र स्वीमिङ पुल निर्माणको काम सक्ने उनको भनाइ छ । यसैगरी हार्नेश जिपलाइनले पर्वत जिल्लालाई साहसिक खेलको जिल्लाकै रूपमा परिचित गराउन र मुस्ताङ आउजाउ गर्ने पर्यटकलाई पर्वतमा बस्नै मन लाग्ने बनाउनका लागि कालीगण्डकी नदीमा जेटस्की (वाटर बाइक) समेत सञ्चालन गर्ने योजना बनाएको छ । कम्पनीका अध्यक्ष विदुर पौड्यालले पोखराबाट स्थलमार्ग हुँदै धेरै पयर्टक मुस्ताङसम्म जाने गरेको भए पनि उनीहरू पर्वतका पर्यटकीय गन्तव्यस्थलमा नपुग्दा जिल्लामा पर्यटकीय विकास हुन नसकेको बताए । समुद्रको पानीमा साहसिक खेल खेल्न रुचाउने पर्यटकलाई बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरेर नै कालीगण्डकी नदीमा जेटस्की सञ्चालनमा ल्याउने तयारी गरिएको पौड्यालले बताए । जेटस्कीको परीक्षण सफल भए कालीगण्डकी नदीको सतहमा मोटरसाइकलमा गुडेजस्तै गरी गुड्ने साधनमा खेल्न पाइने उनको भनाइ छ । अहिले वर्षायाम भएकाले नदीमा पानीको बहाव ठूलो भएका कारण पानीको मात्रा घट्नासाथ परीक्षण गर्ने तयारीमा लगानीकर्ता छन् । सदरमुकामसमेत रहेको कुश्मा नगरपालिका–५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउने बगरसम्म एक हजार ४०० मिटरको दूरीमा जिपलाइन बनाउन थालिएको हो । निर्माणको जिम्मा लिएको भारतीय कम्पनी श्याम जिपलाइनका इञ्जिनीयर नवीन म्यासीका अनुसार क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ । पर्वतको जिपलाइनमा एकै पटकमा दुईजनासँगै झुण्डिन मिल्छ भने ६० देखि ९० सेकेण्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ । जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्ने जनाइएको छ । रासस
संशोधन आवश्यक भन्दै मन्त्रिपरिषद्बाट फिर्ता पठाईयो हवाई नीति
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको हवाई नीति २०७७ मन्त्रिपरिषद्को बैठकबाट फिर्ता भएको छ । गत फागुनमा मन्त्रिपरिषद्को बैठकमा पठाईएको उक्त नीति बिहीबार मन्त्रालयमा फिर्ता पठाईएको हो । उक्त नीतिमा संशोधन आवश्यक रहेको भन्दै मस्यौदा फिर्ता पठाईएको जानकारी आएको पर्यटन मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालयले हवाई क्षेत्रको सुधार र विकासका लागि भन्दै मन्त्रालयले तयार पारेको नयाँ हवाई नीति २०७७ लामो समयदेखि मन्त्रिपरिषद्मै रोकिएको थियो । यसअघि नै मन्त्रिपरिषद्मा दर्ता भएतापनि स्वीकृति नभएको भन्दै शेरबादुर देउवा सरकारले स्वीकृत नगरेको मन्त्रालयका अधिकारीहरु बताउँछन् उनिहरुका अनुसार हवाई नीति सगैँ अन्य तीन वटा प्रस्तावसमेत फिर्ता आएको छ । राष्ट्रिय हवाई नीति २०५० लाई १३ वर्षपछि परिमार्जन गरी २०६३ लागू भएको थियो । अहिले झण्डै डेढ दशकपछि नयाँ नीतिको मस्यौदा तयार पारिएको थियो । नयाँ नीतिमा वायुसेवा कम्पनीहरुलाई मर्जमा जान प्रोत्साहन गर्नेदेखि अन्तर प्रदेश उडानमा छुट दिने विषय समावेश भएका छन् । यसैगरी, नीतिमा वायुसेवा कम्पनी खोल्न आवश्यक पर्ने पुँजी बढाउने र पुराना वायुयान आयातमा थप कडाइ गर्ने विषयसमेत समावेश गरिएको छ । साथै हवाई क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा जोड दिन फ्लाइङ स्कुलको विषय पनि अगाडि बढाइएको छ भने कुनै व्यक्ति वा संस्थाले निजी प्रयोजनका लागि समेत विमान राख्न पाउने व्यवस्था नीतिमा गरिएको छ । यस्तै, नीतिमा विमानस्थलको निर्माण र सञ्चालन गर्ने अधिकार निजी क्षेत्रलाई पनि दिइने र विमानस्थल निर्माणमा ३ तहको लगानी रहने विषय समावेश गरिएको छ ।
संक्रमणरहित उडान गछौँ, संख्या थपियोस
काठमाडौं । आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले कोभिड–१९ महामारीको जोखिम न्यूनीकरणका लागि सङ्क्रमणरहित उडानको प्रतिबद्धता जनाएका छन् । नेपाल वायुसेवा सञ्चालक सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्क्रमणरहित उडानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कोभिड–१० सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) तथा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य तथा हातेमालोका लागि निरन्तर तयार रहेको जनाएको छ । वायुसेवा कम्पनीले स्वास्थ्य मन्त्रालय र नियामक प्राधिकरणले सुझाएको निर्देशिकाअनुरुप पूर्ण सावधानीका साथ हवाई सेवा सञ्चालन गरिरहेको सङ्घको भनाइ छ । सङ्क्रमणलाई मध्यनजर गर्दै प्राधिकरण सहज सरल उडानका लागि प्रतिघण्टा आठ वटा उडानको मात्र तालिका सञ्चालन ल्याएको छ । त्यसअनुरुप बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म स्लटअनुसार काठमाडौँबाट उडान हुने अवस्था रहेकाले काठमाडौँँ तथा बाहिरी विमानस्थलमा यात्रुको चाप न्यून देखिएको र विमानस्थलका उच्च अधिकारीबाट हरेक दिन अनुगमन भइरहेको जनाइएको छ । विगत केही सातादेखि परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा बाटोघाटो क्षति पु¥याएको तथा कतिपय डाइभर्सन बगाउनुका साथै पुलमा क्षति पुगेको अहिलेको परिस्थितिमा वायुसेवा कम्पनी सहज भाडा दरमा यात्रु ओसारपसार गरिरहेको विज्ञप्तिमा उल्लेख छ । अहिले दैनिक एक हजार २०० भन्दा बढी यात्रु आवतजावत गरिरहेको विमानस्थलले जनाएको छ ।