चीनबाट अनुदानमा प्राप्त खाेप नि:शुल्क ढुवानी गर्दै हिमालयन एयरलाइन्स

काठमाडाैं । हिमालय एयरलाइन्सले चीनबाट अनुदान सहयोग स्वरुप प्राप्त दुई लाख डोज भेरो सेल खोप निःशुल्क ढुवानी गर्दै छ । सामाजिक उत्तरदायित्व अन्तर्गत एयरलाइन्सले भेराे सेल खाेप निःशुल्क ढुवानी गर्ने जनाएकाे छ । हिमालय एयरलाइन्सले यहि जेठ १८ र १९ गते गरी तिब्बतकाे कुनमिङ्ग शहरमा चार पटक उडान गरी ती खोपहरु ढुवानी गर्दैछ । हिमालयका ती उडानहरुले भेरो सेल खोपका २ लाख डोजका जम्मा ४१७ वटा बाकसहरु निःशुल्क ढुवानी गर्नेछन् । प्रत्येक पटकको उडानमा हिमालयको एयरबस जहाजले अधिकतम् १०५ वटा खोपका बाकसहरु बोक्नेछ । निःशुल्क उडानहरु मध्येका पहिलो कार्गो उडान काठमाडौंबाट साेमबार साँझ २०ः२८ बजे कुनमिङ्गतर्फ उडी मंगलबार(आज) बिहान ०६ः२८ बजे त्रिभुवन अन्त्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । ती निःशुल्क कार्गो उडान सञ्चालन गर्दा हिमालयले अमेरिकी डलर १ लाख ९२ हजार अर्थात् नेपाली रुपैंयाँ करिब दुई करोड २५ लाख बराबरको आर्थिक योगदान पुर्याउनेछ । हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङ्ग भन्छन्, ‘कोभिड–१९ महामारी विरुद्घ लड्न नेपाल सरकार र राष्ट्रलाई सहयोग पु¥याउन हिमालय एयरलाइन्स् तथा सम्बन्धित समूहका लागि यो एक ऐतिहासिक क्षण हो । राष्ट्रिय संकटको महत्वपूर्ण समयमा यी निःशुल्क कार्गो उडानहरु सञ्चालन गर्नु हाम्रा लागि वास्तवमै गौरवको विषय पनि हो ।’  

मौसम खुलेसँगै सगरमाथा आरोहण पुनः सुरु

काठमाडौं । खराब मौसमका कारण रोकिएको सगरमाथा आरोहण पुनः सुरु भएको छ । मंगलबार मौसम सफा भएसगैँ आरोहीहरु चुचुरोतर्फ लागेको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार मंगलबार ६० भन्दा धेरै ओरोहीहरु आरोहणको क्रममा रहेका छन् । आधार शिविरमा आरोहणको पर्खाइमा बसेका आरोहीहरुले अबको दुई तीन दिनभित्र आरोहण सम्पन्न गरिसक्नुपर्ने जनाईएको छ । यसअघि खराब मौसमका कारण सगरमाथा क्षेत्रमा हिउँ पर्दा क्याप ४ सम्म पुगेका आरोहीहरु आधार शिविरमा झरेर बसेका थिए । मौसम सफा भएसगैँ पुनः आरोहीहरु आधार शिविरबाट माथि लागेको जानकारी आएको विभागको निर्देशक मीरा आचार्य बताउँछिन् । उनका अनुसार अनुमति लिएका मध्ये अधिकाशं आरोहीहरुले आरोहण सम्पन्न गरिसकेका छन् । खराब मौसमका कारण यस सिजनको सगरमाथा आरोहीण तीन चरणमा भएको छ । मौसमकै कारण दुई पटक सम्म रोकिएको आरोहण पुनः सुरु भएको हो ।

बहराइनका राजकुमारको समूहलाई लिन विशेष विमान काठमाडौं आउँदै

काठमाडौं । बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफा सहितको समूहलाई लिन सोमबार विशेष विमान काठमाडौं आउने भएको छ ।  सगरमाथा आरोहण गर्न गत चैत २ गते नेपाल आएका १६ जनाको समूह मंगलबार बिहान स्वदेश फर्कन लागेका हुन् । राजकुमार सहितको समूलाई लिन बहराइनको विशेष विमान काठमाडौं आउने जानकारी आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । साँझ ५ बजे आउने उक्त विमान मंगलबार हिबान फर्कनेछ । राजकुमार सहितको टोलीले गत बैशाख २८ गते बिहान ६ः४० बजे विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको थियो । उचाई बढेपछिको पहिलो आरोहण नै राजपरिवारका सदस्यसहितको समूहले गरेको थियो । बहराइनका राजकुमार खलिफासहित १६ जनाको टोली सगरमाथा आरोहणमा गएको थियो । उक्त आरोहण टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स)मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहेका थिए । बहराइनका राजकुमार खालिफासहितको टोलीले अघिल्लो वर्ष लोबुचे र मनास्लु हिमालको सफल आरोहण गरेको थियो ।