हुलाक सेवा विभागका चिठ्ठीपत्र–कार्गो नेवानिले ओसार्ने

काठमाडौं । नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्रहरु ओसार प्रसार गर्ने सम्वन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चिात आगामी जुलाई १ तारिखदेखि निगमको उडानहुने गन्तव्यमा हुलाक सेवा विभागका सामग्रीहरु निगमले मात्र ढुवानी गर्नेछ । यसअघि विभागले विभिन्न विदेशी हवाई कम्पनीहरु मार्फत ढुवानीको काम गर्दै आएको थियो । उक्त सम्झौतापश्चात विदेशी हवाई सेवा कम्पनीहरुलाई भुक्तानी भइरहेको करोडौं रुपैया देश भित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने विश्वास लिइएको छ । सम्झौतामा नेपाल वायुसेवा निगमको तर्पmबाट महाप्रबन्धक डिमप्रकाश पौडेल र हुलाक सेवा विभागका तर्पmबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरेका हुन ।

कोरोना खोप लगाएर नेपाल आउनेले होटल क्वारेन्टिनमा बस्नु नपर्ने, नाका पनि खुला

काठमाडौं । कोरोना विरुद्धको खोप लगाएर नेपाल आउने होटल क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ । यसअघि भारत लगायत अन्य देशबाट नेपाल आउने विदेशी तथा नेपालीहरु पनि अनिवार्य रुपमा दश दिन होटलमा क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो । सरकारले पछिल्लो पटक जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा यस्तो प्रावधान समेटिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले उक्त व्यवस्था हटाउदैँ खोप लगाएकालाई अनिवार्यरुपमा होटल क्वारेन्टिनमा नबसी दश दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने जनाएको हो । सेल्फ क्वारेन्टिन बसे नबसेको अनुगमन सम्बन्धित जिल्ला र स्थानीय तहले गर्नेछन् । यस्तै, हवाइ यात्राको लागि यात्रुको चेक इन गर्दा अघि ७२ घण्टाभित्रको फोटो एवं बारकोड सहितको परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण देखाउनु पर्नेछ । विदेशबाट नेपाल आगमान गर्ने यात्रुले यात्रा गर्नुअघि अबोर्ड रिटर्नी म्यानेजमेन्ट सिस्टम अनलाइन फारम भरी सोको बारकोड प्रिन्ट गरी साथै लिएर आउनु पर्नेछ । विदेशबाट आएका यात्रुले अनिवार्य ७ दिन सूचीकृत होटलमा अनिवार्य रुपमा बस्नुपर्ने आदेशमा उल्लेख गरिएको छ । होटल क्वारेन्टिन अवधि पूरा गरेका यात्रुहरुले पीसीआर परीक्षणको उपलब्धताको आधारमा सातौं दिनमा आफ्नै खर्चमा कोरोना परीक्षण गरी नेगेटिभ आएमा ४ दिन होम क्वारेन्टिन बस्नेगरी पठाउन सकिनेछ । काज किरियामा सहभागी हुन आउनेले स्थानीय तह वा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसका आधारमा एन्टीजेन परीक्षण गरी निगेटिभ आए घर जान दिइने छ । सरकारी कर्मचारी कूटनीतिक नियोगका कर्मचारी वा सुरक्षाकर्मीले सम्बन्धित निकायको सिफारिसको आधारमा १० दिन होम क्वारेन्टिन बस्नुपर्ने छ । १३ नाकाबाट नेपाल प्रवेश गर्न दिईने मन्त्रालयले जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ अध्यादेश अनुसार स्थलमार्गहुँदै नेपाल आउनेहरुका लागि १३ वटा नाका खुला गरिएको छ । उक्त अध्यादेश अनुसार पशुपतिनगर, काँकडभिट्टा, रानी, भिट्टामोड, गौर, विरगञ्ज, वेलहिया, कृष्णनगर, जमुनाह, गौरीफन्टा, पुलघाट, झुलाघाट र गड्डाचौकी नाकाबाट मात्र नेपाल प्रवेशको अनुमति दिईएको छ । १३ नाकाबाट नेपाली बाहेक अन्य देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाईएको छ । यस्तै, नेपालबाट विभिन्न देश जाने यात्रुहरुले मान्यताप्राप्त प्रयोगशालालबाट पछिल्लो २४ घण्टाभित्रको वा गन्तव्य मुलुकको मापदण्डमा तोकिएबमोजिमको अवधिको कोभिड–१९ परीक्षणको रिपोर्टको प्रमाणपत्र पेश गर्नुका साथै सीसीएमसीको वेवसाईटमा रहेको फर्म भर्नुपर्नेछ । मन्त्रालयले उक्त आदेशको अंलघन गर्ने कुनै व्यक्ति, संस्था, वायुसेवा कम्पनीलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ तथा अन्य प्रचलित कानूनबमोजिम कारबाही गरिनेछ ।

आन्तरिक उडानकाे तयारी: टिकट बिक्रि सुरु, भाडा बढ्ने, प्रतिघण्टा ५ जहाज मात्रै उड्ने

काठमाडौं । दोस्रो चरणको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका तीन जिल्ला सहित देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएसगैँ रोकिएको आन्तरिकतर्फको नियमित उडान आउँदो बिहीबारदेखि सुरु हुँदैछ । सरकारले साविकको तुलनामा ५० प्रतिशत ननाघ्ने गरी उडान संख्या तय गरी आन्तरिक उडान सुरु गर्ने निर्णय गरिसकेको छ । सरकारको निर्णय अनुसार नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) र वायुसेवा कम्पनीले उडानको तयारी गरिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले धेरै भिडभाड नहुने गरी सुगम क्षेत्रमा प्रतिघन्टा पाँचवटा मात्रै उडानको अनुमति दिने तयारी गरेको छ । कार्यालयले स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै जोखिम कम गर्न प्रतिघण्टामा पाँचवटा मात्रै उडान गर्न लागिएको जनाएको छ । कार्यालयले बिहीबारदेखि दिनमा ६३ वटा उडानको अनुमति दिने तयारी गरेको छ । सरकारले नियमित उडानको तुलनामा ५० प्रतिशत बढी नहुने गरी उडान पुनः सञ्चालनकोे अनुमति सगैँ विमानस्थल कार्यालयले उक्त संख्यामा उडान गर्ने तयारी गरेको हो । ट्रंक रुटमा विभिन्न वायुसेवा कम्पनीका ठूला किसिमका जहाज (एटिआर–७२, टर्बोप्रोप क्यु–४००) प्रयोग हुँदै आएका कारण प्रत्येक १० मिनेटको अन्तरालमा उडान गर्ने तालिका तयार पारिएको छ । निषेधाज्ञा अगाडि दैनिक अधिकतम १ सय ३० उडान हुँदै आएको थियो । सरकारको अनुमतिसगैँ क्यानले उडान संख्या निश्चित गरिदिए लगत्तै आन्तरिक उडान गर्दै आएका (बुद्ध, श्री, यती, सौर्य, सीता, समिट, तारा, गुणलगायत ) वायुसेवा कम्पनीले टिकट बिक्री सुरु गरेका छन । अहिलेको अवस्थामा बुद्ध एयरले जम्मा ३१ उडान गर्नेछ । कम्पनीले काठमाडौँदेखि विराटनगर गन्तव्यमा दैनिक चार, भद्रपुर तीन, तुम्लिङटार एक, जनकपुर तीन, पोखरा तीन, भैरहवा पाँच, धनगढी दुई र सुर्खेत एक उडान गर्ने तालिका बनाएको छ । यस्तै, यती एयरलाइन्सले कूल १५ उडान गर्नेछ । यतीले विराटनगर तीन, भद्रपुर दुई, जनकपुर दुई, सिमरा दुई र पोखरा दुई उडान तालिका बनाएको छ । श्री एयरलाइन्सले सात, सौर्य एयरलाइन्सका तीन उडान तालिका रहेका छन् । यात्रुले टिकटका लागि आप्नो आवश्यकता अनुसार मोवाइल एप, सम्बन्धित वायुसेवा कम्पनीको वेवसाइट, रिजर्भेसन, नजिकको सेल्स काउन्टर वा ट्राभल एजेन्सीबाट अग्रिम टिकट काट्न सक्नेछन । कोभिड महामारी नियन्त्रण गर्न सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो । कोभिडका संक्रमित बढेसँगै सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । सरकारको निर्देशन अनुसार वायुसेवा कम्पनीका सञ्चालकलाई संक्रमणरहित उडानको तयारी गर्न निर्देशन दिइसकिएको क्यानका महानिर्देशक राजन पोखरेल बताउँछन् । उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डकोे पूर्ण रुपमा पालन गर्दै नियमित उडान सञ्चालनको तयारी भएको छ । अघिल्लो वर्षको लकडाउनपछि उडान खुल्दा जारी गरिएका मापदण्डकै पालना गराइने उनको भनाइ छ । विमानस्थलले उडानतालिका फेरबदल गरेर भिड घटाउने उपाय लगाए पनि मौसमका कारण हुने ढिलाइमा भने चेक–इनमै यात्रु सीमित संख्यामा प्रवेश दिनुपर्ने देखिएको छ । वायुसेवा कम्पनीहरुले यसअघिको कोभिड–१९ महामारीको पहिलो लहरपछिको उडानमा अपनाइएको स्वास्थ्य प्रोटोकललाई पूर्ण रुपमा पालना गर्दै उडान सञ्चालन गरिने जनाएका छन् । अघिल्लो महामारीपछिको उडानमा हवाई भाडामा भारी छुटका साथ उडान गरेका एयरलाइन्सले पछिल्लो उडानमा हवाई भाडा केही मात्रामा बढ्न सक्ने जनाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेकाले साबिकको हवाई भाडादर केही वृद्धि हुने बुद्ध एयरले जनाएको छ । भाडा बढ्ने तयारी गरेतापनि अग्रिम टिकट बुकिङमा पुरानै भाडादर राखिएको छ । यता संस्कृति, पर्यटन तथा नाागरिक उडड्यन मन्त्रालयका अधिकारीहरु भने भाडाको विषयमा कुनै निर्णय नभएको बताउँछन् ।