पोखरा र भैरहवा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ राजस्वमा ५ वर्षको छुट दिन माग
काठमाडौं । निमार्णधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको गा्रउण्ड ह्याण्डलिङ सेवाबापतको राजश्व छुट दिन नेपाल वायुसेवा निगमले आग्रह गरेको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री उमाशंकर अरगरियासँग दुई विमानस्थलमा पाँच वर्षका लागि छुट गराउनु माग गरेका हुन । मन्त्री अरगरियाले सोमबार निगमका पदाधिकारीसँग छलफल गरेका थिए। निगमकै कार्यालयमा भएको छलफलमा पौडेलले यस्तो माग गरेका हुन्। नवनियुक्त पर्यटननमन्त्री अरगरियाले नेपाल वायुसेवा निगम निगमसँग भएका विमानको पूर्ण उपयोग गरी नाफामूलक अवस्थामा लैजानुपर्नेमा जोड दिएका छन । उनले दक्षता र योग्यताको आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनःप्राप्ति गर्न सामूहिक प्रयासको आवश्यकता रहेको पनि बताए । छलफल कार्यक्रममा उनले निगम नाफामूलक मात्र नभई सेवामूलक संस्था समेत हो भन्ने अवधारणासहित अगाडि बढ्नुपर्ने भएकाले सोका लागि सरकारका तर्फबाट सहयोग हुने बताएका थिए । उनले कोरोना महामारीमा समेत निगमले आफ्नो जिम्मेवारी सक्षमता साथ पूरा गरेको भन्दै अझ दरिलो कार्ययोजनासहित अघि बढ्न तत्कालै योजना बनाउन र गुमेको बजार पुनः प्राप्त गर्न ठोस कार्यको आवश्यकता रहेको बताए । मन्त्रालयका सचिव यादव कोइरालाले निगमलाई परम्परागत ढंगमा अगाडि बढाउन नसकिने भन्दै नयाँ मोडेलमा परिवर्तन गरी प्रगति तर्फ लैजानुपर्नेमा जोड दिएका थिए ।
हवाई इन्धनको मूल्य घटेसगैँ निगमले घटायो कार्गाे उडानको भाडा, अब कति ?
काठमाडौं । नेपाल वायुसेवा निगमले कार्गाे तथा चार्टर्ड उडानको भाडादर घटाएको छ । आईतबार रातको १२ बजेदेखि लागुहुने गरी नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएसगैँ निगमले उडान भाडादर घटाएको हो । निगमले सोमबारदेखि लागुहुने गरी सुरुवाती चरणमा कार्गोे तथा चार्टर्ड उडानको भाडादर घटाएको छ । निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार बाईडबडी विमान (एयरबस ३३०) मा साविकको मूल्यको तुलनामा १३ प्रतिशत र न्यारोवडि (एयरबस ३२०) जहाजमा १५ प्रतिशत शुल्क घटाइएको छ । नयाँ मूल्य अनुसार वाइडबडी जहाज चार्टर्ड तथा कार्गाे उडानको भाडादर प्रतिघण्टा अमेरिकी डलर १३ हजार ४६० कायम गरिएको छ । यसअघि उक्त जहाजको भाडादर १५ हजार ५२० डलर रहेको थियो । निगमले वाइडबडी जहाजको भाडादरमा २ हजार ६० डलर घटाएको हो । यस्तै, न्यारोवडी जहाजको भाडादर प्रतिघण्टा ६ हजार ५८० बनाईएको छ । यसअघि उक्त जहाजको भाडादर ७ हजार ७१० डलर रहेको थियो । निगमले उक्त जहाजको भाडादर १ हजार १३० डलरले घटाएको छ । नेपाल आयल निगमले आईतबार साँझ १२ बजेदेखि लागुहुने गरी हवाई इन्धनको मुल्य घटाएको हो । यसअघि अमेरिकी डलर ८९३ प्रतिकिलोलिटर रहेको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७१५ कायम गरिएको छ । निगमले एकैपटक प्रति किलोलिटर अमेरिकी डलर १७८ ले मूल्य घटाएको हो ।
संसद विघटनको असरः नेपाली हवाई क्षेत्र पुनः इयुको कालोसूचीमा
काठमाडौं । विगत ८ वर्षदेखि नेपाली हवाई क्षेत्र युरोपेली संघ (इयु) को कालोसूचीमा छ । कालोसूचीबाट हटाउने संकेत दिएको इयुले पुनः ६ महिनाका लागि अन्तराष्ट्रिय उडान गर्दै आएका तीन वायुसेवा कम्पनीहरुलाई कालोसूचीमा नै राखेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण छुट्याउने दुई विधेयक राष्ट्रिय सभामा दर्ता भएपछि आइकाओ दिवसको अवसरमा इयुले एक विज्ञप्ती जारी गर्दै कालोसूचीबाट हटाउने संकेत दिएको थियो । तर प्रधानमन्त्रीले संसद भंग गरेपछि विधेयकको प्रक्रिया लम्बिएपछि इयूको प्रतिबन्ध पनि थपिँदै गएको छ । संसद विघटन पछि राष्ट्रिय सभामा दर्ता भएको नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ रोकिएको छ । इयुको मुख्य चासो नै नेपाल नागरिक उडड्यन प्राधिकरणको संरचनामा रहेको थियो । सेवा प्रदायक र नियामक निकाय एकै भएको भन्दै क्यान छुट्याउन संसदमा दर्ता भएको विधेयक पास नहुँदा कालोसूचीको अवधि लम्बिएको हो । इयुले ६/६ महिनामा प्रकाशन गर्ने सेफ्टी अडिट रिभ्यू अन्तर्गत मे महिनामा सार्वजनिक भएको प्रतिवेदन अनुसार पुनः नेपाली वायुसेवा कम्पनीहरु इयुको कालोसूचीमा परेका छन् । निर्वतमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ११ फागुन २०७६ मा नेपालको ‘हवाई सेवा प्राधिकरण र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ राष्ट्रिय सभामा दर्ता गराएका थिए । सोही विधेयक ऐन बनेर नआउँदा नेपाली उड्डयन क्षेत्र ईयूको कालोसूचीबाट हट्न सकेको छैनन् । नेपाल नागरिक उडड्यन प्राधिकरणका अधिकारीहरु भने इयुले तोकेअनुसारको सुरक्षा मापदण्ड पूरा गरेको भन्दै छिट्टै हट्ने दाबी गर्छन् । इयुले नेपाली आकाशलाई कालोसूचीमा राख्दा अन्तराष्ट्रिय उडान गर्दै आएका नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स युरोपेली आकाशमा उड्न पाएका छैनन् । सरकारी स्वामित्वको निगमले लामो दुरीमा उडान गर्ने भन्दै ल्याएको दुई थान एयरबस ३३० (वाइडबडी) इयुको कालोसूचीका कारण गन्तव्य विस्तार गर्न सकेको छैन । सबै वायुसेवा कम्पनी कालोसूचिमा उक्त सूचिमा नेपालका १८ वायुसेवा कम्पनीलाई पुनः कालोसूचिमा राखेको हो । इयुले हरेक ६/६ महिलामा यस्तो सूची अपडेट गर्ने गर्छ । इयुको कालोेसूचिमा आन्तरिक उडान गर्दै आएका एयर डाइनेस्टी, अल्टिच्यूड एयर, फिस्टेल एयर, समिट एयर, हेली एभरेष्ट, कैलास हेलिकोप्टर, मकालु एयर, मनाङ एयर, माउण्टेन हेली, प्रभु हेली, सौर्य एयरलाइन्स, सिम्रिक एयर, सिम्रिक एयरलाइन्स (गुण), सीता एयर र तारा एयर रहेका छन् । यस्तै अन्तर्राष्ट्रिय उडान गर्दै आएको नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, बुद्ध एयर तथा अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको यति एयरलाइन्स र श्री एयरलाइन्स पुनः कालोसूचिमा परेका छन् । इयुले किन राख्यो कालोसूचीमा ? सन् २०१३ को जुलाईमा आइकाओकै अडिट टोलीले नेपालको वायु सेवा कम्पनीलाई दिइने सञ्चालन अनुमति पत्र दिँदा आइकाओको प्रक्रिया पूर्ण रुपमा परिपालन नभएको, अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठनबाट प्रतिपादन गरेका उडान सुरक्षा मपदण्ड परिपालन नगरेकोलगायत अन्य सुरक्षाका विषय न्युन रहेको भन्दै नेपाललाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो । आइकाओको रिपोर्टलाई आधारमा इयुले नेपालका सबै वायुसेवा कम्पनीलाई डिसेम्बर २०१३ देखि कालोसूचीमा राख्दै आएको छ । इयुले नेपाललाई कालोसूचीमा राखेका कारण नेपालका कुनै पनि विमानले युरोपेली परिषद् सदस्य रहेका मुलुकमा सिधा उडान गर्न पाएका छैनन् । सन् २०१७ मा आइकाओको अडिटले कालोसूचीबाट हटाएपनि युरोपियन युनियनले अझै नेपाललाई उक्त सूचीबाट हटाएको छैन । आइकाओको रिपोर्टलाई आधार बनाएर नेपालले इयु उड्डयन सुरक्षा समिति बैठकमा नेपाललाई कालोसूचीबाट हटाउन आग्रह गर्दै आएको छ ।