कोरोनाको खोप लगाएका यात्रुलाई श्री एयरलाइन्सले छुट दिने

काठमाडाैं । निजी क्षेत्रको लगानीमा सञ्चालित श्री एयरलाइन्सले कोरोना विरुद्धको खोप लगाएका यात्रुलाई विशेष छुट दिने घोषणा गरेको छ। एयरलाइन्सले नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमलाई प्रोत्साहन गर्न भन्दै भाडामा १० प्रतिशत छुट दिने घोषणा गरेको छ। कोरोनाको खोपका दुई डोज लगाएको कार्ड देखाएपछि यात्रुलाई भाडामा केही छुट दिइने एयरलाइन्सले जानकारी दिएको छ। यद्यपी कति प्रतिशछ छुट दिने भनेर एयरलाइन्सले खुलाएको छैन। यसरी छुट पाउनका लागि एयरलाइन्सको टिकट बिक्री काउन्टरमा सम्पर्क गर्नुपर्ने छ। यसरी छुटको टिकट लिएका तथा खोप कार्ड भएका यात्रुले विमासन्थलमा चेकइनको समयमा पनि विशेष प्राथमिकता पाउने एयरलाइन्सले जानकारी दिएको छ। दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण रोकिएको आन्तरिक उडान करिव दुई महिनापछि बिहीबारबाट सञ्चालनमा आएको छ । कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट दैनिक १० वटा उडानको तालिका पाएको छ। कम्पनीले दुईवटा सीआरजे–२००, दुई सीआरजे–७०० र दुई टर्बोप्रोप–क्यु–४०० लगायत ६ वटा जहाजमार्फत विभिन्न गन्तव्यमा आन्तरिक उडान सेवा दिँदै आएको छ।

आजदेखि अध्यागमन विभागको सम्पूर्ण सेवा सुचारु

काठमाडौं । आजदेखि अध्यागमन विभागको स्थगित भएको सम्पूर्ण सेवाहरु पुनः सुरु भएको छ । विभागले कोभिड संक्रमण घट्दै गएको तथा अन्तर्राष्ट्रिय एवं आन्तरिक उडानसमेत सुचारु हुन थालेसँगै सेवा सञ्चालन गरिएको जनाएको छ । विभागले बिहीबार एक सूचना जारी गर्दै यसअघि रोकिएका सम्पूर्ण कामहरु शुक्रबारदेखि पुनः सुचारु हुुने जनाएको हो । नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नेगरी भिसासम्बन्धी सबै सेवा सञ्चालन गर्ने निर्णय गरिएको विभागको भनाइ छ । गत वैशाख १५ (अप्रिल २८) सम्म नेपालको वैध भिसा भएका विदेशीको हकमा असार २४ गतेभित्र नेपालबाट प्रस्थान हुने भएमा प्रस्थानको समयमा अध्यागमन कार्यालय, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै निःशुल्क भिसा नियमित गरिने विभागको सूचनामा भनिएको छ । यस्तै, नेपालमा रहन चाहने विदेशीले भिसा नियमित गर्न विभाग वा अन्तर्गतका कार्यालयमा आवेदन गरेमा विलम्ब शुल्क र जरीवाना नलिई भिसा नियमित गरिनेछ । असार २४ गतेपछि भिसा नियमित गर्न आउने र नेपालबाट प्रस्थान गर्ने विदेशीका हकमा नियमानुसार भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना लाग्ने उल्लेख छ ।

पर्यटन बोर्डको आगामी बजेट : समन्वय गरेर तयारी गर्न विज्ञको सुझाव

काठमाडौं । पर्यटन क्षेत्रका विज्ञहरूले कोभिड– १९ बाट थलिएको मुलुकको पर्यटनलाई पुनरुत्थान गर्न सङघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका छन् । उनीहरुले यो सयममा पर्यटकीय गतिविधि ठप्प हुँदा बोर्डको बजेटको आकारसमेत खुम्चिने भन्दै भएको बजेटबाट सीमित तर प्रभावकारी काम गर्नसमेत बोर्डलाई अनुरोध गरेका हुन । बोर्डले आव २०७८÷७९ को बजेटका सन्दर्भमा बिहीबार आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा धारणा राख्दै विज्ञहरूले पहिले बोर्डलाई बचाउने र त्यसपछि सीमित स्रोतको अधिकतम प्रयोग हुने गरी कार्यक्रम तर्जुमा गर्न सुझाव दिएका थिए । पूर्व पर्यटन सचिव दीपेन्द्रपुरुष ढकालले वर्तमान विषम परस्थितिमा पर्यटन प्रवद्र्धन गर्न सङ्घीय सरकारले बोर्डलाई अनुदान दिनुपर्ने बताए । उनले समस्यामा परेको समय सहयोग गर्ने र भएको समय लिने गरी अगाडि नबढे पर्यटन प्रवद्र्धनमा आर्थिक समस्या आउने र सम्रग पर्यटन क्षेत्र प्रभावित हुने जानकारी दिए । यस्तै, विज्ञ डा विष्णुप्रसाद गौतमले विगतमा भएका कार्यको समीक्षा गर्दै तीनै तहका सरकारबीच समन्वय गरेर बजेट निर्माण तथा पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याउनुपर्ने धारणा राखे । अर्का विज्ञ डा पे्रम शर्माले तत्काल अन्तर्राष्ट्रिय पर्यटक आउने सम्भावना कम रहेकाले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने खालको बजेट तर्जुमा गर्न सुझाव दिए । यस्तै विज्ञहरू प्राध्यापक डा सोमप्रसाद खतिवडा, रामचन्द्र सेढाइँ, चेतनाथ कँडेल तथा सूर्यकिरण श्रेष्ठले बोर्डले सरोकारवालाई समेटेर कम्तीमा दुईदेखि तीन वर्षको ‘रिकभरी’ र ‘रिभाइवल’ योजना बनाउनुपर्ने र सोहीअनुरुप पर्यटन प्रवद्र्धनका कार्य अगाडि बढाउनुपर्ने जोड दिएका थिए । अन्तरक्रियामा बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले कोभिडका कारण पर्यटन व्यवसाय ठप्प भएको अवस्थामा बोर्ड बजेट निमार्णको चरणमा रहे पनि सीमित साधनबाट अधिकतम काम गर्ने गरी आफूहरूले तयारी गरिरहेको जनाएका थिए । बोर्डको स्रोत व्यवस्थान एवं कार्यक्रम तथा बजेट व्यवस्थापन समितिका संयोजकसमेत रहेका उनले विज्ञहरूका सुझावलाई समेटेर बोर्डले नीतिगत सुधारका काम अगाडि बढाउने बताए । बोर्डमा थोरै बजेट भए पनि सातै प्रदेशमा केही देखिने गरी काम गर्ने योजनामा बोर्ड रहेको र विज्ञहरूका सुझावले बजेट निर्माणमा सहयोग पुग्ने अपेक्षा बोर्डले गरेको छ । यसैबीच बिहीबार नै बोर्डले बजेटका सन्दर्भमा पर्यटन विषयमा कलम चलाउने सञ्चारकर्मीसँग पनि अन्तक्र्रिया आयोजना गरेको थियो । कार्यक्रममा पत्रकारले स्रोतको अभावका समयमा सीमित तर प्रभावकारी योजनामा मात्र रकम खर्च गर्न, डिजिटल मार्केटिङ र आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याउन बोर्डलाई सुझाव दिएका थिए । रासस