पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो । हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ गतेदेखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले आज प्रेस विज्ञप्ति जारी गर्दै आम भक्तजनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्दै दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको जनाएको छ । कोभिडको जोखिम न्यून भए पनि पूर्णरुपमा नहटेकाले वर्तमान अवस्थामा पाथीभरा आउने तीर्थयात्रीहरुलाई सरकारले लागू गरेका स्वास्थ्यका मापदण्डलाई पूर्णरुपले पालना गर्न अनुरोधसमेत गरिएको छ । ‘सङ्क्रमणको अवस्था सामान्य हुँदै गए पनि पूर्णरुपले हटिसकेको अवस्था छैन, त्यसैले मन्दिरको दर्शन एवम् पूजाआजाका लागि आउने भक्तजनलाई सरकारले लागू गरेका स्वास्थ्यका मापदण्ड पूर्णरुपले पालना गर्न अनुरोधसमेत गरेका छौँ,’ कार्यकारी निर्देशक काफ्लेले भने । ताप्लेजुङमा पछिल्लो समय सङ्क्रमणको दर न्यून हुँदै गएको छ । सङ्क्रमणको अवस्था सामान्य हुँदै गएपछि चार महिनादेखिको निषेधाज्ञासमेत हटाइएको छ ।

पर्यटन क्षेत्र पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छः उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी रहेको बताएका छन् । मंगलबार सिद्धार्थ उद्योग वाणिज्य संघको कार्ययोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड महामारीबाट पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो संकट परेको र यसलाई समाधान गर्न सबै पक्षको सहकार्य जरुरी हुने बताए । उनले पर्यटन क्षेत्र चाँडै नै लयमा फर्कने र यसका लागि पूर्वतयारी स्वरुप गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्ने धारणा राखेका छन् । ‘हामीले नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट गौतम बुद्ध विमानस्थल चाँडोभन्दा चाँडो सञ्चालनमा आउनुपर्छ भनेर सरकारसमक्ष आग्रह गरिरहेका छौं,’ ढकालले भने, ‘पर्यटन क्षेत्र अहिले सुस्त छ भनेर हात बाँधेर बस्नु हुँदैन, विमानस्थल सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा गरिनुपर्छ ।’ कार्यक्रममा ढकालले लुम्बिनी पर्यटनको अथाह सम्भावना भएको क्षेत्र रहेको र लुम्बिनी क्षेत्रका व्यवसायीले मुलुकका अन्य क्षेत्रमा रचनात्मक कार्यक्रम आयोजना गर्न सकेमा लुम्बिनी पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए। ढकालले निजी क्षेत्रलाई रोजगारी सिर्जना गर्ने, लगानी गर्ने क्षेत्रका रुपमा सम्मान दिनका लागि निजी क्षेत्रको एकतावद्ध आवाज बनाउनुपर्नेमा जोड दिए । बजेट, मौद्रिक नीति तथा कर सम्बन्धी नीतिमा हाल निजी क्षेत्रको सुझाव समेटिन सुरु भएको स्मरण गर्दै यसमा अझै अपुग रहेको उनले बताए ।  

दक्ष जनशक्ति र उपकरण नहुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे परीक्षण उडान अनिश्चित

काठमाडाैं । विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नसक्दा गाैतमबुद्ध विमानस्थलकाे परीक्षण उडान अनिश्चित बनेको छ । आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले कोरोना भाइरसका कारण थाईल्याण्ड सरकारले प्राविधिकलाई आउन नदिएकोले यस्ताे भएकाे बताए । हाल प्राविधिक कामहरुलाई सम्पन्न गर्नको लागि सरकारले थाईल्याण्ड सरकारसँग कुटनीतिक पहल थालेको उनले बताए । रुपन्देहीको भैरहवास्थित रहेकाे विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तिय प्रगति पनि ७७ प्रतिशत काम सम्पन्न भइसकेको हो । अब साना केही प्राविधिक कामहरु मात्रै बाँकी रहेकोले आइसीपी जिरो २ ठेक्का सम्झौताअनुसार थाइल्याण्डको एरोथाइ कम्पनीले प्राविधिक पठाए १० दिनमै विमानस्थलको सबै काम सम्पन्न हुने आयोजना प्रमुख ईन्जिनियर अधिकारीले बताए । प्रमुख ईन्जिनियर अधिकारीले अहिले बनिरहेको टर्मिनल बिल्डिङ रिलेटिभ रुपमा सानो भएको सरकारको अनुमान रहेकोले यसलाई ठूलो बनाउनुपर्ने विषयमा अध्ययन भइरहेको बताए । उक्त टर्मिनल बिल्डिङले मात्र ४ सय सेवाग्राहीलाई सेवा दिनसक्ने भएकोले अन्तर्राष्ट्रिय विमानस्थलका लागि यो पर्याप्त नहुने भन्दै नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल बिल्डिङ बनाउने विषयमा अध्ययन गरिरहेको उनले बताए । विमानस्थलमा परीक्षण फ्लाइट भएको करिब तीन महिनापछि अन्तर्राष्ट्रिय उडान शुरु गर्ने जनाइएको छ । राडर र फ्लाइट प्रणाली (धावन र आकाश) को तथ्यांक चेकजाँच गर्न परीक्षण फ्लाइट गरिन्छ ।