परिसंघको पर्यटन समिति गठन, खोप लगाएकालाई क्वारेन्टाईनमा नराख्ने माग
काठमाडौं । नेपाल उद्योग परिसंघले कोभिड–१९ विरुद्धको भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका र पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउनुपर्नेमा माग राखेकाे छ । परिसंघले नेपालमा पर्यटन आवागमनमा सहजता आवश्यक रहेको भन्दै यसका लागि खोपको पूर्ण मात्रा लगाएका र पिसिआर नेगेटिभ रिपोर्ट भएका व्यक्तिहरुलाई क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गर्न माग राखेकाे हो । पर्यटन क्षेत्रको विकास र नेपालमा प्रवद्र्धनका लागि पर्यटन समिति गठन गर्दै परिसंघले यस क्षेत्रको शीघ्र पुनरोत्थाका लागि सरोकारवाला निकायसँग सहकार्य गर्नुपर्नेमा पनि जोड दिएको छ । परिसंघकी राष्ट्रिय परिषद सदस्य पम्फा धमलाको सभापतित्वमा गठित समितिको पहिलो बैठकले पर्यटन क्षेत्रमा सक्रिय सम्पूर्ण व्यवसायी एवं श्रमिक तथा मजदूरहरुलाई पूर्णरुपमा खोप उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ । नेपाल आउन चाहने पर्यटकलाई अन अराइभल भिसा उपलब्ध गराउन पहल गर्ने र विभिन्न देशहरुले अझै पनि नेपाल भ्रमणका लागि जोखिमयुक्त मुलुकको सूचीमा राखेकाले त्यसलाई हटाउन पहल गर्ने निर्णय पनि बैठकले गरेको छ । पर्यटन समिति गठन कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजबहादुर शाहले कोभिड–१९ बाट प्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरोत्थानका लागि सरोकारवाला सबै एक ठाउँमा उभिनुपर्ने बताए । पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सहजीकरण आवश्यक पर्ने भन्दै उनले परिसंघले त्यसको नेतृत्व लिने बताए । उनले विभिन्न देशले आफ्ना नागरिकलाई नेपाल भ्रमणका लागि खुला नगरेको भन्दै नेपालमा विदेशी पर्यटक आउन सक्ने वातावरण बनाउन परिसंघमार्फत कुटनीतिक पहल अघि बढाउने उल्लेख गरे । उपाध्यक्ष शाहले नेपाल भ्रमणका लगि सुरक्षित गन्तव्य भएको सन्देश विश्वभर दिनुपर्ने बताए । ‘भ्याक्सिनको तीव्र वितरणमार्फत् नेपाललाई सुरक्षित गन्तव्यको पहिचान दिन आवश्यक छ,’ उनले भने, ‘त्यसको पहल परिसंघले गर्नेछ ।’ समितिकी सभापति पम्फा धमलाले कोभिडले पर्यटन क्षेत्रमा गम्भीर संकट परेको भन्दै यस क्षेत्रलाई पुरानै लयमा फर्काउन धेरै काम गर्नुपर्ने बताईन । उनले यो वर्षको पर्यटन आवागमनको सिजन सुरु हुन लागेको भन्दै यसलाई पर्यटन पुनरोत्थानको अवसरको रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएकी छन् । यसैगरी परिषदकी राष्ट्रिय परिषद सदस्य छाँया शर्माले नीतिगत तहबाट नै पर्यटन प्रवद्र्धनका लागि परिसंघले पहल अघि बढाउनुपर्ने उल्लेख गरिन । उनले संसदीय समितिहरुमार्फत पर्यटन क्षेत्रको विकासका लागि छलफल अघि बढाउन सकिने सुझाव दिईन् । बैठकमा भर्चुअलरुपमा सहभागी भएका समिति सदस्यहरु राहुल चौधरी, अशोक पोखरेल, प्रविण पाण्डे र शारिक लारीले पर्यटन क्षेत्रमा कोभिडबाट समस्याग्रस्त पर्यटन पुनरोत्थानका लाथि परिसंघले नेतृत्वदायी भूमिकामा काम गर्न सक्ने उल्लेख गरे । यस्तै बैठकमा उपस्थित समिति सदस्यहरु तिलक लामा, शेखर प्रसाईँ, लाक्फुली शेर्पा र हिक्मतसिंह ऐरले समितिले निश्चित उद्देश्य लिएर काम गर्नुपर्नेमा जोड दिँदै ती उद्देश्य हासिल गर्नेगरी काम गर्न सुझाव दिए । उनीहरुले कोभिडबाट जोगिन तल्लो तहसम्म जनचेतना जगाउन आवश्यक रहेको उल्लेख गरेका छन् । परिसंघले गठन गरेका उक्त समितिमा छाँया शर्मा, राहुल चौधरी, शारिक लारी, अशोक पोखरेल, प्रविण पाण्डे, तिलक लामा, शेखर प्रसाईँ, लाक्फुली शेर्पा र हिक्मत सिंह ऐर सदस्य रहेका छन् ।
वायुसेवा सञ्चालक भन्छन्: आन्तरिक टर्मिनलमा एक्स-रे मेसिन जडान गरी सुरक्षामा ध्यान दिउँ
काठमाडौं । नेपाल वायुसेवा संचालक संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानमा पूर्वाधारसगैँ सुरक्षा बढाउन सरकारसँग आग्रह गरेको छ । संघले बिहीबार एक विज्ञप्ती जारी गर्दै तत्काल आन्तरिक उडानमा सुरक्षा लगायत आवश्यक भौतिक पूर्वाधार स्तरोन्नतिगर्न नागरिक उड्ययन प्राधिकरणलाई आग्रह गरेको हो । कोरोना महामारीपछि आन्तरिक उडानमा आएको नयाँ व्यवस्था तथा संक्रमणरहित उडानका कारण हजारौंले यात्रा गर्ने गरेको भन्दै संघले बढ्दो यात्रु संख्याको अनुपातमा त्रिभुवन विमानस्थलको आन्तरिक तर्फ पूर्वाधार तथा व्यवस्थापनमा कमजोरी देखिएको जनाएको छ । सुरक्षासम्बन्धी पूर्वाधारको कमी र सुरक्षा चेकइन एरियामा एक्सरे मेशिन पर्याप्त नभएको र भएका पनि ज्यादै पुरानो रहेकाले नयाँ मेसिन थप्न समेत संघले प्राधिकरणलाई आग्रह गरेको छ । सुरक्षा जाँचका लागि एक डेढ घण्टासम्म लाइनमा बस्नुपर्ने अवस्था रहेकोले यात्रुहरुलाई धेरै असहजता भएको संघको भनाइ छ । वायुसेवाहरुको उडान पनि घण्टौं ढिलो हुने गरेको स्मरण गर्दै संघले विमानस्थलमा कार्यरत वायुसेवाका कर्मचारी, प्राधिकरणका कर्मचारी र प्रहरीहरुले भ्याउने अवस्था नरहेको उल्लेख गरेको छ । चेक–इन गरिसकेपछि हाते ब्याग र शरीर जाँच गर्ने ठाउँको भित्ता फोडी दुई गेटको सट्टा चारवटा बनाउन संघले प्राधिकरणलाई सुझाव दिएको छ । यात्रुहरूले जुत्ता र बेल्ट खोल्नुपर्ने व्यवस्था हटाउन माग गर्दै सबै एक्सरे मेसिनहरू सधैँ सुचारु राखी जगेडामा समेत राख्न आग्रह गरेको छ । समस्याको समाधान नगरेमा दसैं, तिहारजस्ता पर्वमा यात्रुको चाप बढ्न गई गम्भीर स्थिति आउन सक्ने संघले चेतावनी दिएको छ ।
म्याग्दीका हिमालमा आरोही आउन थाले, महिला आरोहीले कीर्तिमान राख्ने तयारी
म्याग्दी । यहाँस्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेपछि चहलपहल सुरु भएको छ । शरद्कालीन याममा हिमाल चढ्ने अनुमति लिएका आरोही हेलिकोप्टर र पैदलयात्रा गरेर आधार शिविरमा पुग्न थालेका छन् । सेभेन समिट र पाइनर ट्रेकमार्फत आएका आरोही बाबियाचौरबाट हेलिकोप्टर चढेर आधार शिविर गएका स्थानीयस्तरमा आरोहण टोलीको व्यवस्थापनमा खटिएका इन्द्रसिंह शेरचनले बताए । आरोही सडक र पदमार्ग अवरुद्ध भएकाले हेलिकोप्टर चढेर गएका हुन् । “बीस जनाको टोली हेलिकोप्टरबाट र २० पैदल हिँडेर आधार शिविर पुगेका छन्”, उनले भने, “हिमालयन र डोल्मा ट्रेकमार्फत अनुमति लिएका पर्वतारोही काठमाडौँबाट आउने तयारीमा छन् ।” जापान, चीन, स्पेनलगायत देशका पर्वतारोही धवलागिरि आरोहणका लागि आएका सेभेन समिट ट्रेकबाट आएकी माया शेर्पाले बताईन । उनीसहित पूर्णिमा श्रेष्ठलगायत नेपाली पर्वतारोहीको टोली पनि धवलागिरि आरोहणमा आएको छ । “धवलागिरिमा नेपाली महिलाले अहिलेसम्म आरोहण गरेका छैनन्”, उनले भनिन, “यो याममा हामी नेपाली महिला पर्वतारोही धवलागिरि चढ्ने तयारीमा छौँ ।” सो टोलीले गत वैशाखमा म्याग्दीमै रहेको अन्नपूर्ण प्रथम हिमाल पहिलोपटक चढ्ने नेपाली महिलाको कीर्तिमान बनाएको थियो । ८३ वर्षमा प्रबेश गरेका स्पेनका कार्लोस सोरिया पनि धवलागिरि आरोहणका लागि आएका छन् । उनले गत यामसहित ११ औँ पटकसम्म धवलागिरि हिमाल आरोणको प्रयास गरेका थिए । पर्यटन विभागले भदौ १५ गतेदेखि हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरेको थियो । चालीस जनाले धवलागिरि हिमालको आरोहणका लागि अनुमति लिएर ४२ लाख १० हजार सरकारलाई सलामी दस्तुर तिरेका विभागले जनाएको छ । शरद्याममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही ९०० डलर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम १२५ देखि अधिकतम ४०० सम्म सलामी दस्तुर तिर्नुपर्छ । रासस